संसारकै कम भ्रस्टाचार अनी संसारकै खुसी र तलवमान उच्च भएको युरोपको उत्तरी भागमा रहेको सानो सम्पन्न राजतन्त्र भएको देश हो, डेनमार्क। आप्रवासीको लागि काम र भिसाको लागि अन्य देश भन्दा अनुदार पनि मानिन्छ।
नेपालबाट दसक पहिला कोही सरणार्थीमा गएर सेटल भए भने कोही विद्यार्थी भिसामा गएर सेटल भए। कोही ग्रीन कार्डमा गएर सेटल भए। पहिला पहिला विद्यार्थी भिसामा आउनेले कमाएर पढाई पनि सकाए। तर त्यहाँ सबै कलेजमा आउनेले कमाउन गाह्रो छ।
कति सजिला कलेज छन् त कति कलेज राजधानी भन्दा अति टाढा छन्। अनी त्यहाँ कामको अवसर अत्यन्त न्युन छ। नेपाली प्राय नेस्थभेल, रस्किल्ड कोगेको जिव्याट कलेजमा कोपन हेगनको नेल्सवर्ग साथै कोपन हेगन भन्दा दुरको कोल्डीङ्ग, आरुस लगायत कलेजमा अध्ययन गर्न भनी आउने हुन।
कति कलेज सजिला हुन्छन्। कलेज सँगै काम गर्न सहज हुन्छ भने फि पनि त्यति चर्को हुदैन।
डेनमार्कको कानुनमा विद्यार्थीले हप्ताको २० घन्टा भन्दा बढी काम गर्न पाइदैन भन्ने छ। तर पिआर पाएका सरणार्थी अप्लाई गरेर ग्रीन कार्डमा आएका अन्य युरोपीयन देशबाट पासपोर्ट पाएर गएकाले डेनमार्कमा राम्रो कमाइ गरेका छन्। अनी नेपालमा पैसा पठाइरहेका छन्। घर घडेरी पनि किनेका छन्।
५ वर्ष अगाडिसम्म ग्रीन कार्डको स्किम थियो। डेनमार्कमा एक जना कलेज पढाउने सर ग्रीन कार्डमा गए। उनले राम्रो कमाई गरे। श्रीमती डिपेन्डेन्टमा लगे। दुबैले होमा हैस्ते गरि राम्रो पैसा कमाए। उनले कमाएको सबैले थाहा पाए। गाउँघरमा डेनमार्क कमाई हुने देशे रहेछ भन्ने हल्ला चल्यो। गाउँका साथीभाई सबैको रोजाई डेनमार्क भयो।
भर्खरै एम ए सकेर गाउँकै ११, १२ कक्षामा पढाउने संजयलाई पनि डेनमार्क गएर कमाउने हुटहुटी भयो। काठमाडौं गएको बेला विभिन्न कन्सल्ट्यान्सीमा गए। एउटा कन्सल्ट्यान्सी भेटे। अनि कन्सल्ट्यान्सीले भन्यो, 'तपाईको लागि एक कलेज छ। त्यो कलेज कोपन हेगनको नरेपोर्टमा छ। कलेजको नाम नेल्सवर्ग हो। त्यो युके को(De Montfort University) बाट सम्बन्धन पाएको कलेज हो। त्यहाँ तपाई सुरुमा प्री मास्टरमा जानू। त्यसपछि मास्टर गर्नु। अब त्यहाँको मास्टर र यहाँको मास्टरले तपाई ग्रीन कार्ड पाउनु हुन्छ।'
संजय झन् मख्क डेनमार्क जान पाइने, अझ युकेको युनिभर्सिटीले संबन्धन दिएको कलेज। कति दामी होला सोच्दै उनले त्यहीँबाट अप्लाई गरे।
त्यतिबेलाको सामाजिक संजाल स्काइपबाट उनको इन्टरभ्यु भयो। २०१४ को जुलाईमा भिसा लाग्यो। बडो हर्ष र खुसी अनि कमाउने आशामा उनी डेनमार्क पुगे, अगस्टको अन्तीममा। ११, १२ पढाउने आफ्नो जागिर बीचमै छोडेर।
डेनमार्क भिसा लागेर पुग्दा मात्र केही नहुदो रहेछ। त्यहाँ काम गर्न बैंक खाता खोल्न देखि हरेक कार्यको लागि सिपीआर (सोसियल सेकुरेटी नं, सामाजिक सुरक्षा नं, अथवा व्याक्तिगत सुरक्षा )नं चाहिँदो रहेछ। त्यो बनाउन पनि आफू बस्ने वैध ठेगाना चाहिने रहेछ। कुन अपार्टमा कति सिपीआर दिने भन्ने हुँदो रहेछ।
नेपाल छँदा हाई हेलो गर्ने पनि त्यहाँ गएपछि नबोल्दा रहेछन्। सामाजिक संघ, संस्था त आशण र भाषणको लागि मात्र रहेछन्। बडो हन्डरको साथ उनले सि पी आर बनाए। हुसुम ट्रुपमा नाजीरको घरमा एक कोठ पाए। कोठाको भाडा ४२०० क्रोनर महीनाको।
उता ६ महीनाको कलेज फि र अन्य खर्च गरि १२ लाख कन्सल्टोन्सीलाई बुझाएर २ हजार डलरको ट्राभल चेक लिएर आएका संजयको १ महीना त यताउती गर्दै बित्यो। कलेज सुरु भयो। प्री मास्टर भनेको न कुनै तह, न कुनै योग्यताको लागि नै रहेछ। यो त एक ब्रीज कोर्ष जस्तै रहेछ। त्यहाँ पुगेपछि उनी तिन गम खाए।
कलेज सँगै एक काम दिने कन्ट्रायक्टरकोमा उनी पुगे। धेरै रेस्टुरेन्टको सरसफाईको काम ठेक्का लिने एक अरवी ठेगेदारसँग उनको भेट भयो। त्यो ठेकेदारले उमामे भन्ने रेस्टुरेन्टमा घन्टाको ११० क्रोनर को दरले काम दियो। ट्याक्स काट्दा त्यो ७५ क्रोनर हुने। तरपनि उनले त्यो काम गर्न थाले। कानुनी रुपमा हप्ताको २० घन्टा काम गर्न पाइन्थ्यो। तर उनले हप्तामा ८० घन्टा काम गर्न थाले। बाँकी घन्टाको पैसन हातमा (गैरकानुनी तवरबाट) लिने सहमती गरे।
डेनमार्क आएको २ महीना पछि पाएको सरसफाइको काम उनको लागि संसार जिते सरी भयो। नेपालमा चक डस्टर समाएको हातले डेनमार्कमा मस्काउने र चम्काउने काम गर्न उनको मनले नमाने पनि बाध्यता थियो। पछि बानी पनि पर्यो।
संजयको भाडा ४२ सय क्रोनर, खाना खर्च, टेलीफोन, बस कार्ड अन्य गर्दा अर्को ४ हजार, बसैगरी ८ हजार खर्च हुने। उता ६ महीना पछि फेरी कलेजलाई ४५ हजार क्रोनर तिर्न बाँकी। उनले रात दिन नभनि काम गरे। आफ्नो श्रीमतीलाई पनि कागज पत्र बनाएर आफू आएको ६ महीनामा ल्याए। बल्ल तल्ल कलेजको दोस्रो किस्ता तिरे। श्रीमती आएपछि हल्का भयो। होटल टिभोलीमा श्रीमतीलाई पनि हाउस किपिङ्गको काम पाइयो। श्रीमती डिपेन्डेन भएकोले फुल टाइम काम गर्न पाउने भइन। अब संजयको अलि आँट आयो। उनी प्री मास्टर सकेर २०१६ मा मास्टर पढ्न थाले। त्यही कलेजबाट उनले मास्टर पनि सके। तर डेनमार्कले ग्रीन कार्ड स्किम हटाईसकेको थियो। स्टाफलिस कार्ड २ वर्षको दिने नियम ल्याएको रहेछ।
संजय त्योबाट पनि बञ्चित भए। किनभने डेनमार्कले आफ्नै देशको विश्वविद्यालयबाट संबन्धन प्राप्त कलेजबाट डिग्री गरेकालाई मात्र दिने नियम ल्याएको रहेछ। तर उनले पढेको कलेज त युकेको विश्वविद्यालयबाट संबन्धन प्राप्त गरेको थियो।
अब संजयको अर्को विकल्प भनेको वर्क परमिट लिने थियो। वर्क परमिटको लागि महिनाको ३२ हजार क्रोनर भन्दा बढी तलव हुनुपर्ने रहेछ। केही रेस्टुरेन्टले पैसा लिएर वर्क परमिट पनि निकाल्ने रहेछन्। केही रेस्टुरेन्टलाई उल्टो पैसा दिएर उनले वर्क परमिट निकाल्न पनि तयार भए तर पाएनन्।
अब भिसा बढाउने उपाय केही देखेनन् अनी श्रीमतीलाई विद्यार्थी बनाएर बस्ने सुर गरे। उनकि श्रीमतीले मेजर नेपालीमा डिग्री गरेकी। त्यहाँ अंग्रेजीमा गाह्रो हुने। अनन्त उनको भिसा थप नहुने पक्का भयो।
संजयको सबै सपना नेल्सवर्गले निलीदियो। घर खेत किन्ने, पैसा कमाउने, सबै सपना। उनी २०१८ को अन्य तिर पोर्चुगल पुगे। श्रीमान्श्रीमतीका लागि पोर्चुगल पनि नयाँ ठाउँ। २/४ महीना यताउता गर्दै बित्यो। बल्लतल्ल काम पाए। पोर्चुगलमा तलव कम भएपनि डेनमार्क जस्तो स्ट्रेस भने थिएन। पिआर पाएको, पासपोर्ट पाएर गएकालाई डेनमार्क कमाउन बस्न अत्यन्त राम्रो छ। सामाजिक सुरक्षा पनि राम्रो छ। तर बुझ्दै नबुझेर जुन पायो त्यही कलेजमा विद्यार्थी भिसामा जानेलाई अत्यन्त गाह्रो छ।
गाउँमा फलानाले डेनमार्कमा कमाएको छ, भनेर डेनमार्क हाम फाल्नु भन्दा ऊ कुन भिसामा छ, कुन स्टाटसमा छ, भनी राम्रोसँग बुझ्न जरुरी छ। काठमाडौंका कन्सल्ट्यान्सीको भरमा डेनमार्कमा विजनेस कलेजमा आउँदा बिचार पुर्याउन पर्छ। नत्र संजयको सपना जस्तै हुन्छ।
११, १२ पढाउने मान सम्मानवाला आफ्नै घर अगाडिको जारिर छोडेर अर्काको देशमा अरुले कमाएको आरिस गरेर ठूला सपना देखेर डेनमार्क आएका संजयका सारा सपना नेल्सवर्गले निलिदियो।
यति भन्दा संजयले लामो सास तानेका थिए। सायद उनी आफ्ना पीडा पोखेर हल्का हुँदै थिए। त्यसपछि उनी विदा भए।