यो पत्रकारिता हैन : 'नेपाली चेलीलाई मिस युएसए फिलिपिन्समा जिताऔं '

मिस युएसए फिलिपिन्स २०१९ की एक प्रतियोगी मिराकल चन्द । तस्बिर सौजन्य : सामाजिक सञ्जाल । लेआउट : ब्रेक एन लिंक्स ।

केही दिनअघि 'नेपाली चेलीलाई मिस फिलिपिन्स युएसए २०१९ मा मतदान गरौ- नेपाली शान, मान र गौरव कामय राखौं ' भन्ने आव्हान एउटा अनलाइनमा आएको थियो । मलाई लाग्यो - यो अप्रिल फूल हुनुपर्छ । मूर्ख बनाउन गरिएको ठाने पनि यस्तो आव्हान अनलाइनमै आएकाले मनमा भने अमिलो प्रश्न उब्जियो- यसरी त कसरी अनलाइनको गरीमा रहला र ? दिन बित्दै गयो केही दिनपछि अर्को एक व्यावसायिक अनलाइनमै समाचार आयो । त्यसपछि भने नपत्याई धरै भएन । अनि भने मनमा अर्को एउटा अलि पेचिलो प्रश्न उब्जियो - पत्रकारिताका नाममा आखिर हामी यो सब किन गरिरहेका छौं ? 

यो प्रश्नले पत्रकारिता पढेको, गरेको अनि पढाएको मभित्रको पत्रकारिताको विद्यार्थी जाग्यो । भन्यो, 'हेर मनुवा क्रिश्चिय पादरीले गीताको वा पण्डितले बाइबलको अपव्याख्या गरेजस्तै अरू नै विषय पढेका वा केही नै नपढेकाले समाजमा पत्रकारको नाम, दाम र मान लगिसके । पत्रकारितालाई पत्रुकारिता र पत्रकारलाई पत्रुकार भन्न थालिसकियो । अब त केही गर । पत्रकारिता पढेको हुँ भन्छस् । यसको रक्षा गर्नु तेरो कर्तव्य हो ।' 

त्यसपछि यही विषयलाई केन्द्रमा राखेर केही लेख्न मन लाग्यो । 

पहिलो त यो समाचारकै अन्तरवस्तुमा कुरा गरौं  । समाचारअनुसार, मिराकल चन्द मिस फिलिपिन्स युएसए २०१९ मा सहभागी भएकी रहिछन् । उनी नेपाली बाबु कर्ण चन्द र फिलिपिनो आमाकी छोरी रहिछन् । शायद आमाको नागरिकता अझै फिलिपिन्सकै भएका कारणले उनी त्यसमा सहभागी हुन सक्थिन् होला- भइन् । 

तर, 'अब मिस फिलिपिन्स युएसए २०१९ मा नेपाली चेली । नेपाली चेलीलाई मत दिएर विजय गराऔं' ; यो चाँहि सुन्दा पनि आफैंमा अनौठो लाग्दो रहेछ । पहिलो त उनी नेपाली चेली भएर त्यहाँ सहभागी नै भएकी हैनन्, त्यसैले यो नेपाली चेली भनेर गरिएको क्याम्पेन नै सही हैन । ल ठीक छ, बाबु र आफन्तहरूले आफ्नी छोरी चेलीका लागि मत माग्न सक्छन्, मागे पनि रे । तर, पनि मिस फिलिपिन्स युएसए २०१९ मा नेपाली चेलीलाई मत देऊ भनेर माग्दा उनीहरू आफैलाई पनि अनोैठो लाग्नुपर्ने  हो । उनीहरू भित्रको नेपालीमा कुरीकुरी लाग्नुपर्ने हो । 

ल त्यो त लागेन रे । तर, राज्यको चौथो अंग, समाजको एजेण्डा सेटर पत्रकारितालाई त लाग्नुपर्ने हो । त्यसलाई पनि लागेन । त्यही नलाग्ला भने अनुभूति भएको दु:खको बसिवियालो हो यो । मेरो विनम्र प्रश्न पत्रकारज्यूहरूलाई- हामी कस्तो कुरालाई समाचार बनाइरहेका छौै ? अझ समाचार मात्र हैन, इन्डोर्समेन्ट गरिरहेका छौं ? कस्तो कुरालाई प्रचार प्रसार गरिरहेका छौं ? त्यसको बारेमा हेक्का हामीले पनि नराख्ने हो भने कसले राख्ने होला ? दोस्रो, त्यसो गर्दा पत्रकारिताको मूल्य, मान्यता र सिद्धान्तमाथि आँच आउँछ कि आउँदैन ? पत्रकारिताको मर्ममाथि प्रहार हुन्छ कि हुदैन ? अझ रूखो शव्दमा भन्ने हो भने यसो गर्दा पत्रकारिता नै वलात्कृत हुन्छ कि हुदैन ? आफैप्रति अलि रूखो भएर सोच्ने बेला भयो कि टर्यो ? केही समययता अब त आत्मसमीक्षा होला कि भनेर हेरिरहेको छु । तर, त्यस्तो हैन, जंगेले बोलेपछि बोल्यो बोल्यो भनेझै हामीले जे गर्छौ त्यही पत्रकारिता हो भनेजस्तो स्थिति आइपुगेको छ ।

अब सोच्न जरूरी छ- कतै हामी पत्रकारिता गर्ने नाममा पत्रकारिताकै बलात्कार त गरिरहेका छैनौ ? यो एक गम्भीर प्रश्न हो । पहिलो त पत्रकारिताका नाममा सामाजिक सञ्जालमा सक्रिय सञ्चारकर्मीका रूपमा झड्केला बाबुहरूले नै पत्रकारिताको हुर्मत लिइसके । अमेरिकाको नेपाली डायस्पोरामा सञ्चारकर्मी पत्रकार भए, अनि पत्रकारचाँहि यहाँ त उनीहरू जस्तै भए या त पत्रुकार भए । यहाँ सञ्चारकर्मी मित्रहरूलाई  एउटा अनुरोध गरौं । त्यो के भने- सबै पत्रकार सञ्चारकर्मी हुन्छन् तर सबै सञचारकर्मी पत्रकार हुदैनन् । यो आमसञचारका महागुरू डेनिस म्याक्वेलको भनाइ हो । हामी सबैले आआफ्नो लक्ष्मणरेखाभित्र बसेकै राम्रो हो ।   

यसो हुनुको अनेक कारण छन् । पहिलो त यहाँ प्रकाशक र सम्पादक एउटै भएर मिडिया मिक्स भएर नै समस्या सिर्जना भएको छ । आमसञ्चारमा मिडियामिक्स पत्रकारितालाई नैतिकरूपमा च्यूत गराउने पहिलो औजार मानिन्छ । यहाँ त्यही भएको छ । यहाँ मिडियका मिक्स गराउने तत्व मिडिया जंकी पनि छन्, मिडिया मिक्स गर्ने तत्व पत्रकारका नाममा प्रकाशक पनि छ । दुबैको स्वार्थ र चाहना मिलेपछि यहाँ गलत अभ्यास भैरहेको छ र यो क्रमश: महामारी हुने क्रममा छ ।

भन्नलाई त दुबैतिरका चल्तापूर्जाहरू म चाँहि हैन, ऊ चाँहि हो भन्छन् । तर, मात्रा १९/२० को होला, पत्रकार प्रकाशक हुने स्थिति आएपछि मिडिया मिक्सका कारण पनि यस्तो नभइ धरै छैन । पत्रिका वा अनलाइन चलाउन विज्ञापन चाहियो नै । मेरिटको आधारमा विज्ञापन अधिकार नहुदा या त हप्काएर लिनुपर्यो या खुशी पारेर लिनुपर्यो । यो वा त्यो जे गरेर लिए पनि त्यहाँ प्रकाशकचाँहि हाबी हुन्छ,  पत्रकार त मर्ने नै हो । यो अप्ठ्यारो स्थितिका कारण अमेरिकाको नेपाली डायस्पोरिक पत्रकारिता क्रमश: पत्रुकारितामा परिणत हुदैछ ।

पत्रकारिता अप्ठ्यारोमा गरिने एक किसिमको सामाजिक सेवा हो । यो कमफोर्ट जोनमा बसेर गरिने कर्म नै हैन । तपाई साँचो पत्रकारिता गर्नुहुन्छ भने स्रोतसँग दूरी राख्नैपर्छ र मिडिया मिक्सबाट बच्नैपर्छ । त्यसका लागि तपाईले प्रकाशक हुने कि पत्रकार-दुईमध्ये एक छान्नैपर्छ  ? मेरो अनुरोध छ- तपाई जे हुने हो त्यही हुनुहोस् । तर एक हुनुहोस् दुबै नहुनुहोस् । किनकि त्यो दुबै हुन सैद्धान्तिक रूपमै सम्भव छैन । दुबै एकै हुने भए नेपालमा कैलाश शिरोहिया किन कान्तिपुरको अध्यक्ष तथा प्रवन्ध निर्देशक भएर मात्र बस्थे र ? नारायण वाग्ले पनि उनी आफैं भैहाल्थे नि ? त्यस्तो नभएर दुबै हुन खाेज्दा शुभशंकर र कृष्णज्वालाहरू कहाँ पुगेका छन् । होला, उनीहरूले प्रचण्डको छत्रछायाँमा पैसा कमाएका होलान् तर त्यो पैसासँग उनीहरूले शक्तिकेन्द्रको पूजा र आफ्नो मिडिया क्रेडिबिलिटी साटेका छन् । अझ प्रष्ट भाषामा भन्दा कुनै बेला नेपाली पत्रकारिताका दुई बाटा छन् भनिन्थ्यो- कैलाश शिरोहिया हुने कि पुष्करलाल श्रेष्ठ ? यो प्रश्नको उत्तरले पत्रकारिताको धेरै प्रश्नहरूको उत्तर दिन्छ ।

सारमा हामी पत्रकारिताको अस्मिता जोगाउँन लागौं । जे हौं, त्यो हुँ भनौ र गरौं । जे हैनौ त्यो हुँ भनेर भ्रम नछरौं । क्रिश्चियन पादरीले गीताको अपब्याख्या गरेजस्तै अरू नै विषय पढेका वा पढ्दै नपढेकाले गरेको पत्रकारिताको परिभाषामा बाँच्न सकिन्छ भन्ने भ्रम नपालौं । 

घुम्दै फिर्दै रूम्जाटार भनेझैं फेरि एकपटक मिराकल चन्द प्रकरणमै फर्कौं । 'नेपाली चेली मिराकल चन्दलाई मिस युएसए फिलिपिन्स २०१९ मा विजयी बनाऔं' भन्ने पत्रकारिता त एउटा अध्याय मात्र हो । यस्ता अध्याय अनेक छन् । आफू पत्रकारिताको विद्यार्थी भएकाले यसको अस्मिता लुटिदा रक्षा गर्न खोजिएको विनम्र प्रयाश मात्र हो । प्राकृतिक सिद्धान्तको नियमअनुसार पनि जो जे हो उसले त्यसको रक्षा गर्न पाउनु उसको अधिकार हो । जसरी अरू कुनै अनेपालीले एउटा नेपालीका बारेमा गलत कुरा गर्यो भने हरेक नेपालीले त्यसको प्रतिवाद गर्नुपर्छ । उदाहरणका लागि जसले वुद्ध भारतीय हुन् भन्छ, हामी सबै नेपाली  एक स्वरमा उनी नेपाली हुन् भनेर प्रतिवाद गर्छौं । यो एउटा त्यस्तै मेरो विनम्र प्रतिवाद मात्र हो । यसकै आधारमा अरू विषय पढेकाले अफेन्सिव हुन जरूरी छैन । 


अरू पनि थुप्रै अध्याय हुन सक्छन् । समयक्रममा पत्रकारिताको छाउनीमा बसेर तथ्य र तर्कका आधारमा आवश्यकताअनुसार तिनीहरूको पनि विनम्र प्रतिवाद गरिने नै छ । भनाइ नै छ- वादे वादे जायते तत्ववोध । 
अर्को शनिबार यस्तै एउटा विषयका साथ फेरि भेटौला । 


(यो लेखकको निजी विचार हो । यसले ब्रेक एन लिंक्सको सम्पादकीय नीति प्रतिविम्वित गर्दैन- सम्पादक) ।  

प्रकाशित मिति: : 2019-07-21 06:21:15

प्रतिकृया दिनुहोस्