समाचार र अनलाइनको दुनियाँमा हिजो आज मानिसहरु कि, अपराधका समाचार बढी पढ्छन् कि त यौनसँग जोडिएका समाचारको खोजी बढी हुन्छ।
यौनसँग जोडिएका विषयले पाठकको ध्यान तान्छ र समाचार धेरैले पढ्छन् भनेर पनि होला यौन हिंसा र दुर्व्यवहारको समाचारमा महिलालाई मुख्य पात्र बनाईन्छ। तर, यसमा दुर्व्र्यवहार गर्ने पुरुषको बारेमा कहिल्यै कुनै कुरा बाहिर ल्याईदैन।
यौन धन्दामा महिला, राजधानीमा खुलेआम यौन व्यापार, यौन कार्यमा संलग्न महिला गेष्ट हाउसबाटै पक्राउलगायतका शीर्षकमा समाचारहरू बढी आउँछन्। जसमा पनि आवरण तस्बिरमा महिलाको अश्लिल फोटो राखेर दर्शक पाठकको ध्यान तान्ने कोशिश गरिन्छ।
तर अहँ! ती समाचारमा त्यो यौन कार्यमा कस्ता पुरुष समावेश हुन्छन्। ती पुरूषले कलिला, किशोरी अनि महिलालाई कसरी फकाउँछन् भन्ने समाचार एकदमै कम मात्रामा बाहिरिन्छ।
‘विशेष गरी भूकम्प पछिको समयमा राजधानीका सडकमा साना नानी तथा किशोरीहरू यौन कार्यका लागि सडकमा भेटिन्छन्’ भन्ने सुनेपछि मलाई सडकमा आएर ती साना बालिका र किशोरीसँग मोलमोलाई गर्ने पुरूषका बारेमा जानकारी लिन मन लाग्यो।
त्यसपछि हामी केही साथी मिलेर सडकमा गएर बस्ने र आफूसँग कोही पुरूषले यौनकर्मी भन्ने सोचेर आएमा थाहा नदिएर कुरा गर्ने निधो गर्यौं।
यसरी सडकमा उभिँदा मलाई यौनकर्मी सम्झेर आउने पुरूषसँगको कुराकानी जस्ताको त्यस्तै उतार्दैछु।
दृश्य १:
कंलकीबाट स्वयम्भु जाने सडक छेउमा ५ मिनेट उभिने वित्तिकै एक पुरूष छेउमै आए र सोधे।
पुरुषः कति बज्यो?
मः १ बज्न लाग्यो।
पुरूषः साथीलाई कुरेको आउँदै आएन, तपाईं नि साथीलाई कुरेको हो?
मः हो।
पुरूषः अनि घर कता नि?
म: यतै हो।
पुरूषः गेष्टहाउस जाउ न त?
मः कति दिने?
पुरूषःअरू बेला कति लिने गरिछौ?
म: तीन हजार।
पुरूषः ओहो! म त सधैं १ हजारमा लैजान्छु यही आएर।
मः खोई मेरो त रेट यति नै हो। त्यति नि तिर्न नसक्ने के काम गर्नुहुन्छ र?
पुरूषः हेर म बिग्रिएको मान्छे होइन। चापागाँउको जनभावना स्कुलमा पढेको हो, अहिले दलचोकीको क्याम्पसमा पढाउँछु।
मः अनि यस्तो पढेलेखेको मानिस किन सडक सडकमा केटी खोज्न आउनुभाको त?
पुरूषः हेर, मेरो श्रीमति एनजिओमा काम गर्छे, ऊ सधै व्यस्त। कहिले कता जान्छे, कहिले कता, म केटा मान्छे उही त हो नि मनले मान्दैन। त्यही भएर यसो कहिले काँही यतातिर आउँछु।
मः एक दुई दिन श्रीमति व्यस्त हुँदा केटी चाहिने है?
पुरूषः के गर्ने त सडकमा साना कलिला केटीहरू पाईन्छ। म त १०-१२ वर्षकासँग मात्र जान्थेँ। तिमी उमेर बढी भए पनि अलि स्मार्ट नै लाग्यो त्यही भएर मात्र हो।
मः ए त्यति साना नानी पाको पाई हो गफ नदिनू।
पुरूषः हेर यो कंलकीको गेष्ट हाउस तिर गयो भने साहुले नै उमेर छानीछानी केटी मिलाईदिन्छ। तर, गेष्ट हाउसमा गएपछि कोठाको पैसा तिर्यो, वियर पनि महङ्गो पर्छ। बरू तिम्रो कोठामा जाउँ म १ घण्टा मात्र बस्छु र १ हजार दिन्छु।
म: हैन मेरो रेट नै ३ हजार हो, म जान्नँ।
यति कुरा गरेर म त्यो ग्राहकबाट अलि पर गएर अर्को कुनामा बसेँ।
दृश्य २:
एक जना भरीया, खुट्टामा छिनेको चप्पललाई कपडाले बाँधेर लगाएको। थोत्रो च्यातिएको कपडा छेउमा आउँदा जिउ पुरै गन्हाउने।
एक तमासले उभिएको देखेपछि उसले सिधै भन्यो जाने हो?
मेरो जवाफ कति दिने?
भरीयाः ५०० दिन्छु।
मः छ्या त्यति पैसामा पनि जान्छ कोही?
भरीया: जो पनि जान्छ । म गेष्टहाउसमा लगेर रक्सी खाने पैसा आफैंले खर्च गर्छु नि। गेष्ट हाउसको पनि तिर्नुपर्यो।
मः नाई म ५०० मा जान्नँ, अरू खोज्नु।
भरीयाः मेरो घर पूर्व हो, घरमा जहान छोराछोरी छन् तिनलाई पनि कमाएर पठाउनुपर्छ कुरा बुझ न।
भरीयाः मुख छाड्दैऽऽऽऽ नगए के, छानि छानि कलिला केटी पाउँछु। होटलमा गए तिनले मिलाईदिन्छन्।
मः हुन्न, मेरो रेट त्यति नै हो म जान्नँ भन्दै फेरि त्यहाँबाट अलि पर गएँ।
दृश्य नं ३:
एकछिन पछि भर्खरको एक युवक मेरो छेवैमा आएर सोध्यो- कति बज्यो?
मः ३ बज्यो।
युवकः साथीलाई कुरेको आएन, तपाईं पनि हो?
मः हो।
उसले कुरा विस्तारै अगाडि बढायो।
युवकः म सितापाईलामा ईन्जिनियरिङ कलेजबाट भर्खर पढाई सकेको। लोकसेवाको जाँच दिन पोखरा हिँडेको नाईटबाट जाने हो।
मः ए ए.. सानै उमेरमा ईन्जिनियरीङ गर्नुभएछ।
युवकः म २० वर्षको भएँ।
मः तपाईको घर नि?
युवकः सर्लाही। अहिले बबरमहलमा बस्छु।
मः ए ए।
युवकः तिमी अरू बेला पनि यता आको थियौ? मैले त पहिलो पटक देखेँ।
मः छैन फस्टटाईम हो।
युवकः ए ए। म पनि रत्नपार्क तिरबाटै केटिहरु लान्थेँ। साथीले यता कलिला केटी पाईन्छ भनेकोले आज यसो रमाईलो गरौं अनि पोखरा जाउ भनेर आ’को।
मः म त कलिलि छैन नि।
युवकः तिमि स्मार्ट छौ नि त। मसँग समय नि छैन अब कता कलिलि कुरेर बस्नू। गेष्टहाउसको एजेन्टलाई फोन गरे त मिलाईदिन्थे। तर, आज मसँग समय छैन।
गेष्ट हाउसमा पैसा तिर्नुभन्दा हिँड मेरो कोठामै जाउँ। म तिमीलाई १ हजार रूपैयाँ दिन्छु।
मः छया त्यति मा नि कोही जान्छ, जान्न म त।
युवकः ड्याडी ममिले पढ्नलाई पठा’को खर्चबाट तिमीलाई दिनुपर्छ बुझ न यार।
मः पढ्न आ’को मान्छे सडकमा केटी खोज्दै हिड्ने हो त?, नाई म त त्यतिमा जान्नँ भन्दै हिडेँ।
युवकः रिसाएझै गरी तिम्रो नम्बर देउ। म पैसा हुँदा तिमीलाई फोन गर्छु, भनेर मसँग रिसाउँदै टाढियो।
चापागाउँमा पढाउँछु भन्ने पुरूषले आफ्नो नम्बर मलाई दिएको थियो भने ईन्जियिरीङ पढ्ने भन्ने युवकलाई मैले आफूले प्रयोग नगर्ने नम्बर दिएकी थिएँ।
मैले त्यो सिम केही समय प्रयोगमै राखेँ। त्यो युवकले मलाई पटक पटक सम्पर्क गर्यो।
चापागाउँको पुरूष र नाम र नम्बर अनुसार बुझ्दा ऊ कलेज पढाउने भने पनि चापागाउँको दलचोकि भन्ने ठाउँकै स्कुलमा पढाउने रै’छ। त्यो युवा जो आफुलाई ईन्जिनियर बताएको थियो। ऊ साच्चैनै ईन्जिनियर थियो।
केही समय रामेछापको सडक विभागमासमेत काम गरेको रहेछ।
उसले पटक पटक फोन गरेर दुःख दिएपछि मैले आफ्नो वास्तविकता बताएँ। म पत्रकार भन्ने पनि उसले थाहा पायो। अहिले पनि मसँग उनीहरू दुबैजनाको फोन नम्बर सुरक्षित छ।
काठमाडौंका सडकमा यसरी पढेलेखेका शिक्षित पुरूषदेखि भरीयासम्म यौन कार्यको लागि दिनभरी सडकपेटी ढुकेर बस्छन्। आफूले भनेको पैसामा सकेसम्म कम उमेरका बालिका र नपाए किशोरीलाई छेउछाउकै गेष्टहाउसमा लैजाने गर्छन्।
गरिबी, अशिक्षा र अभावका कारण कामको खोजीमा राजधानी पसेका कलिला बालिका तथा किशोरीलाई विभिन्न प्रलोभनमा पारी यौन कार्यको लागि बाध्य बनाउने पुरूष तिनै वालबालिकालाई पढाउने शिक्षक अनि अनि ईन्जिनियरिङ जस्तो पेशा अंगालेका विद्यार्थी पनि हुनेरहेछन्।
नेपालमा यौन व्यवसायलाई कानुनले निषेध गरेको छ र नेपालको संविधानले १८ वर्ष मुनिका बालिकालाई उसको सहमतिमै यौन सम्पर्क राखे पनि त्यसलाई जवरजस्ती करणीमा राखेको छ। यस्तो कार्य गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार जरीवानाको व्यवस्था गरेको छ।
तर, आफूलाई प्रोफेसर, ईन्जिनियर, बताउने यी पुरूषले सडक सडकमा बसेर खुलेआम आफ्नो सही परिचय दिएर यौनकर्मी खोजेको देख्दा यो समाजले महिलालाई नङ्ग्याउने र पुरूषलाई संरक्षण गर्ने परीपाटीले गर्दा पनि यो प्रवृत्ति मौलाएको देखिन्छ।
अन्यथा शिक्षण पेशामा लागेका ती पुरूष र ईन्जिनियर त्यो युवाले कम्तिमा आफ्नो परीचय लुकाएर लुकिछिपि यौनकर्मी खोज्थे होलान्।
नागरिकको सुरक्षा र कानुनको पालना गर्न बसेका प्रहरीसँगकै सेटिङमा स्थानीय गेष्टहाउसमा खुलेआम यौन कार्य गरिन्छ र सडकमा आएका गेष्टहाउसका एजेन्टले डराउनुपर्दैन। फलानो सांसद वा मन्त्रीको गेष्ट हाउस हो, भन्दै सडकमा आउने ग्राहकलाई ढुक्क बनाउँदै बालिका र किशोरी मिलाईदिने गरेको देख्दा यो देश साच्चै कानुनद्धारा सञ्चालित छ या केही नेता र मन्त्रीको सेटिङमा चलेको छ भनेर प्रश्न गर्न मन लाग्छ।