फाइल तस्बिर: बिएल

ब्यूँझिएको छ गएको रातमा असंख्य संत्रासहरू पचाएपछि
फेरि–फेरि भयजनित सम्भावना बोकेर

दिन चढ्दैछ घामलाई साथी बनाएर
चारैतिर प्रचण्ड उष्णता१
गर्मी सहने सबैको आफ्नो–आफ्नो बानी छ
कारमा चढेर हिँड्छन् कोही
गर्मी छेक्ने एउटा बानी
छाता ओढेर हिँड्छन् कोही
गर्मी छेक्ने दोस्रो बानी
पसिनाको कवच लगाएर हिँड्छन् कोही
यो लाचारीमा दबेको तेस्रो बानी
विवशता नै स्वभावको अर्को नाम हो शायद
यही बानी नै पूँजीपति र शोषितवर्गको मानदण्ड
हो

साँच्चै, सुत्नु र उठ्नुमा यो शहरको पनि
आफ्नै बानी छ
कहिले यो जीवनको बचाइभित्र
मरिरहेको हुन्छ
कहिले यो मृत्युभित्र जीवन
बाँचिरहेको हुन्छ
यसलाई मृत्युभित्र जीवन बाच्नु छ
यसैले शहरमा हुँडरी मच्चिन्छ
मानिसहरूको भागाभाग
पसलहरूका 'शटर' बन्द
बजार निःशब्द!

चौबाटोमा एकजना युवतीको सामूहिक बलात्कार
पुलिसहरूको तीखो साइरन!

केही कामको लागि शहर निस्केको म भाग्छु
फुलेको सास घरमा आएर रोकिन्छ

एउटा अन्तराल।।।
केवल भित्ते घडीको पीडायुक्त ध्वनि क्रमशस्।।क्रमश।।।
'टक्लक्ट...क्लक्...टक्लक्'....

अन्तरालपछि....
आउँछे कलेज पढ्न गएकी मेरी बहिनी
रगतले निथ्रुकिएर...!
क्लान्त अनुहार
दुवै आँखामा आँसु
गालामा औँलाहरूको कोत्र्याइ
केशराशि फुंग उडेको
सुरुवाल कुर्ता फाटेका

आज धेरै दिनको कर्फ्यूपछि यो शहर
मृत्युभित्र जीवन बाँचिरहेको छ
के यही शहर मेरो शैशवकालको साथी हो?

प्रकाशित मिति: : 2019-12-13 22:24:57

प्रतिकृया दिनुहोस्