नेपाली गाउँ र मणिपुरे गाउँ उस्तै–उस्तै छन्। मणिपुर र नेपाल दुबै ठाउँमा नेपालीभाषा, कला, साहित्य र संस्कृति भेटिन्छन्। सीमाना र भूगोलबाट नेपालभन्दा मणिपुर अलिक टाढा छ। तर मणिपुर पुग्दा थाहा हुन्छ, पूर्खाको माया, माटोको सम्झना, वास्तविक भाषा, साहित्य र संस्कृतिलाई उनीहरुले कसरी जगेर्ना गरेर राखेका छन्।
नेपालीहरु जहाँ पुगेपनि परिश्रम गर्न छाेड्दैनन्। सद्भाव र इमान्दारीता नेपालीहरुकाे अर्काे परिचय हाे। नेपालीहरु संसारभरी छरिए। सबैको आँखामा छाए। मणिपुरमा बसाेबास गर्ने नेपाली नेपाल जस्तै पहाड, जंगल र कृषि गर्न मिल्ने गाउँ रोजेर बसे। उनीहरु कृषि पेशामा रमाए। मणिपुरमा अहिलेपनि गोर्खाली (नेपाली) को पहिलो प्रथामिकता कृषि नै हो।
तर जो जहाँ बसोबास गरेपनि भाषा, कला र साहित्य सीमानाले मेट्न नसक्ने तर्क गर्छन्, नेपाली साहित्य परिषद मणिपुरका अध्यक्ष तथा साहित्यकार भवानी अधिकारी। ‘मणिपुर जन्मभूमि भएपनि हाम्रो रगतको साइनो नेपालसँगै छ। त्यसकारण नेपालीभाषा, धर्म, संस्कृति भुल्न सक्दैनौ। भुल्नुपनि हुदैन,’ उनी भन्छन्।
मनका आबेग, आँखीझ्यालभित्र मणिपुर, मेरो लोकताक लगायत चर्चित पुस्तकका लेखक भवानी पेशाले शिक्षक हुन्। साहित्यकार भवानीले नेपाली, भाषा, साहित्यको संरक्षणका लागि मणिपुरमा निकै राम्रो काम गरेको युवा साहित्यकारको बुझाई छ।
कला, साहित्य र संस्कृतका हिसाबले मणिपुरे नेपाली सबैभन्दा माथि छन्। मणिपुरमा नेपालीभाषीको जनसंख्या करिब ५३ हजारकाे हाराहारीमा रहेको अनुमान गरिन्छ।
मणिपुरमा नेपालीको इतिहास
मणिपुरमा गोर्खाली सैनिक सन् १८१९ तिर आएको अनुमान गरिन्छ। बर्माले उबेला मणिपुर लक्षित आक्रमण थालेपछि मणिपुरको रक्षाका लागि गोर्खालीको प्रवेश भएकाे पाइन्छ। राजा गम्भीर सिंहको शासंनकालमा गोर्खालीहरुकाे प्रवेश मणिपुरमा भएकाे अनुमान छ।
सन् १८२४ मा १६औं सिल्थ स्थानीय बटालियनका गोर्खा, जो पछि आठौं गोर्खा राइफल्स बन्न पुगे, उनलाई गम्भीर सिंहको प्रहरी समूहमा समावेश गरिएको थियो।
मणिपुर सुरक्षित गर्न तत्कालीन राजा गम्भीर सिंहले सन् १८२५ मा सेना भर्नाको अभियान सुरु गरेका थिए। सेना निर्माणका लागि गोर्खालीलाई सिल्हातबाट भर्ती गरे। त्यो बेला राजा गम्भीरको मिलिसियालाई भिक्टोरिया पल्टनको नाम दिइएको बताइन्छ। पल्टन नेपाली शब्द हो, यसबाट पनि स्पष्ट हुन्छ, गोर्खालीको सेनामा बिस्तार उही बेलादेखि भइसकेकाे थियाे। गोर्खालीहरु इमान्दार र कामकाजी हुन्थे। माथिल्लो तहले दिएको आदेश पूर्णरुपमा पालना गर्थ। विश्वास जितिरहेका गोर्खाली सैनिकको राम्रो अनुशासन देखेपछि भान्सामा काम गर्नेदेखि किसानसम्म ल्याउने अभियान सुरु भयाे।
साहित्यकार भवानी अधिकारीका अनुमानमा सन् १८८० तिर नेपाली मणिपुरमा बसोबास गर्न थालेका हुन्। जब ईस्ट इण्डिया कम्पनीले गोर्खा राइफल्सको केहि बटालियनलाई मणिपुर सार्यो, जताततै गोर्खाहरु देखिन थाले। बिस्तारै मणिपुर गोर्खामय भयो। गोलाघाट र सिलचरबाट २ सय गोर्खाली सैनिक यहाँ ल्याइएको थियो।
सन् १८९१ मा आसामका केही गाउँबाट पनि मानिस मणिपुर सरे। तत्कालीन महाराजा चन्द्रकृतिको शासनकालमा पनि धेरै संख्यामा गोर्खाली मणिपुर भित्रिएको चर्चा हुने गरेको स्थानीय बताउँछन्। २० औं शताब्दीको सुरूतिर गोर्खालीलाई आसाम सैन्य प्रहरीमा समेत भर्ती गरिएको इतिहासमा उल्लेख छ।
मणिपुरमा १६ औं शताब्दीतिर एक नेपाली परिवार आएर बसोबास गर्न थालेको समेत बुझिन्छ। मणिपुरका केहि अग्रज नेपालबाट यहाँ आएका ती मानिसले खेतीपाती र गाई, भैंसी पाल्न सुरु गरेको बताउँछन्।
प्रथम भारतीय गोर्खा सहिद
गोर्खा (नेपाली) सैनिकमा कार्यरत धेरैले आफ्नो जिम्मेवारी पालनाको क्रममा ज्यान गुमाएका छन्। बहादुर स्वभाव र इमान्दारीका प्रतिकका रुपमा चिनिएका गोर्खाली (नेपाली) हरु संसारभरी कसैसँग झुकेनन्। अनेक अभियोग लगाएर भारतीय गोर्खा सैनिकमा कार्यरत मणिपुर सैनिकका तत्कालीन सुबेदार निरन्जन सिंह क्षेत्रीलाई जुन ८ सन् १८९१ मा फाँसी दिइएको थियो।
यसकारण पनि भारतीय गोर्खा सैनिकका प्रथम सहिदमा क्षेत्रीको नाम आउने गरेको छ। साहित्यकार भनावी अधिकारीद्धारा लिखित आँखीझ्याल भित्र मणिपुर (भारतीय नेपाली सहिद विशेषांक, पश्चिम सिक्किम साहित्य प्रकाशन–गोजिगंजको विशेषांक) पुस्तकमा समेटिएको तथ्य अनुसार अंग्रेजको प्रवेशका समय निरञ्जन सिंह क्षेत्री रेसिडेण्ट गार्डमा तैनाथ थिए। सन् १८५७ को सिपाही क्रान्तिमा पनि गोर्खालीले अंग्रेजको बिरोध जनाएको थियो।
मणिपुरमा नेपाली साहित्य
मणिपुरमा नेपाली साहित्यको सुरुवात सन् १८९३ तिर भएको शिलोङका भारतेली नेपाली साहित्यकार बिक्रमबीर थापा बताउँछन्। थापाकाे तर्कमा नेपाली साहित्य परिषद मणिपुरका अध्यक्ष तथा साहित्यकार भवानी अधिकारी पनि सहमत छन्। भारतेली नेपाली साहित्यको इतिहास लेख्दा तुलचन्द आलेलाई नसम्झे अधुरो हुन पुग्छ। ‘साहित्यको प्रथम चरण वा प्रथम काल मणिपुरको लडाईँको सवाईबाट थालिन्छ। जुन सवाईका जनक हुन्, नायक तुलचन्द आले’, साहित्यकार थापा भन्छन्।
यो पनि हेर्नुहोस्-
- नवीन अर्याल
त्यो हेडिङले बैकुण्ठलाई मात्र होइन, समाचार लेख्ने पत्रकारहरूलाई पनि गाह्रो परेछ। उनीहरू खण्डन छपाइदिन बैकुण्ठ कहाँ धाउन थाले। तर, बैकुण्ठ आफ्नो कुरामा टसका मस भएनन्। उनले भनेछन्, ‘खेल्न पठाएकै ५ सय रुपैयाँ दिएर हो। म होइन भन्दिन। तपाईलाई सच्चाउने इच्छा छ भने आफै सच्चाएर लेख्नुस्।’ उनको यही हक्की स्वभावका कारण बैकुण्ठलाई नेपाली खेलकुदका पदाधिकारीले एउटा उपमा भिडाए। त्यो थियो– ‘घमण्डी।’ Details
मणिपुरमा उबेला ८ गोर्खा पल्टनको दोस्रो बटालियन मणिपुरमा सन् १८९० मा स्थापना गरिएको थियो। यो पल्टनलाई मणिपुरमा ४३ गोर्खा पल्टन भनिन्थ्यो। ४३ पल्टनका नायक तुलचन्द आले थिए। सन् १८९१ मा मणिपुरमा लडाइँ भयो। नायक तुलचन्द आले मणिपुरको लडाइँमा सहभागी भएकाले त्यस बेला भएका घटनालाई लिएर मणिपुर छावनी (किल्ला) मा आफ्नो पल्टनसँग बसेर मणिपुरको लडाइँको सवाई लेखे। तर मणिपुरमा त्यस बेला छापाखाना नभएका कारण आलेले आफ्ना कृतिहरु प्रकाशन गर्न पाएनन्।
सन् १८९९ को अन्तिम चरणमा ४३ गोर्खा पल्टन मणिपुरबाट शिलोङ फर्केपछि उनले मणिपुरको लडाइँको सवाई शिलोङमा प्रकाशन गरेको वरिष्ठ साहित्यकार थापाले बताए। थापा भन्छन्,‘ जुन सवाई भारतेली नेपाली साहित्यको घडेरी हो। यही घडेरीबाट आज भारतेली नेपाली साहित्यको महल खडा भएको छ।’