एनआरएन अमेरिकाको निर्वाचनको तिथि जति जति नजिकिदैछ, त्यति त्यति नै विवाद पनि बढ्दै गएको छ। विवादको पछिल्लो श्रृंखलामा मुछिएका छन्- वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार सुनील साह।
विवाद यति महंगो छ कि उनीसँगै प्रतिस्पर्धा गरिरहेका अध्यक्षका अन्य दुई प्रत्यासी सञ्जय थापा र सूर्य लम्सालले साहको उम्मेद्वारी रद्द गर्नुपर्छ भनेर मागपत्र प्रस्तुत गरिसकेका छन्। मागपत्र पनि निर्वाचन समिति, एनआरएन अमेरिका एनसीसी र एनआरएन आईसीसीका क्षेत्रीय संयोजकसम्म मात्र सिमीत टैन, एनआरएन आइसीसीका महासचिव हुँदै अध्यक्षसम्म पनि पुगेको छ। उनीहरूको दावी छ, सुनील साहकै ठेगाना भएको कम्पनीले एनआरएनको वेभसाइट र प्रविधिसम्वन्धी ठेक्का पाएको छ, त्यसैले सर्भर डाउनदेखि सदस्यको व्यक्तिगत सूचनासम्मा उहाँको पहुँच छ।
उनीहरूले एनआरएन आईसीसीलाई यस परिघटनाको निस्पक्ष छानबिनको माग गर्दै साहको संलग्ना देखिए उनको उम्मेद्वारी नै रद्द गर्नुपर्ने माग गरेका छन्। तर, विवादमा तानिएका साहले भने यसमा आफ्नो संलग्नता नभएको बताएका छन्। उनको जिकिर छ- यो सबै चुनावमा हार्ने निश्चित भएपछि चुनावबाट भाग्न गरिएको प्रपञ्च मात्र हो ।
मागपत्र नै प्रस्तुत गरिसकेपछि यसमाथि छानबिन हुने निश्चित छ र त्यसको लागि आईसीसीले यस क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीलाई नै खटाउँछ।त्यस अर्थमा अब जोशीको हात माथि परेको जस्तो देखिएको छ।
अमेरिकामा रहेका अधिकांश नेपाली एनआरएन अमेरिकामा सुरूदेखि नै संस्थापन पक्षले अपारदर्शी ढंगले केही न केही तिकड्म गरिरहेकै ठान्छन्। उनीहरूमाथि सुरूदेखि नै प्रविधिमाथि हस्तक्षेप गरी चुनावी परिणाम आफ्नो हातमा पारिरहेको आरोप लागिरहेकै छ। सुनील साह त्यही संस्थापन पक्षका उम्मेद्वार भएकाले उनीमाथि पनि चोरऔंला ठडिएको हो ।
यो परिघटनाले फेरि एकपटक एनआरएन अमेरिकाले झगडाको कारखानाका रूपमा बनाएको आफ्नो पुरानाे छवि फेरि ब्युताएको छ। संसारभरका एनआरएन सामु आफू फेरि नांगिएको छ।
समस्या यो मात्र छैन, उता, टेनेसी कोर्टमा परेको मुद्दाको जवाफ दिने समय मे १३ पनि घर्किदैछ। अहिलेको एनआरएर अमेरिकाको नेतृत्वको ताल हेर्दा अदालतले गतिलो जवाफ पाउला जस्तो देखिएको छैन। त्यस्तो अवस्थामा अदालतले स्टे अर्डर जारी नगर्ला भन्न सकिन्न । त्यसका लागि त मे १३ सम्ममा एनआरएन अमेरिकाले जवाफ दिन्छ कि दिदैन? दिए पनि कस्तो दिन्छ ? लगायतका थुप्रै प्रश्नको उत्तर आउनै बाँकि छ।
यस्तो अवस्थामा एउटै प्रश्न केन्द्रमा छ- के अब मे १८ र १९ मा एनआरएन अमेरिकाको नयाँ नेतृत्व चयनका लागि मतदान होला त ? यो प्रश्नको उत्तर भने कसैसँग पनि छैन।