पोर्तुगलको विला नोवा डे मिलफन्ट्स क्षेत्रमा कृषिमा काम गर्ने २ जना नेपालीलाई दुर्व्यवहार गर्ने ४ एनआर सैनिक निलम्बित भएका छन्। उक्त घटनामा संलग्न थप एक सैनिक पक्राउ परेका छन्।
नेपाली कृषि मजदुर र कृषि व्यवसायका मालिकको बिचमा विवाद हुँदा मालिकसँगको सम्बन्ध र भनसुनको आधारमा ती सैनिकले नेपाली कामदारमाथि दुर्व्यवहार, ज्यादती र शक्ति प्रदर्शन गरेका थिए।
आप्रवासी नेपालीहरुको वासस्थान पत्ता लगाएर रातिको समयमा नेपाली कामदारको घरमै गएर अपहरण शैलीमा जिएनआर सैनिकहरुले दुव्यवहार गरेको र भौतिक आक्रमण गरेको आरोप लागेको छ।
शुरूमा एक जना सैनिक मात्रै नेपाली कामदारको वासस्थानमा गए पनि पछि उनले फोन गरेर अन्य ३ सैनिकहरुलाई बोलाएर नेपालीमाथि दुर्व्यवहार गरेका थिए।
नेपाली कामदारको बचाउमा आएका अर्का नेपालीलाई समेत अपहरण र दुर्व्यवहार गरेको आरोप सैनिकहरुलाई लागेको छ।
आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा नेपाली कृषि कामदारमाथि दुर्व्यवहार, शक्ति प्रदर्शन र कुटपिट गरेका उनीहरुलाई अपरहण र ज्यान मुद्दा लागेको छ।
बुधबार बिहान पक्राउ परेका ४ जना सैनिकहरुलाई कारबाहीको लागि बिहिबार अदालतमा उपस्थित गराईएको थियो भने अदालती बयान पछि थप एक सैनिक पक्राउ परेका छन्।
घटना अक्टोबर २०१८ हो। पीडित नेपालीहरुले सेनाको ज्यादतीको बारेमा पोर्तुगलको न्यायिक प्रहरीमा उजुरी दिएका थिए। पीडितको उजुरी र प्रमाणका आधारमा यहाँको न्यायिक प्रहरीले घटनामा संलग्न सेनाका अधिकारीहरुलाई पक्राउ गरेको हो।