नाम समाजसेवा, काम बाल यौनदुराचार: ११ विदेशी नागरिक नेपालको जेलमा

तस्बिरः बिएल

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ वर्षमा११ जना विदेशीलाई बाल-यौनदुराचारको अभियोगमा पक्राउ गरेको छ।

पक्राउ परेकाहरू यतिबेला नेपालका विभिन्न जेलमा कैदीबन्दी जीवन बिताइरहेका छन्। पक्राउ पर्नेमा युएनका पूर्वरिष्ठ अधिकारीदेखि समाजसेवी अनि डाक्टरसम्म पनि छन्।

लामो समयसम्म उनीहरूले प्रहरीको आँखा छल्दै अवोध नेपाली बालकलाई निसाना बनाउँदै आएका थिए। यी त पक्राउ परेका केही प्रतिनिधि पात्र मात्र हुन्प्रहरी र कानुनको आँखा छल्दैअहिले पनि सयौं बाल-यौनदुराचारीहरू नेपालमा निर्वाध 'हर्कत 'मच्चाइरहेको अनुमान गरिन्छ।

प्रश्न उठ्छ- कतै नेपाल बाल-यौनदुराचारीहरूको स्वर्णिम गन्तव्य बनिरहेको त छैन? यही प्रश्नको सेरोफेरोमा हामी केही सामग्रीहरू श्रृंखलाद्ध रूपमा प्रस्तुत गर्दैछौं।

प्रस्तुत छ, त्यही श्रृंखलाको पहिलो सामग्री-नाम समाजसेवाकाम बाल यौनदुराचार:  ११ जना विदेशी नेपालका जेलमा।

पटकपटक बाल-यौंनदुराचारको अभियोगमा अमेरिकामै पक्राउ पर्दै छुट्दै आएका अमेरिकी नागरिक केन्नेथ जोसेफ कम्बरू अहिले नेपालको जेलमा छन्।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको ठमेलस्थित होटल याम्बुबाट २०७३ भदौ २४ गते पक्राउ गरेको थियो।

पक्राउ परेको बेला प्रहरीले उनलाई चारजना बालकसँग आपत्तिजनक अवस्थामा फेला पारेको थियो।

नेपालमा पक्राउ पर्नुअघि जोसेफ अमेरिकामा बाल-यौनदुराचारको अभियोगमा पक्राउ परेको थियो। छुटेको केही समयपछि नै नेपाल आएका उनीमाथि अमेरिकी प्रहरीलेसमेत निगरानी गरिरहेकै थियो।

सन् २०१४ को सेप्टेम्बरयता ६ पटक नेपाल आएका जोसेफको धन्दा नै गरिब नेपाली बालक बटुल्ने र यौनदुराचारमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बाल-यौनदुराचारी जोसेफको अधिकांश समय काठमाडौंमै बित्ने गर्थ्यो। ठमेल क्षेत्रका सडकमा बस्ने बालकहरु उसको नजरमा पर्थे। उनीहरूलाई सहयोग गर्ने बहानामा जोसेफले खानेकुरा र लुगा दिन्थे। त्यसरी नजिकिएर बालकलाई आफू बस्ने होटलमा लैजान्थ्यो र विभिन्न प्रलोभन देखाएर यौनदुराचारमा लगाउँथ्यो।

अनुसन्धान अधिकारीका अनुसार जोसेफले केही बालकका अभिभावकलाई समेत प्रभावमा पारेको थियो। बालकलाई पढाई दिने भन्दै केही रकम दिने, उसले घरपरिवारलाई पनि सहयोग गरेजस्तो गरेर केही रकम दिने, औषधि उपचार गरिदिने जस्ता कार्य गर्दै आएको थियो।

जोसेफले बुद्ध पुतुवार नामक एक नेपाली युवालाई तलब दिएरै सहयोगीका रूपमा राखेको थियो। उसको काम जोसेफका लागि नयाँ नयाँ बालक खोजी दिनु हुन्थ्यो। 

काभ्रेका पुतुवार दलित तथा गरिब बस्तीमा जान्थे र  बालकलाई केही रकम पनि दिएर नजिक हुन्थे। नजिकिएको बालकको तस्वीर जोसेफलाई पठाउँथे। अनि जोसेफले छानेको बालकलाई स्वयम्भुस्थित आफ्नो कोठामै ल्याउँथे र जोसेफलाई सुम्पन्थे।

जोसेफका सहयोगी पुतुवारलाई पनि प्रहरीले मतियारका रुपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलायो।

पुतुवार अहिले ४ वर्षे जेल जीवन बिताइरहेको छन् भने जोसेफ ५० हजार जरिवानासहितको नौ वर्षे जेल जीवन काटिरहेको छन्।

बाल-यौनद़राचारी जोसेफले आफूलाई सफ्टवेयर डेभॉलपरका रूपमा परिचय गराउँदै आएको थियो।

नेपालको जेलको हावा खाइरहेको अर्का बाल-यौनदुराचारी हुन्- ल्बर्ट फ्रेड किलिन्के। जर्मन नागरिक किलिन्केलाई प्रहरीले २०७४ असार १५ गते काठमाडौंकै ठमेलस्थित एक होटलबाट पक्राउ गर्‍यो।

६३ वर्षीय किलिन्के २५ वर्षदेखि नेपालमा समाजसेवीको भेषमा बस्दै आएको पाइएको छ। उसको बाल-यौनदुराचारको कथा पनि लगभग जोसेफकै जस्तो छ।  

बुढेसकालमा समाजसेवा गर्न नेपाल आएको बताउने किलिन्केले पनि जोसेफले जसरी नै गरिर बालकलाई नै दुराचारको निशाना बनाउने गरेको अनुसन्धानबाट पत्ता लाग्यो।

गरिब बस्तीमा गएर रोज्जा बालक छान्ने र उसलाई सहयोग गरेजस्तो गरेर आफूतिर तान्ने- उसको पनि यही तरिका थियो।

अनुसन्धानबाट के पत्ता लागेको छ भने किलिन्के २–३ महिनामा एकपटक नेपाल आउने, नयाँ नयाँ बालकलाई नजिक बनाउने र यौनदुराचार गरी फेरि स्वदेश फर्कने गर्थ्यो।

पक्राउ गरेको बेला पनि ऊ एक १४ वर्षिय बालकसँग आपत्तिजनक अवस्थामै थियो।ऊ पनि अहिले नेपालकै जेलमा छ।

२०७४ भदौ २२ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ठमेलस्थित एक होटलबाट अष्ट्रियाका ४५ वर्षीय मर्कस केन्डलरलाई पक्राउ गर्‍यो। ऊ पनि बाल यौनदुराचारको अभियोगमै पक्राउ परेको थियो ।

बाल-यौनदुराचारकै लागि नेपाल आएको उसबाट ३ जना बालक पीडित भएको प्रहरी अनुसन्धानबाट खुल्यो।

समाजसेवीको भेषमा धादिङको गोगनपानीमा क्षेत्रमा गएर पुगेको उसले त्यस क्षेत्रको विकास गर्ने भन्दै स्थानीयको मन जित्यो। स्थानीय बासिन्दा, विद्यालय तथा गरिब परिवारका बालकलाई अध्ययन सामग्री, खेलकुद सामग्री दिन थाल्यो। गाँउको विकास गर्ने भन्दै एक कोठा भाडामा लिएर बस्न थालेको उसले विभिन्न प्रलोभन देखाएर बालकलाई बोलाएर त्यही नै यौनदुराचार गर्न थाल्यो।

तर, उसको यो हर्कत लामो समयसम्म टिक्न सकेन। एक कान  दुई कान मैदान भनेझै उसको पाप धुरीबाट करायो र अन्तत: ऊ पक्राउ पर्‍यो।

बाल यौनदुराचारको मुद्दामा जिल्ला अदालत काठमाडौंले उसलाई दोषि ठहर गर्दै ८ वर्ष कैद सजाय र प्रत्येक पीडितलाई एक–एक लाख क्षतिपूर्ति भराउने फैसला सुनायो।अहिले ऊ पनि नेपालको जेलको चिसो हावा खाइरहेको छ।

नेपालकै जेलको चिसो छिँडीमा सडिरहेको अर्को बाल-यौनदुराचारी हो नेदरल्याण्ड्सको ७५ वर्षिय हेनेरिक्स एड्रियनस।

उसलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७४ कात्तिक २४ गते काठमाडौंको कोटेश्वरस्थित एक होटलबाट पक्राउ गरेको थियो।

हेनेरिकस आफन्त नभएका सडक बालकलाई आफ्नो फन्दामा पार्थ्यो। उनीहरूलाई पैसा र लुगा दिँदै फकाएर आफ्नो कोठामा ल्याउँथ्यो र आफ्नो हर्कतको शिकार बनाउँथ्यो।

लामो समयदेखि सडक बालकमाथि हर्कते क्रियाकलाप गरिरहेको हेनेरिकसले होटलमा लगेर जबर्जस्ती यौनदुराचार गरेको एक बालकले घरपरिबारलाई बताएपछि त्यो कुरा प्रहरीसम्म पुग्यो। त्यसपछि पिछा गरेको प्रहरीले उसलाई रंगेहात पक्राउ गर्‍यो।

जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको हेनेरिकस अहिले जेलमा छ।

२०७४ पुस २९ गते काठमाडौंको भोटेबहालबाट जर्मनी नागरिक ह्यान्स जर्जेन गुस्तव पक्राउ पर्‍यो। भोटेबहाल क्षेत्रमा अनाथ तथा गरिब बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउने तथा खाना खुवाउने उसको परिचय स्थानीयमाझ एक समाजसेवीको थियो।उसले त्यहाँका सरकारी विद्यालय तथा केही निजी विद्यालयका विद्यार्थीलाई खाजा पनि खुवाउने गर्थ्यो।

पहिले गरिब तथा अनाथ बालकलाई आफ्नो प्रभावमा पारेर सहयोग गर्ने बहानामा एक दुई दिनसँगै लिएर घुम्न जाने उसको मिशन पनि वाल यौनदुराचार नै थियो।

जब बालक ऊसँग रत्तिन थाल्थे, त्यसपछि उसले आफ्नो सक्कली रूप देखाउँन थाल्थ्यो। अन्तत: उसको त्यो हर्कते ब्यवहारको पर्दाफास भयो र अहिले ऊ पनि नेपालको जेलमा कैदीबन्दी जीवन बिताइरहेको छ।

नेपालमा भेटिएका भीभीआईपी बाल-यौनदुराचारी हुन्- पिटर जोन ड्यालग्लिस। संयुक्त राष्ट्रसंघको विशिष्ट पदमा रहेर काम गरिसकेको पिटर बाल-यौनदुराचारको अभियोगमा २०७४ चैत २४ गते काभ्रेको मण्डन देउपुरबाट पक्राउ पर्‍यो।

६० वर्षिय क्यानेडेली नागरिक पिटर धेरै पहिलेदेखि नै शंकाको घेरामा भए पनि ऊ एक हाइप्रोफाइल ब्यभिचारी भएकाले पक्राउ परिरहेको थिएन। 

सन् २००२ देखि पटकपटक नेपाल आएका ऊ वास्तवमा बाल-यौनदुराचारकै लागि नेपाल आउने गरेको प्रहरी अनुसन्धानबाट खुल्यो। सन् २००२ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सिनिएर एड्भाइजरका रूपमा ऊ पहिलोपटक नेपाल आएको थियो। त्यतिबेला दुई वर्ष नेपालमा बसेको पिटर त्यसपछि पनि नेपाल आउने र जाने गरिरहन्थ्यो।

त्यही बिचमा पिटरको युएनको कन्ट्री रिप्रिजेन्टेटिभका रुपमा अफगानिस्तानमा ५ वर्षका लागि पोष्टिङ भयो।तर, नेपाली वालकमाथि यौनदुराचारको नशा लागेको उसको ‘नेपाल प्रेम’ त्यतिबेला पनि रोकिएन। अध्यागमन अभिलेखले ऊ बेला बेलामा नेपाल आइरहेको देखाउँछ।

सन् २००२ देखि नै उसले नेपालमा बाल-यौनदुराचार गरेको प्रहरीको निष्कर्ष छ। त्यतिबेलादेखि नै पिटरले गरिब बालबालिकालाई पढाइदिने, आर्थिक सहयोग गर्ने र बदलामा बाल-यौनदुराचार गर्ने गरेको प्रहरीको भनाइ छ।

सन् २००२ देखि करिब ५० जना बालबालिकालाई आर्थिक तथा शैक्षिक सहयोग गरेको उसले उनीहरुमध्ये अधिकांशलाई यौनदुराचार गरेको बताइन्छ।

सन् २००९ मा पिटरले नेपालमा काम गर्दाको सहयोगी चिरिकाजी महर्जनलाई प्रयोग गरेर उसले काभ्रेको मण्डन देउपुरमा १० रोपनी जग्गा किनेर फार्महाउस बनायो। त्यही फार्महाउसलाई नै उसले आफ्नो यौनदुराचारको अखडा बनाएको अनुसन्धानबाट खुलेको छ।

तीनवटा मानार्थ पीएचडी र विभिन्न सम्मान पाएको पिटर क्यानेडियन प्रधानमन्त्रीसँग पनि नजिक रहेको अनुसन्धानबाट खुलेको छ। अहिले ऊ जेल जीवन बिताइरहेको छ।

सन् २०७५ साल जेठ ३१ गते प्रहरीले ठमेलको सातघुम्तीबाट एकजना ६६ वर्षीय डच नागरिक पक्राउ गर्‍यो। पिट हेन भान नाम गरेको उसलाई बाल-यौनदुराचारीको आरोपमा पक्राउ गरिएको थियो। पेशाले डाक्टर ऊ ७ वर्षदेखि लगातार नेपाल आइरहेका थियो। नेपालीलाई सहयोग गर्न नेपाल आएको भने पनि अनुसन्धानबाट उसको नेपाल भ्रमणको एक मात्र उद्धेश्य नेपाली बालकलाई यौन दुराचार गर्नु  नै रअेको पाइयो।

अनुसन्धानबाट उसले ४ वर्षदेखि बाल-यौनदुराचार गर्दैआएको कुरा खुल्यो। यसको खुलासा एक पीडित बालकको बयानको आधारमा प्रहरीले गरेको थियो। अहिले ऊ बाल-यौनदुराचार मुद्दामा दोषी ठहर भएर ८ वर्षे कैदीवन्दी जीवन बिताइरहेको छ।

गएको साउन ६ गते ब्युरोले दुईजना फ्रान्सेली नागरिकलाई काठमाडौंको गौशालाबाट पक्राउ गर्‍यो। पक्राउ पर्नेमा ४२ वर्षीय क्रिस्टोफी गुलिएक्स र ३८ वर्षीय डेनिस माथेउ थिए। उनीहरूलाई वाल-यौनदुराचारको आरोपमा पक्राउ गरिएको थियो।

क्रिस्टोफी सन् २०१७ को सेप्टेम्बरमा पर्यटन भिसामा नेपाल आएको थियो।। त्यसको एक महिनापछि उसले आफ्नो अर्का साथी डेनिस माथेउलाई पनि नेपाल बोलायो। उनीहरुले काठमाडौंका बिपन्न बालकलाई विभिन्न प्रलोभन देखाएर यौनदुराचार गर्दै आएका थिए। उनीहरु दुबैजना अहिले जेलमा छन् ।

यसैगरी गएको माघ ५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक ५० वर्षीय बेलायती नागरिकलाई वाल-यौनदुराचारको आरोपमा गिरफ्तार गर्‍यो।

इयान रोबर्ट कोल नाम गरेको उसलाई रविभवनको एक अपार्टमेण्टबाट पक्राउ गरिएको थियो ।

२०१६ मा नेपाल आएर बाल-यौनदुराचार गरी फर्किएको बेला उसलाई बेलायती प्रहरीले विमानस्थलमै पक्राउ गरेको थियो। नेपाल प्रहरीसँग समन्वय गरी पक्रेको उसको डिजिटल डिभाइसमा नेपाली बालकहरुको नग्न तस्वीर तथा भिडियो फेला परेको थियो।

त्यसपछि सीआइबीको निगरानीमा रहदै आएको कोल नेपाल आएको जानकारी पाएलगत्तै पक्राउ परेको थियो। कोल पनि अहिले नेपालको जेलमै कैदीबन्दी जीवन बिताइरहेको छ।

प्रकाशित मिति: : 2019-03-20 21:53:45

प्रतिकृया दिनुहोस्