'अनेसास ट्रेडमार्कधारी ‘साहित्यकार’ भदौमा फैलिने चेपागाँडाजत्तिकै छन् '

घागी फेमका श्रष्टा शिवप्रकाश नेपाली सत्याग्राही डा. गोविन्द केसीसँग । फाइल तस्बिर

भाषागत रूपमा नाम नै गलत भएको एउटा नेपाली साहित्यिक संस्था छ- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)। यसको अंग्रेजी अनुवाद त झन गाईजात्रा नै छ। कुनैबेलाको नेपाली डायस्पोरिक संस्थाका अध्यक्ष नै नेपालका छन्। त्यसैले अब त यो नेपाली डायस्पोरिक संस्था भन्दा पनि उभयचर संस्था जस्तो भएको छ। 

नानाभातिका पुस्तक र पुरस्कारको खेती गर्ने यो संस्था चर्चा र प्रशंसाका भोकाहरूको विशिष्ट क्लव जस्तो लाग्छ । त्यसैले केही न केही गरेर भए पनि यो फेसबुक चर्चामा भने रहिरहन्छ। 

यही संस्थाका बारेमा वाह्रखरीका साहित्य र कला स्तम्भकार राजेश खनालले तयार गरेको सामग्रीमा अमेरिकाकामा रहेका घागी फेमका श्रष्टा शिवप्रकाशले तीतो सत्य सार्वजनिक गरेका छन् ।अनेसासका केही खास मठाधीश र अरिंगालहरूका लागि प्रिय नभए पनि धेरैका लागि विचारणीय हुने ठानेर हामीले यहाँ सौजन्य गरेका छौै। उनले सिधै भनेका छन्- 'अनेसास ट्रेडमार्कधारी ‘साहित्यकार’ भदौमा फैलिने चेपागाँडाजत्तिकै छन्।'

अनेसासले देशमा कागजको बिक्री बढाएको छ,
विदेशमा खादामालाको व्यापार बढाएको छ 
- शिवप्रकाश

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज आवश्यक छ ? 

कुनै बेला थियो होला, अहिले त छैन । सोसल मिडियाले सबैलाई विस्थापित गरिसकेको छ । अर्को कुरा, कुनै पनि संस्थाको आवश्यकता त्यसले गर्ने कामको नतिजाले निर्धारण गर्छ । अर्थात् गुणवत्ताले गर्छ । सङ्ख्या हेर्ने हो भने, अनेसास ट्रेडमार्कधारी ‘साहित्यकार’ भदौमा फैलिने चेपागाँडाजत्तिकै छन् । स्तर हेर्ने हो भने, अनेसासले झुसिल्कीरा धेरै जन्मायो पुतली बनाउन सकेन । ध्वस्त बनायो नेपाली साहित्यको स्तर । ध्वस्त बनायो नेपाली साहित्यकारको गरिमा । राम्रो पक्ष भनेको, देशमा कागजको बिक्री बढाएको छ । विदेशमा खादामालाको व्यापार बढाएको छ ।

यसको नाममै विवाद छ नि ?
किनभने नाम नै गलत छ । भाषा–साहित्यको कुरा छ । नाममा नै भाषा मिलेको छैन । बाँकी त्यसको स्तर कस्तो होला आफैं अनुमान लगाउनुस् । 

नाम नै गलत छ । भाषा–साहित्यको कुरा छ । नाममा नै भाषा मिलेको छैन । बाँकी त्यसको स्तर कस्तो होला आफैं अनुमान लगाउनुस् । 

यो संस्थाको वैधानिकतामाथि पनि प्रश्न उठेको छ नि ?
अमेरिकामा गैह्रनाफामूलक संस्थाका रुपमा दर्ता भएको संस्था थियो, यो । अहिले पनि होला, तर अन्य कतै कुनै देशमा दर्ता छ जस्तो लाग्दैन । यसको अरु वैधानिकता के छ मलाई पनि थाहा छैन । के थाहा छ भने– झोलामा अफिस, झोलामा भूमिका, खल्तीमा डलर छ । अनि झ्याउसरी च्याप्टर ।

यसको आर्थिक क्रियाकलाप पारदर्शी नभएको भन्ने सुनिन्छ नि ?
सुनिन्छ हैन, कहिल्यै पनि छैन । चोरको चौतारी भएको छ, कहाँबाट हुन्छ ?

अनेसासको शाखा नेपालमा आवश्यक किन छ ?
मैले माथि नै भनिसकेको छु, यो संस्थाकै आवश्यकता छैन । यति भनेपछि नेपालमा किन चाहियो ?

विकास हैन, नेपाली साहित्यको विनासमा अनेसासले ठूलो योगदान गरेको छ । म आफूलाई यिनका सामू उभ्याउन शरम लाग्छ । समाजले के भन्छ जस्तो लाग्छ । 

अनेसासले प्रकाशनमा ल्याएको पुस्तकले विदेशमा नेपाली साहित्यको प्रतिनिधित्व गर्छ ?
आजका मितिसम्म गरेको छैन ।

नेपाली साहित्यको विकासमा यस संस्थाको योगदानलाई कसरी हेर्न सकिएला ?
विकास हैन, नेपाली साहित्यको विनासमा अनेसासले ठूलो योगदान गरेको छ। म आफूलाई यिनका सामू उभ्याउन शरम लाग्छ । समाजले के भन्छ जस्तो लाग्छ। ‘कार’का भोका छन् धेरै– गजलकार, गीतकार, कथाकार, सङ्गीतकार, उपन्यासकार, साहित्यकार। कारैकार लागेको देखेर कतिले आफूलाई कविकार पनि भन्छन्। कतिले हाइकुकार। यी‘कार’हरू धरै छन्, कति हो कति! यिनलाई निखार चाहिएको छैन, डकार आउञ्जेल ‘कार’ चाहिएको छ– यी भदौका चेपागाँडाजत्तिकै छन्। जसले गुणस्तरमा विश्वास गर्छन् तिनले अनेसासप्रति कहिल्यै विश्वास गरेनन्।

 

 

प्रकाशित मिति: : 2019-11-17 00:41:18

प्रतिकृया दिनुहोस्