धेरै वर्ष पहिले एकादेशको कथा हो
वास्तवमा केही वर्ष अघिको यही देशको कुरो हो
शारीरिक शिक्षा पढाउने सरले अन योर मार्क गराउँदा
शुक्रबार लगाउने हाउस ड्रेस कस्सिएर हात नतन्किएर कसोकसो गर्न नसकेको
खोखो खेल्न टुक्रुक्क बस्दा पटकपटक ब्यालेन्स गुमी भुइँमा पल्टिएको
भर्खरै टिन एज टेक्नै लाग्दाको कुरो आज जम्मा २ दर्जन वर्ष पछि सम्झिँदा उस्तै लाग्छ
टिसर्ट उस्तै कस्सिएको छ,
सर्ट तलतिरको बट्टनको पीडा उस्तै छ,
३६० डिग्री कोणले फनक्क घुमेर अझै सेवा दिइरहेको छ
केही रणमा सहिद भए, झरे
तिनका नाममा भावविहोर हुँदै, योगदान स्मरण गर्दै अघि बढियो निरन्तर
र पनि भेट्दा मोटाइस भन्छन्
हैन म दुब्लाएको कहिले थिएँ
भेट्दा कुरो गर्ने विषय दूरदूरसम्म केही नसुझ्दा
झट्ट यही शरीर दिमागमा आउँदो रहेछ सबैको
ममीले घाममा सेक्काएर, रन्किएको तेलमा मालिश गरिदिएको यो जिउले घट्न जानेन
आज समोसा नखाइदिउँ न त भन्दा मन मानेन
५ ७ दिन बाहिर भएर घर आउँदा, भोलिपल्टै बजार जाँदा
बाहिर गएको कुरो भैलै समकक्षी मित्रहरुलाई पत्तो नहुँदो हो जिग्रीहरुले पनि मेसो नपाएका होलान्
तर डेरी पसल कि आमैलाई साह्रै मिस हुँदो रहेछु
बाबु सन्चै त छ, देखिन नि हिजो अस्ति
उनको पसलमा केही दिनदेखि दही कम बिकेछ मोहीको खपत कम भएछ
खैर सम्झिने कोही त छ
सन्तोष छ कसैको ब्यापारमा कसैको रोजगारीमा प्रत्यक्ष परोक्ष हिस्सा हुन सकेकोमा
खाते पिते घरको हुनुहुँदो रहेछ
ल हेर्नुस बजनदार शरीर कै कारण सात पुस्ताले सम्मान पाए
घरको नाम, परिवारको नाम
अफसोस केही छैन हुनेखाने भइएकै छ
पन्ध्र वर्षदेखि प्रमोशन नभए पनि जिउले सर भनाएकै छ
हाकिम साहब नमस्कार टक्र्याएै छ
प्राउड ओनर अफ फलानो मोबाइल या गाडी अरु होलान्
म चाँहि प्राउड ओनर अफ ओन बडी