महरा-प्रकरण सेकेण्ड ओपनियन : यस्तो पनि त हुन सक्छ !

महरा-प्रकरण सेकेण्ड ओपनियन : यस्तो पनि त हुन सक्छ ! एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

कृष्णबहादुर महरा पछिल्लो समय समाचारको कारखाना नै भए । उनलाई लिएर के समाचार बने भन्दा पनि के समाचार बनेनन् भन्ने स्थिति छ । 

मान्छेले कुकुर टोकेपछि समाचार बन्ने नै भयो । किनकि, सबै अनौठा समाचार हुन्छन् । सभामुखजस्तो मान्छे यस्तो हर्कतमा जोडिएपछि 'मान्छेले कुकुर टोके' जस्तै हो, समाचार नबन्ने कुरै भएन । 

समाचार बन्नुमा उनी धेरै हदसम्म आफैै जिम्मेवार छन् । तर, पत्रकारितामा सेकेण्ड ओपनियन पनि हुन्छ । त्यो कोणबाट भने समाचार बनेजस्तो मलाई लागेन । पपुलिष्ट मिडियाको सबैभन्दा ठूलो बैगुन त्यही हुन्छ ।

महरा यतिबेला प्रहरी हिरासतमा छन् । उनीमाथिको थुनछेक बहस जारी छ । यो वहसपछि उनीमाथि न्यायाधीशको प्रारम्भिक आदेश आउँछ । 

आदेश तीन खालको हुन सक्छ - 

पहिलो, थुनामा पठाउने 
दोस्रो, जमानतमा छोड्ने 
तेस्रो, साधारण तारिखमा छोड्ने । 

अहिले उनको दाहिना कोही छैन, त्यसैले सम्भावना थुनामा पठाउने नै बढी देखिन्छ । 

कारण, यसको पृष्ठभूमि हेर्नुपर्छ । त्यो के भने अहिले पीडक बनाइएका महराले पीडित बनाएकी महिला नै छैनन् । जो पीडित भनिएकी छिन्, उनी आफै म पीडित छैन, मेरो कारणले महरा सर पीडित हुनुभयो भनेर हारगुहार गरिरहेकी छिन् । कानुनी भाषामा यो यस्तो अवस्था हो, जहाँ पीडित नै छैन । तर पनि मुद्दा दायर भएको छ । किन दायर भयो त मुद्दा?, यसको सहज उत्तर छ, उनको दाहिना कोही नभएर नै हो । यदि दाहिना भएको भए सारा सेटिङ मिल्थ्यो र सरकारी वकिलले मुद्दा नै दायर गर्दैनथे । 

अर्को पनि पृष्ठभूमी हेरौं । अहिले सरकारी वकिलका महाहाकिम अग्नी खरेल हुन् । कानूनमन्त्री भैसकेका मानिस महान्यायाधिवक्ता छन् । त्यसै उनी भएका हैनन् ? यसको पछाडि ठूलो कारण हुनसक्छ। त्यो भने समयले उत्खनन गर्ला नै ।अहिलेका लागि खरेलकै श्रीमतीले रोशनी शाहीको टोलमा सीसीटीभी किन लगाइन् ? भन्ने प्रश्नको उत्तर खोजे पनि केही मेसो पाउन सकिन्छ ।

महराका बारेमा अदालतले जे निर्णय गरे पनि मेरो मनको अदालतमा सेकेण्ड ओपनियन बनिरहेको छ । जजमेन्टल त हुन नमिल्ला तर परिस्थिति, पृष्ठभूमि र तथ्यका आधारमा म चाँहि यस्तो निष्कर्षमा पुगेको छु ।

महरा र रोशनीबीच शारीरिक सम्बन्धकै तहको पुरानो सम्बन्ध हुनुपर्छ । त्यो सम्वन्धका बारेमा धेरथोर दुबै परिवार जानकार हुनुपर्छ । यो सम्बन्धका कारण दुबै परिवार तनावमा रहेको हुनुपर्छ । त्यही तनाव बढ्दै जाँदा रोशनी मानसिक रोगको शिकार भएको हुनुपर्छ । उनको फेसबुकका पुराना स्टाटस हेर्यो भने पनि त्यसको अनुमान जो कसैले पनि सहजै गर्न सक्छ ।

कुनै बेला शारीरिक सम्वन्धका लागि महराले नै प्रयत्न गरेको हुनुपर्छ । र, त्यसैको आधारमा रोशनी शाही परिवारले महराबाट प्रशस्त लाभ लिएको हुनुपर्छ । तर, पछिल्लो समय महरा त्यो सम्बन्धबाट भाग्न खोजेको हुनुपर्छ । जुन रोशनीले चाहनाविपरित हुनुपर्छ। जब उनले त्यसो भनेपछि रोशनीले महरालाई निरन्तर ब्लाकमेलिङ गरेको हुनुपर्छ । जस्तो कि, जागीर लगाइदे, सरूवा गरिदे, छोराछोरीलाई अमेरिका पढ्न पठाउन खर्च दे, घर किनीदे, गाडी किनीदे ... आदि इत्यादि । उनले यदि त्यस्तो गरिनस् भने यो सम्बन्धका बारेमा सार्वजनिक गरिदिन्छु भनेको हुनुपर्छ । 

यस्तो कुरा एकपटक मात्र हैन, पटकपटक भएको हुनुपर्छ । र, महराले उनको आवश्यकता पूरा गर्दै गएको हुनुपर्छ । रोशनीले भनेको केही कुरा पूरा नगर्ने बित्तिकै आत्महत्या प्रयास गर्ने, फेसबुकमा जे पयाो त्यही लेख्ने लगायतका क्रियाकलाप गर्दै थर्काएको हुनुपर्छ । उनको फेसबुक स्टाटसमा देखिएको उतारचढाव र अस्वभाविक प्रस्तुतिले त्यसको पुष्टी गर्छ ।

यही बीचमा हाम्रो कुराका सम्पादक अजय शिवाकोटीको पहुँचसम्म रोशनी पुगेको हुनुपर्छ । र, रोशनीले मानसिक तनावका कारण महरालाई थर्काउनका लागि शिवाकोटीलाई आफ्नो सम्बन्धको बारेमा भनेको हुनुपर्छ । यही कुरो रोशनीले महरालाई भनेर थर्काएको हुनुपर्छ। जब महराले यो कुरा 'हाम्रो कुरा'सम्म पुग्यो भन्ने थाहा पाए 'हाम्रो कुरा' कांग्रेस सांसद गगन थापाको सौजन्यमा नेपाल प्रेस युनियनका महासचिव अजय शिवाकोटीले चलाएको भन्ने थाहा पाए, त्यसपछि उनी डराएको, हतास भएको र मानसिक रूपमा विचलित भएको हुनुपर्छ । 

त्यही सम्भावित दुर्घटना जोगाउने उपायको खोजी गर्दा उनी रोशनीबाट थप प्रताडित भएको र उपायविहीन भएको हुनुपर्छ । त्यही पीडामा रक्सी खाएर उनी रोशनीकोमा गएको हुनुपर्छ । उनले सम्झाउँदा बुझाउँदा पनि केही सिप नलागेपछि हातपात भएको हुनुपर्छ । तर, त्यो हातपात यौनसम्बन्धका लागि हैन, हिंसाकै रूपमा भएको हुनुपर्छ ।

यति भएपछि महरा बाहिरिएको हुनुपर्छ । त्यसपछि रोशनीले 'हाम्रो कुरा'का अजय शिवाकोटीलाई सेटिङअनुसार नै बोलाएको हुनुपर्छ । उनीहरूबीच सल्लाह भएरै प्रहरी बोलाएको हुनुपर्छ । यहाँ अजयको भूमिका पत्रकारको भन्दा बढी उत्प्रेरकको हुनुपर्छ । उनले यस्तो चाहना राख्नु किन पनि जायज हुन्छ भने उनी नेपाली कांग्रेसको भातृ संगठन प्रेस युनियनका महासचिव हुन् ।नेकपाका नेतालाई शिकार गरेर राजनीतिक प्रतिशोध  साँध्नु एक कांग्रेस कार्यकर्ताका लागि अस्वभाविक हैन । त्यसमाथि पनि हाम्रो कुरा कांग्रेस सांसद गगन थापाको सौजन्यमा चलेको हुनाले यो कुरा उनको पनि जानकारीमा भएको र उनको चाहनाअनुसार पनि भएको हुनुपर्छ । महराको पतनबाट गगन र उनको पार्टीलाई राजनीतिक फाइदा हुने भएकाले यसो नभएको होला भन्न सकिन्न ।

जब महरामाथि बज्रपात भयो । वर्षौको प्रोक्सिमिटी भएकी रोशनीलाई त्यसको पश्चाताप भएको हुनुपर्छ या उनको ठूलो माग पूरा भएको हुनुपर्छ । त्यसपछि उनी महरालाई जोगाउन लागिपरेको हुनुपर्छ । त्यसका लागि उनले पटक पटक वयान फेर्दैआएकी छिन् ।

पछिल्लोपटक रोशनीले भनेअनुसार बानेश्वर प्रहरी विटमा नौघण्टा बन्धक बनाएर उनको वयान लिइएको छ । त्यही वयानकै आधारमा अहिले मुद्दा चलाइएको छ । मेरो विचारमा त्यो बयान 'माथि'कै आदेशमा लिइएको हुनुपर्छ र त्यो वयान लिने प्रहरी अधिकृत राजनीतिक रूपमा महराविरोधी विचार बोक्ने हुनुपर्छ ।

यही विचमा शत्रुका शत्रु मित्र भनेझै नेकपा भित्रका महराका सबै शत्रु मिलेर मित्र भए र उनलाई एउटा विशेष परिस्थितिमा राजीनामा दिन लगाए- त्यो पृष्ठभूमिलाई पनि नजरअन्दाज गर्न मिल्दैन । राजनीनामा उनका लागि कोही दाहिना नभएको अर्को प्रमाण हो । 

मलाई लाग्छ, यो सामान्य घटना हैन । त्यसैले यसका बारेमा सामान्य किसिमले मात्रै सोचेर पुग्दैन । घटना असामान्य भएकाले असामान्य किसिमले नै सोच्नुपर्ने हुन्छ । यो प्रकरणसँग केही प्रश्नहरू छन्, ती प्रश्नहरूको उत्तर खोजिनुपर्ने हो, तर महराका दाहिना कोही नभएकाले खोजिएको छैन- 

१) पीडित भनिएकी रोशनीको मानसिक अवस्थालाई किन ध्यान दिइदैन ? उनले पटक पटक फेरेको वयानलाई नजरअन्दाज गर्दै उनले दिएका अरू निवेदनको किन सुनुवाई हुदैन ?

२) रोशनीको पछिल्लो वयानलाई आधार मान्ने हो भने उनी पीडित हैनन् । पीडित नभएको अवस्थामा कस्का लागि यो मुद्दा चलेको छ ? कसलाई न्याय दिन यो मुद्दा चलाइएको छ । यसमा पीडित भनिएकी रोशनीले दिएको निवेदनको किन सुनुवाइ हुदैन ?  वा उनीसँग किन सोधपुछ गरिदैन ?

३) रोशनीले नेपाली कांग्रेसको भातृसंगठन नेपाल प्रेस युनियनका महासचिव अजय शिवाकोटीलाई नै किन बोलाएर अन्तर्वार्ता दिइन् ? रोशनीले नेपाली कांग्रेसकै सांसद गगन थापा सौजन्यको मिडिया हाम्रो कुराले नै कसरी यो 'स्कूप' पायो ? 

४) रोशनी शाही बस्न टोलमै चाँहि किन सीसीटीभी राखियो ? अनि सीसीटीभी पनि महराका चरमविरोधी छवि बनाएका ओलीभक्त महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलकै श्रीमतीको अगुवाइकमा किन लगाइयो ? 

५) कानूनमन्त्री भैसकेका अग्नी खरेल किन महान्यायाधिवक्ता हुन राजी भए ? किन जिल्ला सरकारी वकिलको कार्यालयका उनकै विश्वासपात्र सरकारी वकिलकोमा यो मुद्दा पर्यो ? अनि, किन पीडित भनिएकी रोशनी शाहीको कुराको सुनुवाई नै भएन ? 

यी मात्र हैन, अरू पनि यस्ता केही प्रश्नहरू छन् जसले महरा प्रकरणलाई सन्देहको घेरामा राख्छन् ।

त्यसैले सेकेण्ड ओपनियनले भन्छ, रोशनीको पछिल्लो भनाइ सही हो, उनले भनेकी छिन् म महरा सरबाट हैन, मबाट महरा सर पीडित भएका हुन् । उनी निर्दोष छन् । महराको गल्ती भनेको कुनै समय रोशनीसँग अन्तरंग सम्वन्ध राख्नु थियो । उनले त्यो गल्तीको सजाय जिन्दगीभर तिरिरहे, तिर्दातिर्दै पनि अन्तत: रोशनीलाई मोहोरा बनाएर उनको राजनीतिक जीवन नै समाप्त पारियो । 

महरा बलात्कारी हो, यौन-पीडक हो भनेको त धेरै सुनियो । तर, ऊ पीडित हो भनेको कहिलै सुनिएन । त्यसैले त यो सेकेण्ड ओपनियन हो । यसको अर्थ महराले जे गरे सबै ठीक गरे भन्ने हैन । तर, राज्य लाग्यो र ओली देब्रे भए भने कुनै पनि बेला कोही पनि महरा हुन सक्छन् । किनकि, अपवादलाई छोडेर नेपालका ठूला नेता भनाउँदाहरू कुनै न कुनै बेला क्यारेक्टर ढिला भएकै छन् । त्यसका बारेमा गाइँगुइँ मात्र हैन, सामाजिक सञ्जालमा भाइरल हुने किसिमकै चर्चा भएकै छ ।

प्रकाशित मिति: : 2019-11-02 11:10:57

प्रतिकृया दिनुहोस्