रातो र चन्द्र सूर्य जङ्गगी निशान हाम्रो,
ज्यूँदो रगत सरि बल्दो यो शान हाम्रो!
झण्डै ३ वर्षको कुरा हो! वैशाख २६ गते पुनर्वास नगरपालिका ४ स्थित नेपाल भारत सीमा क्षेत्रमा नेपाली भू-भाग भारतले ठाडै हस्तक्षेप गरेको सन्दर्भमा नेपाली सीमाको प्रतिरक्षा र राष्ट्रिय स्वाभिमानको पक्षमा लडाइ गर्दा भारतीय एसएसबिको गोली प्रहारवाट सहिद गोविन्द गौतमको ज्यान गयो।
पुनर्वास क्षेत्रको नेपाल भारत सीमा नम्बर २०० पिलर नजिक गोविन्द बजारमा कच्ची कल्भर्ट भारतीय पक्षले भत्काउन खोज्दा उत्पन्न भएको झडपमा बेलौरी नगरपालिका वडा नम्बर ६ शान्तिपुर निवासी टिकाराम चापागाईं सिकिस्त घाइते भए।
पश्चिम नेपालको कैलाली- कञ्चनपुरको सीमावर्ती प्रमुख नाका गौरीफण्टामा किनमेलका क्रममा भारतीय ब्यापारीबाट कुटिए पछि केही दिन नाकामा प्रदर्शन गर्दै नेपालीले आवागमन ठप्प पारे ।
लिम्पियाधुरा महाकालीको उदगमस्थल हो। जुन नेपाली स्वाभिमान र प्रतिष्ठा पनि हो। लिम्पिया धुरा, लिपुलेक र कालापानी आफ्नो नक्सामा गाभ्ने भारतीय कदम भर्त्सनायोग्य हुँदा हुँदै नेपाली परराष्ट्र मन्त्रालयद्वारा निकालिएको विज्ञप्तिमा नाम, पद, स्तर र हस्ताक्षरमा उल्लेख नहुनु उदेकलाग्दो मात्रै नभएर कायर र डराएको प्रतीत हुन्छ ।
भारतीय दुधुवा निकुञ्ज नजिकै रहेको नेपाली भूमिमै रहेको नेपालीको जग्गा २०५२ मा भारतीय वन बिभागले अतिक्रमण गरि जग्गा खोसेको थियो। २०२८ सालमा उक्त जमिनको लालपूर्जा सुनारले पाएको भए पनि २४ वर्ष देखि भोग चलन गर्न पाएका छैनन्। लालपूर्जा भएको जग्गामा भएको भारतीय अतिक्रमण हटाई फिर्ताका लागि पटकपटक माग गर्दै जिल्ला र स्थानीय नेताहरु सँग आग्रह गरे पनि कहिँ कतैबाट पहल नहुँदा बिचल्ली भएको छ ।
यो त एउटा उदाहरण मात्रै दिएको हो। केही वर्ष अगाडिको कुरा हो धनगढीको वोर्डरमा पर्ने ५०० विगाहा जग्गाको लालपुर्जा नेपालीको हातमा अझै छ, भारतले दिउँसै जंगे पीलर भोगचलन गरेको वारीमा ल्याएर गाड्यो र खाएको खायै गर्यो ।
नेपालको भूमि भित्रको जग्गामा भारतीय पक्षबाट गरिएको अतिक्रमणका कारण जिल्लाको दक्षिणी क्षेत्रका थुप्रै स्थानहरुमा नेपाली भुभाग गुम्न पुगेको छ। यसरी लालपुर्जा भएको नेपालीभूमी भारतीयले कब्जा गर्दा समेत सम्बन्धित सरोकारवाला मौन बसेपछि पीडित परिवार झनै पीडामा परेका हुन्।
त्यसरीनै डोकेबजार-गौरीफन्टा भारतीय पक्षले उक्त सीमाको अर्को सरोकारवाला नेपालसँग सहमति नै नगरी एकाएक नाली खन्नु गलत र कुटनीतिक मर्यादा बिपरित हो।
दुधुवा निकुञ्ज लालझाडी वन हुँदै शुक्लाफाँटा वन्यजन्तु आरक्षसँग जोडेर वन्यजन्तुको सुरक्षीत आवागमनका लागि मोहना जैविक मार्ग बनाउने भन्ने पहल भइरहेका बेला यसरी वन्यजन्तुको आवतजावत रोकिने गरि संरचना बनाउन खोज्नु भारतीय पक्षबाट भएको गम्भीर गल्तीरोक्न नेपाल सरकारले पहलै गरेन।
कञ्चनपुरको डोकेबजारस्थित सीमा स्तम्भ नम्बर १७१/७५३ को दशगजासँगै नेपाली सीमा सुरक्षा बल सशस्त्र प्रहरीकै अगाडि भारतीय वन बिभागले मिति २०७५ माघ ९ गते डोजर चलाएर गहिरो नाली र अग्लो डिल बनाएर मोहना जैविक मार्गको प्रवेशद्वार थुन्नु कतिसम्म हेपाहा प्रवृत्ति हो?
सीमा विवादको चर्को मार खेप्दै आएको कञ्चनपुरको दक्षिणी भेग पुनर्वासस्थित नेपाल-भारत सीमाकोबिचफाँटामा रहेकास्तम्भको अवस्थाबारे पूर्व सर्वेक्षण कार्य संयुक्त टोलीले थालेको छ ।
कञ्चनपुरको पूर्वी दक्षिणी भेगस्थित डोकेबजारमा रहेको सीमा स्तम्भ नम्बर ७७१ बाट सुरु गरिएको सीमा सर्वेक्षणको कार्य पुनर्वास नगरपालिका ८ को मोतियाफाँटा स्थित नेपाल-भारत सीमा स्तम्भ नम्बर ७६६ सम्मको सीमाको अबस्थाको अनुगमनका साथै सर्वेको काम बिहिबारसम्म गरिएको छ ।
पुनर्वासको बिचफाँटास्थित नेपाल भारत सीमा क्षेत्रमा २०६०/०६१ देखि साबिक जंगे पिलर नम्बर १९५ देखि ५०० मिटर नेपाली भूमीमा ७६१/१ नम्बर पिलर खडा गरिए पछि सीमाको बिवाद सुरु भएको थियो।
सोही समयमा जंगे पिलर १९४ देखि पश्चिम तर्फ ७६१/१,७६१/२,७६२,७६३,७६४,७६५ र ७६६ नम्बरका सीमा स्तम्भ कायम हुँदा सो क्षेत्रको प्यारताल सहित १ हजार भन्दा बढी नेपाली भूमी भारत तर्फ देखिएपछि स्थानीयले अतिक्रमणको बिरोध गरेका थिए।
आक्रोशित बनेका स्थानीयले २०६२ जेठमा नेपाली भूमीमा गाढिएका सीमा स्तम्भहरु ढालेका थिए।
जिल्लाको दक्षिण भेगमा रहेको पुनर्वासस्थित बिचफाँटा,धनसिंगा र मोतियाफाँटामा बिगत १४ वर्षदेखि सिमाको बिवाद रहदै आएको थियो। सर्वे टोलीले मिसिङ पिलर भन्दै आएको १९५ नम्बरको जंगे पिलर यथास्थानमै ढलेको अबस्थामा फेला पारेको छ।
उक्त स्तम्भलाई कायम नगरेसम्म यस क्षेत्रमा देखिएको सीमा विवाद सुल्झनुको साटो अझ समस्या बल्झाउने सो सीमा क्षेत्रका जानकार कुबेर नाथले बताए।
‘जबसम्म स्तम्भ नम्बर १९५ को खोजी र त्यसलाई कायम गरिँदैन तबसम्म यहाँको सीमाको विवाद सुल्झिदैन। सो पिलरलाई मिसिङ मान्दा नेपालको सामरिक महत्वको ताल प्याराताल सहित हजारौं बिगाहा जमिन भारतीय अतिक्रमण हुनेछ।’
यती धेरै आक्रमण गर्दापनि नेपाल सरकार,नेता, प्रतिपक्ष, पुलिस, सशस्त्र,प्रशासन, पत्रकार, उच्च ओहोदाका छोराछोरीलाई स्कोलरसिपको नाममा पढाउने, दूतावासमा मासिक तलव बुझ्ने मात्रै थोरैमा पनि २ लाख महाशय भएको सुनिन्छ।
यसरी उच्च पदमा भएकोलेनै देश आत्मासँगै नुनको भाउमा बेचेका छन्।
भारतले हालै एकतर्फी रुपमा जारी गरेको नक्सामा नेपालको महत्वपूर्ण भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समिटेएको बिषय पनि यस्तै हस्तक्षेपकारि रबैया हो।
नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र स्वतन्त्रताकोविषयमा छिमेकबाट भएको यो गलत हर्कत र कदम नेपालीका निम्ति किमार्थ स्वीकार्य हुने छैन ।
छिमेकी देशमा देखिने यस्ता सीमा सम्बन्धी समस्याको समाधान दुई पक्षका बिच छलफल र सहमतिमा कुटनीतिक तबरले बैज्ञानिक ढंगबाट निराकरण गर्नुको सट्टा ऐतिहासिक दस्तावेज र प्रमाणलाई एकातिर पन्छाई अगाडि बढ्न खोज्नु भारत सरकारको बल मिच्याई र गलत प्रवृत्ति हो।
नेपाल आमाको छातिमा जबरजस्ती कुल्चिने चेष्टाका बिरूद्ध संसारभर छरिएर बसोबास गरेका नेपाली एकढिक्का भई लड्नु पर्छ।
नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो अति संवेदनशील बिषयमा हामी गैर आवासीय नेपालीहरु सँधै नेपाल र नेपाली जनताको साथमा रहेका छौ।
२१ औं शताब्दीमा आएर पनि नेपालको अस्मितामाथि भारतबाट गरिएको ठाडो प्रहार र हस्तक्षेपकारी भूमिकाका बिरुद्ध अन्तर्राष्ट्रिय जनमत सृजना गर्न कुनै पनि वेला हामी तयार छौं।
अन्तमा, भारत सरकारले नेपाल र सम्पूर्ण नेपालीबाट आफ्नो त्रूटी र महाभुललाई क्षमा माग्दै आफ्नो भूललाई तत्काल सच्याई दुई देशको छिमेकीका बिच सुमधुर सम्बन्ध कायम राख्न कदम चालोस्।
अबको आवाज वार कि पार हुनुपर्छ । सँधै सँधै भारतले नेपालीलाई वोर्डरमा दु:ख दिनों र सीमाना सारिरहने काम बन्द गरोस्।