बेथितिले जन्माएको विभेद

कर्णालीका कथित् दलितहरूको कहर : श्रृंखला- १

 कर्णालीका कथित् दलितहरूको कहर 

प्रकृतिको सुन्दरता अपरम्पार छ। भूगोल जतिसुकै नमिलेको किन नहोस् त्यही भूगोलमा पलाएका डाँडाकाँडा र लेकबेसी अनेक रङ्गले रंगिन छन्। तिनैमध्येको एक टुक्रा हो- जुम्ला जो हिमालको पाउमा लमतन्न छ।  

इतिहासको पानामा दर्ज भएको यहाँको भौगोलिक विरासतलाई अनेक तरहले चर्चा/परिचर्चा गरिन्छ। वसन्त ऋतुमा सल्लिपिरको सुसाई। गृष्ममा नदीको बगाई। हिरा टल्के जसरी टल्कने कान्जिरवा हिमाल। यी सबैको वर्णन गैरआख्यानका ठेलीहरुमा संग्रहित छन्।

प्रदेश हिमाली हो, तर यसको स्वरुपमा बहुलताको मिश्रण छ। हावापानीले हिमालको आभास दिन्छ। भौगोलिक हुलिया तराईको जस्तो छ। विश्वास नै गर्नै मुस्किल हुने। तर, यो विश्वास गर्नैपर्ने यहाँको विविधता हो ।

विश्वास नमानी कहाँ सुख पाउनु ? उपत्यकाको बीचमा सदरमुकाम। त्यहाँबाट जिल्लाको जुनसुकै ठाउँ पुग्न पैदल हिडेरै भए पनि एक दिनभन्दा बढी लाग्दैन। यो नै यहाँको खासियत हो।  प्रकृतिक यो भब्यता देखेर आनन्दित हुने मनलाई जातीय विविधताभित्रको शुन्यताले भने ऐठन लगाउँछ। 

जिल्लाको प्रतिनिधित्व गर्ने थुप्रै गाउँमध्येको एक हो- बोहरागाउँ। जुन चन्दननाथ नगरपालिका १० मा अवस्थित छ। बढीमा १५ मिनेट पैदल हिँडेपछि बजारबाट गाउँ पुगिन्छ। सदरमुकाम उसको आगन हो। जुन उत्तरमा छ। दक्षिणमा ठाकुर्ज्यू, पश्चिममा कार्तिकस्वामी र पूर्वमा चिमारा मालिका पर्छ।

चिमाराको काखबाट उदाउने घाम शिशिरमा बिहान अबेर आउँछ र बेलुका सबेरै जान्छ। त्यही घाम वसन्तमा बढो फुर्तिकासाथ बिहानै बिस्तारामै पुग्छ। दिनभर राज गर्छ र बेलुक अबेर जान्छ।

प्रकृतिको अनुपम दृश्यभित्र लुकमारी खेलिरहने यस गाउँमा क्षेत्री र बाहुनको बस्तीका बीचमा कथित दलित बस्ती छ।  

यति धेरै थोकले मिलेको यो बस्तीमा नमिलेको समाजिक संरचना छ। छुवाछुत, कमजोर खालको सांस्कृतिकस्तर, न्यूनआर्थिक अवस्था राजनीतिक पहुँचबाट टाढा। यी सबै यस बस्तीका पेवाजस्ता छन्। जम्मा ६३ वटा घरधुरी रहेको यस दलित बस्तीमा ६३ परिवार छन्। प्रतिपरिवार बढीमा ८ जना, कममा ३ जना गरी औसतमा ५.५ जना सदस्य एक परिवारमा बसिरहेका छन्। प्राय: परिवारमा न्युनतम एकजनादेखि अधिकतम ५ जनासम्म १६ वर्ष मुनिका बालक छन्।  

पूरै बस्तीमा ६० वर्ष काटेकाको संख्या ९ जना मात्र छ जो नेपाल सरकारबाट उपलब्ध हुने सामाजिक सुरक्षा नामको भत्ता थाप्छन्। यो तथ्यांकले भन्छ, यहाँको औसत आयु निकै कम छ। बाँकी सबै जना आय आर्जजन गरेर जिविका चलाउन सक्ने उमेर समूहका छन्। उनीहरुकोे मजदुरीमा परिवार चलेको छ।

यस बस्तीमा रहेकामध्येमा तुलनात्मक रुपले अलि बढी सम्पत्ति हुने दुई जना (एकजना लामो समय एनजीओमा काम गरेका र अर्का ठेक्कापट्टामा) छ्न्, भने कम सम्पत्ति भएका तीन जनाको घर लगाउने एक कित्ता जग्गाबाहेक अरु जमिन छैन। यहाँको कुल जनसंख्यामा ३ जना स्नातकोत्तर, दुई जना स्नातक, ५ मिडियामा काम गर्ने २ जना प्रमाणपत्र तह र २१ जना माद्यामिक शिक्षा उतीर्ण गरेका छन् ।

सभ्य समाजको सारथि बनेको शिक्षा रेडपाण्डाको स्थितिमा छ। साक्षर हुनु एउटा कुरा,शिक्षित हुनु अर्कै कुरा हो शिक्षितले समाजका अध्यारा पाटालाई चिर्ने साहस राख्छ। साक्षरले त्यसलाई बोकेर हिड्छ। यो समाजमा चिर्नेभन्दा बोक्नेको संख्या ज्यामितीय दरमा बढेको छ।

श्रेणीबिहिन कर्मचारीको रुपमा एक जना सरकारी सेवामा कार्यरत छ्न्। एकजना अस्थाई शिक्षक र दुईजना पत्रकार बाहेक सेवाक्षेत्रमा कार्यरतको संख्या भेटाउन मुस्किल छ। प्रशासनिक क्षेत्रको पहुँच त आकाशको फल जस्तो छ। राजनीतिमा सक्रिए हुनेको संख्या लगभग शुन्य छ।  

रोजगारीको अभावमा बेरोजगारीको भेलले चार जनालाई खाडी मुलुक पुर्याएको छ। माद्यामिक शिक्षा पूरा गर्नेलगायतका युवाको भारत- नेपाल आउजाउ चलिरहेकै छ। कमजोर धरातलको जगमा ठडिएको समाजका मान्छेलाई के देश के विदेश- सबै एउटै जस्तो लाग्छ। जिन्दगीमा जतिबेला पनि भूकम्प आउँने सम्भावना प्रबल हुन्छ। त्यसैको बीचमा एक गाँस खान र एक सरो लाउन पाउँनु उनीहरुको लागि जिन्दगीको ठूलो सफलता बन्छ।

पुर्खादेखि बालीघरे र छुवाछुत प्रथाले गाँजिएका बाउआमामा हिन्दू धर्म भित्रको मनुस्मृतिले जरा गाडेको छ। उनीहरु आफ्नाे बस्तीबाहेक अरु बस्तीकालाई देखे भने राजासाप जस्तै मान्छन् र उनीहरुको आगाडि शिर झुकाउँछ्न्। सन्तानहरु शिक्षित हुने अधिकारबाट कोशौं टाढा छन्। महिनावारी हुँदा घर त के सार्वजनिक पँधेराको छेउमा पर्न पाएका छैनन् छोरीचेली। सभा समारोहमा आफूमाथि भएको अत्याचारलाई टुलुटुलु हेरिबस्ने ती युवाले कुसंस्कारका डामलाई निर्मम रुपमा सहिरहेका छन्।  

उनीहरुका लागि आजभन्दा वर्षौअघि अफ्रिकामा नेल्सन मण्डेलाले चलाएको रंगभेदविरोधी संघर्ष, अमेरिकामा मार्टिन लुथर किंगको गोरा, काला सबै भाइभाइ भन्ने सन्देश, भारतमा बाबासाहेब डा. भिमराव अम्बेडकरको मनुवादविरुद्धको तर्कसंमत खण्डन- यी सबै संघर्षका कथा बेखबरमा छ्न्।

विपन्नताको भार थाम्न नसकेकाहरू रक्सीको भर्याङ्मार्फत् लालाबाला सन्तान र श्रीमतीको माया मारेर चितामा चढेपछि तिनैका लालाबाला हिजोआज दक्षिणकालीका सडकमा पर्खाल लगाउने ढुङ्गा ओसार्दैछन् ।  

श्रीमानको बिछोडले गहिरो पीडा परेका काकीहरुको जीवन मरुभूमिजस्तै रुखो र उजाड देखिन्छ। पोषणयुक्त खानाको अभावमा रोगको सिकार हुनेहरु हरेक वर्षमा एकपटक पूजा गरिने मालिकाको मन्दिरमा गएर छिटै निको होस् भन्ने कामनाका साथ बिन्ती बिसाउँछ्न्।

स्वास्थ्यकर्मीको भन्दा धामीझाँक्रीको सक्रियता बढिरहेको छ। हप्ताको एकदिन त्यो बस्तीमा धामीझाँक्री र बिरामीको रुवाबासी चल्छ। घरबाहेक अरु केही नभएकाहरू हावा र पानीदेखि बच्दै गुजारामुखी जीवन चलाउँन वर्षातको उर्लदो भेल तर्न पनि तयार छन्।  हिमालको सुक्खा र चिसो सिरेटो पनि खप्न पनि सहमत छ्न् । यिनीहरुको शरीरले कडा चट्टान स्वरुप लिएको छ। मानवीय संवेग हराएजस्ता देखिन्छन्। जातीयताको नाममा कथित माथिल्लो जातका भनाउँदाले गर्ने अमानवीय व्यवहारको शृङ्खला जारी छ।  

चुनावताका तिनीहरुलाई भोट-बैंक बनाउने जनप्रतिनिधिलाई कर्ममा भन्दा भाग्यमा बढी विश्वास छ। त्यसकारण उनीहरूको ध्यान यो बस्तीको मुहार फेर्नुभन्दा पनि घर-घडेरी जोड्न र नातागोतालाई भर्ती गर्नमा केन्द्रित छ। उनीहरुले गर्नुपर्ने कामको जिम्मा एनजीओ र आईएनजीओको भागमा परेको छ। जसले हिमा नदीमा माछा मार्ने सीप सिकाउनेभन्दा आफैंले माछा मारेर भान्छामा पुर्याउँछन् र सधैंको लागि टाप कस्छ्न्। यस्तै काम उनीहरुका सबै परियोजनाले गर्न थालेपछि आत्मनिर्भरताको कुरा गायव भएर परनिर्भरताले राज गरेको छ।  

कथित् जनयुद्धको आधारभूमि मानिने कर्णालीका लागि युद्ध सकिएको १२/१३ वर्ष नपुग्दै एकादेशको कथा बनिसकेको छ। दशकौंपछि अधिकारको नाममा पाएको एकथान संविधानमा उल्लेखित कुरा पनि कागलाई बेल पाक्यो हर्ष न बिस्मात भएको छ। सिंहदरवारमा फेरिएका शासकहरुले विकासका ठूला-ठूला नारा फलाकी रहे पनि दलित बस्ती भने तिनै आश्वासनका चाङका बारेमा पनि बेखबर भएर मस्तनिद्रामा छ।

प्रकाशित मिति: : 2020-05-07 08:30:00

प्रतिकृया दिनुहोस्