बडी केदारको आँगनमा डेउडाका झन्कारहरु (भिडियोसहित)

तस्बिरः बिएल

त्यसै त कम रमाईला हुँदैनन् पहाडका वनहरु । त्यसमाथी शिशिरको चिसो याम । निलो आकाशमा बयली खेलिरहेका बादलका सेता लस्करहरु । चसक्क छुने पहाडको चिसोमा कयौं मनहरु बादल जस्तै बयली खेल्दै थिए । खोलाहरु कलकलाउँदो जवानी बोकेर बगिरहेकै थिए । बडिकेदारको मेला लाग्ने दिन टुपुक्क आईपुग्यो ।

ब्यानतारो पूर्वको क्षितीमा देखिने बित्तिकै एक दर्जन मान्छेहरुको बिचमा पुराना दृश्यहरु मानसपटमा बोकेर निकै बर्षपछि बडी केदारको यात्रामा म उक्लिदै थिएँ घरदेखि सातआठ घण्टाको पैदल यात्रामा ।

सुदूरपश्चिम, राजधानीको नजरमा भौगोलीक दूरीले टाढा छ । नेतृत्वको नजरमा नजिक भएर पनि टाढा छ । त्यसैले त नाम पनि सुदूरपश्चिम प्रदेश भनेर राखियो । हेर्नेले जस्तो नजरले हेरेपनि दूर सुदूरमै त हुन्छन किमती चिजहरु ।

कार्तिक महिनाको २४ गते शुक्लपक्ष त्रियोदशीको बिहानै, मोवाईलमा बेटरु सल्काएर अँध्यारोमै निरन्तर एक घन्टा उक्लिए पछि डोटीको वायलबाट पुगियो चोर खर्क । यो बाटो दिपायल हुँदै केदार जानेहरुका लागी सहज मानिन्छ । चोरखर्कको घनाजंगलको बिचमा कुरमुरे उज्यालो भैसकेको थियो । पूर्वको पहाडी क्षितिजमा सुन्तला रङ फैलिन थालेको थियो । पसलको भट्टीमा आगो धुकाउँदै आँखा मिचिरहेका थिए घर्ती बाजे । लगभग बीसबर्ष देखि उनी त्यसरी नै त्यहाँ आगो फुक्दै बसिरहेका छन् । छेवैमा उभिएका गुँरासका रुखहरुमा चराहरु चिरबिराउन थाले । हामी यात्रारत रह्यौ हातमा लौरी, पिठ्युमा झोला र मनभरी उत्साह बोकेर । हामी जस्तै मेला भर्न जानेहरु बाटोभरी थिए ।

धर्मसँग जोडिएका संस्कार र माटोसँग जोडिएको संस्कृतिको सुगन्ध सँधै भरी मानसपटलमा रहिरहन्छ र त्यसमा झनै सुगन्ध थपिदिन्छन प्रकृतीका छटाहरुले । घामका किरणहरुले हिमालका चुचुराहरुमा स्पर्श गरे । टलक्क हिमालहरु टलक्किए ।

बाटोमा देखिन्थे पाक्दै गरेका मलयका राता झुप्पाहरु, हिउँजमेका भिमिल्लका अमिला झुप्पाहरु । निरन्तर हिडाई, उकाली र ओराली, थुम्का र खोल्साहरु पार गर्दै हामी फुर्सिल पुग्यौं । बोगटान गाउँपालिकाको शिरान भएर बग्ने टुणा गाडका किनारहरुमा टाढैबाट देखिए पुराना घट्ट र नयाँ बनाईएका झोलुङ्गे पुलहरु । त्यही खोलाबाट निकालिएको बिजुलीले फुर्सिल गर्खाका टोलटोलमा उज्यालो पु¥याएको थियो । टुणागाड तरेपछि फेरी सुरुभयो उकालो । वारिपारि देखिने रहरलाग्दा बन र डाँडाहरु, डाँडा भन्दा पारी उत्तरपट्टि देखिने पहाडै पहाडको पुछारमा थिए मन खिच्ने हिमालहरु ।

हिमालको स्वाद चाख्दै लल्लरी उकालो सकिएपछि सुरु भयो दम्सिलो उकालो । भयानक ठुलो जंगल । फुत्तफुत्त झाडीबाट भागेका देखिदै थिए वनकुखुराहरु । बदेलले खनेका माटोका आला दागहरु ।

जंगलको बीच भएर बग्ने दर्जनौ पानीका खोल्सेराहरु तर्दै निरन्तर चलिरह्यो यात्रा । बाटामा थपिदै गए मान्छेहरु । उमेरले रहर र आस्थालाई पनि जित्न नसक्ने रहेछ । सत्तरी बर्ष नाघ्दै गरेका बुढाबाजेहरु नाकै छुने उकालोमा पनि लौरी टेक्दै ठम्ठम् हिँडिरहेका देखिन्थे । मनले चिताउनु पर्छ केदार दाहिना भए हलुकै भएर पुगिन्छ –उनीहरुको भनाईको आशय थियो ।

केदारको पश्चिम काखमा बग्छ कचली गाड । फुर्सिल गर्खा भएर बग्ने टुडा गाडपछिको दोस्रो ठुलो खोला त्यही हो । माथी लेकबाट खोलाको पुछारमा पारीपट्टी देखिदै थिए गोठालाका छानाहरु । ती छानाहरु हाट बोक्ने जमानाका हटेरुहरुका बास बस्ने बसेराहरु पनि हुन् । हामी हिँडीरहेको बाटो जंगलको बिचमा थियो । बाँझ, खर्सु, गुराँस, काउला, उत्तीसका रुख र चोथ्थराका झाडीहरु पछ्याउँदै निकै बेर पछि पुगियो कचलीगाड । खोलाको किनारमा पाङ र र ओखरका अग्ला रुखहरु थिए । रुखका पातहरु झर्दै थिए । खोला किनाराका ढुंगाहरुमा बसेर रम्तेरुहरु थकाई मारिरहेका थिए । कोही चिसोको पर्वाह नै नगरी “केदार बाबाकी जय” भन्दै नुहाउँदै थिए ।

फेरि सुरुभयो कचलीगाडको भिमकाय उकालो । लेकाली चिसो बतासका सुईराहरु कानका लोती र आँखाका चेपहरु स्पर्श गरिरहेका थिए । ठुलाठुला राईसल्ला, बाझ र गुरासका रुखहरुको जंगल बढ्दै गयो । देखिन थाले निगालाका झाडीहरु । समयले मध्यान्न पार गरिसकेको थियो । निकैबेरको हिँडाईपछि आईपुग्यो घलघलेको लेक । जुन बोगटान, लाना र दिपायलदेखि आएका मान्छेहरुको मिलन बिन्दु हो । त्यहीँबाट देखिन्छन उत्तर र दक्षिणतिरका पहाडका लहरहरु । तिनै पहाडहरु मध्ये खुला आकासमुनीको चौरमा बसेर पूर्वतिर नियाल्यो भने देखिहालिन्छ सेती नदि भेट्न आए जस्तो बग्दै आएको कर्नालीको निलो धर्को । तर त्यो दिन मौसमले साथ दिएन ।

उसो त घलघले लेक पहाडको भैसी चर्नेे पाटन हो । तर त्यो दिन भैसीहरु पनि देखिएनन् । घलघलेका गह्राभरी टनाटन भरिएका थिए मान्छेहरु । चौरको एक छेउमा ठुलाठुला डेक्चीहरुमा उम्लिदै थियो चिया । केही बेर चिया पिउँदै थकाई मेटायौं । केदारको गाथ पुग्नलाई त्यहाँबाट आधा,एक घण्टाको उकालो मात्रै बाँकी थियो ।

एउटाबाटो दक्षिणतिर लाग्यो । जुन बाटोभएर पुर्खाहरु हाट बोक्न तराईझर्थे । अर्को बाटो सोझियो भगवानको आँगनमा । मान्छेहरुको भीडमा मिसिएर हामी पनि उक्लियौं ।
केदारको गाथ नजिक पुग्दै गर्दा छर्लङ्ग देखिदै थिए महाभारतका अग्ला डाँडाहरु, कर्नाली पहाडका चुचुराहरु । एकैछिनमा घुम्न थाल्यो बर्खायामको जस्तो कुहिरो । त्यही बाटो, तीनै पहाडहरु, सेतीसँग मिसिन बग्दै आएको कर्नाली नदी,प्लस टु पढ्दै गर्दा घलघलेमा बसेर हेरेको पल आँखा अगाढी उभियो र मनमा उब्जियो उहिल्यै देखि सुनिदै आएको डेउडा ।

सर्क लाग्यो लेसे बादल कर्नाली तुरुक्क
सम्झिग्या बसेकी ठौर रोईगया धुरुक्क

हिँड्दा हिँड्दै आईपुग्यो लौरी फाल्ने ठाउँ । जहाँ लौरीको निकै ठुलो चाङलागेको थियो । बाटाभरी टेक्दै आएको लौरी हामीले पनि त्यहीँ चढायौं । केदारको टाकुराभरी रंगीबिरंगी मान्छेहरु भरीएका थिए । ध्वजा र पताकाहरु फहराईरहेका थिए । मान्छेका हातहातमा आलिम(ध्वजा) थिए । अगरबत्तीको बासना टाकुराभरी फैलिएको थियो । मान्छेका झुण्डहरु ठाउँठाउँमा आगो धुकाईरहेका थिए । गुराँस, बाँझ, राईसल्ला र निगालाका झाडीहरुमा बताससँगै बयली खेल्दै लुकामारी गर्दै थियो धुवाँ । केदारका टाकुराभरी सजिएका थिए पसलहरु । केदारबाबाको दर्शनका लागि मान्छेहरु पंक्तिवद्ध थिए ।

दक्षिण पश्चिम लाना र उत्तरपूर्व फुर्सिलको शिरानीमा रहेको ठुलो जंगलको अग्लो टाकुरो जसको उचाई समुन्द्री सतहदेखि लगभग अठ्ठाईस सय पचास देखि उनान्तीस सय मिटरसम्म रहेको छ । त्यही टाकुरामा ठुलाठुला चट्टानको बिचमा केदारबाबाको शिला छ । केदारसँग बिभिन्न देवता र राक्षसहरुका पौराणिक कथन र किबंदन्तीहरु जोडिएका छन् ।

जत्रामा पहाडका गाउँबाट भन्दा तराईबाट आउनेहरुको घुईचो बढी लाग्छ । विगतका वर्षझैं यो बर्ष पनि तराईबाट थारु समुदायका मान्छे ओइरिएका थिए । मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वासमा भारतको उत्तर प्रदेशबाट पनि तीर्थ यात्रीको रुपमा भारतीय नागरिकहरु बडीकेदार पुगेका थिए ।

केही बेरपछि हामी उक्लियौं गाईबाच्छे ढुंगाको माथिल्लो चुचुरोमा । जहाँबाट तराईदेखि हिमालसम्म पूर्वदेखि पश्चिमसम्म चारैतिर छर्लङ्ग देखिन्छ । तल हेर्दा अनकण्ठार देखिन्छ । आङ सिरिङ हुने गाईबाच्छे ढुंगोमा मान्छेहरु फन्को लगाई रहेका थिए । दक्षिणपूर्वपट्टी केदारको गाथमा ध्वजाहरु फरफराउँदै थिए । आकाशमा कुईरो रुमल्लिदै थियो । बेलुकीको चार बजेपछि हराउँदै गयो आकासको बादल । टुपुलुक्क देखिए अपि र साईपालका चुचुराहरु । त्यति टाढाका हिमाल पनि आँखै अगाडी उभिए जस्ता लागे । भनिन्छ सात पहाडको सहर रोम हो । तर किन कसैले बडीकेदारको उपनाम राखिदिएनन् ? नेपाललाई त झन सुन्दर पहाड र सेता हिमालको राजधानी भनिदिए पनि अझै अन्याय भैजाला जस्तो लाग्दैन ।

जसै अस्ताउन थाल्यो घाम उसै सुनिन थाले दमाहाका रन्काहरु । बज्न थाले नरसिंहा र भोकर । जव पर्न थाल्यो साँझ तब आउन थाले देउराहरु । केदारमा लगभग आसपासका गाउँहरुबाट एक दर्जन देउराहरु आउछन । छुट्टै पोशाक र पहिरमा हुन्छन् धामी र दमाईहरु । झुण्डझुण्ड बनाएर हजारौं मान्छेहरु आगो तापेर बसेकै थिए । पसलहरुमा घुँईचो उत्तिकै थियो । आफ्ना अगिल्तर मोवायल सोझ्याएर सेल्फी खिचिरहेका देखिन्थे तरुना तरुनीहरु ।

देउराहरुको आगमन सुरुहुन थाल्यो । दमाह र भोकरहरु बज्न थाले । समितीघर नजिक भटभटाउन थाल्यो जेनेरेटर । झलमल्ल बत्तीहरु बले । हाम्रा पाईलाहरु देउरो आईरहेतर्फ सोझिए । मेलाको सबै भन्दा रमाईलो क्षण भनेकै देउराहरुको अगमान हो ।

हातमा खुकुरी र तलवार नचाउँदै अघि बढ्दै थियो चौलो नाच । चाँदीका दण्डहरु समातेका मान्छेहरु देउरोको बिचमा थिए । पोसाकमा सजिएका दमाईहरु बाजा बजाउँदै थिए देउता नाच्ने तलमा । बयाल चढ्दै हातमा चमर डुलाउदै थिए धामीहरु ।

किंबदन्ती अनुसार केदार युद्ध भएको स्थल पनि हो । यर्सथ पनि परापूर्वदेखि नै त्यही युद्धको झल्को दिनेगरी देउरो सँगै हातहतियार सहित चौलो खेल्दै अगी बढ्छन् मान्छेहरु । केदारको गाथ रहेको पश्चिमपट्टीको खुड्किलोमाथीको गरालाई खापरे भनिन्छ । केदारलाई खापरेले जेल हाल्दा खापेरसँग केदार पुत्र मोहन्यालको युद्ध भएको कथन र लोक आख्यानहरु अझै पनि जीवन्त छन् ।

जान दैत्य वडातोडा मालथली जान
मोहन्याल् दैत्यको दलु कत्युर ल्यान
गयो दैत्य वडातोडो बतासैका स्वर
आयो दलु मोहन्याल बादलकी ढिक

खापेरेमा पुग्ने बित्तिकै काप्न थाल्छन् धामीहरु । जोरजोरले बज्न थाल्छन् दमाहा । हातमा तलवार समातेर नाच्छन धामी । यो त्यही ठाउँ थियो जहाँबाट मोहन्याल र खापेरेको युद्ध सुरु भएको थियो । त्यो युद्धमा खापरेलाई लखेटेर सेती नदीसम्म पु¥याएको र त्यसपछि सेतीमा बग्दैबग्दै खापरे भागेर खप्तडमा गएर बसेको भन्ने भनाई प्रचलित छ ।

गयोदलु खापरेको रुनुरुनु गयो
भयोदैत्य मोहन्याल तेरै भन्नु भयो

“केदार बाबाकी जय” भन्दै एक स्वर गर्दै थिए भक्तजनहरु । भिड ब्यबस्थापनमा नेपाल प्रहरी र शसश्त्र प्रहरी खटिएका थिए । मोबायलका फ्ल्यास लाईटहरु बढ्दै गए । देउराहरु गाथ तर्फ ओर्लिन थाले । बल्ल सुरु भयो देउडा खेल्ने समय । कानमा गुन्जीयो देउडाको पहिलो डाको ः

अलना झलना नला हजारीका तोला
क्या धर्ती फर्कनु भयो हुनाईसम्म होला

शब्दहरुले चसक्क छोयो । आजकाल प्राय डेउडा खेल्ने रहर भए पनि मनका जसा डेउडा भेटीदैनन् । मेला र पर्वहरुमा पनि नजानीदो हस्तक्षेप बढ्दै गएको छ । धेरै ठाउँहरुमा संस्कृति संरक्षणका नाममा बजेट कुम्ल्याउने कुचेष्ठा गर्ने मान्छेहरुको हावी बढ्दै छ । परापूर्वदेखि चल्दै आएका चालचलन, रितिरिवाज र मेलापर्वहरुमा पनि राजनीति गर्ने मान्छेहरुका उद्घाटन कार्यक्रम राखिएका हुन्छन । उनीहरुले भाषण गर्नै पर्छ । पावर र पैसाको आडम्बरले ढमलाउने त्यस्ता मान्छेहरु रातदिन माटो कन्याएर पेट पाल्ने मान्छेहरुको आँखामा छारोहाल्न सफल बनेका छन् ।

धेरै जिल्लाका मान्छेको आगमन र सबैको साझा थलो भएकै कारण केदारको डेउडा खेलमा नेताहरुका किनेर ल्याएका डेउडा खेल्ने मान्छेहरु थिएनन् । दौतरीका पाखुरामा पाखुरा जोड्दै खुट्टाका चाल मिलाउँदै खेल्न थालें डेउडा । आँखामा चस्मा लगाएकी, उमेरले चालिस कटेकी पु¥ख्यौली घर अछाम भई हाल कैलालीमा बस्ने धनादेवी भण्डारी एकातर्फ थिईन भने ढाका टोपी ढल्काउँदै निकै उत्साहित भएर जवाफ फर्काउदै थिए उस्तै उमेरका पुरुष ।

डेउडामा मन खोलेर प्रेमका कुरा चल्छन् । बादबिवाद हुन्छन् । डेउडीयाहरु कुनै बेला उग्र भैदिन्छन । कुनैबेला हृदयको चिर गहिराईबाट मन छुने झिट्टाहरु फ्याक्छन् । उत्सुकतामा थिएँ म ती मान्छेहरुलाई जान्न । तर उनीहरु जवाफ सवालमै तल्लीन भैरहे ।

हौसले हालेको टोपी कोई पुँडो फाल्देली
नअर बुणा तेसा कुणा घर जोई गाल्देली

मालिका उठाया पैसा बाउली गनेकी छ
ढंगीली छोरेट्टी पाया ल्यैया भनेकी छ

खेलको बिचमा बुढापाका र महिलाहरु टनाटन भरिन थाले । ढाका टोपी ढल्काउँदै मुसुक्राउँदै डाको छेडेर फर्काउदै थिए ती पुरुषले सवालको जवाफ ।

औंलीको हिलौटो खस्यो तल गैली डम्म
तँ घटीजा म बढीजाउँ होईजाउँ सम्म सम्म

हिउन उदै बर्खा उदै काँ जादोछै पानी
साई दुरै म पनि दुरै अईल भने जानी

छुट्टीने र मिल्ने कुरा भैरहेकै थिए । डेउडा खेल्नेहरु उत्साहित भएर खेल्दै थिए । उस्तै थियो मान्छेहरुको घुईचो । गाथको दर्शन गैरहेकै थिए भक्तजनहरु । थौलाथौलाहरु र पसल पसलमा मान्छेको भिड र दनदनी आगो बलिरहेकै थियो । जवाफ सवालमै तंरगीत भैरह्यो डेउडा । दिनभरी हिँडेका खुट्टाहरु अझै थाकेका थिएनन् । रातभरी धेरैलाई डेउडामा झुम्मिन हौस्याए ती डेउडियाका सवाल जवाफले ।

मध्यरात भैसकेको थियो । गीतमार्फत, फकाउने घुर्की लाउने र झगडा गर्ने क्रम चलिरहेकै थियो । पुरुष डेडियाको गीतको आषय बुझियो । तिमी मेरो साथमा नगए पनि मलाई त तिमी जस्तै दुईचार जना अरुले पनि साथमै जान्छु भनेकी छन् तिमीले नाई भने के भयो र । तब जवाफ फर्काईन धनादेवीले ।

खोइ् के खोइ् के गोठालाय खोइ् के डोरी खोइ् के
कैका हुन् लोटाउना भैंसा तु क्या रांगो होइ् के
जस्को जवाफमा ती पुरुषले भने,
जीउ जाने कसैको होईन जान्न मोहर पैसा
क्या अरु पछाडी लाग्दा लोटी मर्ने भैंसा
कम थिईनन् धनादेवी पनि तुरुन्त फर्काइन जवाफ
आज बासो केदार खेलु भोलि डोटी गैजाउँ
बगालै लोटाउने थिएँ रिथिनी म होइ्जाउँ

तत्काल जवाफ फर्काउनु, तत्काल शब्दहरु उनेर गीत बनाउनु र त्यसमा पनि सबैको मन जीत्न कठिन भैजान्छ । तर त्यो कठिनलाई जीतिरहेका थिए ती आँशुकविहरुले । मनको गहिराई छुँदै थिए डेउडाका झंकारहरुले । रातभरी झकिझकाउ थियो केदारको टाकुरो । घडीले कति बजायो कुनै मतलब थिएन । डेउडाले यति धेरै मन तानिसकेको थियो कि जति खेले पनि थकाई मार्ने मन भएन । डेउडा खेल सकियो । ती पुरुष डेउडियाको नाम जन्न मन थियो त्यो भीडमा उनी कहाँ गए भेटाउनै सकिन । तर ती अनाम पुरुष र धनादेवीका वीचका सवाल जवाफहरुका केही पंक्ति अझै कानमा गुन्जीरहेकै छन् ।

गोठालाले घाँस काटेको अल्की चुरै चुर
घड़ीकी लागने सम्राई जन भयइ दूर

 

प्रकाशित मिति: : 2019-11-30 13:56:27

प्रतिकृया दिनुहोस्