१२ वर्षअघि अर्थात २०६४ को साउनमा भारतको नयाँ दिल्लीको अपोलो अस्पतालमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण गरिएको तथ्य हो, जसलाई संचारमाध्यमले पनि सम्झाइरहेका छन्। त्यही प्रत्यारोपणका कारण, त्यो वर्ष भएको संविधानसभाको चुनावमा उनको सक्रियता निकै कम भयो र चुनावमा माओवादी उमेद्वारसँग उनी पराजित भए। माओवादीको आकर्षण, भय र आक्रमक चुनावी प्रचार उनी पराजित हुनुको अर्काे कारण रह्यो।
त्यसको पाँच वर्षपछि २०६९ कार्तिकमा उनको स्वास्थ्य अवस्था निकै बिग्रियो र काठमाडौं थापाथलीमा रहेको नर्भिक अस्पतालमा उनी भर्ना भएको पनि धेरैलाई सम्झना छ। त्यहाँ उपचार हुननसक्ने भएपछि इयर एम्बुलेन्सबाट उनलाई दिल्लीको मेदान्त अस्पताल पुर्याइएको थियो। त्यहाँ झण्डै दुई हप्ता उपचार गरेपछि केही स्वस्थ्य भएर उनी फर्किएका थिए।
अर्काे वर्ष भएको संविधानसभाको दोश्रो चुनावमा नेकपा एमाले दोश्रो पार्टी बन्यो र २०७० फागुन २१ गते भएको एमाले संसदीय दलको नेतामा उनी पार्टीका तत्कालिन अध्यक्ष झलनाथ खनालसँग भिडे। त्यस बेला पनि इन्फेक्शनका कारण उनको हातसुन्निएर ब्याण्डेज गरिएको थियो। स्वास्थ्य खराब भएपनि नवनिर्वाचित बहुमत सांसदले उनलाई विश्वासको मत दिए।
तर, त्यसको केही दिनमै उनको स्वास्थ्य पुनः बिग्रिएपछि ग्रान्डी अस्पतालमा पुर्याइएको थियो। त्यहाँ राम्रो हुने नदेखिएपछि सिंगापुर लगियो।
त्यहाँबाट उपचार गरेर फर्किएपनि उनी पूर्ण स्वस्थ्य भएनन्। तर, पहिल्यै पार्टीको अध्यक्षमा उमेद्वारी दिने घोषणा गरिसकेका उनले महाधिवेशनमा अध्यक्षको उमेद्वारी दिएरै छाडे। स्वास्थ्य बिग्रिएकाले माधवकुमार नेपालसँग अध्यक्षमा भिड्दा उनी महाधिवेशनस्थल भृकुटिमण्डपमा कमै समयमात्र उपस्थित हुन र प्रतिनिधीसँग निकै कम अन्तरक्रिया गर्न सके।
त्यस बेला उनको स्वास्थ्य कतिसम्म बिग्रिएको थियो भने नेता–कार्यकर्तासँग बोल्न र कसैको साहारा नलिई उभिन पनि उनलाई निकै गाह्रो परेको देखिन्थ्यो। त्यो अवस्थालाई आधार बनाएर मुलुकको दोश्रो ठूलो पार्टीको प्रमुख पदमा पुग्न स्वास्थ्य उनको अयोग्यता बन्ने समाचारहरु छ्याप्तीछ्याप्ती बनेका थिए। तर, महाधिवेशन प्रतिनिधीको बहुसँख्याले उनलाई अध्यक्षमा निर्वाचित गर्यो।
एमालेको अध्यक्षमा निर्वाचित भएपछि ओलीले आफ्नो जिवन धेरैको जस्तो दीर्घ नभएको सार्वजनिकरुपमै बताएका थिए। ‘त्यसैले मैले थोरै समयमा छिटो र धेरै गर्नुछ,’ निर्वाचित भएपछि पार्टीको केन्द्रीय कार्यालय बल्खुमा भएको पदाधिकारी र केन्द्रीय सदस्यको सपथपछि उनले भनेका थिए।
कमजोर स्वास्थ्यका बावजूद स्थानीय निकायको निर्वाचनमा एमालेको तर्फबाट चुनावी अभियानको नेतृत्व ओलीले नै गरेको सबैलाई थाहा छ र त्यस निर्वाचनमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो बनाएको पनि धेरैले बिर्सिएका छैनन्।
करिब दुई वर्षअघि भएको संघीय संसदको निर्वाचनमा एमाले र माओवादी गठवन्धनको ओली नै प्रमुख नेता थिए। पार्टी एकता गर्ने घोषणासहित निर्मित त्यो गठवन्धनले बहुमत ल्याएमा को प्रधानमन्त्री बन्नेछ भन्ने घोषणा नगरिएपनि ओली नै हुनेमा कसैलाई भ्रम थिएन। ओलीको स्वास्थ्य अवस्थाबारे निर्वाचनको बेला पनि बिपक्षले चर्चा नचलाएका हैनन्, तर तिनै अस्वस्थ्य ओली प्रधानमन्त्री बन्नेगरी जनताले मत दिएको सम्झाउनुपर्ने अवस्था अहिले देखिएको छ ।
प्रधानमन्त्रीको योग्यता
एमाले र माओवादीबीचको गठवन्धनले चुनावमा आफै आफ्नो नेता ओली मृगौला प्रत्यारोपण गरिएका बिरामी भएको लिखित र मौखिक प्रचार नगरेको साँचो हो। तर, यो तथ्य सम्झाउँदा गठवन्धनका नेता–कार्यकर्ताले खण्डन गरेको पनि कसैले भन्न सक्दैनन्।
मुलुकको नेतृत्व शारीरिकरुपमा पनि बलियो तथा निरोगीलाई सुम्पनुपर्छ भन्ने विश्वब्यापी मान्यता छ। शारीरिकरुपले स्वस्थ्य हुँदा मानसिक स्वास्थ्य पनि राम्रो हुने तथा दत्तचित्त भएर कार्यसम्पादन गर्नसक्ने भएकाले यस्तो मान्यता बनेको हो। तर, मुलुकको नेतृत्व पाउँने योग्यतामा शारीरिक तन्दुरुस्ती एउटा पक्ष मात्र हो। त्यसबाहेक अनेक योग्यता आवश्यक पर्ने हुँदा कहिलेकाहीँ शारीरिक तन्दुरुस्ती गौण र अन्य योग्यता प्रमुख बनेर आउँछन्। ओलीको हकमा भएको पनि यही हो।
संविधानसभाको दोश्रो निर्वाचनमा दोश्रो ठूलो पार्टी बनेको एमालेको नेतृत्वमा ओली आएपछि उनको नेतृत्व क्षमता सबैले बुझ्नेगरी प्रकट हुनथाल्यो। २०७२ बैशाख १२ को महाभूकम्पपछि संविधान बनाउन तीन प्रमुख दल नेपाली कांग्रेस, एमाले र माओवादीबीच सहमति बनेपछि तिब्र बनेको संविधान निर्माणमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरे। भारतीय सस्थापनले संविधान निर्माणमा बिलम्ब गर्न दबाब दिँदा त्यसलाई प्रतिवाद गर्दै तोकिएको समयमै संविधान जारी गर्ने अडानको नेतृत्व पनि उनैको रह्यो।
पहिले गरिएको सहमतिबिपरित नेपाली कांग्रेसले प्रधानमन्त्रीमा तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालालाई फेरी उमेद्वार बनायो तर माओवादीसहित साना दलको समर्थनमा ओली प्रधानमन्त्रीमा निर्वाचित भए। संविधान जारी गरेकोमा त्यसअघि नै भारतले असहमति जनाउँदै लगाएको नाकाबन्दीविरुद्ध मुलुकलाई एकजुट पार्ने आँट र क्षमताले उनलाई राष्ट्रिय नायक बनायो। भारतको नाकाबन्दीलाई चिर्न उत्तरतर्फको छिमेकी चीनसँग पारवहनलगायत अनेक सम्झौता गर्दै सांकेतिकरुपमा भएपनि केरुङ नाकाबाट पेट्रोलियम भित्र्याए।
चीनतर्फ मुलुकको पहुँच बढाउन उनले गरेको आँटले भारत गल्यो र पाँच महिनापछि हल्लाखल्लाबिनै नाकाबन्दी फिर्ता लियो। यसले राष्ट्रको आत्माविश्वास उँचो बनाएको अधिकांश नेपालीले महशुस गरे। स्थानीय, प्रदेश र संघीय निर्वाचनमा शारीरिकरुपले अस्वस्थ ओली नेतृत्वको पार्टीले अरुभन्दा बढि मत पाउनुको महत्वपूर्ण कारण यही हो।
यसो भनिरहँदा उनले सरकारको नेतृत्व गर्न योग्यता देखाउनुपर्दैन भन्ने अर्थ लाग्दैन। विगतको योगदानको ब्याजले मात्र नेतृत्व स्विकार्य हुँदैन भन्ने साँचो हो। तर, प्रधानमन्त्री ओलीको नेतृत्वमा मुलुक सकारात्मक दिशामा अघि बढ्दैछ कि पहिले जस्तै एकै ठाउँमा घस्रिरहेको छ भन्नेमा पूर्वाग्रहरहित भएर हेर्ने हो भने निराशा होइन, आशा गर्ने ठाउँ प्रसस्तै छ।
उनको नेतृत्वपछि मुलुकको आर्थिक बृद्धिदर ७ प्रतिशतभन्दा माथी गएको छ। पूर्वाधार निर्माणमा सरकारले ठूलो लगानी गरेको छ र त्यसका परिणामहरु क्रमशः देखिनथालेका छन्। आयात र निर्यातबीचको खाडल कम हुँदै गएको केही दिनयताका समाचारले नै बताइरहेका छन्।जलविद्युतमा देश आत्मानिर्भर बन्दैछ र यस क्षेत्रमा बैदेशिक लगानी धमाधम भित्रिरहेको छ। जलविद्युत ब्यापारका सम्झौता अनेक देशसँग भएका सुखद समाचारपनि आई नै रहेका छन्।
संसारको दोश्रो ठूलो आर्थिक शक्ति चीनका राष्ट्रपतिको नेपाल भ्रमण भर्खरै भएको छ र उसँगका सम्झौताले विस्तारै परिणाम देखाउनेछन्। चीन र भारतबीच कार्ड खेल्ने पुरानो परम्पराबिपरित अहिले दुवै मुलुकसँग आफ्नो हितमा नेपालले सम्बन्ध विकास गरेको परिणामबाट देखिन थालेको छ। विश्व शक्ति अमेरिकासँग पनि नेपालको सम्बन्धलाई सरकारले सन्तुलित बनाउन सकेको देखिएको छ। यी सबै तथ्यहरुलाई पूर्वाग्रही भएर अस्विकार नगर्ने हो भने मुलुक सकारात्मक दिशामा अघि बढेको नै देखिन्छ र यो सबैको नेतृत्व ओलीले गरेकोमा बिबाद छैन।
निश्चय नै, लामो समयपछि मुलुकले स्थिर सरकार पाएकाले हाम्रो आशा र आंकक्षाको आकार फराकिलो बनेको छ। यस अवस्थामा हाम्रो आकंक्षा र मुलुकको गतिबीच तालमेल नमिलेको भन्न सकिएला तथा हाम्रो गति अरु तिब्र हुनुपर्छ भन्ने माग पनि गर्न सकिएला। तर,सपना र आकंक्षा भौतिक वस्तुभन्दा कयौं गुणा बढी वेगले उड्छन्, उड्न सक्छन्। तर, तिनलाई कार्यान्वयनमा लैजाँदा इन्चहरु नाप्दै घस्रनुपर्ने वाध्यता हुन्छ भन्ने हामीले बिर्सन मिल्दैन।
यसैगरी, अग्रगमन वा अग्रगामी बाटो चुनौतिरहित हुन्छ भन्ने होइन। किनभने, परिस्थितिमा परिवर्तन आउँदा नयाँ अवस्था सिर्जना हुन्छ र त्यसले नयाँ चुनौति पैदा गर्नु स्वाभाविक हुन्छ। त्यसैले, नयाँ व्यवस्था अपनाउँदा आएका नयाँ चुनौतिले एक हदसम्म असन्तुष्टी निर्माण गर्नुलाई पनि स्वाभाविक नै मान्नुपर्छ। यस अवस्थामा हामीले हेर्नुपर्ने, मुलुक सकारात्मक दिशामा गएको छ कि छैन भन्ने नै हो। दिशा सकारात्मक छ तथा महत्वपूर्ण विषयमा उपलब्धी हासिल भएका छन् भने साना मसिना विषयमा निराश हुनु स्वाभाविक हुँदैन।
प्रधानमन्त्री शिथिल छन् ?
अस्वस्थ प्रधानमन्त्री ओली यसअघिका बलिया बाङ्गा कुनै प्रधानमन्त्रीभन्दा शिथिल र निष्कृय छन् त? उनको आलोचक पनि यसो भन्दैनन्। उनको आत्माविश्वास निकै लोभलाग्दो र सक्रियता त्यतिकै तारिफयोग्य रहेको स्पष्ट देखिन्छ। त्यसो भए समस्या कहाँ छ त ?
प्रधानमन्त्रीको नेतृत्व क्षमता र सक्रियतामा प्रश्न नउठ्दासम्म समस्या रहेको मानिन सक्दैन, मानिनु हुदैन। डाक्टरका रिपोर्टले, अमुक रोगका विज्ञको विश्लेषण र अनुमानले तथा तिनलाई आधार बनाएर गरिएका विश्लेषणले मात्र मुलुकको नेतृत्वबारे प्रश्न उठाउन सकिदैन। प्रश्न त प्रधानमन्त्रीका गतिविधीले, सरकारको गतिले र मुलुकको दिशाले मात्र उठाउन सक्छन्। र, यी तीन वटै विषयले प्रश्नलाई मुखभरीको जवाफ दिइरहेका छन्।
माथि नै उल्लेख भइसक्यो, डाक्टरका रिपोर्ट, रोगका विज्ञ र त्यसआधारमा गरिएका विश्लेषणलाई प्रधानमन्त्री ओलीले उहिलेदेखि नै जितिरहेका छन्। ओली केही वर्षका पाहुना हुन् भन्ने कयौं उहिल्यै अर्कै लोक पुगिसके, कयौं ओली अघि नै जालान्।
किनभने, मृत्यु कसैको चाहना र हातमा छैन। मृत्युअघिसम्म को कति सक्रिय रहन्छ र रहनसक्छ, मुख्य विषय यही हो। र, बिरामी ओलीहामी कयौंभन्दा सक्रियता, एकाग्रता, समर्पण, नेतृत्व क्षमताले अब्बल रहेको यहाँ फेरी दोहोर्याउनु पर्दैन ।