अमेरिकी सिनेटबाट ट्रम्पको 'राष्ट्रिय संकट' घोषणा अस्वीकृत

तस्वीर : गेट्टी इमेजेज

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अर्को एउटा अप्रत्यासित झड्का लागेको छ। उनको राष्ट्रिय आपतकालिन घोषणा सिनेटमा ५९-४१ मतको बहुमतले अस्वीकृत भएको छ। १२ जना रिपब्लिकन सिनेटरहरू विरूद्धमा उभिएपछि ट्रम्प घोषणा सिनेटबाट अस्वीकृत भएको हो। 

सिनेटमा बहुमतले राष्ट्रपतिको प्रस्ताव अस्वीकृत भए पनि अस्वीकार गर्ने पक्षमा दुई तिहाई अर्थात् ६७ मत खसेन। यसले गर्दा अझै पनि उनीसँग भिटो लगाएर घोषणा लागु गर्ने गुञ्जायस भने बाँकि नै रह्यो। 

राष्ट्रपतिको घोषणाको विपक्षमा उभिने सिनेटरहरूमा रेजर विकर (मिसिसिप्पी), मार्को रूवियो (फ्लोरिडा), रब पोर्टम्यान (ओहायो), सुसन कोलिन्स (म्यान), लिसा मुर्कोवस्की (अलास्का), प्याट टुमी (पेन्सेल्भेनिया), रोय ब्लन्ट (मिजौरी), लामार अलेक्जेण्डर (टेनेसी), मिट रोम्नी ( उटाह), राण्ड पाउल (केन्टकी), जेरी मोर्गन (कान्सास) र माइक ली (उटाह) रहेका छन्। 

अमेरिकी कंग्रेसको तल्लो सदनले मेक्सिको सीमामा पर्खाल लगाउन ५६० बिलियन डलरको बजेट अस्वीकार गरेपछि राष्ट्रपतिले राष्ट्रिय संकटकालको घोषणा गरेर बजेटको जोहो गर्ने योजना बनाएका थिए। त्यस योजनालाई तल्लो सदनले यसअघि नै ठूलो बहुमतले अस्वीकृत गरेर माथिल्लो सदन सिनेटमा पठाएको थियो। सिनेटमा रिपब्लिकनहरूकै बहुमत भएकाले राष्ट्रपतिको घोषणा स्वीकृत हुने अपेक्षा गरिएको थियो। तर, केही समययता राष्ट्रपति ट्रम्पको विपक्षमा हावा बग्न थालेको संकेत मिलेपछि रिपब्लिन सिनेटरहरूले आफ्नो राजनीति जोगाउन उनको विपक्षमा उभिने निर्णय गरे। 

सिनेटरहरूको यो निर्णय राष्ट्रपति ट्रम्पका लागि अमेरिका मेक्सिको पर्खाल निर्माणका लागि त आफैंमा पर्खाल जस्तै त छ नै, यो विभाजन उनको २०२० मा दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिने सपनाका लागि पनि शुभ संकेत हैन। 

अब सबैको ध्यान राष्ट्रपति ट्रम्पतिर तेर्सिएको छ- अब उनले के गर्छन् ? भिटो खर्च गरेरै भए पनि राष्ट्रिय संकटकाल लगाएर सीमामा पर्खाल लगाउँछन् या यो योजना मिडप्याक गर्छन् । जे गरे पनि राष्ट्रपति ट्रम्पका लागि त्यो निर्णय महंगो सौदा हुने देखिन्छ। 

प्रकाशित मिति: : 2019-03-15 02:38:36

प्रतिकृया दिनुहोस्