अहिले नेपाल बन्द भन्ने शब्द सामान्य जस्तै भइसकेको छ। सडकमा चलिरहेका गाडी तोडफोड गर्ने र बजार बन्द गराउँने काम बन्दका पर्यायवाची हुन्। तर त्यतिबेलाको परिस्स्थिति बेग्लै थियो। नेपाल बन्दको समयमा विद्यालय खुलाएमा शिक्षकले कुटाइ खानुपर्ने र विद्यार्थी लडाइँमा होमिनुपर्ने स्थिति थियो। त्यो ठ्याक्कै कुन दिने हो?, याद त छैन तर साल र महिना भने मानसपटलमा नाचिरहन्छन्। २०६१ साल जेठ असारको महिना।
अहिले पनि त्यही स्कुलको बाटो भएर हिँड्दा बेला बेलामा मन झस्किन्छ। त्यस दिनको घटनाले मनमा डेरा जमाएर बसेको छ। खेल्ने कुद्ने उमेरमा आफ्नै आँखा अगाडि गोली लागेर मान्छे ढलेको देखेको थिएँ, उसको रक्तमुछेल लाश अर्को लाशसँगै गाडेको देखेको थिए। यदि त्यो गोली त्यो मान्छेको ठाउँमा हामी कसैलाई लागेको भए के हुँदो हो? अहिले सम्झदा मात्र पनि आङ सिरिङ भएर आउँछ।
आइतबारको दिन थियो। हामीले बिहानै नेपाल बन्द भन्ने त सुनेका थियौं। तर, म कक्षा ३ मा पढिरहेको बालकलाई के थाहा कि नेपाल बन्द भनेको के हो ? माओवादी र राज्यबीचको युद्ध चरम स्थितिमा थियो। १० बजेतिर म र मेरो दाइ स्कुलमा पुग्यौं। करिब एक सयजना जति विद्यार्थी त्यो दिन स्कुलमा आएका हुँदा हुन्।
नेपाल बन्दमा विद्यालय सञ्चालन गरे माओवादीबाट कुटाई खाने डरले अधिकांश शिक्षक आएका थिएनन्। तर, बन्द गरे पनि राज्य पक्षबाट कारबाही भोग्नुपर्ने भएकाले स्थानीय तेज सर र देवमाया म्याडम भने आएका थिए। ११ बजेतिर सर 'आज नेपाल बन्द हो, पढाई हुँदैन। तिमीहरु एकछिन् बसेर घर जाओ। हामी यतैतिर छम्' भनेर स्कुल नजिकै रहेको राममाया दिदीको घरमा जानुभयो।
स्कुलको नाम जनज्योति भए हामी पनि देयारा स्कुल भन्थ्यौं। स्कुल नजिक देवदेयारको जंगल भएकोले पनि सबैले त्यसै भन्थे।
विद्यालयमा पढाई नभएको दिन हामी खुशी नै हुन्थ्यौं। साँझसम्म फुक्काफुल हुने। मज्जाले खेल्न पाइने। क्या खुश मन। कहिले आफ्ना साथीभाइसँग त कहिले सिनियर दाइहरूसँग फुटबल खेलेर समय बित्थ्यो। त्यो दिन खेल्न लागेको आधा घण्टा जति भएको थियो। त्यतिकैमा दुईजना हरियो ज्याकेट लगाएका अधबैशै मानिस स्कुलभित्र आए। घेरबारै नभएकाले गौरचणजस्तो स्कुलमा जो कोही सजिलै आउँन सक्थ्यो। तीमध्ये एकजनाले भने ‘ओइ, तिमीहरु एकछिन् यता आओ त, आज हामी तिमीहरुलाई पढाउँछौं। ’
हामी सबै कक्षा चारको कोठा नजिक जम्मा भयौं। त्यतिबेला अधिकांश जेठ/असारको समयमा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी अभ्यास शिक्षणमा आउँने गर्थे। आज सरहरुले अल्छी मानेर टिचिङमा आएकालाई पढाउँन पठाएछन् भन्ने लाग्यो।
हामी जम्मा भैसकेपछि अर्को एक जनाले धम्कीको शैलीमा बोल्यो, ‘आज नेपाल बन्दको दिन किन स्कुल खोलेको? कहाँ छन् तिमीहरुका मास्टरहरु ? हामी माओवादी हौं। ’
यति भनेपछि हाम्रो सातोपुत्लो गयो। त्यतिबेला सबैलाई माओवादीले युद्ध गर्न लैजान्छन् भन्ने सुनिन्थ्यो। म सानो भएकोले आफू त बचिन्छ की जस्तो लाग्यो। माथिल्लो कक्षाका दाइहरूको अनुहारका रेशाहरुमा डर मिसिएको रगत बगेर रातो पिरो भएको थियो।
‘आज तिमीहरुलाई हामी पढाउँछौं, तर किताब कापी खोल्नु पर्दैन। ’ यति भनेर सबै विद्यार्थीलाई एउटै कक्षा कोठामा लगे। खुल्लाचौर र ढोकासमेत नभएको कोठामा छाडा गाईवस्तुको गोबर गन्हाइरहेको थियो। हामी अप्ठ्यारो मानेरै भए पनि कोठमाभित्र उनीहरुको पढाई सुन्न बस्यौं।
‘हामी माओवादीका लडाई गर्ने सेना हौं, तिमीहरुका सरहरुलाई लैजान आएका हौं तर उनीहरु भेटिएनन्। अब तिमीहरुलाई लैजान्छम्। ठुलाहरुले सेनासँग युद्ध लड्नुपर्छ, हतियार बोकेर’ सिनियर कार्यकर्ता बोल्यो।
हाम्रा पनि सिनियर दाइहरु थिए। माओवादीले यति भन्ने बित्तिकै उनीहरु डरले पूरै शरीर कमाउन थालिसकेका थिए। म भने साना बालकहरुलाई लैजादैनन् भनेर ढुक्क थिएँ।
त्यतिकैमा अर्को व्यक्ति बोल्यो, ‘हामी सानालाई पनि लैजान्छम्, लडाईंमा जाने सेनाका लागि खाना बोक्नु पर्छ, कपडाहरु ओसार्नु पर्छ। ' त्यसपछि भने मेरो होस हवास उड्यो। दिमागले काम गर्न छाड्यो। वरिपरि बसेका दाइहरुको गाईँगुईँ पनि सुन्ने हिम्मत आएन। बिहानै ठुल्दाइ र बाले त भन्नु भएको थियो 'आज नेपाल बन्दमा पढाइ हुँदैन, स्कुल नजाओ' भनेर। उनीहरूको कुरा नसुनेकोमा पछुतो हुन थाल्यो।
अनि सोच्न थालेँ। अरुबेला स्कुल बन्द हुँदा खुशी भएर घर बस्ने हामी आज भने किन आएछौं भन्ने भयो। अब घर पनि जान नपाई यी माओवादीहरुले लग्ने भए। कहाँ गएर मरिने हो थाहा छैन। घाइते भएकालाई पनि उपचारका लागि नलगेर त्यसै ठाउँमा मर्न छाडेर हिड्छन् भन्ने सुनेका थियौं। त्यसभन्दा पहिले माओवादीका सेनालाई हामीले त्यति नजिकबाट कहिले पनि देखेका थिएनौं।
मेरो एकजना मामा त लडाकु नै हुनुहुन्थ्यो तर उहाँ घर आउँदा कहिले हतियार लिएर आउनु भएन। देखेको सही कि सुनेको सही हो भन्नेमै भ्रम भयो। त्यतिकैमा अर्को माओवादी सेनाले भन्यो, ‘हामीसँग खाने केही पनि हुँदैन, तिमीहरुले जंगलमा बुटीहरु कोर्नुपर्छ, फलफुलहरु हुन्छन् ती टिपेर सेनाका लागि संकलन गर्नुपर्छ। नत्र तिमीहरुलाई मारेर सेना युद्धका लागि अगाडि बढ्छ। ’
सदरमुकाम नजिकको गाउँ भएकाले माओवादी कार्यकर्ताहरु त्यसअघि आएका थिएनन्। हामीलाई माओवादीहरुको विषयमा खासै जानकारी पनि थिएन। तर त्यो दिन उनीहरुले जुन व्यवहार देखाए, त्यसपछि जीवन यत्ति रहेछ भन्ने लाग्यो।
उनीहरुले आफ्नो यात्रा, लडाईँ र कठिनाइका बारेमा बताउँदै गर्दा धेरै दाइहरुको मनको डर आँखाबाट व्यक्त भैरहेको थियो। सबैले हामीलाई छाडिदिन आग्रह गर्यौं। रोइकराई गर्यौं। उनीहरुले छोड्न नसकिने भन्दै डर बढाए। उनीहरुले आफ्ना साथी हराएको बताए। उनीहरुलाई खोज भने।
स्कुलको गेट नजिकैबाट एक युवक हिडिरहेको थियो। कक्षा कोठामा भएको माओवादीले रुमाल निकालेर आफूतिर आउँन संकेत गर्यो। ऊ हामीतिर आउँदैगर्दा जंगलबाट एउटाले सिठी बजायो। उसलाई शंका लागेछ, त्यसैले भाग्न खोज्यो। हामी हेरिरहेका थियौं। भाग्न लागेको देखेर कक्षामा भएको एउटाले आफ्नो ज्याकेटको चेन खोल्यो र हतियार निकाल्यो। सँधै आर्मीहरु हतियार लिएर गाउँतिर आउने भएकाले त्यो हतियार देख्दा भने हामीलाई खासै डर भने लागेन। त्यतिकैमा अर्कोले बाल्यो ‘तिमीहरु डराउँनु पर्दैन। हामी नेपाली सेना हौं, तिमीहरुलाई बचाउन आएका हौं। ’
त्यतिकैमा उसले कक्षा कोठाको ढोकाबाटै बन्दुक चलायो। हाम्रो होस उड्ने गरी बन्दुक पड्क्यो। 'एउटा गोली लागेको छ त्यसलाई नछोड है। ' त्यतिकैमा स्कुल पछाडिको चौरमा एउटालाई छातिमा गोली हानेर ढालिहाले। पहिले गोली लागेको युवा भने खोलाबाट नदीको तिरैतिर भाग्न सफल भयो। आधा घन्टापछि स्कुल परिसरमा सन्नाटा छायो। हामी त्यहाँ बसौं भने पनि युद्धको बीचमा परिने चिन्ता, घर लागौं भने उनीहरुले जान दिएनन्। रुदैं कक्षा कोठाभित्र बसिरहेका थियौं।
त्यो सबै घटना करिब दुई घण्टाको अवधिमा भएको थियो। एउटा मरिसकेपछि हामीलाई अब त घर जान देलान् भन्ने लाग्यो। तर, उनीहरुले माओवादी लुकेर बसेका छन् उनीहरुलाई नमारेसम्म तिमीहरु जान पाउँदैनौं भने। यतिबेला दिउँसोको तीन बजिसकेको थियो ।
फिल्मका दृश्यमा मात्रै त्यस्तो लडाईँ देखेका हामीले आफ्नै आँखा अगाडि त्यस्तै लडाईं देख्यौं। कल्पनाको लडाईं यथार्थमा बदलिएको थियो। कतै मरेको मानिसको लाश ल्याएको देखेमा घरभित्र लुक्ने मलाई आफ्नै अगाडि छातिमा गोली लागेर ढल्दै गरेको देख्दा कस्तो भयो होला? डरको पारो मनको थर्मोमिटरबाट बाहिर फुत्किएला झैं भैरहेको थियो। गर्मी मौसम भए पनि जेठ असारसम्म जुम्लामा चिसै हुने तर हाम्रो शरीर भने एक सय दुई डिग्रीको हाराहारीमा तातेको थियो।
हामी रोइरहेका थियौं, एउटाले भने हामीलाई केही हुँदैन भनेर सम्झाइरहेको थियो। त्यतिकैमा फेरी बन्दुकबाट गोली चलेको आवाज आयो। एउटा माओवादी राममाया दिदीको घरमा पसेको रहेछ। माइकिङ गर्दै सेनाले उसलाई आत्मसमर्पण गर्न आग्रह गर्यो। तर, त्यो गोठमा पसेछ। गोठको झ्याल वरिपरिबाट सेनाले निगालोको लौरोले घोच्दै गोली हानिरहेका थिए। एकजनाले राममाया दिदीलाई भन्यो, 'सात लाख रुपैयाँ सरकारले दिन्छ, घर छोड्नुहोस्, हामी घरलाई बमले उडाउँछौं। ' तर, उनले घर छोड्न मानिनन्।
दुई घण्टा जति त्यस्तै गोलाबारी चलिरह्यो। अन्त्यमा आर्मीको हातमा लागे चरम यातना पाउने र सूचना फुत्किने डरले त्यो माओवादीले आफूसँग भएको सकेट बमले आफैलाई मार्यो। सेनाले उनीहरुलाई त्यतिकैमा छाडेर अरु माओवादी छन् कि भनेर खोज्न हिड्यो। सेनाले छाडेको आधा घण्टापछि मरेका माओवादीका साथीहरु आए। साँझको साँढे पाँच बजेको थियो होला। त्यतिबेलासम्म हामी स्कुलमै थियौं। फरुवा र बेल्चाको साथमा आएका माओवादीहरुले गोठभित्रको लाश तान्न पनि हामीहरुलाई नै अह्राए। हामी साना भएकाले लाशको नजिक गएनौं। तर, दाइहरूले भने डोरी लगाएर त्यो लाशलाई गोठबाट तानेर पहिला मारिएको माओवादीको लाश भएको ठाउँमा ल्याए।
स्कुल पछाडिको ढिक मुनितिर लगेर दुवै लाशलाई गाड्न लागे। हामी हेर्न गयौं। हतार हतार दुई मिटर जति खाडल खनेर उनीहरुलाई त्यही पुरे। साँझ घर फर्कियौं। माआवादी भनेर भेष बदलेका सेनाले हामीलाई नजरबन्दबाट मुक्त गरे। करिब एक महिनाजति त मलाई त्यही दृश्यले चैनसमँग सुत्न दिएन। बेलाबेलामा झस्काइरह्यो। सपनामा समेत त्यही मरेको लाशको अनुहार झल्झली आउँथ्यो। पछि विस्तारै विर्सदै गएँ। तर, अहिले पनि स्कुलको बाटो हिँड्दा त्यो घटना मानसपटलमा ताजै बनेर आउँछ।