हमी मे थी न कोइ वात याद न तुमको आ सके, तुम ने हमे भुला दिया, हम न तुमे भुलासके -हफिज जालान्धरी
अस्ताउँदाको होस् वा उदाउँदाको, क्षितिजतिरको घामको झुल्को देख्दा लाग्थ्यो रे कतै नेपाल देखिन्छ कि। ती गरा बस्ती ती आत्मीय मनहरु देखिन्छन् कि। यी सबै मनकै कुरा थिए भावनाकै कुरा थिए। उनलाई राम्ररी थाहा थियो अष्ट्रिलियाबाट नेपाल देखिदैन भन्ने। देख्न सकिन्थ्यो कतै सपनामा त कतै कल्पनामा। मन अजीबको बनिदिन्छ बेलाबखत। यही मनले अभिमान सिंह बस्नेतलाई बनाएरै छोड्यो एनआरएनएकोे सदस्य। तानिरह्यो नेपाल अनि नेपालीहरुको माया र सामिप्यताले। हेर्न खोज्यो त्यही मनले नेपाललाई। जन्मभूमिलाई अझ भनौं पूर्खाको थलोलाई।
अष्टेलिया पुगेको ४ वर्षसम्म उनले फर्केर पनि हेरेनन् त्यो संस्थालाई। उनलाई लाग्थ्यो त्यो विदेशमा सेटल भएका, टाइसुट लाउनेहरुको संस्था हो। एक दिन साथीहरुले भनेछन्–तँ एक्टिभ छस्। तँ जस्तो मान्छे एनआरएनएमा चाहिन्छ आइज। निकै दिनसम्म सोचेछन्। त्यही मनले आदेश दिएछ जानलाई। अहिले उनी अष्टेलियामा एनआरएनए चिनाउने मान्छे भनेर चिनिन्छन्। ११ वर्ष भयो उनले नेपाल छोडेको। उसो त बेलाबखत आइरहेकै हुन्छन् नेपालमा। तर पनि परिवार उतै छ। यहाँ आउनु भनेको त केवल दुईचार दिनको पाहुना न हो। सधैँ यतै बस्नु र कहिलेकाही आउनु एउटै कहाँ हुनु। उनी भन्छन् –हामी प्रवासीका लागि घरदेश आउनु भनेको छोरी चेलीले माइती गए जस्तै न हो। लाग्छ नेपाल आउदा माइती आएको छु।
अष्ट्रेलियन भाषामा त्यहाँको नागरिकलाई अजी भनिन्छ। छोराछोरीले उइ आर अजी भन्दा चसक्क दुख्यो उनको मनको पाटो। धन नहुँदा नि मन भएका मान्छेहरु बस्ने देश हो नेपाल। सालनाल गाडेको धर्ती त्यही नेपालमा छ। तिनै नेपाली मन भएका मान्छेहरुको समूहबाट टाढा हुन सकेनन् उनी पनि। संस्थागत रुपमा केही गर्न सकिन्छ कि भनेर लागिपरेका छन्। उनी भन्छन् – यस्ता संस्थाले आर्थिक उपार्जनका साथै सामाजिक सद्भाव र भाइचाराको सम्बन्धलाई बलियो पार्ने भूमिका निर्वाह गर्न सक्नु पर्दछ। नेपाली समाजको उत्थान गर्न सके बेरोजगारी समस्या पनि हल हुने थियो।
बस्नेतका आफ्ना छुट्टै धारणाहरु छन्, आदर्शहरु छन्, र छन् आफ्नै अडानहरु। बोलेको पुरा गर्नु पर्छ उनले। नसकिने कुरा बोल्नु हुँदैन भन्ने मान्नेता बोकेका एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष बनिसकेका उनी आफ्नो बाटो आफै बनाउनु पर्छ र आफै हिँड्नु पर्ने हुन्छ ठान्छन्। त्यही बाटोले सिकाउँछ अगाडी बढ्न पनि। आजका दिनमा मान्छे होस् वा संस्था सबै चलायमान हुनु पर्छ। थिग्रिनु हुँदैन भन्ने उनको पनि मान्यता रहेको छ। यसरी जिन्दगी र आफु संलग्न संस्थालाई चलाएमान बनाउन अगाडी बढ्ने दौरानमा सैनिक जत्थाले हातहतियार बोके जस्तो, भरियाले सामानको भारी बोके जस्तो, बोकिरहेकै छन् उनी पनि कार्यक्रम, बिचार र योजनाका भारी।
उनका बुढाबुढी दुबैजना काम गर्छन्। सामान्य कमाइ छ र पनि वर्षमा ८/१० लाख रुपैया नेपाल पठाइरहेका छन्। सामाजिक सेवामा खर्च गरिरहेका छन्। उनी भन्छन्– ’म मेरो सेवालाई व्यापार गर्न चाहन्न। प्रचार पनि गर्न चाहन्न किनकि त्यसले मलाई खुसी दिन्छ। मैले हिजोका दिनमा मोजाको फुटबल खेल्दाको दुःख सम्झेर अनाथालयमा रहेका भाइबैनीहरुको पढाइमा थोरै मात्रामा भएपनि राहत हुन सक्छ कि भनी सहयोग गरिरहेको हुँ।‘
बस्नेतका अनुसार अष्टेलियामा मात्र २ लाख नेपालीहरु बसोबास गरिरहेका छन्। वर्षमा कम्तिमा पनि ४/५ हजार डलर सबैले नेपालमा पठाएकै छन्। तर त्यसलाई सामुहिक रुपमा लगानी गर्न सकिएको छैन। आज विभिन्न क्षेत्रमा नेपालीहरुले ठूलो अनुभव बटुलेका छन्। त्यो कुरा सरकारसँग नेगोसियसन गरेर संस्थागत रुपमा काम गर्ने वातावरण बनाउनु पथ्र्यो हुन सकेको छैन। हामी त्यो कुरामा चुकेका छौं।
रातको रात परिवर्तनका पत्रहरु पल्टिदिए हुन्थ्यो ठान्छ मान्छे। तर हरेक काममा समय लाग्छ। धैर्यधारण गर्न सक्नु पर्ने हुन्छ। अनि राज्य हाक्नेहरुको सोचाइका पाटाहरु पविवर्तित हुनु पर्ने हुन्छ। यी सम्पूर्ण कुराहरु मनन् गरेर उनी भन्छन् – ‘नेताहरुले विदेश घुम्दा हामीले नकरात्मक रुपले लिनु हुन्न। नेतृत्व तहमा भएका बढीभन्दा बढीले विदेश भ्रमण गर्न पाउनु पर्छ। तब न केही सिकेर आउछन्। देखेर आउछन्। जंगबहादुरको बेलायत भ्रमण हुँदैनथ्यो भने सिंहदरबार जस्ता भवन बन्ने थिएनन्। नेतृत्व तहमा पनि चेतनाको कमी छ। नेपालका नेतृत्व तहका मान्छेहरु अष्टेलिया पुग्दा मैले समय निकालेर घुमाउने गरेको छु। हेरेर देखेर सिक्ने हो नेताले पनि। सोचाइ मात्र परिवर्तन हुन सक्यो भने पनि धेरै ठुलो उपलब्धि हुन जान्छ। हामीले पनि गर्न पाए हुन्थ्यो भन्ने सोच मात्र दिमागमा आउदा पनि एक किसिमको परिवर्तन नै भएको मान्नु पर्छ। आधुनिक युगमा आधुनिक प्रविधिको ज्ञान हुनु पनि जरुरी छ।’
मैले बारम्बार देशको राजनीतिक माहोल, जेलिदै गएको भ्रष्टाचार, महङ्गी कालोबजारी लगायतका कुरा गरेर चिन्ता व्यक्त गरिरहदा पनि उनीभित्र आशाका किरणहरु चम्किरहेकै थिए। उनले सुन्दर भविष्य देखिरहेकै थिए। भारत बाहेक विश्वका अन्य मुलुकमा छरिएका गैरआवाशीय नेपालीहरुको संख्या १ करोड नाघि सकेको कुरा सुनाउछन उनी। म बिचमै जिज्ञाशा व्यक्त गर्छु –महिनामा एक जनाले मात्र १ डलर दिदा नि १ करोड डलर हँुदो रहेछ हगि ? उनी मलाई सुनाउछन – ‘एक करोड हैन यहाँ अरबौं खरवौं डलर आउछ। लगानीको समस्या नै छैन। मात्र समस्या छ सुरक्षाको। सरकारले अपनाउने स्पष्ट नीतिको अनि उक्त नीति कार्यान्वयनको। जबसम्म सरकारको नीति स्पष्ट हुँदैन तबसम्म मान्छे सुरक्षित महसुस गर्न सक्दैन। लगानीकर्ता खुलेर आउन सक्दैन। जस्तो हामीले अष्ट्रेलियामा ३५ प्रतिशत ट्याक्स तिर्छौ। तर सरकारले सोसल सेकुरिटि दिएको छ। मेडिकल सुबिधा दिएको छ। बिमारी पर्दा आज पैसा छैन जान्न भन्नु पर्दैन। हस्पिटल जान सकेन, डाक्टरकोमा जान सकेन भने पनि फोन गरेर डाक्टर घरमै बोलाउन मिल्छ। आमाबुवा गुमाउदा नि बालबालिकालाई खान पढ्नको चिन्ता हुँदैन। उनीहरुले यहाँको बालबालिका जस्तो भएर हिँड्नु पर्दैन।’
आफू जन्मेको ठाउँको माया कसलाई नहोला। बाध्यताले पलायन भएका कैयौं नेपालीहरुले बस्नेतलेझैं बोकिरहेकै छन् मन मुटुमा नेपालको नक्सा, नेपालको माया। नेपाली भेषभुषा, संस्कृति, र यहाँको प्रकृति सबैले लोभ्याइरहेकै छन् कैयौं विदेशी मनलाई समेत। बस्नेत लगायत कैंयौ गैरआवाशीय नेपालीहरुको मुखार बिन्दुबाट सुनिन्छ एउटै कुरा विदेशमा पैसा छ। पैसाले सुख दिन्छ तर खुसी नदिदो रहेछ। खुसी त नेपालमै छ। घरदेशमै छ। हिमाल पहाड तराईतिरै छ। भीर पाखातिरै छ। रोधी, दोहरी, टप्पा, डेउडा सुनिने त्यही भूमितिरै छ। यसै प्रसङ्गमा उनी सम्झिन्छन् एक पटक सुविन पोख्रेलले पोष्ट गरेको स्टाटस। जहाँ लेखिएको थियो– ’नेपाल जान सोचेँ टिकट नकाटी निद्रै परेन। टिकट काटे दिन गन्दागन्दै मलाई गाह्रो भो।‘
इटहरीमा मध्यमवर्गी परिवारमा जन्मेका बस्नेत २ वर्ष नपुग्दै बिराटनगर मामा घरमा पुगे। उतै हुर्के उतैबाट माध्यामिक तहसम्मको पढाइ गरे। चारचार जना मामा माइजुको माया र स्नेह पाएर जिन्दगीको गोरेटो तय गर्ने क्रममा कतै फटाही गरे भने कतै सहयोगी भावना बोकेर हिँडे। कक्षा १० सम्म टप थ्रीमा पर्ने उनी ९ कक्षादेखि नै फिलिमको पारखी बने। टेष्टमा फेल भए। टेष्ट परीक्षाको नतिजा थाहा पाएपछि नृत्य शिक्षक राजनारायण र संगीत शिक्षक अनिल तिमिल्सिनाको साइकल लगेर साथीको लहैलहैमा अँध्यारो रात खाल्डाखुल्डी भएको बाटोमा हँुइकिदै गर्दा करिव १२ कि.मी. पार गरिसकेपछि दुवी भन्ने ठाउँमा एकाएक खाल्डोमा गल्र्यामगुर्लुम्म लडेर चोटपटक लागेछ। साइकिल भाँचिएछन्। झण्डै ज्यान बचेछ। त्यही गल्तीले जिन्दगीमा उचित मार्ग अपनाउने शिक्षा दियो। हिँड्ने लडछ। फेरि उठेर हिँड्नु पर्छ भन्ने सोचका साथ उनी अघि बढे। पढाइमा मन लगाए ब्याचुलर लेवल पास गरे। नेपाल टेलिभिजनमा स्क्रीन डाइरेक्टर भएर काम गरे। मञ्चन कार्यक्रममा सहायक निर्देशक बने। लक्की ७ कार्यक्रममा प्रोडिउसर डाइरेक्टर बनेर पनि काम गरे। अष्टेलियामा उनको छुट्टै संस्था छ। जसको नाम हो माउन्ट ८८४८ इभेन्ट। उक्त संस्थाको निर्देशक भएर काम गरिरहेका उनैले पछिल्ला दिनमा नेपाल आइडलका बुद्ध लामा, रवि ओड लगायतका कतिपय गायक गायिकाहरुदेखि अन्य कलाकारलाई अष्टेलिया लागि कार्यक्रम गराइरहेका छन्। उनी भन्छन् – ‘पर्यटन शिवाय बेच्न मिल्ने खासै केही छैन् नेपालमा। यो क्षेत्रमा सबै निकायको सोच पुग्नु जरुरी छ। अब नेपाल बन्नु पर्छ।’
केटीले कपाल काटेको मन पराउँदैन थिए उनी। कपाल काटेकै कारण साथीको इन्गेजमेन्टमा देखिएकी सिर्जनालाई हेर्दै हेरेनन्। साथीको बिहेमा मात्र चिनजान भयो उनीसँग। साथीको बिहे भएको ४ दिनपछि बस्नेतकी आमाले क्षितिज पारिको बाटो रोजिन् । आमा गुमाउनु पर्दाको पीडा थियो उनी भित्र। सेतो लुगा लगाएर यात्रारत उनले एक दिन अस्पतालबाट जादै गरेकी तिनै साथीकी साली सिर्जनालाई घरसम्म पु¥याइ दिए। बाटोमा कतिखेर मन साटियो। उनले पत्तै पाएनन्। पछि सन२००४मा तिनैलाई जीवन साथी बनाए। सन २००८ मा अष्ट्रेलिया पुगे। आज नर्सिङमा मास्टर्स उत्तीर्ण गरेकी तिनै सिर्जनाले उनलाई सघाइरहेकी छन्।
अबका १०/१५ वर्षमा नेपालमा केही परिवर्तन गर्न सक्यो भने कैयौं युवाहरुले शायद नेपाल छोडेर अर्को देश जानु पर्दैन। त्यो परिवर्तन गर्न सकिने तर्क पेश गर्छन् उनी। राज्यपक्षले त्यसकालागि प्लटफर्म बनाइदेओस् भन्ने मान्यता छ उनको। सरकारले काम गर्ने वातावरण मिलाइदिए आर्थिक पक्षको समस्या नहुने कुरा बताउँदै उनी सुनाउँछन् – ’नेपालमा पर्यटकले दुःख पाइरहेका छन्। एयरपोर्टमा ट्रलीकै लुछाचँुडी हुन्छ। चर्को आवाज मन नपराउने मुलुकका मान्छे यहाँ ट्रली लुछाचुँडी गर्न सक्दैनन्। एनआरएनएले होटलहरुमा लगानी गरिरहेको छ। सिमसारहरुमा लगानी गर्न सकिन्छ। पर्यटन नै अथाह सम्भावना भएको क्षेत्र हो। सबै मान्छे एडभेन्चर टुरिज्म मन पराउँदैनन्। व्यस्तताका कारण विदेशबाट आउनेले ट्राभलमै खर्च गर्न सक्दछन्। तर पोखरा पुग्न नै कहिलेकाही १२ घन्टा लाग्छ।
नेपालको नियम कानुन सम्बन्धी उनीसँग केही तीता अनुभव छन्। एकपल्ट आफ्नो अष्ट्रेलियाको खाताबाट नेपालको आफन्तको खातामा डलर पठाउँदा तीन पटकसम्म पैसा फिर्ता भएछ। जसबाट उनलाई २३ सय डलर घाटा लागेछ। नेपालको कानुनमा दश हजार डलर भन्दा बढी पठाउँदा सोधखोज बढी हुन्छ। बैङ्कलाई पनि डर हुन जान्छ। उनी आफु जस्तो जिम्मेबार मान्छेले पैसा बैङ्क टु बैङ्क पठाउनु पर्छ ठान्छन्। बाहिरबाट आउने पैसा बैंकिङ च्यानलबाट आउने भएपछि नेपालको आर्थिक अवस्थामा निकै सुधार हुन जान्छ। एकै चोटी धेरै ठुला सपना देख्न नसकिएला। तर हामीले योजना तर्जुमा गर्न जान्नु पर्छ।
अधिकांश नेपालीहरुले रहरले भन्दा नि बाध्यताले बिदेशी नागरिकता लिएका छन्। उसो त हिजोका दिनमा देशभित्रै पनि सेवा सुबिधाका निम्ति पहाडबाट तराईतिर बसाइँसराई गरेकै थिए पुर्खाहरुले। अहिले उक्त कार्य झन द्रुत गतिमा भैरहेछ। बस्नेतका जिजुबुवा पनि पाहाडबाट घोडा चढेर सुविधाको जिन्दगी जीउन तराई झरेका थिए। त्यो भन्दा सजिलैसँग भइरहेछ अहिले ग्लोबल माइग्रेसन। आज विश्वव्यापीकरणका कारण धर्तीको एक कुनामा आमा बुवा हुन्छन् भने अर्कै कुनातिर पुगिसकेका हुन्छन् छोराछोरीहरु। तर सबैले आफ्नो देशप्रतिको माटोप्रतिको माया साँचेकै हुन्छ। यसै सन्दर्भमा उनी भन्छन् – ‘हाम्रा छोराछोरीहरुलाई आउने वातावरण मिल्यो भने उनीहरु पनि आइरहन्छन्। एन्सेन्ट टुरिज्मलाई पनि महत्व दिनु पर्ने धारणा छ उनको। जो विश्वभरि नै चलेको छ। अष्ट्रेलियामा दुई सय वर्षको इतिहास भएका मान्छेहरु पनि मेरा पुर्खा यसरी यताबाट आएका थिए भन्ने गर्छन्। उनीहरुले आफ्नो पुर्खौली थलो भुलेका छैनन्। हाम्रो एनआरएनएको अभियान पनि त्यही हो। भोलि हाम्रा छोराछोरी सबै नेपाल नफर्केलान् तर नेपालप्रति उनीहरुका सहयोगी हातहरु अघि बढून्। आफ्नो पुर्खौली थलो सम्झेर कहिलेकाही घुम्नलाई मात्र भए पनि आइदिउन्।’
यो जिन्दगी एक छोटो कहानी न हो। सास टुटेपछि सिद्धिन्छ कथा पनि। यतैकतै रहन्छ तेरो मेरो भन्नु पनि। अनि छोडेर जानु पर्छ सबै जायजेथा। जिन्दगीको कमाई भन्नु त्यही अनुभव, ज्ञान र सम्झना न हो। विदेशमा कमाएको ज्ञान सीप लिएर स्वदेश फर्कन चाहन्छन् धेरै मनहरु। बस्नेत आफै पनि बुढेशकाल नेपालमै बिताउने सोचमा छन्। नेपाली संस्कृति, आफ्नो पन र यहाँको प्रकृतिप्रति छुट्टै मोह छ उनको। नेपालमा बिमारी पर्दा पनि बिमारी नै महशुस नहुने कुरा समेत बताउछन् उनी। उनका लागि कतै खुसी फल्ने खुसी मिल्ने ठाउँ छ भने त्यो नेपाल नै हो। यहाँका मान्छे, प्रकृति, संस्कृति, मौलिकता सबै नै प्रिय छन्। छोटो समयको चिया गफ पछि छुट्टिने बेलामा बुढेशकाल कल्पिदै सिरानीमा उल्लिखित यी पंक्तिहरु समेत गुनगुनाउन भ्याए उनले –
हमी मे थी न कोइ वात याद न तुमको आ सके
तुम ने हमे भुला दिया, हम न तुमे भुलासके
(पहिलो पटक २०७६ मंसिर १२ गते बिहीबार प्रकाशन भएको यो सामग्री पुनः प्रकाशन गरिएको हो।)