प्रहरीले भन्यो- विकिलिक्सका संस्थापक असान्जलाई छिट्टै अदालतमा उपस्थित गराइन्छ

तस्बिरः एजेन्सी

अमेरिका र अन्य देशका गोप्य दस्ताबेजहरू इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका एक संस्थापक जुलिअन असान्जलाई उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट गिरफ्तार गरिएको छ ।

पक्राउबारे पुष्टि गर्दै लन्डनको महानगरीय प्रहरीले भनेको छ, ‘असान्जलाई हिरासतमा लिइएको छ र उहाँलाई वेस्टमिन्स्टर मजिस्ट्रेट्स अदालतमा ‘यथाशीघ्र‘ उपस्थित गराइने छ।’

उनले अदालतसमक्ष उपस्थित हुन अस्वीकार गरेपछि त्यसरी पक्राउ गरेको प्रहरीले बताएको छ।

यसैबीच असान्जको पक्राउपछि उनको समर्थनमा विभिन्न तप्काबाट आएका दवावको जवाफमा बेलायती विदेश मन्त्री जेरमी हन्टले ‘असान्ज नायक होइनन्’ भने। लामो समयदेखि इक्वेडरको राजदूतावासमा शरणार्थीका रूपमा रहँदै आएका उनको शरणार्थीको मान्यता फिर्ता गरिएपछि पक्राउ गरिएको हो ।

हन्टले भने, ‘अन्तराष्ट्रिय कानून, विधि र प्रक्रिया कसैलाई पनि लागु हुने कुरा हुन् यसबाट उम्कनसक्ने वा छुट पाउनुपर्ने असान्ज कुनै नायक होइनन्।’ उनलाई बेलायती धरौटीको शर्त पालना नगरेको आरोपमा बिहीबार बिहान १०:५३ मा मध्य लण्डनबाट पक्राउ गरिएको हो ।

अमेरिका र अन्य देशका गोप्य दस्ताबेजहरू इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका एक संस्थापक असान्जलाई उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट गिरफ्तार गरिएको बताइएको छ ।

सतचालीस वर्षीय असान्जले सात वर्षअघि उक्त राजदूतावासमा शरण लिएका थिए। यौन दुब्र्यवहारसम्बन्धी एक मुद्दामा स्वीडेन सुपुर्दगी गरिनबाट जोगिन उहाँ सन् २०१२ देखि एक्वेडोरको दूतावासमा बसिरहेका थिए। तर, उनीविरुद्ध त्यस्तो मुद्दा फिर्ता लिइसकिएको छ ।

एक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले भने जुलिअन असान्जले बारम्बार अन्तर्राष्ट्रिय मान्यताहरू उल्लङ्घन गरेपछि उनलाई दिइएको शरणार्थीको मान्यता फिर्ता लिइएको बताए।

तर विकिलिक्सले ट्वीट गर्दै एक्वेडोरले असान्जको राजनीतिक शरणार्थीको मान्यता रद्द गर्ने कार्य गैरकानुनी भएको बताएको छ र त्यो ‘अन्तर्रा्ष्ट्रिय कानुन विपरीत भएको’ भनेको छ । उनलाई न्यायसङ्गत व्यवहार गर्न अष्ट्रेलियाले बिहीबार नै आग्रह गरेको छ ।

अष्ट्रेलियाको क्वीन्सल्याण्डमा जन्मिएएका असान्जमाथि अन्तर्राष्ट्रिय कानूनसम्मत व्यवहार गर्न अष्ट्रेलियाली विदेशमन्त्री माराइज पाइनले आग्रह गरे। विदेश मन्त्रीले भने, ‘हामीलाई थाहा छ उनलाई सन् २०१२ मा जारी गरिएको पक्राउ आदेश अनुसार अदालतमा आत्मसमर्पण नगरेकोमा पक्राउ गरिएको छ। बेलायतमा उहाँलाई अन्तर्राष्ट्रिय कानून अनुसार व्यवहार हुनेछ।’

प्रकाशित मिति: : 2019-04-11 23:09:37

प्रतिकृया दिनुहोस्