मलाई वेदनाको बिस्कुन बनेर
मध्यान्हको चर्को घाममा टट्टिनुछ
निस्कनु छ पोलिएर
आरनबाट खारिएको फलाम जस्तो
मुस्कुराउनु छ
असिनाको लाख चोट खपेर फुल्ने जँगलीफूल जस्तो
चम्किनु छ मलाई
हजारौं डिग्रीको ताप र चापले पेलिएर
कौडीतुल्य कोइलाबाट अमूल्य हिराजस्तो
म त्यही फलाम हूँ
त्यही जंगली फूल हूँ
म त त्यही कोइला हूँ
आगोमा खारिने सुनको शुद्धता हूँ
घना बादल आपसमा टक्कराए पछि नै
जन्मिन्छ पृथ्वीलाई जीवन दिने पानी
घन र छिनोको असंख्य प्रहार पछि
पत्थरले पाउँछ मूर्तिको जिन्दगानी
कोलमा पेलिएर निस्किनु
निखारिएर धारिलो बन्दै
भाग्यको निधार बदल्नुमा उत्पात मजा आउँछ
म त पिडाको नाम्लोले बाँधिएर
दुस्खलाई चुम्बन गर्दै हिडेको मान्छे
विपत्तिका हजार जङ्घार तरेको मान्छे
मैले पलपल फेरिरहेको स्वासको
मैमाथि यही अटूट विश्वास छ
मलाई मेरै आँसुको बाढीले
अफ्ट्यारा भीरहरु पन्छाएको बाटो हिंडन सजिलो लाग्छ
तरबारमा टेकेर हिड्न चाहन्छु म
जहाँ पाइला पाइलामा होस् रहस्य अनि मृत्युको जोखिम
काँडै काँडाको उकालो चढ्न रोमाञ्चित लाग्छ
जिन्दगीको ग्लोबमा
आँधीहुरी र भूमरी खोज्दै हिड्ने
बक्ररेखाको एक यात्री हूँ म !