अमेरिकामा पुनर्बासित भुटानी शरणार्थीमा आत्महत्याको दर उच्च

तस्वीर: नोहाव संकलन

छिमेकी कुमारी बहिनी कसैसँग फोनमा कुरा गर्दै हड्बढाउँदै निस्किदै थिँइन्।गत आइतवार। साँझ भर्खरै परेको थियो।मौसम अली न्यानो भएकोले हामी साँझमा हिडेर फर्कदै थियौ।

'धन बाजेले सुसाइड गर्नुभए,' कुमारी बहिनीले एकै श्वासमा सुनाइन्।

धन सुब्बा विगत ६ वर्षदेखि हाम्रो छिमेकी हुनुहुन्थ्यो।एकदमै मिजासिलो मानिस।लुइभेल सहरको व्यानन क्रसिङ ड्राइभ सब-डिभिजनमा करिव ६० नेपाली परिवार रहदैआएका छौं।यो नेपाली गाउँको रुपमा स्थापित छ। अधिकांश भुटानी मुलका नेपाली परिवार।यो हाम्रो सानो टोलमा नेपाली समुदायभित्र भएको दोश्रो आत्महत्याको घटना थियो यो। केही वर्षअघि राम थापाले पनि घर पछाडिको रुखमा झुण्डिएर आत्महत्या गर्नुभएको थियो । 

लुइभेल शहरमा हेर्ने हो भने चारजना नेपाली भाषीले आत्महत्या गरिसकेका छन्।अमेरिकामा पुनर्स्थापित भुटानी प्रौढ पुरूषमा आत्महत्याको दर अन्य समुदायको भन्दा बढी रहेको तथ्यांकले देखाउँछ।

हामी हतार हतार धन सुब्बाको घर पुग्यौ। थाहा भयो – उहाँले आत्महत्याको लागि  करिव ४ माइल टाढा आफ्नी स्वर्गीय पत्नीको पार्थिव शरिर राखेको समाधिस्थल रोज्नु भएको रहेछ। समाधिस्थल पुग्दा प्रहरीले सो क्षेत्रलाई घेरा हालिसकेको थियो। परबाट देख्यौं – उहाँले पत्नीको समाधिभन्दा करिव १५ मिटरको दुरीमा रहेको रुखलाई जीवनको गन्तब्य बनाउँनु भएको रहेछ। 

पत्नीको क्यान्सरवाट निधन भएपछि उहांँलाई एक्लोपनले सताएको परिवारले महसुस गरेको थियो।परिवारले उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि उहाँलाई बचाउन भने सकिएन।समय पाउँनासाथ उहाँ पत्नीको समाधि क्षेत्रमा गएर समय बिताउँने गरेको परिवारका सदस्यले बताए।अपरान्ह ३ बजे घरबाट निस्कनुभएका स्व. सुब्बाले फोन नउठाएपछि परिवारजन समाधिस्थल पुगेका थिए।

आत्महत्याको तेश्रो दिन उहाँलाई पनि समाधिस्थ गरियो। स्वर्गीय पत्नीको समाधिको दक्षिणपट्टि लगभग जोडेर । यतिवेला उहाँको क्रिश्चियन र किराती विधिबाट काजकिरिया चलिरहेको छ, किनकि परिवारमा कोही क्रिश्चियन र कोही किरात धर्म मान्नेहरु हुनुहुन्छ।

गुगल गरेर हेरें। लुइभेल सहरमा मात्र होइन, अमेरिकामा पुनर्स्थापित धेरै नेपाली भाषी भुटानी समुदायमा आत्महत्याका घटना बढिरहेको पाएँ। यस्ता समाचारलाई अमेरिकाका स्थानिय सञ्चार माध्यमले निकै महत्वका साथ प्रकाशन/ प्रशारण गर्ने गरेका रहेछन्।

आत्महत्याको दर विशेषत प्रौढ पुरुषमा बढी देखिएको छ –सामाजिक कार्यकर्ता तथा भुटि्नज सोसाइटी अफ केन्टकी (वीएसके) सँग आवद्ध भीम कोइराला भन्नुहुन्छ – विशेषत: अंग्रेजी भाषामा दख्खल नहुँदा काम र सामाजिक जीवनमा भएका कठिनाइको कारण मानिसमा निराशा बढ्दै जाँदा मानसिक समस्या देखिएका छन्।अमेरिकामा करिव एकलाख जनामा करिव ११ जनाले आत्महत्या गर्ने रिसर्चहरुले देखाएपनि अमेरिकामा पुनर्स्थापित भुटानी नागरिकमा भने तुलनात्मक रुपमा उच्च रहेको रेफ्युजी हेल्थ टेक्निकल असिष्टेन्स सेन्टरले उल्लेख गरेको छ। सन् २०१२ मा अफिस अफ रेफ्युजी रिसेटलमेन्टको आग्रहमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले गरेको रिसर्चले भने अमेरिकाको आत्महत्या दर एक लाखमा १२.४ भएपनि अमेरिकामा पुनर्स्थापित भुटानी नागरिकमा भने यो दर २०.३ प्रतिशत रहेको उल्लेख गरेको छ।

'यो अलि पुरानो तथ्यांक हो', सामाजिक कार्यकर्ता कोइराला भन्नुहुन्छ – 'सन् २०१६ पछि यो क्रममा निकै सुधार आएको छ।' 

अमेरिकामा अहिलेसम्म कतिजना भुटानी शरणार्थीले आत्महत्या गरिसके भन्ने आधिकारिक संख्या भने कुनै पनि संस्था वा सञ्चार माध्यमले राखेका छैनन्।तर पनि, यो समस्या उच्च रहेको सबैले उल्लेख गरेका छन्। 

अमेरिकामा पुनस्थार्पित प्रौढ भुटानी नागरिकमा भने तीन तहको यातनाले गर्दा मानसिक समस्या देखिएको छ ।

'कतिपय मानिसले भुटानमा नै शारीरिक र मानसिक यातना पाएका थिए भने कतिपयले शरणार्थीको रुपमा करिव २० वर्ष भुटानी शरणार्थी शिविरमा यातना भोगेका थिए', कोइराला भन्नुहुन्छ– 'अमेरिका पुनर्वासपछि पनि अंग्रेजी भाषामा दख्खल नभएकोले आय आर्जनका काम गर्न नसक्ने, इन्सुरेन्सको व्यवस्थापन गर्न नजानेको कारण स्वास्थ सेवावाट वञ्चित हुने र पारिवारिक विखण्डन हुने कारणले पनि मानसिक स्वास्थ समस्या देखिएका छन्।'

लामो समयसम्म भुटानी शरणार्थीको लागि स्वास्थ उपचारमा सहयोग गर्दै आएका पेशाले नर्स अग्नी खरेल पनि धेरै प्रौढमा मानसिक समस्या उच्च रहेको वताउनुहुन्छ। 'धेरै प्रौढमा मानसिक समस्या छ र यस्ता घटनाबाट बचाउन परिवारले औषधि व्यवस्थापनमा धेरै ध्यान दिनु उचित हुन्छ', खरेलले भन्नुभयो। 

पेन्सिलभेनिया, जर्जिया, ओहायो, केन्टकी, टेक्सास, न्यू ह्याम्पसायर, एरिजोना र टेनिसीमा धेरै भुटानी नागरिक पुनर्स्थापित भएको र ती ठाउँका प्रौढ पुरुषमा बढी समस्या देखिएको सेन्टर फर हेल्थ जर्नालिज्मले उल्लेख गरेको छ।

केही युवाले पनि आत्महत्या गरेका छन् तर त्यस्ता घटना प्रौढको तुलनामा न्यून छन्। रेफ्युजी हेल्थ टेक्निकल असिष्टेन्स सेन्टरले भने निरासा, सामाजिक बहिष्करण, बेरोजगारी, परिवारजन वा सम्पत्ति गुमाएको पीडालाई आत्महत्याको प्रमुख कारण मानेको छ।

मानसिक समस्या भएका व्यक्तिलाई सहयोग गर्न राज्यले सहयोगीको व्यवस्था गर्नुका साथै अस्पतालमा दोभाषे उपलव्ध गराउने र परामर्श सेवा उपलव्ध गराउने कार्यसमेत गर्दै आएको छ। 

'हामीले समुदायका युवायुवतीलाई मेन्टल हेल्थ फष्ट एड तालिम प्रदान गर्दै आएका छौ, जसले आफ्नो घर र समुदायमा सहयोग पुगिरहेको छ',  सामाजिक कार्यकर्ता कोइराला भन्नुहुन्छ। पेन्सेल्भेनियाको पिट्सवर्गका अशोक गुरूङको अगुवाईमा सन् २०१६ मै एकहजार मेन्टल हेल्थ फष्ट एडर्स बनाइएको थियो। त्यो क्रम अन्य राज्यका अगुवा भुटि्नज नेपालीहरूले पनि बढाइ रहनु भएको छ।

स्वर्गीय सुब्बालाई समाधिस्थ गरेर फर्किएको डेढ घण्टामा नै फेरि सुब्बालाई अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको फनक्रिक फनेरल होम पुगें।सोमवार मात्रै शिकागो नजिक भएको ट्रक दुर्घटनामा ३० वर्षीय ठाकुर काफ्लेको निधन भएको थियो र शव आइपुग्नासाथ अन्त्येष्टिको प्रक्रिया सुरु गरियो।एकै दिन समुदायका दुईजनालाई विदाइ गर्नुपर्दा लुइभेलको नेपाली समुदाय शोकाकुल बन्यो ।

दुवैलाई हार्दिक श्रद्धाञ्जलि ।

प्रकाशित मिति: : 2019-03-23 08:57:43

प्रतिकृया दिनुहोस्