साँझको साढे सात बजिसकेको थियो। कलेज छुटेर घर जानुपर्ने समस्या गाडीकै हुन्छ।
सधैझैं पढाई सकेर घर फर्कने माईक्रो चढ्न भृकुटीमण्डपमा गएँ।
साँझको समय भएर होला कुनै पनि माइक्रोमा सिट खाली थिएन। खुट्टा राख्ने ठाँउ नभए पनि घर त जानै पर्यो। रात झमक्क भइसकेको थियो। त्यसैले उभिएरै जानुपर्यो भनेर लगनखेल जाने माईक्रो चढेँ।
ओहो कति भीड! शरीर त जेनतेन अड्याए टाउको राख्ने ठाँउ भएन। कुप्रो परेर शरीर जेनतेन अडाए।
माईक्रो हिँडेको केहि बेरपछि पछाडिबाट कसैले असजिलो पाराले बिस्तारै शरीरमा छोएजस्तो लाग्यो।
भीड भएर होकि, भनेर चुप बसेँ। तर त्यो पछाडिको हात विस्तारै मेरो कुममुनिबाट अगाडि तर सर्यो। जिउ नै सिरिङ्ग भयो।
‘यो हात हटाउनुस्’, मैले तुरून्तै प्रतिकार गरेँ। पछाडि फर्केर हेर्न मिल्ने अवस्थै थिएन। हात विस्तारै हट्यो।
फेरि एकछिनमा कसैले मरो शरीरमा आफ्नो शरीर टाँस्दै आएको भान भयो। कोही पुरूषको गोप्य अंगले मलाई गलत मनसायले छोईरहेको थियो।
म कराएँ- ‘के गरेको? सभ्य भएर बस्न आउँदैन?’
‘कसैसँग छोईन नहुने मान्छे त आफ्नै गाडी चढेर हिँड्नुपर्छ दिदी’, खसासी बिचमै प्वाक्क बोल्यो।
त्यसपछि गाडीमा भएका पुरूषहरू बोल्न थाले, ‘हो त नि कार चढेर हिँड्नु नि,’ सबै गललल.. हाँस्न थाले।
त्यतिबेला म सबैको हाँसोको पात्र बनिए।
मेरा खुट्टाहरू लगलग काप्न थाले। के गरौं र कसो गरौं भए। जावलाखेलसम्म जानुपर्ने म माईतिघरमै झरेँ। र हिँडेरै जावलाखेल पुगेँ।
कहिलेकाही गाडीको सिटमै बसेर आउँदा पनि विभिन्न किसिमका लोग्ने मानिसहरू भेटिन्छन्।
कसैले खुट्टाले कोट्याउने कसैले चिमोट्ने त कसैले गोप्य अङ्गतर्फ हात लैजाने चरित्र बोकेका पुरूषको हिंशा दिनहुँजस्तै खेप्नुपर्छ।
काठमाडौं उपत्यकाभित्र व्यस्त सडकमा गुड्ने बस तथा माइक्रो बसहरुमा गुन्द्रुक खाँदेजस्तै यात्रु कोचिनु अनौठो कुरा होइन। अध्ययन तथा अवसरको खोजीमा तताततैबाट मान्छे ओइरिनु, जनसंख्या बढ्नु, अव्यवस्थित सवारी साधनको उचित व्यवस्थापन नहुनु एवं सडकको क्षमताभन्दा धेरै गाडी हुनुजस्ता कारणले यात्रुहरुले सधै दुःख पाउनुपरेको छ।
यस्तो असुरक्षाका कतिपय परिणाम चोरी तथा ठगीका रूपमा बाहिर आएर पनि केही विषय भने गुम्सिएर हराउँछन्। पीडितहरू मनमनै पीडा पालेर यात्रामा निस्कन्छन्।
एक दिन कलेजको साथीहरू बसेर कफी खाँदै थियौं।
एक्कासी मेरो मनमा माइक्रोको कुरा याद आयो। मैले भने,‘ओई तिमिहरूलाई सार्वजनिक बसको यात्रा कस्तो लाग्छ हँ?’
कमलाले सुरू गरिहाली- म कलंकी बस्छु, त्यहाँ जाने बस प्राय भीड हुन्छ। बल्ल बल्ल चढ्यो। पछाडिबाट धेकेल्ने र हात घुसार्नेले घर पुग्दासम्म मानसिक रूपमा विक्षिप्त बनाउँछन्। बस चढ्ने बित्तिकै मुटु ढुकढुक हुने, चिटचिटाहट हुने। हात खुट्टा गले जस्तो हुन्छ।
घर गएर अस्ती त आत्तिएर डाक्टरकै गएँ। डाक्टरले मानसिक डरले तपाईँलाई त्यस्तो भाको भन्यो। न त कलेजदेखि हिँडेर घर पुग्न सकिन्छ, के गर्ने होला यार।’
रेविकाले थपि- ‘यस्तो त मलाई नि धेरै जसो खेप्नुपर्छ। बालाजु जाने माईक्रो पाउनै गाह्रो। पायो भने कोचाकोच। साच्चै भन्ने हो भने गाडी चढ्ने भन्ने वित्तिकै म समेत कमजोर भएको जस्तो फिल गर्छु। कति पुरुषले त पछाडिबाट महिलाको शारीरमा टासिएर स्खलन गरेकोसमेत देखेकि छु,’ उसले लजाउँदै भनि।
‘सरकारले आफ्नो सिट क्षमताभन्दा बढीलाई गाडीमा नचढाए त हामी सुरक्षित घर पुग्न सक्थ्यौ नि है? उसले थपी।
यस्तो घटनालाई प्रतिकार गरौं। उल्टै बेवकुफ बनाउँछन् कतै गएर उजुरी गरे कसको नाममा के उजूरि गर्ने?
समाजशास्त्र विषयमा स्नातकोत्तर गर्दै गरेको विद्यार्थी हामी महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र यसको विरूद्धमा बनेका कानुनको विषयमा जानकार छौं। तर पनि हामीमाथि दिनहुँ हुने सार्वजनिक यातायातको मानसिकताले विक्षिप्त पार्ने यस्ता प्रकारका हिंसाबारे काहाँ गएर को बिरूद्ध उजूरि गर्ने?
हामी माथि भएको शारीरिक र मानसिक हिंसाको मापन कसरी गर्न सकिन्छ? र दोषिलाई कस्तो कारबाही हुन्छ?
सार्वजनिक यातायातभित्र महिलाले खेप्नुपरिरहेको पीडा परिरहेको पीडा पनि यस्तै प्रकारको महिलाहिंसाका रूप हो जसतर्फ धेरैको ध्यान गएको देखिँदैन। महिला हिंसाविरुद्धको वर्ष मनाइरहँदा आफ्नै आँखाअघि हुने यस्ता हिंसातर्फ सम्बन्धित पक्षले वास्ता गरेन भने हिसाविरुद्धको वर्षको लक्षित उपलब्धि हात नपर्ने मात्र होइन सार्वजनिक यातायात महिला हिंसाका अखडा बन्नेछन्। त्यसकारण महिलामाथि हुने हिंसा निर्मूल पार्न सार्वजनिक यातायातलाई महिलामैत्री बनाइनुपर्छ।
अहिले सार्वजनिक यातायातमा महिलामाथि हुने यौनजन्य हिंसा निकै बढेको देखिन्छ। यसरी बढ्नुमा सवारी चालक र सह चालकहरूको हेलचेक्याइ, हेपाहा र पाए आफैंले हिंसा गर्ने प्रवृत्ति साथै सगैं बसको यात्रा गर्ने यात्रुहरूको मौनताको कारण पनि सार्वजनिक यातायातमा महिला माथि यौनजन्य हिंसा भएको या हुने गरेको देखिन्छ ।
बसमा सामान्य प्रतिवाद गर्ने, प्रहरीलाई १०० नम्वरमा डायल गर्ने, या बस रोक्न लगाउने र चालक सह चालकलाई कारबाहीको दायरामा ल्याउने अभियान शुरु नगरे देखि आउने दिनहरूमा यो भन्दा निकृष्ट प्रकृतिको हिंसा हुन सक्ने खतरा बढ्दै छन कि जस्तो अनुमान लगाउन सकिन्छ।
यो र यस्ता अपराधीक क्रियाकलापमा सम्लग्न अपराधीहरूलाई तुरुन्तै कानुनी दायरामा ल्याउन र कार्वाही गर्न सरोकारवालाले ध्यान पुर्याओस्।