बाको लासमाथि खेलेको त्यो पल

हेमन्त विवश

जिन्दगीको आधा बाटो कटिसक्यो। उनीभित्र जम्मा भएका सोचाइका पलहरू भने हुन सकेका छैनन् आधी। दिमागमा सलबलाउन छोडेनन् कल्पनाका रेशाहरुले । मौनतामा बसेर कुनै न कुनै पलमा प्रायजसो सोचिरहन्छन्– कस्तो थियो होला बाको अनुहार। भक्कानो उठ्छ उनको मनमा अझै पनि आमाले सुनाएको त्यो कथा सम्झिदा।

२४ वटा एल्बम प्रकाशित गरे। आफ्ना र अरूका एल्बममा गरेर करिव ७०० जति गीत गाए। थुप्रै गीतहरु चर्चित पनि बने। अहिले पनि चर्चा कमाइरहेकै छन् उनका कतिपय गीतले। तर, सकेका छैनन् बाको बारेमा गीत गाउन पनि। बा'कै कथा समेटेर तयारी नगरेका हैनन् गीत गाउन। रेकर्ड गर्नु त परै जाओस् सकेनन् रियाजसम्म पनि गर्न। अति नै भावुक बनाइरह्यो त्यही बा भन्ने शब्दले उनलाई। त्यो भावुकता बोकेका गायक हुन् अन्तराम विष्ट। जो पछिल्लो समयमा चिनिएका छन् घोप्टे जुँगा बोलको गीतबाट। घोप्टे जुँगा उनको निकै नै चर्चित गीत हो।

किन भारतले निजगढ एयरपोर्ट बन्न दिन्न? (भिडियोसहित)

हिमाल डेन्टल हस्पिटलले स्थापना गरेको पचास हजार राशीको डेउडा रत्न पुरस्कार थाप्न काठमाडौं पुगेका विष्टसँग करिव एक घन्टाको कुराकानीका क्रममा भावुक बने म आफैं पनि। बाको कथा सुनाउन खोज्दा बलैले धकेल्छन् परेलीका डिलसम्म पुगेका आँसुका थोपाहरुलाई भित्रपट्टि। र हेर्न थाल्छन् उही निलो आकाशतिर। च्याप्दै तल्लोओठ दातमुनि लामो साश लिन्छन् रुघाले ग्रस्त बनाएको छ कि झैं गरेर। अब के सोधौं कसरी सोधौं निकै नै अलमलमा पर्छु म। फेरि सोच्छु– मैले कुराकानीको अन्ततिर सोध्नु थियो बाको बारेमा। सुरुमै किन तुल्याइदिए भावुक ?।

आफूलाई सम्हाल्दै बिस्तारै त्यो मौनतालाई चिर्दै बोले उनी – ‘घर चिन्ने (बनाउने) मिस्त्रीको काम गर्थे रे वुवा। धेरै जसो ठाउँबाट पाइँदैनथ्यो रे समयमा परिश्रमिकता। एक ठाउँबाट त ठूङो (हतौडा) समेत फिर्ता दिएनछन्। फेरि छाइदिन्छ हामी बीच मौनता। एकैछिनमा त्यही मौनतालाई चिरेर बिस्तारै निस्किन्छ उनको मुखबाट एउटा वाक्य –एक वर्ष तीन महिनाको छदाखेरी बुवा बिते। पाहाडमा कालो ज्वरोको माहामारी नै रहेछ। त्यही कालो ज्वरोको कारण छोडे छन् धर्ती।’

दोस्रो विश्व युद्वका ९९ वर्षीय वार भेट्रान: भिसी नपाएको झोकमा पल्टन छोडे (भिडियाे सहित)

फुर्सदको बेला डायरीमा लेखिरहन्छन् उनी विगतको आफ्नै कथा। निकै भावुक मुद्रामा त्यसै भित्रका पक्ति सम्झिदै सुनाउँछन्– 'आफन्तको मृत्युमा छाक छोड्नु पर्छ भन्छन् म त हाँसिहाँसि आफन्तको मृत्युमा खेलिराथें रे लाश माथि। त्यो समयमा मैले त आमाको दूध खाएँ रे। आफन्तको मृत्युमा छाक पनि बस्न पाएनछु। म कस्तो अभागी।'

घाम अस्ताए पछि कसैको मृत्यु हुँदा गाउँघरतिर भन्ने गर्थे –मसान सेलाइसक्यो अब आज दाहसंस्कार गर्न मिल्दैन। रातभर आँगनमा कुर्नुपर्ने हुन्थ्यो। भोलिपल्ट मात्रै लगिन्थ्यो लाश घाटतिर। घाम अस्ताए पछि नै त्यागेका थिए बुवा नन्दसिंह विष्टले प्राण। प्राणबिहीन बुवालाई ओखल छेउमा सुताइएको थियो। कुर्ने मान्छेहरु बसिरहेका थिए। आमा लक्ष्मीदेवी छाती पिटेर डाको छोड्दै रोइरहेकी थिइन्। अन्तराम खेलिरहेका थिए बुवाको लाशसँग। तोते बोली प्रस्फुटित हुन थालिसकेको थियो। बा बा .... उथ उथ.... जस्ता शब्दहरु निस्किन्थे रे उनको मुखबाट।  उनका क्रियाकलाप देख्दा उनले भनिरहेझैं लाग्थ्यो रे –बुवा इत्तेखी क्याइ सिइ रैछौ। जाडी छ। उठ भितर झानाऔं। (बुवा यता किन सुत्नु भाको। जाडो छ उठ्नोस् भित्र जाऔं )

जुनेली रातमा एक्लै नाँच्ने केटो (भिडियोसहित)

एक अवोध शिशुलाई के थाहा बुवाको आवाज अब यो दुनियाँमा कतै सुनिनेवाला छैन। वुवा अब भित्र जानु हुने छैन। उहाँ कहिल्यै बोल्नु हुने छैन् भनेर। केही हुँदा अरुले ऐय्या बा भनेको सुन्दा चसक्क हुन्छ उनको मनमा। उनी भन्छन् –मेरो मुखबाट निस्किदैन बुवा भन्ने शब्द। त्यस्तो हुँदा एउटै शब्द निस्किन्छ ऐय्या मा।  

राजधानीमा बुधबार आयोजित देउडा रत्न सम्मान ग्रहण गर्दै अन्तराम विष्ट। तस्बिरः जनक भट्ट

यो कुराले पनि निकै नै पिरोल्छ उनलाई। भन्छन् – खै किन निस्किदैन त्यस्तो बेला बा भन्ने शब्द मुखबाट। बारम्बार कल्पिन खोज्छन् उनी बाको मुहार। एक वर्ष तीन महिनाको समयको स्मृति कहाँ भेटिन्थ्यो र स्मृतिपटमा। इरेजरले मेटिएको चित्रमा त बरु देखिनसक्छन् अलिकति धर्साहरु तर उनीभित्र त रहेनन् त्यस्ता कुनै यादका धर्साहरु पनि। साथीहरुले बाको फोटो देखाउँदा उनका मनमा एउटा प्रश्न उब्जिन थाल्छ– मेरा बाको पनि फोटो भैदिएको भए। त्यो जमानामा गाउँमा कसले खिचिदिनु फोटो। बाको बारेमा आमाले भनेको त्यही एउटा कथा मात्र छ उनको स्मृति पटलमा। त्यही कथाले कहिलेकाही बढाइदिन्छ भावुकता र वाध्य तुल्याइदिन्छ आँसु झार्न पनि।

एक उपसचिवको कथाः पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रममा (भिडियो सहित)

उसो त यो उमेरसम्म आइपुग्दा कथाव्यथाका भारीहरु थुप्रै बोके उनले। स्मृतिको एल्बममा सजाए जिन्दगीरूपी घुम्तीका थुप्रै चित्रहरू। यादको पल्लाभित्र प्रेमिकालाई सम्झाउन गरेका प्रयत्न, धर्मपुत्र पाल्दाको समयका छापहरु, काठमाडौं छोड्दा भएको गाडीभाडाको समस्या र श्रीमतीका गहना बेच्दा झरेका आँसु अनि छोरा गुमाउँदाको पीडा सबैको गह्रुङ्गो भारी लपेटेर एक्लै एक्लै हिँडिरहे उनी। जुनकुरा श्रृखलाबद्ध ढंगले आउने नै छ आगामी लेखहरुमा।

भगवान् पुकारीरहेका थुप्रै आस्तिकहरु छन् यहाँ। भगवान् कहाँ छ खै भन्ने नास्तिकहरु पनि छन् यही समाजमा। विज्ञान शिक्षक बनेर केही पल बिताएका विष्टले पुकारे वा पुकारेनन् त्यो पल कुनै भगवानलाई सोध्न बाँकी नै छ। तर उनकी जीवनसाथी विमला विष्टले भने जपिरहिन हरदम भगवानलाई। उनले देखाइनन् कहिल्यै पनि  मुहारमा दुःख र पीडाको भाव। भित्रैभित्रै नरोएकि हैनन् उनी। उसो त श्रीमान कोठामा नभएको बेला ढोका थुनेर धित मर्ने गरी रोइन पनि। तर देखाइनन् भिजेका परेलीसम्म पनि श्रीमानलाई।

संघर्षका घुम्तीहरू- हेमन्त विवश

गरगहना लगाएर चिटिक्क परेर हिँड्ने चाहना कुन चाही नारीको हुँदैन र। अधिकांशको चाहना हुन्छ बजारमा देखिएका नयाँनयाँ डिजाइनका गहना किन्न पाए हुन्थ्यो भन्ने। विगतका ती दिनहरु सम्झिदै लजालु भाव मिश्रित मुस्कानले हेरिरहन्छन् कहिले काही दुबै जना एकअर्कालाई। सक्दैनन् ती दिनको बारेमा धेरै कुरा गर्न। श्रीमती विमला भन्छिन्–अरुसँग विगतको कुरा गर्न त्यति गाह्रो हुँदैन। कतिपय त सबैले देखेकै थाहा पाएकै कुरा छन् तर विष्ट सरलाई ती दिन सम्झाएर भावुक बनाउन चाहन्न। उनी कुराकानिकै क्रममा थप्छिन् –‘समय सधै एकनाशको हुँदैन। हरेकका दिन आउँछन् मात्र धौर्यधारण गर्न सक्नु पर्दो रहेछ। सुखमा नमात्तिनु दुःखमा नआत्तिनु भन्ने भनाइ सुनेको थिएँ। त्यही भनाइलाई आत्मसाथ गर्दै संघर्षका दिनहरु व्यतित गरेका हौं। त्यतिखेर लाग्थ्यो कहाँ जाने होला के गर्ने होला। अगाडि बाटो कस्तो होला। बच्चा कसरी पाल्नु। आफन्त चिनेजानेका साथीभाइसामु कसरी पर्नु। तर पनि हिम्मत हारिनँ। सरलाई भन्ने गर्थे केही न केही गरिहालौंला तपाई पढेलेखेको हुनुहुन्छ केही न केही उपाए निस्किहाल्ला चिन्ता नगर्नू।’

अन्तरामलाई त विमलाले सम्झाउँथिन तर विमलालाई सम्झाउने थिएनन् घरमा कोही पनि। डेराको जिन्दगी । सामान सार्दै डेरा छोड्दै हिँडिरहनु परेको वेरोजगारी मन। हुँदैन घर चलाउन समेत सुको पैसा खल्तिमा। अन्तिम उपाए गहना बेच्ने कुरा गरिन् उनले। अन्तरामले बारम्बार भनिरहे सम्पत्तिको नाममा त्यति छ त्यही पनि बेचेपछि केही रहँदैन साथमा। तर पनि मानिनन् विमलाले। भोलि भएपछि जोडिहालौंला भन्दै एकदिन बेच्न लगाइन आफूसँग भएका दुई अढाइ तोला सुनका गहना। त्यसपछि जान पनि छोडिदिइन आफन्तको घर। कसैको न्वारन पास्नी, बिहे ब्रतवन्ध जस्ता पार्टीहरुमा पनि। गइनन् कुनै जात्रा वा अन्य कुनै तीर्थस्थलतिर पनि। उनी भन्छिन् –दसैंमा सुटुक्क दाइको घर जान्थेँ टिका लगाएर फर्कि हाल्थेँ। दाइ भाउजुले सम्झाउथेँ केही आड भरोशा मिल्थ्यो दुईचार दिनलाई। तिहारमा दाइ मेरै कोठामा आउनुहुन्थ्यो। आज ती दिन सम्झिदा कतिखेर त लाग्छ म आफ्नै कथा भनिरहेकी छु या कुनै फिलिमको कथा।  

‘हिमाल देउडा रत्न’ सम्मानबाट सम्मानित हुँदै। तस्बिरः जनक भट्ट

अति संवेदनशील मनबाट घरी आँसु चुहाउँदै घरी त्यही मनलाई लगाम लगाउँदै गरिरहे अन्तरामले उकाली ओराली।  मर्न दिएनन् आशाका किरणहरुलाई। सरकारी शिक्षकको जागिर छोडर गायन यात्रामा होमिएका विष्टले कल्पनासम्म पनि गरेका थिएनन् फेरि शिक्षक बनेर बालबालिकाहरु माझ रमाउनु पर्ला भनेर। अहिले उनी कञ्चनपुरको एउटा गाउँमा विद्यालय चलाएर बसेका छन्।

अन्तराम विष्टका बुढाबढी समाजका लागि प्रेरणाका पात्र पनि हुन्। सिद्धनाथ क्याम्पसमा बिएस्सी पढाइ गर्न माग गर्दै पाँच जनाको टिममा विद्यार्थीहरुबाट प्रतिनिधि बनेर त्रिबिका तात्कालिन उपकुलपति डा. केदारभक्त माथेमालाई भेट्दा र स्वीकृति पाएपछि प्रफुल्ल बनेका पलको याद एकातिर छ। विद्यार्थीको हकहितमा आवाज उठाएकै कारण आइएस्सी दोस्रो वर्षको प्राक्टीकलमा फेल गरिएको देखि दुई दिन हिँडेर रेडियो नेपाल दिपायलमा गीत गाउन गएको अनि थाहा पाएर पनि श्रीमतिले प्रेमिकाको तस्विरलाई एल्बममा जतन गरेर अझैं राखिराखेको जस्ता थुप्रै छन् लेख्न बाँकी उनका जीवनका पाटाहरु। जो आगामी लेखहरुमा समेटिने नै छन्। 

प्रकाशित मिति: : 2019-09-27 15:56:02

प्रतिकृया दिनुहोस्