बेलायतको सत्ताधारी दल टोरीको नयाँ नेता चयनका लागि भएको पहिलो चरणको मतदानमा बोरिस जोनसनले सबैभन्दा बढी मत ल्याएका छन् ।
कन्जर्भेटिभ पार्टीको हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने तीन सय १४ सांसदमध्ये एकसय १४ जनाले जोन्सनलाई मतदान गरेका छन् । यसैगरी जेरेमी हन्ट ४३ र माइकल गोब ३७ मत पाई क्रमश: दोस्रो र तेस्रो स्थानमा रहे । २७ मतका साथ डोमिनिक राब चौथो स्थानमा रहे । जोन्सनका प्रतिस्पर्धी ठानिका गृहमन्त्री साजिद जाभिद भने २३ मतका साथ पाँचौ स्थानमा रहे । म्याट ह्यानकक र रोरी स्टेवार्ट क्रमश: २० र १९ मतका साथ क्रमश: छैटौं र सातौं स्थानमा रहदै दोस्रो चरणमा प्रवेश गरे ।
१७ मतभन्दा कम मत पाएका तीन प्रतिस्पर्धी भने प्रारम्भिक चरणबाटै बाहिरिएका छन् । यसरी बाहिरिनेमा आन्द्रे लेन्डसम, मार्क हार्पर र इथर म्याक्भी रहेका छन् । उनीहरूले क्रमश: ११, १० र ९ मत पाए ।
अर्को साता हुने दोस्रो चरणको मतदानमा पहिलो र दोस्रो मत ल्याउने उम्मेद्वारबीच नेताका लागि अन्तिम प्रतिस्पर्धा हुने छ । अन्तिम चरणमा कन्जरभेटिव पार्टीका एकलाख २४ हजार साधारण सदस्यले मतदान गर्नेछन् । विजयी उम्मेद्वार जुलाई २२ मा टोरीको नेताका रूपमा छानिने छन् ।
बेलायतको संविधानअनुसार सत्तारूढ दलको नेता नै प्रधानमन्त्री हुने भएकाले यसरी छानिने टोरी नेता नै बेलायती प्रधामन्त्रीका उत्तराधिकारी हुनेछन् ।
पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएपछि जोन्सनले भने, ‘हामीले पहिलो चरणमा जित निकालेका छौं । तर हामीले लामो बाटो तय गर्नुछ । उता ’ विदेशमन्त्री जेरेमी हन्टले भने, ‘हामी दोस्रो भएका छौं, यो गम्भीर समय हो ।’