आश्विन महिनाको कृष्ण पक्षलाई ‘पितृपक्ष’को नामले पनि चिनिन्छ। हिन्दू समाजमा यस पक्षको पन्ध्र दिनसम्म आफ्नो परिवारमा मृत व्यक्तिको मृत्युतिथि अनुसारको दिनमा सम्झना, तर्पण तथा पिण्ड दान गर्ने परम्परा रही आएको छ।
सम्भवतः त्यसै कारणले यस पक्षलाई पितृपक्ष भनिएको हो जस्तो लाग्छ। नबुझेका तथा न जानेका व्यक्तिले यस पक्षलाइ सोह्र श्राद्धको पक्ष पनि भन्ने गरेको पाइन्छ जुन आंसिक रूपमा सही होइन। वास्तवमा सोह्र श्राद्ध भनेको मानिसको मृत्युदेखि बाह्रौ दिनसम्म गरिने अशौचावस्थाको धार्मिक कृत्यलाई भन्छ्न्।
मृतक मरेपछि शमसानघाट लग्नु पहिला मरणस्थान पिण्ड, द्वारपिण्ड, चत्वर (चौबाटो) पिण्ड, विश्रामस्थान पिण्ड, काष्ठ सञ्चयन पिण्ड, अस्थिसञ्चयन पिण्ड तथा दश दिनसम्म १/१ पिण्ड गरेर जम्मा १६ वटा पिण्डदान गरि सोह्र श्राद्ध गरिन्छ, जसलाई सोह्र श्राद्ध भन्छन्।
पितृपक्षमा मृत स्वजनको मृत्युतिथिको दिनको दिन मृतकको सम्झना गर्ने, तर्पण गर्ने तथा पिण्डदान गर्ने गरिन्छ जसलाई गरूड़ पुराण अनुसार पार्वण–श्राद्ध भन्छन्।
पुरूष प्रधान समाजमा प्रायः यस पक्षमा मृत पुरूषको मात्र पार्वण– श्राद्ध गरिएको पाइन्छ। तर, तराईमा यस पक्षको सप्तमी, अष्टमी तथा नवमी तिथिको दिन एउटा अद्भूत प्रकारको व्रत गरिन्छ जसलाइ जितिया पर्व भन्छन्।
जितिया व्रत अत्यन्त कठीन व्रत हो । सप्तमीको दिन यस व्रतको थालनी हुन्छ जसलाई भोजपुरी भाषामा ‘नहाए–खाएके’ दिन भन्छन्। यस दिन पूजा घरको ढोकामा माटोको वेदी बनाउँछन् जसलाई भोजपुरी भाषामा ‘ओरी बनावल’ भन्छन्। माटोलाई पानीले मुछेर कुश राखि त्यसमाथि माटोले लिपेर बनाइन्छ जसमाथि पूजा सामग्री चढ़ाउँछन्। यस दिन नदी तलाउमा व्रतालूहरू गएर सरसोको पिना र तेल झिङुनीको पातमा राखि मृत तीनपुस्ते सासूहरुलाई अर्पण गरेर आफूपनि त्यसको प्रयोग गरि नुहाइ–धुवाइ गरेर व्रतको लागि पवित्र भएर तयार हुन्छन्।
त्यस दिन अगहनी धानको चामलको भात, अरहर–मूंगको दाल तथा लसुन–प्याज न हाली शुद्ध घिउमा पकाएको झिङुनीको तरकारी ग्रहण गर्छन्। यस दिन व्रतालू महिलाहरु पवित्रता तथा शूचीताको पूर्ण ध्यान राख्छन्।
सप्तमीको राति रात्रीको तेस्रो प्रहरमा उठेर नित्यक्रम पछि नुहाइधुवाइ गरि झिंगुनीको पातमा जीमुतवाहन, चिल्हो–सियारिन र जीवित पुत्रिकालाई झिंगुनीको तरकारी, रोटी वा दही–च्यूरा–चिनी अर्पण गरेर सोही खाद्य पदार्थ स्वयंले पनि ग्रहण गर्छन्, यसैलाई भोजपुरी भाषामा ‘सरगही’ खानु भन्छन र यो नै पहाड़ी प्रदेशमा खाइने ‘दर’ को शुद्ध रूप हो तथा पहाड़ी प्रदेश र सहरी क्षेत्रमा यसकै विकृत रूप दर खानु हो जसमा अचेलको समयमा अखाद्य खाद्य (मांसाहार तथा मदिरापान) वस्तुको प्रयोग तथा विभिन्न खाले नाच–गान र वैभव प्रदर्शन हुने गर्छ।
यस्तो पवित्र परम्परालाई बिटुलो रूपमा प्रयोगमा ल्याउनु समाजको लागि दुर्भाग्यको संकेतको रूपमा लिनुपर्ने हुन्छ। यसलाइ हतोत्साहित पार्नको लागि समाजको प्रबुद्ध वर्ग, राजनेताहरु तथा प्रशासन सतर्क तथा कठोर हुनु पर्ने हो कि जस्तो लाग्छ।
अष्टमीको बिहान भएपछि ब्रतालु महिलाहरु घरधन्दामा सिन्को पनि न भाच्ने गरि दिउँसोभरि ओछ्यानमा पल्टि रहन्छन–निराहार तथा निर्जला । यसै कारण यस व्रतलाई खरजीउतिया भन्छन्।
सन्तानको दीर्धायुको लागि जितिया ब्रत
कुनै ठूलो संकटबाट बाँचेर कोही केटा मान्छे फर्कि आयो भने उसका स्वजनहरुले भोजपुरी भाषामा भन्ने गर्छन्–‘इनकर मातारी खर जीउतिया कइले रहलिह’ अर्थात् यिनकी आमाले खरजीउतिया गरेकी रहिछिन्।
जितिया व्रतमा भोकै बसेकी आमाले घरको काम–धन्दामा लागे पछि सिन्को भाच्ने सम्भवाना रहन्छ तथा यस दिन आमाको हात बाट सिन्को भाँचियो भने आफ्नो सन्तानको आयू क्षीण हुन्छ। जीउतिया व्रतको खास अर्थ आमा जीवित छँदासम्म सन्तानको मृत्यु हुनुहुँदैन।
यसैको सिद्धिको निम्ति आमाहरुले सन्तानको दीर्घायु, समृद्धि, आरोग्य तथा सुशान्तिको उदेश्यले यो कठीन व्रत गर्ने गर्छन्। अष्टमी तिथिको दिन मध्यान्हको समयमा व्रतालू महिलाहरुले पुनः पहिले झैं नदी–तलाउमा तोरीको पिना र तेल अर्पण गरि नुहाएर पवित्र भइ ज्ञानी–गुणी व्यक्तिको मुखबाट जीमुतवाहन भगवान, चिल्हो–सियारिन आदिको कथा सुन्छन्।
पौराणिक कालमा जितिया ब्रत
पुराण अनुसार महाभारतको लडाइँको अन्त्यमा द्रोणपुत्र अश्वत्थामाले द्रौपदीका पाँच पुत्रहरूलाई सुतिरहेकै अवस्थामा क्रुरतापूर्ण ढङ्गले मारीदिएपछि पुत्र वियोगले विह्वल भएकी द्रौपदी धौम्य ऋषिको आश्रममा गइ रोइ–पुकारा गर्दा धौम्य ऋषिले सान्तवनापूर्वक द्रौपदीलाई आश्विन कृष्ण पक्षको सप्तमी, अष्टमीको दिन यस जीउतिया भन्ने व्रतलाई लोकले विधिवत् गर्नू/गराउनू भन्ने दिएको उपदेश अनुसार यस व्रतको थालनी भएको जनविश्वास रहेको पाइन्छ।
यसै क्रममा धौम्य ऋषिले राजा जीमुत वाहन राजाको कथा सुनाएका थिए तथा लोकमानसले चिल्हो–सियारिनको कथाको कल्पना गरेको थियो। स्थानाभावको कारण यहाँ ती कथाहरुलाई वर्णन गर्न सकिएको छैन। पाठकहरुसित सोको लागि पंक्तिकार क्षमाप्रार्थि छ।
मृत मातृप्रति जितिया
समाज शास्त्रीहरुको लागि यो एउटा अध्ययनको विषय हो जितिया व्रत वास्तवमा पुरूष प्रधान समाजमा प्रायः उपेक्षित मृत मातृहरुको प्रति जीउतिया, वासतवमा गरूड़–पुराणमा वर्णित पार्वण–श्राद्ध पो हो कि जो सधवा बुहारीहरुबाट जीउतिया व्रतको अवसरमा मातृनवमीको दिन अद्भूत रूपले गरिन्छ ।
रात तथा दिनभरि निराहार र निर्जला व्रत बसेका व्रतालू महिलाहरुले नवमी तिथिको दिन एकाबिहानै उठेर नुहाइ–धुवाइ गरि पवित्र भएर पूजाकोठाको ढोकामा बनाइएको ‘ओरी’माथि पारिवारिक परम्परामा चले अनुसारको खाद्य–सामग्री, वस्त्र तथा सिन्दूर अर्पण गरेर मृतका तीन पुस्ते सासूहरुको विदाइ गरि जीउतिया व्रतको पारण गर्छन्।
सिन्दूर अर्पणको खास अर्थ के हो भन्ने सधवा बुहारीहरुले मृतका तीनपुस्ते सासूहरुसित प्रार्थना गर्छन् कि, तपाईहरुको कृपाले तपाईका पुत्र/नातीहरु दीघार्यु रहुन जसले गर्दा मेरो सिन्दूर बनि रहोस्, म सौभाग्वती बनिरहुँ। आश्विन कृष्ण नवमीको दिनलाई मातृनवमी भन्छन्।
नेपालको तराई भागमा तथा अन्य पनि देश–विदेशमा गरिने जितिया व्रत वास्तवमा एउटा कठिन व्रत हुनुको साथै अनौठो रूपले मातृरूपा स्त्री जातिहरु प्रति गरिने अद्भूत कृतज्ञता व्यक्त गर्ने परम्परा हो।