म अरूभन्दा अलि फरकै सोच्छु कि जस्तो लाग्छ । यसो भनेर म ठीक र अरू बेठीक भनेको हैन ।
धेरै विषयमा मेरो फरक मत रहदै आएको छ । घरदेशमा होस् पा परदेशमा । मलाई लाग्छ, मेरो मत तथ्य र सत्यका हिसाबले कमजोर हुदैन । मेरो अगाडि केही भन्दैनन्, पछाडि भन्छन्- अराजक र अव्यावहारिक । म कुरा काट्ने उनीहरूको मुस्किल बुझ्छु । यही नै मेरो सोच र कोणमा दम भएको आधार हो ।
अरू सबै दोहोरो नागरिकता भन्छन्, म कागजको दोहोरो-तेहोरो नगारिकतामा विश्वास गर्दिन । म त्यस्तो नागरिकतालाई देश लुट्ने अर्को लाइसेन्स भन्छु । र, त्यसो गर्न चाहनेले नेपालको माया लागेर त्यसो गरिरहेको ठान्दिन, आफ्नो धन सम्पतिको सुरक्षा र राजनीतिक लिप्साको लागि त्यसो गरिरहेको ठान्छु । मसँग यसका लामै दशी-प्रमाण छन् ।
'नेपाल बर्बाद भयो, सबै सकियो, म त्यहाँ भएँ भन्ने मारिन्छु' भनेर सत्र वकपत्र गरेर शरणार्थी बन्ने अनि त्यो बनेपछि नेपाल नेपाल भनेर तथाकथित राष्ट्रप्रेमको रोइलो गर्नेलाई म पाखण्ड भन्छु । त्यस्ता पाखण्डहरूले फेसबुकलगायतका सामाजिक सञ्जालमा गरिरहेको रोइलोलाई म एक किसिमले सामाजिक सञ्जालको चीरहरण ठान्छु । यसको अर्थ आफ्नो जन्मभूमिको माया गर्नै पाइदैन भन्ने हैन, तर शरणार्थी बन्न देशको हुनसक्ने सम्मको बेइज्जत गर्न अनि शरणार्थी बनेपछि मायाको मूल फुटाउने- यो माया हैन, पाखण्डपन हो ।
मानिसको रोगलाई क्यारिकेचर गरेर भात खाने कलाकारलाई म भतुवा भन्छु । मलाई जिब्रोमा क्यान्सर भएर स्पष्ट बोल्न नसक्ने सुशील कोइराला र जिब्रोमा करेन्ट लगाएर बोली शुद्ध हुन नसकेका शेरबहादुर देउबाको बोली बेचेर खानेप्रति घृणा लाग्छ । उनीहरूले देश बर्बाद गरे होलान् अथवा हुनबाट जोगाएनन् होला, त्यसका लागि गाली गरौं । तर, यसो गर्दा के हेक्का राखौ भने मौका पाउँदा उनीहरूले देश त छोडेनन् । अरू स्वस्थ नेताको क्यारिकेचरलाई एक हदसम्म नाजायज भन्न नसकिएला । तर, यसबारेमा पनि रेशा रेशामा कुरा गर्नुपर्ने हुन्छ ।
आफ्नी श्रीमतीलाई घर कि न घाटकी बनाएर अरूका श्रीमतीमाथि न्याय गर्न हिड्ने सामाजिक अभियन्तालाई असामाजिक चटके ठान्छु । यस्ता मानिसको पछि लाग्ने मानिसलाई म सामान्य ठान्दिन । त्यसमा पनि विदेशको नागरिकता लिइसकेर पनि मैले लिएको छैन भनेर वर्षौ ढाँट्ने मानिस त आमा बेचुवाजस्तै लाग्छ मलाई ।
आफूले गरे जे पनि कृष्णलिला र अरूले गरे जे पनि रासलिला भन्ने द्वैध चरित्रका मानिसलाई मनैदेखि घृणा गर्छु । मलाई लाग्छ, यो नेपालीको डीएनएमै छ । त्यसैले अहिले म विश्वविद्यालयका केही विद्यार्थीलाई पीएचडीको सोध गर्न उक्साइरहेको छु । यदि मैले सकें र यसबारेमा अध्ययन भयो भने म आफूलाई धन्य ठान्नेछु ।
यस्तो प्रकृतिका मानिसहरू चाहे मेरा आफ्ना हुन् या अरूका- सबैका लागि म यही भन्दै र गर्दै आएको छु ।
यो मेरो बाँच्ने स्टाइल हो । यसका लागि मैले धेरै मूल्य तिरेको छु । मेरो कारणले मेरा परिवारका सदस्यहरूले पनि दु:ख पाएका छन् । यसका लागि यदाकदा पीडाचाँहि हुन्छ ।
आज म अमेरिकामा छु । यसमा मलाई न ग्लानी छ, न गौरव । दु:खचाँहि लागेको छ, ५० वर्ष नाघेपछि जन्मभूमि छोडेर हिड्नु परेकोमा । धेरैको लागि उमेर हुन्जेल विदेश, बूढो भएपछि स्वदेश हुन्छ । तर, मेरो लागि त्यस्तो हैन, उमेर हुन्जेल देश, बूढो भएपछि विदेश । १३ वर्षको उमेरदेखि ५० वर्षको उमेरसम्म ३७ वर्ष मैले नेपालमै पसिना बगाएको छु । त्यसपछि म सकेर हैन, नसकेर देश छोडेर यहाँ आएको हुँ । यसमा देशको कुनै गल्ती छैन, गल्ती छ भने त्यही द्वैधचरित्रको छ जसले राम्रालाई हैन, हाम्रालाई सधैं काखा बनाउँछ ।
अरू सबै दोहोरो नागरिकता भन्छन्, म कागजको दोहोरो-तेहोरो नगारिकतामा विश्वास गर्दिन । म त्यस्तो नागरिकतालाई देश लुट्ने अर्को लाइसेन्स भन्छु । र, त्यसो गर्न चाहनेले नेपालको माया लागेर त्यसो गरिरहेको ठान्दिन, आफ्नो धन सम्पतिको सुरक्षा र राजनीतिक लिप्साको लागि त्यसो गरिरहेको ठान्छु । मसँग यसका लामै दशी-प्रमाण छन् ।
म अमेरिकामा यतिबेला जीवनको नया परिभाषा बनाइरहेको छु । दाँयाबाट चल्ने जीवनको मेसिन बदलेर बायाबाट चल्ने बनाउन खोजिरहेको छु । गाडीका खुट्टा हालेर क्रेडिट कार्डका साहुले पत्याउँदा मख्ख परेर धनी हुने परिपाटी अंगालिरहेको छु । क्रेडिड स्कोर ८१० पुगेछ, क्रेडिड कार्डको क्रेडिड जोड्दा २५ हजार डलर भएछ । अमेरिकामा बस्ने सामान्य नेपालीले इर्श्या गर्ने यो तथ्यांक नेपालका लागि शरमको विषय हो । यी दुबै तथ्यांक साहुले त्यतिसम्म ऋण पत्याउँछ भनेको हो । म यहाँ धनी हुने हैन, आसामी हुने योग्यता कमाइरहेको छु ।
यो पनि हेर्नुहोस्
किन भारतले निजगढ एयरपोर्ट बन्न दिन्न?
म अमेरिकाको पीआर हुँ, सन् २०२५ सम्म बस्न सक्छु, त्यसपछि चाहेँ भने अरू १०-१० वर्षका दरले यो थप्दै जान सक्छु । या अर्को दुई वर्षपछि अमेरिकी नागरिक पनि बन्न सक्छु । यी सबै न हिनताका कुरा हुन्, न गौरवका । यी सबै अमेरिकामा कानूनी रूपमा बस्न चाहिने प्राविधिक कुरा हुन् र अत्यन्तै चानचुने कुरा । म एउटा कुरामा विश्वास गर्छु, देश बदल्न सकिन्छ यो प्राविधिक कुरा हो । तर, जन्मभूमि चाहेर पनि बदल्न सकिन्न । देश बदल्ने कुरा छोरीले माइत छाडेर घर गरी खानुजस्तै हो। यसलाई सहज रूपमा लिनुपर्छ । तर, गरिखाने भएपछि पनि छोरीले गरीव माइतीको केही कुरा लिने आशामा अधिकार खोज्नु पाखण्डीपन हो । मलाई अरू देशको नागरिकता लिइसकेका नेपालीले नेपालको पनि नागरिकता चाहिन्छ भन्नु माइतीपिरूवा चरित्रकी त्यही चेलीको हर्कते चाला जस्तो लाग्छ ।
मलाई केही दिन अघि वासिङ्टन डीसीस्थित नेपालका लागि अमेरिकी राजदूतले संविधान दिवशको अवसरमा दिएको रात्रीभोज र त्यहाँका दृश्यले मन बेचैन बनाइरहेको छ । नेपाल सरकारले संविधान दिवशका दिन नेपाल दिवश मनाउने निर्णय गर्यो । त्यसका लागि विदेशस्थित नेपाली नियोगमा स्वागत समारोह आयोजना गर्न बजेट पनि छुट्टियो । त्यही बजेटअनुसार वासिङ्टन डीसीस्थित राजदूतबासमा स्वागत समारोहका नाममा रात्रिभोज आयोजना गरियो । यो स्वागत समारोह खासगरी अमेरिकामा रहेका कूटनीतिक समुदाय, अमेरिकी सरकारका प्रतिनिधिहरू, राजनीतिकर्मीहरू र अमेरिकास्थित नेपालीका लागि हो । तर, यो रात्रिभोजमा यस्तो सहभागिता कम र नेपालको नागरिकता त्यागिसकेका वासिङ्टन डीसी मेट्रो एरियाका नेपालीमूलका 'खाइदेउ' अमेरिकी बढी देखिए । र, यो एउटा राष्ट्रिय महत्वको समारोह फेसबुके फोटो सेसन जस्तो बनाइयो ।
आफ्नो स्वार्थका लागि नेपालको नागरिकता त्यागेर अर्कै देशको नागरिकता लिने नागरिकता प्रमाणपत्रको कोणबाट हेर्दा भूतपूर्व नेपाली नै हुन् । भलै उनीहरूले यताको नागरिकता लिए पनि उताको नागरिकता राखेकै हुन्छन् । र, नेपाल छिर्ने बेलामा अध्यागमनमा नेपाली भिसा लिए पनि उता गएपछि नेपालकै नागरिकता देखाएर हवाइजहाजको टिकट काटेर नपाल ठग्छन् । मैले यस्ता फटिचर ठगहरू धेरै देखेको छु ।
मेरो कुरा सुनेर केही 'खाइदेउ'हरूको चित्त दुख्ला । तर, विवेक बाँकि भए एकपटक ठण्डा दिमाखले सोचलान् कि भन्ने आशा हो । आफ्नो स्वार्थको लागि नागरिकता त्यागेका मान्छेलाई त्यही देशको राष्ट्रिय दिवशमा बोलाउनेले किन बोलाएको र जाने पनि किन गएको होला ? अरू बेला जानुलाई म पनि खासै अस्वभाविक ठान्दिन । तर, राष्ट्रिय दिवशमै निम्तालु हुनु र भोज खानुको औचित्य मैले भेट्न सकेको छैन ।
नेपालका एक मन्त्री लालबाबु पण्डितले भनेको एउटा कुरा सही हो- भूतपूर्व नेपाली । आफ्नो स्वार्थका लागि नेपालको नागरिकता त्यागेर अर्कै देशको नागरिकता लिने नागरिकता प्रमाणपत्रको कोणबाट हेर्दा भूतपूर्व नेपाली नै हुन् । भलै उनीहरूले यताको नागरिकता लिए पनि उताको नागरिकता राखेकै हुन्छन् । र, नेपाल छिर्ने बेलामा अध्यागमनमा नेपाली भिसा लिए पनि उता गएपछि नेपालकै नागरिकता देखाएर हवाइजहाजको टिकट काटेर नपाल ठग्छन् । मैले यस्ता फटिचर ठगहरू धेरै देखेको छु ।
यो पनि हेर्नुहोस्
दोस्रो विश्व युद्दका योद्दाः पदक नपाएको झोकमा पल्टन छोडे
म सगौरव घोषणा गर्छु- अहिले म नेपाली नीलो पासपोर्ट भएको नेपाली नागरिक अनि अमेरिकाको पीआर हुँ । मैले यही हैसियतमा नेपालको नागरिकता मात्र हैन, राष्ट्रियता पनि बचाएको छु । जुन दिनसम्म बचाउन सक्छु, सगौरव बचाउँछु । जुन दिन नसकेर अमेेरिकी नागरिक हुन्छु, त्यस पहिले नै म नेपालको नागरिकता त्यागेर त्यो बापत कुनै सुविधा लिन्न । मेरो विचारमा अमेरिकी नागरिक भैसकेपछि पनि नेपाली नागरिकता कायमै राखेर नेपालमा सुविधा लिनु भनेको आफ्नो जन्मभूमिलाई ठग्नु हो । यसको अर्थ आमालाई ठग्नु हो । जसले आफ्नो स्वार्थका लागि आमालाई त ठग्न सक्छ भने त्यस्ताको बाँकि के कुरा भयो र ?
मलाई आफ्नो स्वेच्छाले स्वार्थ वा फाइदाका लागि नेपाली नागरिकता त्यागेका भूतपूर्व नेपाली नेपाल डे का दिन आयोजित स्वागत समारोहमा सहभागी हुनु एउटा त्यस्तै भद्दा जोक जस्तो लाग्छ । यसपटक यस्तो जोक डीसीमा देखियो, शायद अरू ठाउँमा पनि यस्तै भयो होला । मेरो आग्रह छ- नेपाललाई लिएर गरिने यस्तो भद्दा जोकका लागि खाडीमा नीलो पसिनाले साटेको नेपालको 'नीलो डलर' खर्च नगरियोस् । भनाइ नै छ, खान पाए भने नेपालीले अलकत्र पनि खान्छन्, डलरको रङ त कसले हेर्छ र ?
अपवाद जेमा पनि हुन्छ, जहाँ पनि हुन्छ । यो भतेरमा गएकामा पनि अपवाद हुन्छ । त्यस्तो भयो भने भूलचूक लिने दिने । बाँकि त मैले जन्ती र मलामीको हिसाब गरेर लेख्ने गरेकै छैन । मेरा लागि गो फण्डमी चलाउनु नपरोस्- मैले दु:खी पीडितलाई सहयोग गर्दा यस्तै भावको आशीष माग्ने गरेको छु ।