प्रचण्डको भ्रमणबारे नारायणकाजीले खोले मुख

तस्वीर : ई-कान्तिपुर ।

अमेरिकामा रहेका नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका बारेमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मुख खोलेका छन्।भ्रमणलाई लिएर विभिन्न टीका टिप्पणी हुँदा पनि पार्टी वा सरकारका तर्फबाट कोही नबोलिरहेको अवस्थालाई उनले क्रमभंग गरिदिएका छन् । 

कुनै समय प्रचण्ड अमेरिकाको आतंककारीको सूचीमा भए पनि त्यो धेरै पहिला हटिसकेको बताउँदै उनले भनेका छन्- 'अमेरिकामा अध्यक्ष प्रचण्डलाई कुनै पनि झमेला हुने कुरै छैन।'

अमेरिकी राजदूत बेरी नै अध्यक्ष प्रचण्डकोमा गएर भ्रमणका लागि मार्गप्रशस्त गरिदिने बताएर त्यसका लागि भिसालगायतका प्रक्रियाहरू पूरा गरिदिएको उल्लेख गर्दै उनले भनेका छन्- 'अमेरिकामा रहेको कुनै एकजना व्यक्तिले तथ्य नै गलत भएको दाबी गरेर असम्बन्धित निकायमा दिइएको इमेल उजुरीको आधारमा कारबाही हुने कसरी हुन्छ र? '

प्रवक्ता श्रेष्ठले अमेरिकामा रहेका केही नेपालीले सामाजिक सञ्जालमा देखाएको व्यवहारबाट दु:ख लागेको बताए। उनले अगाडि भने- 'नेपालको दोहोरो नागरिकता चाहिने भन्ने अनि दुईतिहाई बहुमत भएको सत्तारूढ दलको अध्यक्ष श्रीमतीको उपचार गर्न गएको बेला न्युनतम मानवीय समवेदना पनि नदेखाउने- यस्तो ब्यवहार कसरी उचित होला र ?'

प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्डको भ्रमण व्यक्तिगत भए पनि उच्चस्तरीय भेटवार्ताको सम्भावनालाई भने नकारेनन् ।

प्रकाशित मिति: : 2019-03-21 03:40:46

प्रतिकृया दिनुहोस्