वर्षौ भइसक्यो यो सहरमा पाइला टेकेको। किसिम किसिमका अनुहारहरु देदिन्छ यहाँ। मधुशालाबाट लरखराउँदै निस्किरहेका हुन्छन् कयौँ अनुहारहरू। भेटिन्छन् कति त सडकमा आफ्ना पाइतालाले बक्ररेखा कोरिरहेका पनि। मेरो मधुशालाले त्यत्तिकै नशा दिइरहेको हुन्छ नपिइकनै। तथापि कुनै मेसो नै पाइँदैन जिन्दगीका तरङ्गहरू केलाउन, विगतका रङ्गहरूको झलक देखाउन अनि आलापहरू सुनाउन।
जिन्दगीमा सबैभन्दा प्यारा बन्दा रहेछन् विगतको सम्झनाका छिटाहरू तप्किएका तरङ्गहरू। किशोरावस्थामा देखिएका तरङ्गहरूसँगै उछिट्टिएका छिटाहरू र बयस्क अवस्थामा भक्कानिरहेका आलापहरूबीच गुज्रिदैछ एक्काइसौ शताब्दीको जिन्दगी।
समय प्रवाहको चेतनासँगै कठाङ्ग्रीन्छ संबेदनाको तार पनि। के नै कुरा रह्यो र यो मनको पनि। हुइकिन्छ गन्तब्यहीन यात्रामा चैते बतासझैँ बनेर। मानव जीवनको उपलब्धि नै असन्तुष्टि हो। असन्तुष्टिले नै मान्छे पस्किरहेकै हुन्छ दिनप्रतिदिन नयाँ नयाँ कुराहरु। सन्तुष्टि पैदा भएको भए अव्यक्त रहन्थ्यो होला कैयौं प्रतिभाहरुको प्रतिभा पनि।
पाइँदैनथ्यो होला आधुनिकताको झल्को र धड्किदैनथे होलान् तड्पिदैनथे होलान् अनगिन्ति दिलहरू। तर यहाँका अधिकांश असन्तुष्ट मनहरू रुमल्लिरहन्छन् खालि द्रब्य पिपाशामै। दौडिरहन्छन् भौतिक सामग्रीको लागि। त्यही दौडाइको क्रममा बीच बाटोमै ढल्न पुग्छन् केही। ममा न त्यस्तो खालको असन्तुष्टिले नै डेरा जमाउन सक्यो न त सन्तुष्टिले नै।
आफ्नै जिन्दगीका गराहरू हेर्ने क्रममा कयौंका जिन्दगीका गराहरू समेत हेरिरहेको छु –टोलायमान बनेर। पढिरहेको छु कैयौं जिन्दगीका पानाहरू एकान्तमा उभिएर।
डरलाग्दो ढंगको छ आजको विश्व। यहाँ दिन प्रतिदिन एक किसिमको दौड चलिरहेको छ। कोही नाम कमाउन, कोही धन कमाउन त कोही शक्तिको लागि आ–आफ्नो धावन मार्गमा तल्लिन देखिन्छन्। यहाँ कैयौंका जिन्दगीका आलापहरू भक्कानिएका छन्– डर, त्रास, चिन्ता, रोग, भोग र शोकले।
किसिम किसिमका छन् जिन्दगीका गीतहरू। छुट्टा छुट्टै छन् सडक बालकहरू, धनाढ्य र सम्पन्न कहलिएकाहरू, विद्वान्हरू अनि शासकहरू र मजस्ता सडक किनाराका पथिकका जीन्दगीका धुनहरू। पल पलमा सुनिन्छन् गाउँमा झुत्रा लुगा लगाएर गुजारा गरिरहेको किसान र लेकमा गाई भैंसी चराउने एक गोठालोका जिन्दगीका आलापहरू।
त्यहाँ जिन्दगीको सुमधुर सङ्गीत छ। तर यो सहरमा कर्कश ध्वनि शिवाय सुनिदैन केही पनि। सङ्गीतविहीन छन् हजारौ जिन्दगीहरू अनि निरस छन् सपनाहरू। शन्त दण्डानीस जीवितै भएका भए कसैले यहाँको एक्काइसौ शताब्दीको जिन्दगी बारे सोधिहाले भन्थे होलान्–टिठ लाग्दो छ यहाँका मै हुँ भन्ने को जिन्दगी। भक्कानिएका छन् एक्काइसौ शताब्दीमा जिन्दगीका आलापहरू।
एक्काइसौँ शताब्दी विज्ञानको क्षेत्रमा गड्याङगुडिङ गर्दै चमत्कारको आँधि नै ल्याएर आइरहेको छ। ठुल्ठूला चमत्कारहरू भइरहेका छन् तर जति चमत्कार हुँदैछ उत्तिकै मात्रामा भय र त्रासले डेरा जमाउँदै छ। धर्म, संस्कृति र विज्ञान सँगसँगै हिँड्नु पर्छ यदि विकासको बाटो पहिल्याउने हो र अमन शान्ति दिलाउने हो भने। हाम्रो विज्ञानले बच्चा जन्माउन सिकाउँछ, सिकाउँदैन माया ममता र स्नेहका साथ पालन पोषण गर्न।
पढाउँदैन नैतिकताको पाठ, पढाउँछ केवल धन सम्पत्तिको पाठ। समय बित्दै जादा त्यो बालक ठूलो हुन्छ तर कोही मर्दा सक्दैन दिल खोलेर रुन। जान्दैन कसैसामु हाँस्न। सक्दैन आफै आफ्नो सुरक्षा गर्न। ऊ केवल हाड मासुले बनेको एक सजीव मूर्ति हो। आवाज त निकाल्छ तर आलाप निकाल्न सक्दैन।
यहाँ वर्षौदेखि नयाँ नयाँ योजनाहरू बन्दछन् देश विकासका लागि, समाज परिवर्तनका लागि। तर कसैले पनि मानसिकता परिवर्तनको योजना बनाउँदैनन्। सही ढंगको मूल्यदृष्टि बोक्न जान्दैनन्। सोच्दैनन् म केवल दुई दिनको पाहुना हुँ भन्ने कुरा। पाइला चलुन्जेल त धन दौलत र शक्तिको घमण्डले मात्तिन्छ माान्छे तर जिन्दगीका अन्तिम पलहरूमा जब अशक्त बन्दछ तब बल्ल सोच्नु पर्ने हुन्छ के रहेछ जिन्दगी? यो धर्तीमा यात्री बनेर निस्किएपछि देवकोटाले भनेझैँ सिक्नुपथ्र्यो दीन दुःखीका चर्किरहेका घाउहरूमा मलम लगाउन। सोझा, निर्धा र इमानदार संवेदनशील मनहरू कमाउन।
तर होस खुल्दासम्म नेटो काटिसकेको हुन्छ समयले। सोचाइको यो क्षणसम्म आइपुग्दा – न कोही उकुस मुकुस भइरहेका भावनाहरू सुनिदिन्छ न त त्यो विगत नै फर्किदिन्छ। न त ऐश्वर्यले नै मन शान्त हुन्छ। तब कुनै विकल्प रहँदैन भक्कानिएका आलापहरूलाई घाँटीसम्म पुर्याएर रसाइरहेका आँखाले दिउँसोको सूर्य अनि रातीको चन्द्रलाई हेर्नु शिवाय।
दिनप्रतिदिन वृद्घि भइरहेकै छ नेपालमा शिक्षितहरूको संख्यामा। बढेको बढै छ शिक्षित बेरोजगारीको संख्या। मात्र सुनिन्छन् हिजो आज चारैतिरबाट चर्का नाराहरू। मान्छेको पहिलो रोजगारी दरिद्र मानसिकता त्यागेर उचित मूल्यदृष्टि बनाउनु हुनुपथ्र्यो भने पहिलो शिक्षा उचित संस्कार सिकाएर सकारात्मक मानसिकताको बिकास गराउने हुनु पथ्र्यो। तर यो कुरामा कसैको ध्यान जाने वाला छैन किन कि यो एक्काइसौ शताब्दी हो।
भौतिकवाद मै मस्ति छ रे। रिल्याक्स गर्न सिक्नु पर्छ रे । कमाउनुपर्छ धन लुटपाट गरेर होस् या घुस खाएर होस्। झुम्नु पर्छ हरेक साँझ मदिराको नशामा साथीभाइ कमाउन। यही हो हाम्रो एक्काइसौँ शताब्दीको उपज। यहाँ कोही पनि माया, प्रेम, स्नेह, दया र धर्मको नशा प्यून चाहँदैनन्। शिक्षित भनाउँदाहरू नै घर समाज र देश बिगार्दै छन्। हामी भन्ने शब्द बिर्सेर म मा पुगेका छन्। आफ्नो गुणगान आफै गाइरहेका छन्।
विद्यालयदेखि कलेजसम्म विरोधमा लगाइने तालादेखि सडकमा जलाइने टायरसम्मका कयौं चिजबीजहरू हाम्रो पाठ्यक्रमले तोकेका शैक्षिक सामग्री बन्न पुगेका छन्। तोडफोड गर्ने तयारीदेखि अभद्र व्यवहारसम्मका सम्पूर्ण क्रियाकलापहरू शिक्षण बिधिहरू बन्न पुगेकाछन्। जो माथिल्लो निकायमा पुग्यो, जसलाई जिम्मेवारी दिइयो उसको ठाडो आदेश र दम्भीपन नै हाम्रो पाठ्यक्रमको दस्तावेज बन्न पुगेको छ।
अनि चाकडी चाप्लुसीदेखि सडयन्त्रसम्मका सम्पूर्ण गतिविधिहरू नै हाम्रो पाठ्यक्रमका विषयवस्तु बन्न पुगेका छन्। ग्रहण गरिरहेका छौं यसरी नै हामी एक्काइसौ शताब्दीको शिक्षा। बढाइरहेका छौ साक्षरताको दर। सर्टिफिकेट अनुसारको विवेक छैन हामीमा। यही हो हाम्रो एक्काइसौ शताब्दीको शिक्षाको उपलब्धि।
द्रूतगतिले नशामा तातो रगत बगुन्जेल अझ भनौं जवानी छन्जेल त अनेक विधि र सामग्रीहरूको प्रयोग गर्छौ तर जब त्यो जवानी शिथिल हुन्छ तब भक्कानिएका आलापहरू नै हाम्रा प्रमाणपत्रहरू बनिदिन्छन्, सम्पत्ति बनिदिन्छन्। मैले यतिका वर्षसम्म यो सहरमा बसेर धेरै कुराहरू कमाएको छु। दिन प्रतिदिन विगतको सम्झना, वर्तमानका पलहरूको अवलोकन, भविष्यका पलहरूको कल्पना गर्नदेखि आफैंले आफैलाई जिन्दगीका भाकाहरू सुनाउने प्रयत्न गर्नु एक किसिमको दिनचर्या नै बनिसकेको छ। कहिले काही साथी संगती र आफन्तहरूको षडयन्त्र हेर्छु। कहिले विवेकशून्य तातो रगत उम्लिरहेको भीड हेर्छु।
कहिले मै हुँ भन्नेहरूको दम्भ हेर्छु। यो एक्काइसौँ शताब्दीमा झाँगिएको अश्लिल स्वार्थको जङ्गल हेर्छु र लाग्छ कतै एकान्तमा बस्न पाएँ हुन्थ्यो जहाँ मान्छेहरू नहुन केवल पशु पन्छी र जनावरको मात्रै राज्य होस्। प्रकृतिको छत्र छायाँमा दिल खोलेर जिन्दगीको गीत गाउन पाइयोस्। तर भने जस्तो सोचे जस्तो अनि खोजे जस्तो कहाँ हुन्थ्यो र।
जीवनमा परिवारका प्रति कयौँ कर्तव्यहरू छन्। दिनचर्याका आफ्नै तालिकाहरू छन्। सजाउनुपर्ने बाँकी नै छ सम्पत्तिरुपी सम्झना, कल्पना र जिन्दगीका भोगाइहरूलाई। पलभरको लागि मात्र किन नहोस् सुसेल्न बाकी नै छ अतितको तरङ्ग सम्झाइरहने घाँटीसम्म पुगेका जिन्दगीका भाकाहरूलाई। यो सहर कदापि मेरो आफ्नो बन्न सक्दैन त्यसैले बृद्घावस्था सुरु नहुँदै गाउँ फर्किनु छ। किशोरावस्थामा गाइबाख्रा चराउँदै डुलेका वनजङ्गलमा गएर गोठाला गोठाल्नीका आँसु झार्न बाध्य तुल्याउने आलापहरू सुन्नु छ।
ती खोला झरना पाखा पखेरु सबैतिर दृष्टि फैलाउनु छ। भेटमा देउसरालाई भन्नु छ सहरबाट वर्षौदेखि भक्कानिएका आलापहरूको कुटुरो बोकेर आएको छु,। देउसरा, यो जिन्दगी आखिर भक्कानिएका आलापहरूको एक कुटुरो मात्रै त रहेछ।