वर्तमान भारतको राजनीतिक क्षितिजमा चुनौतीविहीन नेताका रूपमा स्थापित प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी अहिले आफ्नो छविलाई अन्तर्राष्ट्रिय स्तरमा चम्काउँन प्रयत्नरत छन् । जसरी भए पनि आफूलाई आधुनिक भारतको महानतम् नेता बनाएरै छोड्ने आफ्नो त्यस अभियानलाई अघि बढाउँन विदेश यात्रामा निस्केका मोदीको यात्राको पहिलो गन्तव्य बनेको छ महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका । यस सिलसिलामा गत हप्ता यहाँ आइपुगेका उनी अहिले पनि यतै छन् । संयुक्त राष्ट्रसंघ महासभाको समेत छेको पारेर गरिएको यस भ्रमण कार्यक्रमको प्रारम्भ दक्षिणी राज्य टेक्ससबाट भएको थियो । यात्राको पहिलो चरणमा प्रधानमन्त्री मोदीले राष्ट्रिय अन्तरीक्ष अनुसन्धान केन्द्र (नासा) का कारण विश्वप्रसिद्ध र जनसंख्याका हिसाबले देशको चौथो ठूलो शहर ह्युस्टनको रङ्गशालामा आयोजित अमेरिकामा रहेका आप्रवासी भारतीयहरू (एनआरआई) को एउटा विशाल भेलालाई सम्बोधन गरेका थिए ।
गत वर्षायाम (मे जून) मा भएको भारतीय संसदको तल्लो सदन लोकसभाको चुनावमा झण्डै दुई तिहाई बहुमतको प्रभावशाली जीत हासिल गरेर लगातार दोस्रो पटक प्रधानमन्त्री बनेका मोदीको सम्मानमा आयोजना गरिएको, ‘हाउडी मोदी’ जस्तो भद्दा सुनिने नाम दिइएको ह्युस्टन आमसभामा ५० हजारभन्दा बढी भारतीय मूलका अमेरिकन नागरिक उनका स्रोताका रूपमा उपस्थित थिए । टेक्सस राज्यको बहुजातीय बहुसांस्कृतिक महानगर ह्युस्टनमा भारतीय मूलका अमेरिकन नागरिकको सुदृढ उपस्थिति छ । त्यसका दुइटा काउण्टी ह्यारिस र बेण्टफोर्डमा त नागरिक जीवनका लगभग सबै क्षेत्रमा भारतीय मूलका जनताको पूर्ण वर्चस्व देखिन्छ । एन्आरर्आईका कर्ताधर्तालाई ह्युस्टन महानगरमै नरेन्द्र मोदीको स्वागत, भद्दा महात्म्य वाचन र अभिनन्दन गर्न यही जानसांख्यिकी तथ्याङ्कले अभिप्रेरित गरेको हुनु पर्दछ भन्ने अनुमान गर्न सकिन्छ ।
यो पनि हेर्नुहोस्
स्पेनको म्याड्रिडमा नेपाली उत्पादन
संसदीय निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेर लगातार दोस्रो पटक भारतको प्रधानमन्त्री चुनिएपछि भारतको मात्र होइन, समसामयिक एसियाकै एक शक्तिशाली नेता बन्न पुगेका नरेन्द्र मोदीको स्वागतका लागि ह्युस्टनमा आयोजित त्यस विशाल ज्याम्बोरीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयम् पनि सदलबल उपस्थित भएका थिए । बहुतै मिलाएर कुरा गर्न सिपालु मात्र होइन, देख्नमा पनि खुबै फेसनेबल ती दक्षिण एसियाली अतिथिको कुममा कुम जोडेर उभिएका राष्ट्रपति ट्रम्पको त्यतिबेलाको मुखमुद्रा राम्रो खेलौना पाएर गद्गद् भएको सानो बालकको जस्तै थियो । उनले पाहुना नेता मोदीका कुरा खुबै चाख मानेर सुनेको जस्तो त गरेका थिए नै साथै, आफ्नो बोल्ने पालो आएपछि ती वाक्पटु गुजरातीको प्रशंसा गर्नमा पनि कुनै प्रकारको कञ्जुस्याइँ गरेका थिएनन् । प्रायजसो तीता र टर्रा कुरा गर्ने भनेर चिनिएका डोनाल्ड ट्रम्पले त्यस रङ्गारङ्ग कार्यक्रममा बोलेका हरेक वाक्यमा भने महको चास्नी घोलिएको थियो ।
भारतीय प्रधानमन्त्रीको विरुदावली गाउँने क्रममा ट्रम्पले सुन्ने अधिकांशलाई अपाच्य हुने गरी नै केही शब्दहरूको दुरुपयोग गरेका थिए भन्दा पनि अत्युक्ति हुँदैन । आप्रवासीलाई मनैदेखि घृणा गर्ने र सम्भवतः आप्रवासीविरुद्ध अभिव्यक्त कठोर विचार र नीतिका बलमा देशको कमाण्डर-इन-चिफ चुनिन सफल भएका डोनाल्ड ट्रम्पले आप्रवासी भारतीयको, अमेरिकी जमिनमा भएको अहिलेसम्मकै सम्भवतः सबैभन्दा ठूलो जमघटतिर फर्केर मोदीको प्रशंसा गर्दै भनेका थिए ‘यसअघि इण्डियामा केही कुरा पनि ठीक थिएन । त्यो देश धेरै किसिमका समस्यासँग एकसाथ जुधिरहेको थियो । जनता-जनताबीच आपसमा झगडा थियो । मेरा मित्र नरेन्द्र मोदीले आएर जसरी घरको मूलीले लथालिङ्ग भएर बिग्रिएको घरको अवस्थालाई सम्हाल्छ त्यसैगरी सम्हालेर सबै कुरालाई ठीक ठाउँमा ल्याएका छन् । त्यसैले मोदीजी भारतीय जनताका लागि बाबु जस्तै हुन्, उनलाई फादर अफ् इण्डिया पनि भन्न सकिन्छ ।’
यसअघि इण्डियामा केही कुरा पनि ठीक थिएन । त्यो देश धेरै किसिमका समस्यासँग एकसाथ जुधिरहेको थियो । जनता-जनताबीच आपसमा झगडा थियो । मेरा मित्र नरेन्द्र मोदीले आएर जसरी घरको मूलीले लथालिङ्ग भएर बिग्रिएको घरको अवस्थालाई सम्हाल्छ त्यसैगरी सम्हालेर सबै कुरालाई ठीक ठाउँमा ल्याएका छन् । त्यसैले मोदीजी भारतीय जनताका लागि बाबु जस्तै हुन्, उनलाई फादर अफ् इण्डिया पनि भन्न सकिन्छ ।’
त्यति मात्र होइन, उनले काश्मिर समस्या समाधानका लागि यसअघि आफूले राख्दै आएको भारत र पाकिस्तानका बीच मध्यस्थता गर्ने प्रस्तावलाई चटक्कै छोडेर ‘भारतले आफ्नो देशको सीमाको रक्षा गर्न र आतंकवादसँग लड्नमा देखाएको तत्परताको मुक्तकण्ठले प्रशंसा गर्दछौँ’ भन्ने मन्तव्य पनि प्रकट गरे । राष्ट्रपति ट्रम्पको यो उद्घोष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि एउटा ठूलो कुटनीतिक विजयको विषय थियो । यसले, संयुक्त राज्य अमेरिकाद्वारा लामो समयदेखि राजनयिक संरक्षण दिइँदै आएकोे र भारतसँग निरन्तर द्वन्द्वमा रहेको छिमेकी इस्लामिक गणराज्य पाकिस्तानलाई ट्रम्प प्रशासनले पूरै ‘अल्लाह भरोसे’ छोडिदिने निर्णय गरेको कुरातर्फ प्रष्ट संकेत गरेको थियो । यति मात्र होइन, ट्रम्पको यो बयानले आइन्दा संयुक्त राज्य अमेरिकाद्वारा एसिया महाद्विपमा गरिने सबैखाले राजनीतिक र कुटनीतिक उद्यम एवम् चलखेल नयाँ दिल्लीलाई विश्वासमा लिएर मात्र हुनेछन् भन्ने कुरा पनि स्वीकार गरेको थियो । ट्रम्पको त्यो बयान अमेरिकाले एसियाली महाशक्ति राष्ट्र चीनलाई परोक्ष रूपमा दिएको एउटा चेतावनी पनि थियो ।
ह्युस्टन रङ्गशालामा उपस्थित आफ्नो जय जयकार गरिरहेको आप्रवासी भारतीको ठूलो भीड र राष्ट्रपति ट्रम्पले भाषणका क्रममा आफूलाई दिएको उच्च सम्मानबाट अभिभूत भएका भारतीय प्रधानमन्त्री मोदीले पनि ट्रम्पको पैँचो तिर्दै आमसभामै ‘अब की बार ट्रम्प सरकार’ भन्ने नारा घन्काएर सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पलाई जिताउँन अपिल नै गरिदिएका थिए । प्रधानमन्त्री मोदीले गरेको यस अशोभनीय हर्कत देखेर सारा दुनियाँ चकित परेको छ । विशेष गरी विश्वमा प्रचलित कुटनीतिक मूल्य, मान्यता र आचारसंहितामा विश्वास गर्ने अमेरिकी र भारतीय बौद्धिक वर्ग मोदीको यो हर्कतबाट हतप्रभः भएका छन् । खेदको कुरो, विश्वका दुई ठूला लोकतन्त्र भनिने संयुक्त राज्य अमेरिका र भारतको सत्तामाथि कब्जा जमाउँन सफल डोनाल्ड ट्रम्प र नरेन्द्र मोदी दुवैका नजरमा भने कुनै पनि प्रकारका राजनीतिक, कुटनीतिक मूल्य, मान्यता, आदर्श र आचारसंहिताको कुनै मोल छैन । गत वर्ष भारत भ्रमणमा गएका बेलामा डोनाल्ड ट्रम्पले पनि ‘अब की बार मोदी सरकार’ भन्दै नरेन्द्र दामोदर दास मोदीका लागि चुनाव प्रचार गरेका थिए ।
यो पनि हेर्नुहोस्
नृत्यबाट काठमाण्डौमा सुदूरपश्चिमलाइ चिनाउने देवु
आफू भ्रमणमा रहेको देश अमेरिकाको आउँदो वर्ष हुने राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिताउँन मतदातासँग आग्रह गरेर अप्रिय विवादमा मुछिएका प्रधानमन्त्री नरेन्द्र मोदीले आप्रवासी भारतीयको ह्युस्टन कुम्भमेलामा आज भारतमा विद्यमान आर्थिक, सामाजिक र राजनीतिक परिस्थितिका बारेमा त झनै अमिल्दा र वास्तविकताभन्दा धेरै फरक तथ्यहरू प्रस्तुत गरेका थिए । त्यो उनका तर्फबाट आप्रवासी भारतीय समुदायका दिल र दिमागमा पितृभूमि भारतका विषयमा जानी जानी भ्रामक तथ्य हालिदिने एउटा धृष्ट प्रयास थियो । आफ्नो सामुन्ने भएको मानिस वा मानिसको समूहलाई वाक्जालमा लपेटेर मूर्ख बनाउँन सक्दा एउटा दुष्ट व्यक्तिको मुहारमा जुन कुत्सापूर्ण आनन्दको चमक फैलिएको हुन्छ, त्यस्तै चमकदार भाव र भङ्गिमा प्रदर्शन गर्दै नरेन्द्र मोदीले विभिन्न आठ भारतीय भाषामा ‘उता भारतमा सबै कुरा असाध्यै राम्रो छ’ भनेर आप्रवासी भारतीय समुदायलाई झुक्याउँने कोशिश गरेका थिए ।
‘भारत में सब कुछ अच्छा है’ वा ‘एभ्रीथिङ इज् फाइन् इन् इण्डिया’ वा ‘उदिके सब भालो आछे’ जस्ता वाक्य प्रयोग गरेर प्रधानमन्त्री मोदीले आफ्नो नेतृत्वमा भारतमा सबैकुरा ठिकठाक चलिरहेको छ र त्यो विशाल राष्ट्र समयको गति सँगसँगै उन्नति-प्रगतिको बाटोमा अगाडि बढिरहेको छ भन्ने दावी गरेका थिए । तर, आजको भारतको दुरावस्था भोगिरहेका अथवा त्यसका बारेमा यथार्थ जानकारी पाएकाका लागि त्यो सरकार प्रमुखका रूपमा नरेन्द्र मोदीका तर्फबाट बोलिएको हदैसम्मको फट्याइँ बाहेक केही थिएन । जाहेर छ, भारतका प्रधानमन्त्रीले अमेरिका भ्रमणका अवसरमा पूर्व भारतवासी अमेरिकी जनताका सामु बोलेको त्यस सफेद झूटले भारतमा तीव्र नकारात्मक प्रतिक्रिया निम्त्याएको छ ।
यो पनि हेर्नुहोला
परराष्ट्र मन्त्रीको सम्बोधन UN मा
एक आपसमा धुवाँदार प्रशंसा गरेर आ-आफ्ना देशका जनतालाई मूर्ख बनाइरहेका डोनाल्ड ट्रम्प र नरेन्द्र मोदी दुवैका यी पछिल्ला हर्कतलाई भारत र अमेरिकाका जागरुक जनताले गधाले उँटको रूपको र उँटले गधाको स्वरको प्रशंसा गर्दै भनेको ‘अहो रूपम् ! अहो ध्वनिः ! जस्तै हास्यास्पद ठानेका छन् । यथार्थमा मोदीले भारतमा अहिले सबै चकाचक छ भनेर सारा संसारलाई झुक्याउक्न खोजेको कुरालाई प्रबुद्ध वर्गले जति भत्सर्नायोग्य ठानेका छन्, ट्रम्पले मोदीलाई ‘फादर अफ् इण्डिया’ भनेको कुरालाई पनि त्यत्तिकै निन्दनीय मानेका छन् । किनकि, यी दुवै स्थापना पूर्णतः असत्य छन् ।
वास्तविक कुरो गर्ने हो भने अहिले भारतमा सबै कुरा त के एउटा कुरा पनि ठीक छैन । देश गम्भीर आर्थिक मन्दीको चपेटामा छ । बेरोजगारी ४५ वर्षकै उच्चतम् बिन्दुमा पुगेको छ । भारतीय अर्थतन्त्रको मेरूदण्ड मानिएको कृषि क्षेत्रको यस्तो बेहाल भएको छ, विगत दुई दशकको अवधिमा कृषि कर्जा तिर्न नसकेर आत्महत्या गर्ने किसानको संख्या तीन लाख नाँघेको छ । अल्पसंख्यक, दलित, महिला र मुसलमान समुदायमाथि हुने विभेद र दमन अत्यधिक मात्रामा बढेको छ । प्रतिपक्षी दल र विरोधमा आवाज उठाउँन सक्ने मिडिया र नागरिक संस्था एवम् समाजलाई लगभग बोल्नै नसक्ने अवस्थामा पुर्याइएको छ । अन्धविश्वासमा आधारित हिन्दुत्ववाद र नक्कली राष्ट्रवादको रथमा सवार भएका नरेन्द्र मोदी र उनको संगठन भारतीय जनता पार्टीलाई सत्ताको निर्विकल्प हकदार तोकिएको छ । यस्तो दारुण राज्यको सर्वेसर्वाले देश बाहिर गएर सबै कुरा ठिकठाक छ भन्ने दावी गर्नु र त्यस्तै स्वभाव र नियत भएको अर्को राष्ट्रप्रमुखले उसैलाई फादर अफ् द नेसनको उपाधि दिनु एकै प्रकारका पाखण्ड मात्र हुन् ।