प्राकृतिक रूपमा सुन्दर नगर पनौती सांस्कृतिक एवम् पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण छ। यहाँका पुरातात्विक, सांस्कृतिक सम्पदा हाम्रा अमूल्य नीधि हुन्।
यसै संस्कृति, धर्मसँग सम्बन्धित विभिन्न जात्रा, पर्वहरू पनि पनौती नगरको अर्को परिचय बनेको छ। पनौती जात्रा, बाह्रवर्षे मकरमेलालगायतले आफ्नो ख्यातीलाई निकै फराकिलो पारिसकेको अवस्था छ। त्यसो त यहाँ वर्षभरिमा सयौ जात्राहरू मनाइँदै आएको छ। तीमध्ये यहाँ मनाईने पनौती जात्राका बारेमा छोटो चर्चा गरिएको छ।
पनौतीको जात्रा तीन दिन जेष्ठ त्रयोदशी, चतुर्दशी र पूर्णिमासम्म चल्दछ। त्रयोदशीको दिनलाई डुइ“चा ङायकेगु भनिन्छ। स्थानीय समुदायमा त्रयोदशीको दिनलाई कुलक्या पनि भन्ने गरिन्छ। चतुर्दशीको दिनलाई मुः जात्रा भन्छन्।
यो दिन बिहानैदेखि ब्रम्हायणीको मन्दिरमा सर्वसाधारणको भीड लाग्छ। यो दिन सर्वसाधारण आफ्नो गच्छेअनुसार श्रद्धापूर्वक ब्रम्हायणीमन्दिरमा गई पूजा गर्ने, बलि दिने गर्दछन्। तेस्रो दिन इन्द्रश्वर महादेब, उन्मत्त भैरव र भद्रकालीको रथ एक आपसमा जुधाएर भब्य जात्रा गरिन्छ। यो रथ जुधाएर गरिने जात्रालाई कसैले हिले जात्रा, कसैले घुम जात्रा, कसैले ज्यापुन्हि जात्रा भन्ने गर्दछन्।
जेष्ठ पूर्णिमाको दिन टाढाटाढाबाट जात्रा हेर्न आउने मानिसहरूको ठूलो भीड लाग्छ। पनौतीको लायकु डबलीमा इन्द्रेश्वरमहादेव, भद्रकाली र उन्मत्तभैरवका रथहरू एक–आपसमा जुधाई जात्रा गरिन्छ। सबैभन्दा पहिले पूर्णिमाको बिहान ब्रम्हायणीमन्दिरमा जोर बोकाको बलि दिइन्छ। बलि दिएपछि ब्रम्हायणी र भद्रकालीलाई मन्दिरबाहिर ल्याई उत्तरतर्फको पाटीमा राखिन्छ। त्यसपछि पालो पर्ने दुई जना पूजारीले आ–आफ्ना घरबाट पूजासामग्री ल्याई पूजा गरेर हाँसको बली दिइन्छ। हाँसको बलिसहित पूजा सम्पन्न भएपछि पालो पर्ने पुजारीमध्येबाट द्वारेलाई खड्ग दिइन्छ।
त्यसपछि मन्दिरको पारिपट्टि रहेको ब्रम्हायणीको रथमा राखी ब्रम्हायणीलाई बाजागाजासहित नगरपरिक्रमा गराइन्छ र लायकु (डबली) मा रहेको पुलिसपाटीमा लगी पश्चिम दिशातर्फ फर्काएर ब्रम्हायणीलाई राखिन्छ। त्यहा“बाट द्वारे, पुजारी (पञ्चपमा) र सर्वसाधारणहरू बाजागाजासहित इन्द्रेश्वरमन्दिरमा पुग्छन्।
इन्द्रेश्वरमन्दिरको पूजाआजा र दर्शनपछि इन्द्रेश्वरमहादेवको चतुर्मुखी सुवर्ण खोल मन्दिरका पुजारीले बोकी मन्दिर बाहिर निकाल्ने गर्दछन्। त्यसपछि इन्द्रेश्वर प्राङ्गणको दक्षिणी ढोका हुँदै महादेवको रथमा लगी चतुर्मुखी महादेवलाई राखिन्छ।
त्यसपछि इन्द्रेश्वर चोक (हाता) नजिकै रहेका तीनवटा क्रमश महादेव, भैरव, भद्रकालीका रथहरू बाजागाजासहित रोसीखोलाको किनारैकिनार लगिन्छ। सबैभन्दा पहिले महादेवको रथलाई बोकेर लगिन्छ।
त्यसपछि भद्रकालीको रथलाई तानेर लगिन्छ। इन्दे्रश्वरमहादेवको रथमा पुजारी एकजना मात्र बस्ने गर्दछ भने उन्मत्तभैरव र भद्रकालीको रथमा स्थानीय बासिन्दाहरू बस्ने गर्दछन्। महादेवको रथलाई डुमाङ्गल, स्याउलाटोल, सोह्रखुट्टेपाटीहुँदै लाम्पाटीसम्म पुर्याइन्छ। बीच बाटोमा शिवलि· भएको ठाउ“मा महादेवको पूजा गरिन्छ।
महादेवका पछिपछि भद्रकाली र भद्रकालीका पछिपछि उन्मत्तभैरवको रथ पनि लाम्पाटीमै पुर्याइन्छ। यसरी महादेव र भैरवका रथ दुई छेउमा र भद्रकालीको रथ बीचमा राखी लाम्पाटी पुर्याएपछि त्यहाँबाट महादेवको रथ सबै मिली उचालेर लगी लायकु डबली अगाडि मूल सडकको छेउमा सडकको दक्षिणतर्फ लगेर राखिन्छ।
लगत्तै भद्रकालीको रथलाई तानेर ल्याई पुलिसपाटीभन्दा केही पर डवलीको पूर्वपट्टी (तल) राखिन्छ। त्यसपछि लाम्पाटीमा रहेको भैरवको रथलाई तानेर ल्याई पुलिसपाटीनजिकै रहेको भद्रकालीको रथसँग जुधाइन्छ।
रथ जुधाउने बेलामा दुवै रथमा सवार रहेका मानिसहरू एक–आपसमा अबिर छर्केर हर्ष व्यक्त गर्दछन्। यो कार्य सकिएपछि भैरवको रथलाई फर्काएर नवदुर्गा डबलीभन्दा केही पर डवलीको पश्चिमपट्टी राखिन्छ।
उन्मत्तभैरवको रथ गन्तव्यस्थानमा पुगेपछि भद्रकालीको रथ तानेर ल्याई भैरवको रथसँग पछाडिबाट जुधाइन्छ। एवं प्रकारले भैरव र भद्रकालीको रथ तीन–तीनपटक एक–आपसमा जुधाइसकेपछि इन्द्रेश्वरमहादेवको रथ भद्रकालीको रथसँग अगाडिबाट तीनचोटि जुधाइन्छ।
यो जात्रा चलिरहेको समयमा जात्रा हेर्न आएका मानिसहरूलाई छाता ओढ्न दिइँदैन। साथै, रथमा रहेका देवीदेवताहरूको प्रसाद पनि बाँड्ने चलन रहेको छैन। महादेवको रथ भद्रकालीसँग जुधाइसकेपछि रथ बोक्ने मानिसहरूले रथलाई माथिसम्म उचालेर भुइँमा बजार्ने प्रचलन रहेको छ। जात्रा सकिएपछि तीनवटै रथहरूलाई सम्बन्धित मन्दिरनजिकै लगेर प्रसाद बाँड्ने चलन छ।
पनौतीको यो जात्रासम्बन्धी एउटा किंवदन्ती प्रचलित छ। किंवदन्तीअनुसार परापूर्वकालमा महादेवले श्रीकृष्णको चरित्र हेर्ने विचार गरी कृष्णका थुप्रै पत्नीहरूमध्येबाट आफूलाई एउटी दिन कृष्णसँग आग्रह गरे। महादेवको आग्रहबमोजिम कृष्णले महादेवलाई आफू नभएको कोठाबाट कुनै एउटीलाई लैजान भने। कृष्णले भनेबमोजिम महादेव कोठाहरू चहार्न थाले।
महादेव जुनजुन कोठामा पुगे, ती सबै कोठामा कृष्ण सँगै रहेको पाए। सो देखी महादेव त्यहा“बाट कैलाश फर्के। कैलाश पुगेर सबै कुरा पार्वतीलाई बताए।
महादेवको कुरा सुनेर पार्वतीले पनि महादेवको चरित्र हेर्ने विचार गरिन्। पार्वती ६४ योगिनीको रूप धारण गरेर कामातुर भई महादेवलाई लखेट्न थालिन्। सो रूप देखी महादेव डराएर भाग्दै गई पनौतीको त्रिवेणीस्थित नदीमा गुप्त रूपमा लुकेर बसे। महादेव लुकेर बसेको थाहा पाई ६४ योगिनी पार्वतीले त्रिवेणीवरपर महादेवको प्रतीक्षा गरिरहिन्। त्यसै बेला महादेव पनि उन्मत्तभैरवको रूप धारण गरी बाहिर निस्के।
भैरवको डरलाग्दो उन्मत्त रूप देखेर डराएकी ६४ योगिनीरूपी पार्वती भद्रकालीको रूप बदलेर रोसीखोलाको किनारैकिनार भाग्न थालिन्। यसरी भाग्दाभाग्दै लायकु डबली पुगेपछि उन्मत्तभैरवले भद्रकालीलाई पछाडिबाट तीनपल्ट सम्भोग गरेपछि भद्रकाली शान्त अवस्थामा आइन्।
आफू यौनक्रियाबाट तृप्त भएपछि भद्रकालीले भैरवलाई आफ्नो वास्तविक स्वरूपमा आई सम्भोग गर्ने इच्छा जाहेर गरिन्। त्यसपछि भैरव महादेवको वास्तविक स्वरूपमा आई पुनः तीनपटक अगाडिबाट सम्भोग गरे।
जात्राको यो किंवदन्तिले मर्यादित यौनको वकालत गरेको छ। यौन आफैंमा महत्वपूर्ण विषय हुँदाहुँदै यसको पनि आफ्नै सिमा हुन्छ भन्ने सन्देश कथाले बोकेको छ।
परस्त्रीप्रति कुदृष्टि लगाउँदा स्वयम् महादेवसमेत लज्जित बन्नु परेको घटना मानव जीवन रहेसम्म सान्दर्भिक देखिन्छ। वास्तबमा पनौती जात्रा हाम्रो संस्कृतिको एक अभिन्न अङ्ग हो।
संस्कृति ,जात्रा, पर्व, भाषा, साहित्य कुनै निश्चित भूगोलको मात्र हुँदैन, सबैको साझा हुन्छन्। यसबाट प्राप्त हुने सकारात्मक सन्देशलाई ग्रहण गर्दै यस्ता सम्पदाहरूलाई हामी सबै मिलेर जगेर्ना गर्नु पर्छ।