भूकम्पको बेला काठमाण्डू रहेका एक पोर्चुगिज साइकल यात्रीको समाजसेवाबाट प्रभावित भएर अर्का एक पोर्चुगिज नागरिक पेद्रो बेन्तो १० हजार किलोमिटर साइकल यात्रा गरेर काठमाण्डू पुगेका छन् ।
एक किलोमिटर बराबर एक यूरोको योजनासहित सामाजिक सञ्जालमा आफ्नो यात्राबारे बताउँदै चन्दा जम्मा गर्दै काठमाण्डू पुगिसक्दा अनुमान गरेभन्दा बढी चन्दा जम्मा भएको छ ।
४० वर्षीय पेद्रो पोर्चुगलको सान्तारायँ नगरपालिकाका बासिन्दा हुन् । उनी खेलकूदमा रुचि भएका सक्रिय समाजसेवी हुन् । अनाथ, अपाङ्ग र टुहुरा केटाकेटीको सहयोग गर्न पाउँदा असाध्यै भाग्यमानी मान्ने पेद्रो जंगलमा आगलागी हुँदा आगो निभाउन तयार सहयोगी व्यक्ति हुन् । उनी अरूको सेवा गर्न जस्तोसुकै जोखिम लिन पनि हरदम तयार रहन्छन् ।
०७२ सालको विनाशकारी भूकम्पले नेपालमा धनजनको क्षति भएको बेला संयोगवश काठमाण्डूमा रहेका पोर्चुगिज साइकलयात्री पेद्रो केइरोसको कामलाई पोर्चुगलमै बसेर उनले नियालिरहेका थिए । उनको मनमा आफूले पनि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । पछि उनले आफ्नै नगरबासी केइरोसलाई भेटे र आफूले पनि उनको अनुसरण गर्ने बताए ।
केही वर्ष अघि साइकल दुर्घटनामा परेर झण्डै अपांग भएका बेन्तो सामान्य जीवनमा फर्किए पनि पेशागत रुपमा साइकल चलाउन नसक्ने भए । हिम्मत हारेनन् । अन्ततः उनले १० हजार किलोमिटर टाढा रहेको काठमाण्डूको माटो छोएरै छाड्ने प्रतिज्ञा गरे ।
पानीको बोतल, एक डल्लो स्लिपिँग ब्याग, आवश्यक औषधी लगायत नक्सा भरिएको झोला बोकेर उनी एक्लै लागे स्पेनतिर । स्पेनबाट फ्रान्स, इटली, स्लोभानिया, क्रोएशिया, मोन्टेनेग्रो, अल्बानिया, बुल्गेरिया, टर्की हुँदै इरान पुगे । इरानबाट अफगानिस्तानको यात्रा तय गर्ने क्रममा बाटोमा तालिबानीले विदेशीको हत्या गरेको खबर आयो । पाकिस्तानको पैदल मार्ग पनि असुरक्षित छ भनेर इरानी अधिकारीले यात्रा नगर्न सल्लाह दिए ।त्यसपछि उनी तेहरानबाट भारतसम्मको हवाइ यात्रा गर्न बाध्य भए ।
ड्रिम्स अफ काठमाण्डू परियोजनालाई अघि बढाउँन सामाजिक काममा लाग्ने बताउँदै पेद्रो बेन्तोले भने, धेरै नेपाली पोर्चुगलमा काम गर्नुहुन्छ । बस्नुहुन्छ । नेपाल र पोर्चुगलको सम्बन्ध बढ्दै गएको छ । सुन्नोस् त काठमाण्डू भन्ने बित्तिकै दाल, भात, तरकारी र पिरो चटनीको कुरा भैहाल्छ । अनि तात्तातो मम कसरी भुल्ने ? सबै सहयोगी, सबै खुला र सफा मन भएका नेपाली । मैले सुनेभन्दा धेरै राम्रो रहेछ नेपाल ।
भारतबाट भने साइकलमै नेपालतिर लागे उनी । युरोपेली बनावट, बाटाघाटा, मौसम लगभग उस्तै लाग्यो । तर एशियाका बाटा, मौसम र मानिसहरु असाध्यै भिन्न महसुस गरे । मानिसहरु कति सफा हृदय भएका रहेछन् । मलाई इरान, भारत र नेपालमा भेटेका मानिसप्रति असाध्यै श्रद्धा लागेर आयो । सबैको स्नेह, श्रद्धा । अहा । नेपालमा त लौ आज हाम्रो घरमा खान जाउँ भनेर लैजाने मानिसहरू नै भेटिए । पोर्चुगलमा कसले लैजान्छ यसरी अपरिचित मान्छेलाई घरमा ? उनले अनुभव सुनाउँदै भने ।
पेद्रो केइरोसले भूकम्पपीडित भक्तपुरका स्कूलमा सहयोग गरेका थिए। ड्रिम्स अफ काठमाण्डू भन्ने परियोजना नै बनाएर उनले काम गरिरहेका छन् । नेपाल केइरोसले भने जस्तै रहेछ । मलाई असाध्यै मन पर्यो काठमाण्डू ।
उनले जम्मा गरेको पैसा काठमाण्डूमा सडक बालकको लागि शिक्षा, कपडा र स्वास्थ्य सेवामा खर्च गरेका छन् । त्यसबाहेक वर्षेनी हिउँदमा आगलागीमा परेर अग्नी नियन्त्रकले ज्यान गुमाउने हुँदा आफ्नै ठाउँको अग्नि नियन्त्रककर्मीलाई सजिलै आगोले नटिप्ने आधुनिक कपडा किनिदिए । साइकल दुर्घटनामा परेर अपाँग भएका साथी लुईस जेजुँको ह्विल चेयरको पाँग्रा फेरिदिए ।
पैसा अझै जम्मा हुँदैछ । अरु पैसा नेपालका भूकम्प पीडित केटाकेटीको लागि खर्च गर्दैछन्। महत्वपूर्ण कुरा के छ भने, उनले आफूले जम्मा गरेको पैसा र खर्च गरेको सबै ब्यहोरा सामाजिक सञ्जाल र आफ्नो ब्लगमा जस्ताको तस्तै राखेका छन् ।
७१ दिनको यात्रापछि नेपालबाट अप्रिलको दोश्रो साता फर्किएका बेन्तोलाई स्थानीय नगरपालिकाले साइकल यात्रा सफल पारेकोमा र नगरपालिकालाई आर्थिक सहयोग गरेकोमा धन्यवाद कार्यक्रमको आयोजना गरेको थियो । सांस्कृतिक आदानप्रदान मात्र नभएर अग्नी नियन्त्रकलाई बेन्तोले गरेको सहयोगले आफूहरु सबैलाई अझ जिम्मेवार बनाएको भन्दै नगरप्रमुखले स्याबासी दिए । यस्ता असल नागरिकको नगरमा काम गर्न पाउनु आफ्नो भाग्य भएको उनले बताए ।
ड्रिम्स अफ काठमाण्डू परियोजनालाई अघि बढाउँन सामाजिक काममा लाग्ने बताउँदै पेद्रो बेन्तोले भने, धेरै नेपाली पोर्चुगलमा काम गर्नुहुन्छ । बस्नुहुन्छ । नेपाल र पोर्चुगलको सम्बन्ध बढ्दै गएको छ । सुन्नोस् त काठमाण्डू भन्ने बित्तिकै दाल, भात, तरकारी र पिरो चटनीको कुरा भैहाल्छ । अनि तात्तातो मम कसरी भुल्ने ? सबै सहयोगी, सबै खुला र सफा मन भएका नेपाली । मैले सुनेभन्दा धेरै राम्रो रहेछ नेपाल ।