संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोसको पारपाचुके पनि धनी नै भयो- ३५ बिलियन अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको।
सबै अनौठा समाचार हुन्छन् यो पनि त्यसै कोटीमा परेर समाचार भएको छ। मुलधारका मिडिया हुन् वा सामाजिक सञ्जाल यो वा त्यो शीर्षकमा यो समाचारले ठाउँ पाएकै छ।
जेफ बेजोस र उनकी पत्नी मक्केन्जीको ३५ बिलियन अमेरिकी डलरमा पारपाचुके टुंगियो।मेकन्जीले एमेजनमा भएको १६.३ प्रतिशतमध्ये चार प्रतिशत शेयर लिएर बाँकि जेफलाई छोडी दिइन्। यसो गर्दा एमेजनमा रहेको जेफको बर्चश्वमा फरक परेन। मक्केन्जीले वाशिङ्टन पोस्ट र ब्लू ओरिजिन पनि जेफलाई नै छोडी दिइन् ।
यो बाँडफाँडपछि पाएको सम्पतिले मक्केन्जी संसारकै चौथो धनी महिला बनिन्। उनले आफ्ना पूर्वश्रीमान जेफलाई पनि संसारकै धनी हुने गरी सम्पति छोडिदिइन्।अर्थात् अब पनि बेजोस नै संसारका धनी मानिसको सिंहासनमा रहिरहे।
दुबै राजीखुशीसाथ छुट्टिए, एकले अर्कालाई सम्मान गरिरहने प्रतिवद्धता व्यक्त गरे।
घटना यति नै। सामान्य समाचारका लागि चाहिने फाइब डब्लु र वन एचको उत्तर यति भए पुग्छ। तर, समाचारभित्रको समाचार यति मात्रै हैन।
एमेजन सुरू गर्नभन्दा पहिलेको यो जोडीसँग जीवनका अनेकौ घटना र मोडहरू छन्। उनीहरूमध्ये बेजोस एमेजनका मालिक र मक्केन्जी पहिलो कर्मचारी मात्रै हैनन्।२५ वर्ष एक आदर्श जोडीका रूपमा बिताएको बैवाहिक जीवन पनि छ उनीहरूसँग। अनि छन् तीन सन्तान पनि।
पारपाचुकेको मुल कारण जेफको लरेन सान्चेजसँगको विवाहेत्तर सम्बन्ध थियो।सान्चेजसँगका अन्तरंग सन्देशसहितको समाचार बाहिरिएपछि गत जेनुअरीमा जेफ र मक्केन्जीले ट्विटरमार्फत् एउटा संयुक्त वक्तव्य जारी गरे- हामी पारपाचुकको निर्णयमा पुग्यौं।
मक्केन्जीका बारेमा यस्ता कुरा केही नआएपछि धेरैले यो सम्बन्ध टुट्नमा जेफ जिम्मेवार रहेको ठाने र मक्केन्जीप्रति सहानुभूति राखे। धेरैले अनुमान लगाए- अब सम्पति आधाआधा हुन्छ र जेफको संसारकै सबैभन्दा धनीको खिताफ पनि जान्छ। अमेजनको स्वामित्व पनि विवादमा परेर यसको भविष्य के हुने हो? भन्ने सम्मको अनुमान लगाइयो।
तर, स्थिति त्यस्तो देखिएन। मक्केन्जीले सम्पतिको सानो हिस्सा लिएर जेफलाई सबै छोडी दिइन्। 'द टेस्टिङ अफ लुथर अल्ब्राइट' र 'ट्र्याप्स' फेमकी स्थापित लेखिका मक्केन्जी किन यति उदार भइन् ? के यो उनको लेखक मनको उदारता हो वा अरू नै केही हो ?
धेरैको मनमा उठेको यो प्रश्नको उत्तर मक्केन्जीले नै दिएकी छिन्- जेफलाई धनी हुने, रोमान्स गर्ने रोग लागेको छ। यसो गर्दा एउटा मूल्यका निम्ति बचाएको सम्बन्ध त गयो भने त्यो सम्बन्धलाई पैसामा बार्टर गरेर के गर्ने ? फेरि यो पैसा कमाउन मेरो योगदान पनि त्यति धेरै थिएन। ४८ वर्षकी भैसके, अब जीवन हैन, बुढौली बाँच्ने हो, त्यसका लागि यो सम्पति नै पर्याप्त छ मलाई।
उनले अगाडि भनेकी छिन्- 'मैले जेफको खुशीको लागि यो सम्पतिको तुलनामा अरू धेरै चिज गुमाएकी छु। म त्यही कुरामा मात्र चिन्तित थिएँ। पैसा कति आउला भनेर क्याल्कुलेरमा डिजिट हिट गरिरहेकी थिइँन।'
जेफकै कारणले सम्बन्ध टुटेको भए पनि उनले दोष दिइनन्। बरू उल्टै भनिन्- 'जे भए पनि उनी मेरा सन्तानका पिता हुन्। उनले मलाई आमा बनाए, त्यसका लागि मैले उनलाई माफ गरिदिए। मैले सम्बन्धको मात्र हिसाब गरें, पैसाको हिसाब नै गरिन।'
संसारकै यो महंगो पारपाचुकेमा पैसाको हिसाबले मक्केन्जी ठगिइन् भन्ने धेरैलाई लागेकै छ। तर, पनि पैसाको कुरालाई लिएर उनी दु:खी छैनन्। पारपाचुकेपछि उनको जुन भनाइ आयो, त्यसले एक असल मानिसका रूपमा उनी जेफभन्दा धेरै धनी भएको प्रमाणित भयो।