हाम्रो प्यारो देश नेपाल एउटा बहुजातीय, बहुभाषी, बहुल सांस्कृतिक तथा भिन्न भूगोल भएको देश हो। विश्वको सर्वोच्च शिखर हिमाल, उत्तर सिरानमा, गगनचुम्बी पहाड़, मध्यमा तथा शस्यश्यामल हरियो उर्वर भूमी, दक्षिण तराइ भागमा अवस्थित रहेको छ। हिमाली प्रदेशमा शेर्पा, गुरूङ, थकाली आदि जातिहरुको, पहाड़ी प्रदेशमा लिम्बू, मगर, राई, बाहुन, क्षेत्री, तामाङ आदि जातिहरुको तथा तराई प्रदेशमा थारू तथा चार वर्ण र छत्तीस जातिका मदेशीहरुको बसोवास रहेको छ।
नेपालमा बसोवास गर्ने जातिहरु मध्ये अधिकांश जनसंख्यामा हिन्दुहरुको बहुलता रहे पनि सांस्कृतिक रूपमा भने वर्षभरि मनाइने चाड़, पर्व, सांस्कृतिक चलन परम्परा तथा भाषाहरु ठाउँ अनुसार भिन्दा भिन्नै रहेको पाइन्छ। उदाहरणको रूपमा हिन्दुहरुको महान् पर्व वा भनूं राष्ट्रिय महान् चाड़ दशैंलाई लिन सकिन्छ। पहाड़ प्रदेशमा दशैं उत्सवपूर्ण चाड़को रूपमा मनाइन्छ भने तराई प्रदेशमा शक्तिस्वरूपा भगवतीलाई प्रसन्न पार्नको लागि तपस्याको रूपमा मनाइन्छ। पहाड़मा दशैं मिठो–मसिनो खाने तथा नयाँ र सफा–सुकिला लुगा लगाएर रमाइलो गर्ने रूपमा मनाइन्छ भने तराइमा नवरात्र व्रत मान्ने क्रममा वल्कल वसन, उदासी वेश, भूमी–शयन तथा फलाहार गरि मनाइने गरिन्छ ।
शास्त्र अनुसार दशैंमा शक्तिस्वरूपा भगवतीको अराधनाको दुइटा बिधान रहेको पाइन्छ–वैदिक बिधान तथा तान्त्रिक बिधान। आश्विन शुक्लपक्षमा अधिकांश जनसाधारणले भगवतीको अराधना वैदिक बिधानले गर्दछन् भने तान्त्रिक तथा वाममार्गी भक्तहरुले तान्त्रिक बिधान अनुसारले गर्दछन्। भगवतीको अराधना मुख्यरूपले समाज कल्याणको लागि गरिन्छ, गर्नु पर्ने हो। तर वाममार्गी भक्तहरुले भगवताीको अराधना मारणं, मोहनं, वश्यं, उच्चाटनको लागि पनि गर्ने गर्दछन्। यो अराधनाको मार्गबाट समाजको कति कल्याण हुन्छ भन्न सकिदैन। तर यस मार्गको सिद्धिबाट जनसाधारणको मनमा जीउ-धनको हानी-नोक्सानि हुने भय, त्रास अवश्य नै उत्पन्न हुन्छ।
भनिन्छ दशैंको अवसरमा रात्रीको समय वाममार्गी भक्त तथा डाइन–बोक्सीहरुले उक्त मारणं, मोहनं, वश्यं, उच्चाटन गर्ने मन्त्रहरुको सिद्धि पनि गर्दछन्। धार्मिक स्वतन्त्रता भएको यस समाजमा यसलाई कुनै कानुनले निषेधित गर्न सक्दैन। यसैलाई ध्यानमा राखेर समाजमा यसको लाक्षणिक प्रतिकार गर्नको लागि सामाजिक रूपमै एउटा चलनको परम्परा रहेको थियो। जसलाई भोजपुरी भाषामा ‘झिंझीया’ भन्दछन्। दशैंको घटस्थापनाको राति देखि आश्विन बडादशैंसम्म मदेशको ग्रामिण भेगमा किशोरी, युवती तथा महिलाहरु गोल बाँधि एक ठाउँमा भेला भएर सतहमा अनगिन्ती प्वाल भएको माटोको कलश रूपी भाँड़ो कुनै टाठी किशोरीको टाउकोमाथि राखेर नचाउँदै तथा बोक्सी–डाइनको प्रतिकारको लोकगीत(झिंझीया गीत) गाउदै गाँउको परिक्रमा गर्दछन्।
भोजपुरी भाषामा गाइने झिंझीया गीतका केही गीतहरुको वान्की प्रस्तुत छ:-
डाइन भत्तरकटनी(बेटकटनी) सवइया रोटी खाले, उनका बेटवा के दसैं में भोग देबो हो...। अथवा खइबो त खो डइनी कोत्तरा मछरिया, ना खइबे कोत्तरा, चबइहे अपन भत्तरा...अथवा डाइन भत्तर कटनो जवानी गुने सिखली, अपने सिखली बेटियो के सिखवली, पतोहियो के सिखवली, उनका बेटवा के दशैं में भोग देबो हो...।
झिंझीया रूपी कलश टाउकोमाथि नचाउँदै हिड्नुको पनि खास महत्त्व छ। डाइनहरुले झिंझीयामा रहेको प्वाल गन्न सके भने(उनीहरुले सो प्वाल गन्ने प्रयास भने गरिरहन्छन्) उनीहरुको मारण क्रिया सिद्धि हुन्छ तथा सो झिंझीया बोक्ने किशोरीलाई ठुलो अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेको छ। झींझीया नचाउनु भनेको झिंझीया रूपी कलश टाउकोमाथि नचाउदै हिड्नु हो।
भोजपुरी संस्कृतिमा झींझीया नाच भन्ने अलगबाट कुनै नाच छैन, जसको क्रममा किशोरी, युवती वा महिलाले नाच्नु परोस। यस प्रकार घटस्थापनाको दिन देखि दशहरा(बड़ा दशैं)को दिनसम्म अाइमाइ तथा युवती, किशोरीहरु दशैंको रमाइलो गरेर अन्तिम दिनमा कुनै तलाउ, पोखरी वा नदीमा बगाएर विसर्जन गर्दछन्। दशैंको अवसरमा पुराना दिनहरुमा तराईको ग्रामिण भेगमा मनाइने यो झिंझीया नचाउने महिलाहरुको खेलको परम्परा हालको समयमा लोप हुने अवस्थामा रहेको छ।
बड़ा दशैंको दिन मान्यजनहरुको हातबाट टीका-आशिष थाप्नुका साथै नीलकण्ठ चरा उड़ाएर दर्शन गर्नु तथा पूर्ण दिशामा सन्मुख ‘खिड़लीच’ चराको दर्शन गर्नु शुभ साइत मान्ने परम्परा रहेको छ। कुनै कामको सफलतापछि भोजपुरी भाषामा एउटा उखान भन्ने पनि चलनमा रहेकोछ:-‘सन्मुख खिड़ीच देखले रहलनहऽ’।
तराईमा झिंझीयाको साथै विभिन्न अवसरमा मनाइने अनेकौं लोक परम्पराहरु पनि हालको समयमा लोप हुने अवस्थामा पुगेका छन्। भदौ महिनामा जिउतीयाको अवसरमा राती व्रतालूहरुले ‘सरगही’ खाइसकेपछि बिहानको समयमा गाउँका केटाहरुद्वारा खेलिने कब्बडी खेल तथा ‘जाट–जाटिन’ नामक लोक नाटकको गिती–नृत्य तथा अभिनय पनि लोपोन्मुख अवस्थामा छ। तिहारको अवसरमा लक्ष्मीपूजाको रात्रीको समयमा गाईको पूजा-आजा गरि गाईको सिङ-माथमा तेल लगाउने बेला गाई-गोठमा गाइने दोहा गाउने परम्परा पनि सोही अवस्थामा आइपुगेकोछ।
दशैं सिद्धिएर तिहार लाग्नु भन्दा पहिलेका दिनहरुमा गोठालाहरुले वस्तु-भाउ चराउने बेला देखि नै गाउने गरेको दोहा यथा–भइया रे.., रे भाइ, केकर खोनावल हउए सागर पोखरवा, केकर बन्हावल चारू आँट रे..बाजन बोल...। यस प्रश्नको उत्तरमा अर्कोतिरबाट अन्य कुनै गोठालेको आवाज घन्कन्थ्यो:- भइया रे...रे भाइ, दशरथ के खोनावल हउए सागर पोखरवा, राम के बन्हावल चारू आँट रे...बाजन बोल। यस प्रकार लोक दोहाको छन्दमा यस्ता प्रश्नोत्तर घण्टौ चलिरहन्थ्यो। यसै प्रकार लोक लयमा गाइने जँतसार गीत, राेपाइ गीत, वियाड़मा विया उखेल्ने बेला गाइने वियाकट्टी गीत, निरौनि गर्ने बेला गाइने विभिन्न खाले कृषि गीत आदि विभिन्न अवसरमा गाइने लोकगीतहरु प्रायः लोपोन्मुख अवस्थामा रहेका छन्।
यस्ता किसिमका सांस्कृतिक महत्त्वका लोक परम्पराहरु लोप हुँदै जानुको प्रत्यक्ष कारण आधूनिक समयमा प्रयुक्त हुने विभिन्न खाले ‘इलेक्ट्रोनिक’ माध्यमहरु यथा इन्टरनेट, गूगल, टी.भी., फेसबूक नै हुन कि जस्तो लाग्दछ। आधूनिक शैलीमा जीवन यापन गर्न मन पराउने महिला–पुरूषहरुको लागि यी 'इलेक्ट्रोनिक' संचार माध्यमहरु वरदानको रूपमा प्राप्त भए पनि परम्परागत रूपमा मान्यता पाउदै आइरहेको सांस्कृतिक परम्पराको लागि अभिशाप सिद्ध हुन आएको छ।
हाम्रो सांस्कृतिक लोक परम्परा लोप हुन पुग्यो भने हाम्रो पहिचान पनि यसैसाथ गुम्न सक्दछ। किनकि संस्कृत सूक्तहरुमा भनिएको छ:- परम्परागता शेभमाना या कृति, सा संस्कृति ।
वर्तमान अवस्थामा लोपाेन्मुख रहेका लोक परम्पराहरुको अनुसन्धान, संरक्षण, संवर्द्धन, जगेर्ना तथा लिपीबद्ध गर्ने बेला आइसकेको हो कि? समाज, सरकार, नेता, तथा प्रबुद्ध व्यक्तित्वहरुको सामु यो यक्ष प्रश्न टड़्कारो रूपमा तेर्सिएको छ। यस यक्ष प्रश्नको कुनै उचित जवाफ, सद्प्रयास कसैसित छ कि...??