के सिकाउँदै छ हाम्रो समाज र शिक्षाले? अनि कहाँ जाँदैछन् हाम्रा पीढिहरू?

तस्बिरः बिएल

शिक्षाले बालबालिकाको चरित्र निर्माणका लागि जगको काम गर्छ। जसबाट उनिहरूका भविष्यका सुन्दर सपनाका ढोकाहरू उघार्छन्। पुर्खाका आदर्श र समाजका सकरात्मक संस्कारगत मुल्य मान्यताको जग नै उनीहरूको भावी ब्यवहारमा देखिने परिवर्तनको सूचाङ्क हो।

यसले स्व-नैतिक बन्न र स्वयमको मुल्य बुझ्न सहयोग गर्छ। जसका लागि पाठशाला भन्दा ठूलो सिकाई केन्द्रको आरम्भ बिन्दु घर, समाज र समुदाय एक आदर्शको रुपमा रहन्छन्।
प्रायः अजभोलि नेपाली समुदायको चाहना बालबालिकाको जीवन जिउने ज्ञान सीपभन्दा पनि गणितीय प्रगतीको नम्बरमा केन्द्रीत शिक्षामा बढी ढल्किएको छ।

जसको परिणाम्स्वरुप शिक्षाको उपलब्धिको गणना कक्षाको प्राप्ताङ्कमा ठोकिन जान्छ। जो एकदमै गलत सोचाईको उपज हो। यसका बाछिटा उपल्लो तहको शैक्षिक विज्ञका बुबा आमाको वृद्धाश्रमको बसाई एक सामान्य उदाहरण भइसकेको छ।

हिजोका दिनमा हामीसँग एउटा बलियो धार्मिक आधार थियो जसले हरेकलाई नैतिकताको धरातल भित्र बाँधेको थियो। धर्म र संस्कारले मान्छेलाई कानुनभन्दा पनि उपल्लो तहको स्वयम् भित्रको अन्तर आत्माको नैतिक बन्धनमा बाँध्ने काम गर्छ।

तर विगतका केही दशकमा एकातिर नेपालले आफ्नो पूर्वीय दर्शनका सुन्दर पक्षलाई समेत पुरै बन्देज लगाई क्रान्तिकारी नाराको भरमा तहस-नहस गर्दै बिग्रहको सन्देश बालमस्तिस्क भित्र छिराउन सफल भएको छ। अर्को तर्फ विश्वब्यापिकरण र समाजको एकात्मवादी सोचमा बिलिन हुन पुगेका र आफूलाई प्रगतीवादी भन्न रूचाउने शहरको बालमस्तिस्कले नेपालभन्दा टाढाको किताबको ज्ञानमा बढी विश्वाश राख्न थालेको छ।

यसले यिनीहरूलाई जीन्दगीमा एकल दौडको मैदानमा जिउनुपर्छ भन्ने मान्यता बढी सिकाईरहेको छ।

यसमा एउटा पुरानो कथाको याद आउँछ। जो यहाँ प्रस्तुत गर्नु सान्दर्भिक नै रहला। एउटा आमा आफ्नो अठार वर्षे अपांग छोरालाई चारपांग्रे साईकलमा राखेर घचेट्दै पार्क तिर लैजादै थिईन्।

एक्कासी साइकलको पांग्रामा ढुंगा ठोक्किन गई साईकलबाट उनका छोरा लडेर भीरमा खस्छन्। उनी छोरालाई एक्लै बोक्न असमर्थ छिन्। उनले सहयोगका लागि बाटोमा हिँड्ने कैयौं गाडीलाई हात दिईन् र रोक्न खोजिन्। तर, कसैबाट उनले साहयता पाउन सकिनन्।

धेरै कोशिशका बाबजुत केही नचले पछि उनले हातमा ठूलो ईँट उठाईन् र आउँदै गरेको सबै भन्दा महंगो मर्सिडीज गाडीको सीसामा ताकेर हिर्काइन्। गाडीको सिसा फुट्यो। गाडीवालाले साईडमा गाडी रोक्दै रिसले चुर हुँदै ती महिला तिर अघि बढे। उनले महिलालाई पिट्न हात उठाउँदै तिमीले मेरो यती महंगो गाडीलाई किन हानी पुर्यायौं भनि प्रश्न गर्दा महिलाले जवाफ दिइन्, ‘मेरा छोरा साईकलबाट लडेर तल भीरमा मर्नु न बाँच्नुको दोसाँधमा छन्। मैले कैयौलाई सहयोगको लागि हात उठाए कसैले रोकेन र यो अन्तिम अस्त्र प्रयोगमा ल्याएको हुँ। कृपा गरी पहिले मेरो छोरालाई सहयोग गरी दिनुहोस् त्यसपछि मलाई जे गरे पनि हुन्छ भने।’

रिसाएको त्यो मान्छेको रिस एकै छिनमा हरायो र उसले नि-सर्त सहयोग गर्यो।

हो हामी भौतिकवादी दुनियाँमा दौडिरहेका छौं। केवल ब्यक्तिगत स्वार्थ र निहित लाभको खोजीमा तर स्मरण रहोस् तपाईं हामीलाई पनि एक दिन ईँट बजार्ने छ। त्यो ईंट अहिले वृद्धाश्रमसम्म पुगेको छ। तर, छिटै अरु क्षेत्रमा पुग्नेछ।

हामीले अंगालेको पूर्वीय दर्शन शास्त्रले अहिलेसम्म केही मात्रामा भए पनि हामीलाई स्व-नियममा बाँधेको छ। तर, यस किसिमको अमूल्य ज्ञानलाई फैलाउनुको सट्टा केही निजी रानीतिक स्वार्थ पूरा गर्न नियन्त्रण गरिँदा संस्कागत आचरणलाई ब्यवहारमा उपयोग गरेनौं भने त्यो अंकको खेलमा पाएको सर्टीफिकेटको के काम? तालिम र लाईसेन्सको सर्टीफिकेटको के काम? प्रश्नवाचक चिन्ह धेरै छन्। तर, यसको समाधान भनेको एक मात्र हाम्रो पहिचानसँग जोडिएको पक्ष दर्शन र आदर्श मूल्य नै हुन्। जसलाई न त महाविद्यालयमा सिकाईन्छ नत कुनै तालिममा। यो हामीले घर र समाजबाट हरेक दिन नजानिँदो किसिमले।

पाश्चात्य मनोविज्ञानले पनि बालबालिकालाई भोलिको सक्षम मानव बनाउनका लागि मुख्यतया तीन पक्षलाई उठान गरेको छ। प्रथम पक्ष भनेको शारीरिक सुस्वस्थता अथवा स्वस्थ शरीर भित्र नै स्वास्थ मनस्थिति रहन्छ भन्ने हो।

दोस्रो पक्ष बौद्धिक विकास र यसका लागि गरिने प्रयासहरु र तेस्रो महत्वपूर्ण पक्ष सामाजिक तथा संवेदनात्मक पक्ष हो। यी तीन वटै पक्ष मध्येको तेस्रो पक्षको सम्बन्ध म को हुँ, मेरो संस्कृति, मेरो पहिचान, मैले र मेरो धर्मले समाजलाई हेर्ने नजर, मानवतावाद, आत्मनियन्त्रण, मित्रता, अरुको भलाई, सहयोग र सहायता आदिसँग सम्बन्ध राख्छ। साथै तीन वटै पक्षको संयोजनबाट मात्र एक बालकले सवल र सकरात्मक जीवनको गतीमा आफूलाई अगाडि बढाउन सक्छ।

वैज्ञानिकरणका नाममा नेपालले बालविकासको तेस्रो पक्षसँग जोडिएको नातालाई टुटाउँदै लुलो बनाई पहिलो र दोस्रो पक्षमा मात्र बढी केन्द्रित गरेको देखिन्छ। यस प्रसंगलाई यहाँ एउटा सानो उदाहरणको रूपमा 'ध्यान' बारे चर्चा गर्न मन लाग्यो जो हाम्रो तेस्रो पक्षसंग सम्वन्धित छ। हामीले बालबालिकालाई पढ्दा होस या कुनै काम गर्दा ध्यान दिएर पढ वा ध्यान दिएर काम वा जुनसुकै कुरामा ध्यानको कुरालाई हामी अगाडि सार्छौ। यो ध्यानको हाम्रो पूर्वीय दर्शनको प्रमुख दैनिक जीवनको प्रक्रिया हो।

जो हरेक क्षण सवैलाई काम लाग्छ। तर, हामीले ध्यान र आध्यात्मिक ज्ञानलाई पुरै निस्तेज लगाउने प्रयास गर्यौ। साथै ध्यानलाई कसरी गर्ने भन्ने नै सिकायौ नत सिक्यौ मात्र बोलीचालीको शब्द बनायौ। यी र यस्तै पूर्वीय दर्शनका वैज्ञानीक अधारहरु तयार गर्ने र वैदिक ज्ञानहरु फैलाएको भए हाम्रो समाज पनि धेरै पर पुगिसक्थ्यो। तर, हामीले हाम्रा दर्शनका नराम्रा पाटाहरुमात्र कोट्याए हिड्यौ। आफ्नै संस्कारलाई कुसंस्कार भनि प्रचार गर्यौ। बेदबेदाङ्ग पोल्यौ र पढाउने गुरुलाई जीउदै झुण्यायौ। कैयौ विद्यालय बन्द गर्यौ। नपुगेर गुठी र यसले हालसम्म बचाईरहेको परम्परा समेत नास्दैछौ।

कुनै पनि दर्शन अपवाद र केही पुरातनवादी सोचका छिटाबाट एकै पटक बिकसित हुँदैन। समाजको शिक्षाको जगले त्यसका विकृति क्रमस हटाउँदै लैजाने हो र राम्रा पक्ष हस्तान्तरण गर्नुपर्नेमा हामीले केही न केहीलाई सबैलाई जरैदेखि उखेल्ने प्रयास गर्यौ र गर्दैछौ। जसको परिणामस्वरुप हामीले हाम्रा दर्शनका धेरै राम्रा कुरा छोड्दैछौ। तर, तिनै पक्षहरु पाश्चात्य देशमा पढाईदै र सिकिदै छ।
जसबाट भावी पीढिमा डरलाग्दो कुसंस्कृतिको जन्म हुने संकेत देखा पर्न थालेका छन्। जसको नतिजा भोलिका दिनमा आफ्नै बच्चासमेत कसको हो, भनि डिएनए परीक्षण गरि जिम्मा लिने पाश्चात्य समाजका छिटाहरु छिटै नेपाली समाजमा भित्रने छन्।

यो त मात्र एक उदाहरण हो। यदि हामीले हाम्रो संस्कारको पालना र यसको नियममा बाँधिएनौ भने भोलि अरु धेरै डरलाग्दा बिकृतिहरु समाज भित्र छिर्नेछन्। यसैले मात्र एक अनुरोध दार्शनिक ज्ञानले अंगुलीमाल जस्ता हत्यारालाई बुद्धभक्त बनाउन सक्ने हाम्रो दर्शनलाई कम आंकलन नगरौं।

प्रकाशित मिति: : 2019-07-17 14:54:45

प्रतिकृया दिनुहोस्