वातावरण संरक्षणमा हाम्रो कर्तव्य

बिजेता महर्जन

हाम्रो वरिपरीको जैविक तथा अजैविक तत्वहरुको समिश्रणलाई वातावरण भनिन्छ। विभिन्न बोट बिरुवा, जीवजन्तु तथा मानिस जाति जैविक हुन् भने जल, वायु तथा माटो जस्ता तत्वहरु अजैविक हुन्। यी दुई तत्वहरुको सही मात्रामा सन्तुलन रहे पारिस्थितिक प्रणालीको पनि सन्तुलन हुनेछ। मानिस जाति, पर्यावरण र यसका अरू तत्वबिच अन्योन्याश्रित सम्बन्ध हुन्छ।

त्यसैले यी पर्यावरणीय तत्वहरुको संरक्षण गरी दीगो विकास ल्याउने कार्यलाई नै वातावरण संरक्षण भनिन्छ।

मानिस एक विवेकशिल तथा चेतनशील सामाजिक प्राणी हो। मानिसको हरेक सामान्य आधारभूत आवश्यकताको परिपूर्ति वातावरणीय तत्वहरुको मद्धतले नै सम्भव हुन्छ।

त्यसैगरी वातावरणीय तत्वहरुका परस्परमा पनि सन्तुलनका लागि मानिस जातिको उत्तिकै महत्व रहेको हुन्छ । यसरी जीवन चक्र घुमिरहेको हुन्छ। यो प्रकृतिको नियति हो।

एक्काइसौ शताब्दीको यस वैज्ञानिक युगमा भने प्रकृतिको यही नियतिसँग खेलवाड भइरहेको छ । भौतिक संरचनाहरुको विकासका नाममा मानिसले विभिन्न अविवेकी तथा पर्यावरणलाई घात हुने कार्यहरु गर्दै आएको छ । मानिसले त विकासको परिभाषालाई नै अन्याय गरेको छ । आफ्ना अमानविय कार्यहरुले गर्दा मानिसले आफ्नै अस्तित्व त्रासमा पार्ने प्रकोपहरुलाई समेत निम्त्याएको छ । बढ्दो जनसंख्या, तीव्र बसाइसराई, सहरीकरण वन फडानी तथा औधोगिकरणका कारणले अहिले जलवायु परिवर्तन जस्तो आपत्तिजनक समस्या विश्वले नै भोग्नु परेको छ।

विज्ञान र प्रविधिको असीमित विकासका कारण प्रयोगमा आएका सवारी साधनले थरीथरीका धुँवा तथा धुलो उत्पादन गर्छन् । यसै कारण पृथ्वीको ओजोन तह पातलिनु र तीव्र गतिमा पृथ्वीको तापक्रम बढ्नु जस्ता नकारात्मक वातावरणीय परिवर्तन देखा परेका छन्। यस बद्लिँदो परिवेशमा कतै अतिवृष्टि त कतै अनावृष्टि, कतै बाढी पहिरो त कतै खडेरी, कतै भुईचालो त कतै डढेलो, यस्ता विनासकारी प्रकोपहरु सबै मानिस कै दुष्कर्मको परिणाम हो।

अहिलेको वातावरणीय अवस्थालाई बुझेर भन्नु पर्दा यस्ता प्रकोपहरु तथा प्रभावहरुको न्यूनिकरण गर्नु नै हामीसँग रहेको एक मात्र विकल्प हो ।

वातावरणको संरक्षण गर्नु भनेको एक जना मानिसले मात्र चाहेर लागि परेर सम्भव हुने कुरा होइन । एकले अर्कालाई औलो ठड्याएर वा सरकार र सरकारी निकायलाई मात्र दोष दिएर पनि सम्भव हुने कुरा होइन। यसका लागि ‘म’ र ‘तिमी’ छाडी ‘हामी’ बनेर जनस्थरबाट एकजुट भएर लाग्नुपर्ने हुन्छ। तर, शूरुवात सधै आफैबाट गर्नुपर्छ।

सबैले आ–आफ्नो पक्षबाट गर्नु पर्ने कर्तव्य निर्वाह गरी अरुलाई पनि सोही कार्यमा उत्प्रेरित गर्नु नै सबै भन्दा प्रभाविकारी तरीका हुनेछ । उदाहरणका लागि साना साना कार्य जस्तै पानी जोगाउनु, प्लाष्टिकका सामानको प्रयोग कम गर्नु, ढल व्यवस्थापनमा सक्दो सहयोग गर्नु वा जलवायु प्रदुषण घटाउन एउटा सानो बोट रोपी त्यसको हेरचाह गर्नु पनि वातावरण संरक्षण तर्फको एउटा सानो पाइला हो ।

ठूला ठूला कुरा गरी हिँड्नु भन्दा बरु आफ्नो पक्षबाट गर्न सकिने साना साना कार्यहरु गर्नु बढी उचित हुन्छ । यसरी सबैले आफ्नो तर्फबाट वातावरण संरक्षणका लागि केही कदम लिए अवश्य नै दीगो विकास सम्भव छ, जुन दुवै मानिस र वातावरण मैत्री हुन्छ । तसर्थः वातावरण संरक्षण गर्नु मानिसको परम कर्तव्य हो र यसका लागि अहिले देखि नै आफ्ना साना साना पाइला चाल्न थाल्नुपर्छ ।

बिजेता महर्जन

सेन्ट मेरीज उ.मा.वि.

कक्षा: ९‘क’

 

प्रकाशित मिति: : 2019-06-05 08:44:50

प्रतिकृया दिनुहोस्