मध्यरातमा उडेको जहाज

बिएल

मध्यरातमा उड्यो
विशाल गर्जनसहित
एउटा हवाइजहाज ।

जब उड्यो जहाज
उडे केहि थान सपना
उडे केहि थान भविष्य ।

भेट्ला जहाजले त कतै न कतै
चिल्लो एअरपोर्ट
जहाजसँगै उडेका सपना
जहाजसँगै उडेका भविष्यहरुले
कहाँ पुगेर भेट्लान्
उस्तै सुन्दर बिसाउनी?

जहाजको हेडलाइट हेर्दै
कतिन्जेल हल्लिरहन्छन् होला
कहिल्यै नदेखिएको उज्यालोतिर फर्केका रित्ता हातहरु
जहाज फर्किने आकाशमा बाटो हेर्दै
कतिन्जेल सुँकसुँकाइरहन्छन् होला
रोक्दारोक्दै आँसु नथामिएका आँखाहरु?

होहल्ला गर्दै जब उड्यो जहाज
'बा'सँगका घच्चीमच्ची बिलाए
आमासँग घुर्कीमुर्की हराए
सन्नाटा पस्यो मायालुको मुटुमा ।

जसै टाढा-टाढा हुँदै गयो जहाज
फुस्किँदै गयो औंलामा कस्सिएको प्रेमको औंठी
फैलिँदै गयो शंकाको घेरा ।

जहाज त एकदिन फर्केर आउला
जहाजको गर्जनले उडेको आमाहरुको सातो
जहाजसँगै उडेको छोरासँग फर्केला कि नफर्केला ?

अँध्यारोमा उडेका जहाजले
फर्किदा उज्यालो ल्याउँला कि
ल्याउँछ त्यही अँध्यारो ?
जहाजसँगै हाँस्दै आउलान्
वा बन्द बाकसमा निदाएर आउलान् ?

-रुपेश श्रेष्ठ
‘घिन्ताङ घिसी ट्वाक’ बाट

प्रकाशित मिति: : 2019-09-28 12:38:49

प्रतिकृया दिनुहोस्