हतार हतार लम्किराख्दा
बेगसँगै सुस्याउँदै टुङ्गो छिचोल्नै लाग्दा
मुसुक्क मीठो स्वरमा तरङ्गिन्छ खाना भो
ओठ तन्काइ बराबरको मुस्कान चेहरामा पोती भन्छु ‘अँ’
पेट भोकले क्वाइँ क्वाइँ गरेनी अँ फुत्त निस्किहाल्ने
अटोमेटिक मोड अन भइहाल्ने
ओठ तन्किहाल्ने, मुसुक्क मस्किइहाल्ने
खाना भो
उही जोडी हात, फिजारिएको ओठ अनि मुस्कान
प्रश्न उही, प्रश्नकर्ता उही, जिपिएस नि उही
यस पटक अलि भिन्न प्रस्तुती दिने अठोट
अटोमेटिक मोड डिसेवल गरी भन्छु ‘छैन’
नियमित प्रश्नकर्ताले मेरो जवाफलाई तेसरी नै हुत्यायो जसरी प्रश्न
मानौ खाना भयो या भएन मा उनको चासो हैन
सम्पर्क विस्तारको सुत्र,फ्याट्ट भेट्दा फाल्ने अस्त्र हो यो
न भरिएको पेटमा खुसी वा चाउरिएकामा दुखी
फगत प्रश्नका लागि प्रश्न आउनुस् सोधौं
खाना भो