नेपाल समाचारपत्रका युरोप संवाददाता दिपेन्द्र गजुरेललाई समाचार लेखेकै कारण गैर आवासीय नेपाली संघ एनआरएन स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाले धम्की दिँदै कारबाही गर्न वक्तव्यबाजी गरेका छन् ।
नेपाल समाचारपत्रको प्रिन्ट र अनलाइन संस्करणमा सडक दुर्घटनामा परी स्पेनमा एक नेपालीको मृत्यु शीर्षकको समाचारलाई लिएर एनआरएन स्पेनले धम्किपूर्ण विज्ञप्ति निकालेको हो।
जुलाई २८ मा बसेको बैठकको निर्णय भन्दै एनआरएन प्रवक्ता हिरालाल सापकोटा डायमण्डको नाममा जारी विज्ञप्तिको बूँदा नम्बर ६ मा भनिएको छ, ‘दीपेन्द्र गजुरेल भन्ने व्यक्तिबाट एनआरएन स्पेनको छविमा आँच आउने कार्य गरेको, लासमाथिको राजनीति, दुर्घटनामा परी दुःख परेको बेला अतिरन्जित गर्दै स्पेनवासी नेपालीको भावनामा खेली नेपाली समाजलाई एवं नेपाली दूतावासलाई बदनाम गर्न लागि परी गरिएको विभिन्न व्यक्तिहरुको चरित्र हत्यादेखि समाज भाँड्ने कार्य गरेकोमा खेद प्रकट गर्दै उक्त व्यक्ति र कार्य उपर छानविन गरी कारवाहीको लागि अनुशासन समितिलाई सिफारिस गर्ने निर्णय गरियो र विज्ञप्ति मार्फत् खण्डन गर्ने साथै कानुनी प्रकृयामा जाने निर्णय गरियो ।
२०६२ सालदेखि पत्रकारिता गर्दै आएका गजुरेल एभिन्यूज टिभी, न्यूज २४, हिमाली टिभी, माउण्टेन टिभी, आर्थिक अभियान दैनिक, लोकतन्त्र डटकम हुँदै नेपाल समाचारपत्रमा कार्यरत क्रियाशील पत्रकार हुन्।
उनी अहिले युरोपबाट कामना प्रकाशन समूहका लागि नियमित रिपोटिङ गर्दै आएका छन्।
अध्यक्ष सापकोटालाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन्। सामान्य समाचारलाई लिएर आफूमाथि रिसिइबि साँधेर सामाजिक सञ्जालमा आफ्नो मानमर्दन गरेकोमा खेद व्यक्त गर्दै समाजको गलत प्रवृत्ति विरुद्ध लेखिरहने बताए। उनले आफ्नो जीउधन अनि मानवअधिकार रक्षाको निम्ति आफूले अन्तर्राष्ट्रिय पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ युरोप शाखा र स्पेनकै सुरक्षा अधिकारी गुहार्न सम्बन्धित संस्था र वकिलसँग छलफल गरिरहेको बताए।