विधवा भएर समाजमा बाँच्नुको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ

तस्बिरः बिएल

 माइतिको आँगन छोडेर नयाँ जीवन सुरूवात गर्न म मेरो श्रीमानको घरमा भित्रिए। दुबैजनाको कुनै व्यवसाय थिएन। कृषि र पढाइलाई अगाडि बढाउँदै थियौं।

बिहे भएको ३ महिना पुगेको अर्को रात एक्कासी ९, १० जनाको समूह हाम्रो घरमाआएर भने,‘देशको लागि लड्न पार्टीमा भूमिगत हुनुपर्‍यो नत्र मार्छु’,यति भनेर मेरो श्रीमानलाई लगेर सबैजना जङ्गल तिर लागे।भोलिपल्टआर्मीहरू आएर घरमा आतंकवादी राखेको भन्दै ससुरालाई कुटपिट गरेर थर्काए।

नयाँ जीवनको सुरूवात गर्न लागेको ३ महिनामै हाम्रो मायामा बाधा आयो। त्योबेला मेरो पेटमा हाम्रो मायाको निसानी हुर्कदै गरेको १ महिना भईसकेको थियो।

मेहनत गरेर खुसी र सानो परिवारमा माया साटासाट गरेर परिवारसँगै जीवन बिताउने हाम्रो ठूलो सपना थियो।

एक्कासी मेरो खुसी हराएर परिवारमा दुःखको सुरूवात भयो। मेरो श्रीमान जनमुक्ति सेनाको युद्वमा होमिनुभयो। श्रीमानको आक्रोश देखेर म शब्दहिन हुन्थे।

देशको युद्वकालिन समयमा घरमा भेट गर्नुपरेमा उहाँ राति- राति आउँदा मेरो मनमा झन ठूलो डर उत्पन्न हुन्थ्यो। उहाँ पार्टीमा जानु भएको ३ महिना मात्र भएको थियो।

गाउँ नजिकैको श्री दुर्गा मावीमा जनचेतना सम्बन्धि सांस्कृतिक कार्यक्रम भयो। सबै नजिकैका गाउलेलाई जम्मा पारिएको थियो।

त्यस कार्यक्रममा मेरो श्रीमानसहितउहाँका साथिहरू गरेर जम्मा ३१ थिए। सबैजना नाचगान हेर्दै थिए एक्कासी चारैतिरबाट बम र बन्दुकका दर्दनाक आवाज आउन थाले।

रूवाबासी चल्यो। म एक्कासी बेहोस भएछु। २ घण्टा पछि होसमा आउँदा उहाँका ३१ जना साथीमा १४ जनाले विरगति प्राप्त गरेछन्।

३ जना केटीलाई जङ्गलतिर लगेर बलत्कार गरेर मारेछन् १० जना भाग्न सफल भएछन्। मेरो श्रीमानलगाएत ४ जना अपहरणमा परेछन्।

सबैको घरमा यो घटनाले रूवाबासी चल्यो। त्यो रात म छिनछिनमा बेहोस हुने गरेछु।मङ्सिरको चिसो गाउँभरि कर्फ्यू लागे पनि हाम्रो घरमा सासू, ससुरा र गाउँका ३ जना मान्छे रातभरि आगो बालेर बस्नुभएको थियो। एक मिनेट पनि एक वर्ष झैं लाग्न थाल्यो।

यसरी अर्को दिनको राति तिर ६ जना मान्छेहरू घर भित्र पसे र वीर सहिद लाल सलाम भन्न थाले। यो आवाजले म चेतबिचेत भएछु। अब उहाँ फर्केर नआउने पक्का भएछ। घरमा रूवाबासीको आवाज चारैतिर फैलियो। ससुरालाई उहाँका साथीहरूले ‘लास उमगढ नजिकैको खोलामा रहेछ भर्खर गाडेर आयौं,’ भने।

म बेहोस भएछु। होसमा आउँदा २,३ जना गाउँकी महिलाहरूले मेरो सिन्दुर, पोते फालेर सेतो कपडा लगाईदिए। थाहै नभएर कसैको एक शब्दले मेरो रङ्गिन जीवन उजडिएर खडेरी परेको बाली जस्तै भयो।

कस्तो सजाय हो यो आफ्नै श्रीमानको अनुहार अन्तिम पटक पनि देख्न नपाएर छाति पोलिपोलि रूनुपर्ने। ७ दिन पछि फेरि पार्टीकै ५ जना केटाकेटीहरू आएर सेतो कपडा हटाई रातो पहिरन लगाइदिए र सिन्दुर पुछिएको निधारमा फेरि अबिर लगाएर गए।

उनीहरूको अघि प्रतिकार गर्नसक्ने सामर्थ्य ममा थिएन। समाजले झन् मलाई नराम्रो नजरले हेर्दै गयो। म भित्रैदेखि आफू मरिसकेको महशुस गर्न थालेँ।

मलाई मेरो भाग्य देखेर झन रून मन लाग्थ्यो। भोलि पटकको दिन मर्ने प्रयास गरेँ। तर, सासुले मेरो छोराको मायाको चिनो जन्माइदेउ, बिन्ति छ हाम्रो कुलको सन्तान राखिदेउ, बुढेसकालको साहारा बनी देउ’, भन्दा म शब्दहिन भएँ।र श्रीमानले भन्नुभएको थियो,‘हाम्रो मायाको निसानलाई राम्रोसँग हुर्काउ है।’ त्यो सम्झँदा म मा बाँच्ने दुस्सास जागेर आउँथ्यो।

म दिनदिनै कमजोर हुँदै थिएँ। झन् बिहान उठेर घर पोत्दा बाटोमा हिड्ने मानिसहरूले ‘बिधुवाको मुख देखियो आज अशुभ भयो, थुक्क!’, भनेको सुन्दा, धारामा पानी भर्न जाँदा ‘धारा नछोउ’ धनेर घण्टौ कुरेर पानी भर्दा र कसैलाई नछोएर बस्दा मेरो मनमा जिउने आश हराउँथ्यो।

एक दिन घरमा सासु बिरामी भएर पधेँरामा छिटो पानी भर्न खोज्दा ठूलि सासु र उहाँकी छोरी मिलेर ‘बोक्सी, राँडी श्रीमान मारिस्, अब हाम्लाई पनि मार्छेस्। तैले छोएको पानी ल खा’, भनेर शरीरभरि खन्याइदिएर कुटपिट गरे।

बोक्सी भन्दै दिशा र हिलो माटो खुवाए अनिकालो मोसो अनुहारमा लगाईदिए।

जीवनमा आफ्नै परिवारकै सदस्यहरू ठूली सासू र आमाज्यू दिदीको यो व्यवहार मेरो लागि कालो दिन भयो। म रोएर मात्र बसेँ। पेटमा बच्चा अनि शरीर पूरै भिजेर होला म घरसम्म पुग्न सकिनँ। गाउँकी २ जना महिलाले घर पुर्‍याई दिए।

गाउँमा कुनै केटा मान्छेहरूसँग काम भएर बोलेमा पनि ‘बेस्या नाँठो खेलाउँछे’, भन्न थाले। श्रीमानका भाइ नाता पर्ने केटाहरूले पनि जिस्क्याउँदै कुदृष्टिले हेर्न थाले।

कस्तो यो हाम्रो समाज श्रीमान हुने समयसम्म घरकै लक्ष्मी बुहारी भन्ने, सबै छिमेकीमा आज विधुवा हुँदा अलछिनाको नामले चिनिन थालेछु।

सायद कम्मरको चोटले होला म एक साता खाना खान र उठ्न सकिनँ। घरमा सासु र ससुरालाई पनि नानाथरि भन्न थालेछन्।एक सातापछि म मल बोकेर घर फर्कँदा समाजकै कारण होला सासु र सुसराले पनि ‘घर छोडेर जा’ भन्दै घर भित्र जान दिनुभएन।

‘भाग्य झन फुट्यो’भन्दै रून थालेँ। मेरो हालत देखेर गाउँकी ठूलि दिदी आएर आफ्नो घरमा लगेर गाई गोठ सफा बनाई सामानहरू जम्मा पारेर बस्ने व्यवस्था गरि दिनुभयो। म झन कमजोर भएछु।

बुढापाखा र झाँक्रीहरूलाई कहिले नि छोइनँ। तर, पनि त्यस कुटाईले होला म गाउँका बच्चाहरू पनि नछोएर बस्थे।

यसरी मेरो पेटमा हाम्रो मायाको चिनो हुर्केको ९ महिना भएछ। मलाई सुत्केरि ब्याथाले च्याप्यो, कसैलाई नभनेर सहेर बसेँ।एक दिन पछि ठूलि दिदीले थाहा पाउनुभयो। आगो बालेर बस्यौं। र २ दिनको लामो ब्यथापछि मैले हाम्रो छोरा जन्माएँ।

जीवनमा फेरि खुसी छाएझैं थियो। सुत्केरी हुँदा कसैलाई छुने झन कुरै थिएन। जौका रोटी, अरूले दिएका जुम्ली मार्सी चामलको भात, सिमीका गेडागुडी खाएर सुत्केरी सकियो।

छोरा पनि अब ५ वर्ष पुग्यो। कुरा बुझ्ने भएछ। गाउँका केटाकेटीले मेरो छोरालाई ‘बोक्सीको छोरा, राँडीको छोरा तेरी आमाले तेरो बाबालाई मारी, हामीसँग नखेल’ भनेर कुटपिट गर्दा रहेछन्।

छोराको मानसिकता पनि कमजोर हुँदै गयो। देशमा शान्ति आयो। तर, मेरो छोराको जीवनमा शान्ति आएन। बरू उस्लाई झन् अन्धकार लाग्न थाल्यो।

सहिद परिवारले राहत पाए। मेरो श्रीमानको पनि रकम आयो।ससुरा र म लिन गयौं। ससुराले ‘मलाई दे मेरो छोराको पैसा हो’, भन्दा मैले केही जवाफ नदिएर सबै पैसा ससुराको हातमा थमाएर घर लागेँ।

किन भने उहाँहरूको सहारा र आफन्तको नाममा म मात्रै थिएँ।

मेरो श्रीमानले सँधै बाबा र आमाको मन नदुखाउनु भनेर जानुभएको थियो। गाउँमा पनि पाठपूजा हुँदा अन्तिममा गएर आमा, छोरा केही खाएर आउने गर्थ्यौ।

छोरा विद्यालय जाने मनै गर्दैन। गाउँमै मेलापातगरेर छोरा हुर्काँउदै छु।

विधुवा भएर यो समाजमा बाँच्नुको पीडा देख्ने भन्दा म जस्तै भोग्नेलाई मात्र थाहा हुन्छ।

प्रकाशित मिति: : 2019-03-20 15:23:53

प्रतिकृया दिनुहोस्