जुलाई ४- अमेरिकाको स्वतन्त्रता दिवश । सन् १७७६ को यही दिन अमेरिका बेलायती उपनिवेशबाट मुक्त भएको थियो । त्यही खुशीमा अमेरिकाले हरेक वर्ष यस दिनलाई हर्षबढाइका साथ राष्ट्रिय दिवशका रूपमा मनाउदै आएको छ ।
यस वर्ष जुलाई ४ विहीबार पेरकाले आइतबारसम्म चार दिन लामाो सार्वजनिक विदा छ । अमेरिकामा सरकारी, ठूला सार्वजनिक तथा कर्पोरेट कार्यालयमा काम गर्नेका लागि यतिको लामो विदा विरलै हुने गर्छ ।
हुन त अमेरिकाका रहेका अधिकांश नेपालीका लागि यो विदाले खासै महत्व राख्दैन । अझै पनि पाँच दिन ४० घण्टा काम गर्ने खालको काममा नेपालीको पहुँच कम भएकाले यस्तो हुने हो । तर, नेपाली जाति त्यस्तो नभए पनि 'विक डेज' र 'विक एन्ड्स'को हिसाब किताब भने त्यसरी नै राख्ने जाति हो ।
त्यसैको परिणाम होे- अमेरिकाको ठूलो नेपाली डायस्पोरा भएका सहरमा शनिबार र आइतबार आयोजना हुने बाक्ला कार्यक्रमहरू । नेताको स्वागत, सत्कार, भेटघाट र अन्तरक्रिया मात्र हैन, गायक-गायिकाका कन्सर्ट, साँझ र डान्स पार्टीसम्मलाई पनि शनिबार र आइतबार नै जुराइन्छ । साहित्यिक जमघटदेखि पास्नी, जन्मदिन, विवाह एनिभर्सरी पनि तानतुन पारेर शनिबार र आइतबार नै पारिन्छन् ।
हरेक वर्षको जुलाई ४ को सप्ताहान्तमा त नेपालीका ठूला कार्यक्रम नै आयोजना हुदैआएका छन् । कुनै समय हरेक वर्ष अमेरिकाका विभिन्न ठूला सहरमा एएनएको सम्मेलन भव्यताका साथ एउटा चाडकै रूपमा आयोजना हुन्थ्यो । नेपालीहरू वार्षिक भेटघाट गर्ने अवसरका रूपमा यसलाई लिन्थे । तर, अहिले त्यस्तो परिस्थिति छैन । एकातिर नेपालीको संख्या बढेसँगै अनेकखाले संघसंस्थाको बाढी आयो र मानिसहरू त्यसैमा रमाउन थाले । एनआरएन छाता संस्थाको रूपमा ल्याउने कोशिस भयो र कुनै समयको छाता संस्था जस्तो एएनए असान्दर्भिक हुदै गयो । त्यसो त एएनएलाई आजको रूप र भूमिकामा ल्याउन संस्थाभित्रको झैझगडा र वैमनश्यले पनि उत्तिकै कारण बन्यो । यद्यपि, अहिले पनि यो अमेरिकी नेपाली डायस्परोाका केही प्रवुद्ध व्यक्तिहरूको थिंक ट्यांकका रूपमा रहेको छ ।
नेपालीका संख्या र संस्था बढे पनि जुलाई ४ को संख्या त बढ्ने कुरा भएन । त्यसैले त्यही एउटा जुलाई ४ को सप्ताहान्तमै नेपालीका धेरै कार्यक्रम जुध्ने सम्भावना रह्यो । यसअघि स्थानीय स्तरमा त्यस्तो भए पनि यसपटक भने राष्ट्रिय स्तरकै दुई ठूला कार्यक्रम जुधेका छन् । एउटा कार्यक्रम अमेरिकाको ठूलो नेपाली डायस्पोरा रहेको पूर्वीतटीय बाल्टिमोरमा आयोजना हुदैछ भने अर्को मध्य अमेरिकाको शिकागोमा । पहिलोलाई नेपाली नेसनल कन्भेन्सन २०१९ भनिएको छ र यो एएनएगायतका चारवटा संस्थाले जुलाई ५ देखि ७ सम्म सह-आयोजना गर्दैछन् भने दोस्रो एनआरएन अमेरिकाले नै आयोजना गर्ने यसको साधारणसभा एनआरएन अमेरिकाको आठौ वार्षिकोत्सव हो । यो जुलाई ६ र ७ मा आयोजना हुदैछ ।
अमेरिकामा रहेका खासगरी अगुवा नेपालीहरू कता जाने ? अहिले दोधारमा देखिएका छन् ।
एकातिर एनआरएन अमेरिका जसलाई अमेरिकामा बस्ने नेपालका छाता संस्था भनिएको छ र नौहजारभन्दा बढी यसका सदस्य छन् । त्यसैको साधारणसभा हुदैछ ।अकोर्तिर अमेरिकाकै पुरानो स्थापित संस्था एएनएनले अन्य चारसंस्थासँग मिलेर नेपाल कन्भेन्सन आयोजना गर्दैछ । यसमा साहित्यकारहरूको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज आइएलएनएस पनि छ, बाल्टिमोरको स्थानीय संस्था बाना पनि छ, अनि क्षेत्रीय संस्था आन्मा पनि छ । अर्कातिर एनआरएन अमेरिका छ । तर, भर्खरै सम्पन्न चुनावमा चरम विवादमा फसेकोले यसका धेरै अगुवाहरूको मन माझिएकै छैन । जित्नहेरूको पदभार ग्रहण र सपथग्रहण समारोह पनि भएकाले हार्नेहरू हारको घाउ बल्झाउन जाने सम्भावना कमै छ ।
यसैबीच यी दुई आयोजनालाई कित्ताकाट गर्न जानेर नजानेर सुरूदेखि नै प्रयत्न गरिएकोले परिस्थिति थप खराब बनाइएको छ । बाल्टिमोरको नेपाली नेसनल कन्भेन्सन २०१९ को मिति पहिले नै तय गरिएको भए पनि एनआरएनले पनि त्यही मितिमा साधारणसभा जुरायो । उसले एनआरएनसँग कुनै साइनो नै नभएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारलाई प्रमुख अतिथि बनायो । एनआरएन अमेरिकाको वर्तमान र भावी नेतृत्वमा कांग्रेस नै रहेकाले यस साधारणसभालाई कांग्रसी रङ दिन सकेसम्मको प्रयत्न गरिए जस्तो देखिन्छ । आयोजकहरू नियोजित रूपमै अन्य विचार खासगरी वामपन्थी विचार बोक्नेलाई एनआरएन अमेरिकाका अरू सिमान्तकृत बनाउन लागेका हुन् कि भन्ने आशंका गर्ने ठाउँ देखिन्छ ।
यसरी एनआरएनले कार्यक्रमको मिति पनि जुधाएर अलि बढी नै कांग्रेसी रङ दिने प्रयत्न गरेपछि नेपाली नेशनल कन्भेन्सन २०१९ का आयोजकहरू पनि अर्को किनारतिर अडेस लाग्न पुगेको हो कि जस्तो देखिएको छ । त्यही क्रममा उनीहरूले पनि प्रदेश नम्बर १ का वामपन्थी मुख्यमन्त्री शेरधन राईलाई प्रमुख अतिथिका रूपमा निम्तो दिएका छन् । प्रधानमन्त्री के पी शर्मा ओलीको शुभकामना पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । अमेरिकामा रहेका कांग्रेस इतर विचार राख्नेहरू यता भेला हुने हो कि जस्तो देखिएको छ । कार्यक्रमको तालिका हेर्दा पनि यतैतिरका कार्यक्रमले धेरैलाई आकर्षित गर्नेजस्तो देखिएको छ ।
यस्तो स्थितिमा यी दुई कार्यक्रम सिधा कित्ताकाटको अवस्थामा उभिएका छन् । हुँदाहुँदा यस्तो परिस्थिति सिर्जना भएको छ कि कांग्रेस विचार बोक्ने शिकागो जाने अन्य बाल्टिमोर जाने । यस्तो अवस्थामा बाल्टिमोरका कांग्रेसीजन र शिकागोका वामपन्थीजन कता जाने ? आफ्नै आगनमा आयोजित कार्यक्रम छोडेर अर्कोतिर जान पनि अप्ठ्यारो, अर्को स्थानमा चाँहि आफ्नो वैचारिक सहगोत्रीय कार्यक्रम आयोजना भरहेकोले नजाँदा पनि अप्ठ्यारो । अझ शिकागोकै नेपाली डायस्पोरा संलग्न आन्मा नै बाल्टिमोरमा आयोजित नेपाली नेशनल कन्भेन्सन २०१९ को सह-आयोजक छ ।
यसरी जुध्न पुगेका दुई आयोजनामध्ये बाल्टिमोरको नेपाली नेशनल कन्भेन्सन २०१९ लाई अलि सहज छ, उसलाई कोरम पुर्याउनु पर्दैन । तर, उता शिकागोमा आयोजना हुने एनआरएन अमेरिकाको साधारणसभालाई त कोरम पनि पुर्याउनु पर्छ । पछिल्लो स्थिति हेर्दा शिकागोको एनआरएन अमेरिकाको साधारणसभाको कोरम नपुग्ने सम्भावना उकालो लागेको छ । कोरम नपुगेर बलजफ्ती गरेर साधारणसभा आयोजना गरेको अवस्थामा के हुन्छ ?, यो आफैंमा अर्को एक गम्भीर प्रश्न हो । कोरम नपुग्ने निश्चित जस्तै देखिएको अवस्थामा कोरम पुगेको भनेर साधारणसभा सम्पन्न गरे टेनेसी जाउँला भनेर केही मानिस अहिले नै तयार रहेको जस्तो देखिन्छ ।
परिस्थितिले फेरि एकपटक एनआरएन अमेरिका सामु अर्को खड्को आउने सम्भावना बढ्दो छ । दुई पक्षबीच बढ्दै गएको जुङाको लडाइँले कथाको माग नै यही हो कि जस्तो देखिदैछ ।
यो पंक्तिकार भने भेटघाट बाहेक यी दुबै भेलाको ठूलो अर्थ देख्दैन । यहाँ जे नाम दिएर कार्यक्रम आयोजना गरे पनि प्रकारान्तरमा यिनीहरू फेसबुकका लागि फोटो इभेन्ट मात्र हुन् । फोटो खिच्नका लागि केही लुगाफाटा र गरगहनाको सपिङ हुन्छ । त्योभन्दा बढी त यी मात्र जम्बोरी हुन् । कसरी ? यसबारेमा तर्क हैन, तथ्य नै प्रस्तु गर्न सकिन्छ । आवश्यक परेको बेला त्यो पनि गरौला नै ।
अहिललेलाई भने दुबै 'जम्बोरी' सफल हुन् । जुलाई ४ को सबैलाई शुभकामना ।
(यो लेखकको निजी विचार हो । यसले ब्रेक एन लिंक्सको सम्पादकीय नीति प्रतिविम्वित गर्दैन । : प्रधान सम्पादक )