आउनुहोस् , म तपाईंलाई 'लेखककी स्वास्नी'सँग परिचय गराउँछु !

लेखककी स्वास्नी हुनुको नीलो पीडा : प्रगति राईको अनुभूति अनुराधा पौडेलद्वारा शल्यक्रिया । तस्बिर : फेसबुक

'लेखककी स्वास्नी' नेपालबाट जहाज चढेर पेरिस आएकी थिई । ऊ आएको लामो समय भएको थियो । तर, किताबको खातमा हराएर बसेकी उसलाई निकाल्न समय मिलिरहेको थिएन ।

तीजको बिदामा मैले उसलाई सरक्क निकालेँ । महिला पर्व, महिलाको किताब समीक्षा । अर्थात् प्रगति राईको लेखकीय क्षमता परख गर्ने उपयुक्त समय । 

म पाठक महोदयहरुलाई 'लेखककी स्वास्नी' नचिनेकाहरुलाई चिनाउन चाहन्छु । यो किताबले श्रीमानलाई नामी लेखक बनाउन आफ्नो जीवन फालेका या जीवन ओझेलमा पारेका र बेला बेलामा घरभित्र बिद्रोह गरिरहने महिलाहरुको कथालाई बोक्दो रहेछ । त्यसैले लाग्यो- प्रगति राईलाई छाम्नुपर्छ किनभने उनी पनि एक जमानामा लेखककी स्वास्नी थिइन् ।

यो बिलकूल नया बिषय बस्तु हो । लेखकका स्वास्नीहरु (प्रगति राईको शब्द सापटी) लाई एउटै मन्चमा ल्याउने हो भने जुन जुन दर्शन र बिचारले लेखकहरु हिडेपनि श्रीमतीहरुका कथा भने साझा हुनेछन् । एक नम्बर कथामा पर्नेछ- घर परिवारलाई बिल्कुल समय नदिने अराजक हुन्छन् लेखक । लेखकको बुझाईमा अराजक बन्न पाउनु नै घर शान्ति हो । बेला न कुबेला ऊ लेख्न घोप्टिन्छ । बुङ्ग चुरोट उडाउँछ । खैनी प्याच्च पार्छ । यही गुनासो या अराजकता, यसैका वरपर घुम्छ लेखककी स्वास्नीको कथा ।

लेखकलाई उपयुक्त वातावरण दिने नाममा पर्छ- स्वास्नीका थाप्लामा घरायसी जिम्मेवारी । उसका लागि पैसा र परिवार गौण हो तर श्रीमतीको एकोहोरो सहयोग बहुतै उपयोगी । यसरी पनि भन्न सकिन्छ कि लेखककी स्वास्नी बहुरुपी हुनुपर्छ । यौवनाबस्थामा लेखकसँग नजिकिन्छे र प्रेमिका बन्छे किनभने लेखक सरल स्वभावको हुन्छ । पछि ऊ लेखककी आदर्श श्रीमती बन्छे र लेखकलाई लेखनका लागि उत्प्रेरित गर्छे ।

समय क्रममा ऊ लेखकको बच्चाको आमा बन्छे किनकि सृष्टि अपरिहार्य छ । बच्चा बढ्दैजाँदा समेत लेखककी स्वास्नी लेखकलाई सबै कुरा परिपूर्ति गर्न (जाँड र खैनी समेत) चुकेकी हुन्न, कन्जुस्याई गर्दिन । सामाजिक ईज्जत र मर्यादा प्राप्तिका लागि ऊ तड्पिन तयार छे त्यो पनि बहुतै सहज र सरल बनेर ।

लेखकले भविष्यमा प्रकाशित हुने पुस्तकले विशेष पुरस्कार पाउने सपना बाँड्छ । लेखककी स्वास्नी कुनैबेला लेखकको यो सपना पूरा हुन्छ भन्ने विश्वासमा रमाउँछे । आस्वासन पूरा हुने दिन गनेर ऊ छोराछोरीलाई पढाउन, बढाउन , जागिर खान या काम गर्न बाध्य हुन्छे ।

समय एकनासको हुन्न । दु:खहरुले घेरी ल्याउँदा यस्तो क्षण आउँछ कि लेखककी स्वास्नी आफैसँग प्रश्न उठाउँने अवस्थाा पुग्छे ? म को हुँ ? र यो सबै किन गरिरहेछु  ?,भन्ने उत्तर खोज्छे आफैभित्र । अझ ऊ यसमा असन्तुष्ट देखिन्छे कि आश्वासन बाहेक केही नबाड्ने लेखककै थर छोरीहरुले बोकिरहेछन् र छोरीहरु जन्मेदेखि नै बिभेदित छन् ।

लेखकका छोरीहरु लेखकका साथीबाटै असुरक्षित छन् । लेखककी स्वास्नी यो कुरा लेखकलाई बुझाउने प्रयत्न गर्छे । तर, लेखक मेरी श्रीमती यस्तै हुन् भन्दै उसको कुरा बेवास्ता गर्छ । किनभने ऊ श्रीमतीले धेरै बुझेकी छैन भन्ने ठान्छ ।

यो उपन्यासको दुखद पक्ष भनेको यसको अन्त्य हो । कथाको अन्त्य हल्का छ । लेखककी स्वास्नी लेखक गाउँ गएका बेला छुट्टिन चाहन्छे । लेखकलाई हाकाहाकी भनेर घर छाड्ने निर्णय गरेकी हुन्न । यो अलिकति भगुवा प्रबृति हो ।

एक साँझ आउँछ, उसको बिद्रोह खुलेर प्रष्फुटित हुन्छ । ऊ रक्सी पिउँछे र शिसाले पाइताला काट्ने गरी बबालसँग घरभित्रका सामानहरु फाल्छे र चिच्याउँछे ।

लेखकको साथी घरको वातावरण शान्त राख्न आइमाई केही तल पर्नुपर्ने र दाईसँग माफी माग्नुपर्ने कुरा बताउँछ । तर, लेखककी स्वास्नी यो मान्न तयार छैन । 

ऊ लेखकसँग छुटिन मन गर्छे । अरुको काम गर्नु भन्दा आफ्नै व्यवसाय शुरु गर्ने प्रयत्न गर्छे । यसका लागि उसले आमाको मद्दत लिन्छे ।

कथाको सार यति नै हो । यो भित्र बिबिध पात्रहरु छन् । पात्रमध्ये लेखककी स्वास्नी (म पात्र) पानी चल्ने जातकी हुन् र लेखक ( सुशान्त) पानी नचल्ने जातका हुन् । पात्रहरुले आफ्नो भूमिका निभाएका छन् र मलाई राम्रो चाँहि प्रभाकरको निस्वार्थ स्वभावको लाग्यो । लेखककी स्वास्नीसँग नजिक भएपनि उसमा छलकपट देखिन्न ।

यो उपन्यासको दुखद पक्ष भनेको यसको अन्त्य हो । कथाको अन्त्य प्रभावकारी छैन ।  लेखककी स्वास्नी लेखक गाउँ गएका बेला छुट्टिन चाहन्छे । लेखकलाई हाकाहाकी भनेर घर छाड्ने निर्णय गरेकी हुन्न । यो अलिकति भगुवा प्रबृति हो ।

समग्रमा पुस्तक पंठनीय छ । यो उनको पहिलो उपन्यास हो । उनमा लेखकीय क्षमता प्रचुर छ भन्ने देखिन्छ ।

पुस्तकको नाम: लेखककी स्वास्नी
लेखिका: प्रगति राई
प्रकाशक: याम्बुरी बुक प्वाइन्ट काठमाडौं 
प्रकाशित मिति: २०७० साउन
मूल्य: २८५ रुपैया

प्रकाशित मिति: : 2019-09-02 05:35:12

प्रतिकृया दिनुहोस्

    प्रतिक्रियाका लागि धेरै धन्यवाद !

    • 2 महिना अगाडि
    • प्रगति राई