क्रमैसँग भएको तीन वटा घटनाहरूको चर्चा गरौँ। सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्यो। जसको अन्तिम अनुच्छेदमा ‘समाजवाद उन्मुख उदीयमान राष्ट्रको रूपमा स्थापितहुँदै जानेछ,’ भन्ने वाक्य परेको छ।
अर्को घटना नयाँ शक्ति र संघीय समाजवादी फोरम बीच पार्टी एकता भएर ‘समाजवादी पार्टी नेपाल’ नाम गरेको नयाँ पार्टी बन्यो। नयाँ बनेको पार्टीको नाममै समाजवाद छ, लक्ष्य पनि समाजवादको प्राप्ति हो। नेपाली कांग्रेसले तेह्र बर्ष पुगेका केटाकेटी कांग्रेसको पुनर्जागरण अभियान अन्तर्गत प्रजातन्त्र र समाजवाद पढाउने योजना सार्वजनिक गर्यो। यी तीनै वटा घटनामा दोहोरिएको शब्द हो "समाजवाद"
अझ नेपालको संबिधान २०७२ को प्रस्तावना हेर्ने हो भने त नेपाल राष्ट्रको गन्तव्य नै समाजवाद हो। यो संबिधान अनुसार जुन सुकै सरकारले जे सुकै कार्यक्रम ल्याएपनि 'समाजवादप्रति प्रतिबद्ध' भई ल्याउनुपर्ने हुन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी एकता अघिको नेकपा एमालेको आदर्श पनि समाजवाद। नेकपा माओवादीको उद्देश्य पनि समाजवाद। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आधारशीला चतुष्टयमा अर्थात पार्टी धान्ने खम्बा पनि समाजवाद।
सुन्दा राम्रो सुनिन्छ यो शब्द। व्यक्तिवाद होइन, समाजवाद। व्यक्तिको मात्र भलाई हुने होइन सबै समाजको भलाई हुने व्यवस्था जस्तो सुनिन्छ। कसलाई मन नपर्ला र सबै समाजको भलाई हुने व्यवस्था ? तर यो सुन्दा मात्र राम्रो शब्द हो। तत्कालिन विवेकशील साझा, अहिलेको साझा विवेकशील घोषणा हुँदा फिनल्याण्डको राजधानी हेलसिन्की मै थिएँ। पार्टी संयोजकले विवेकशील साझाको राजनीतिक सिद्धान्त 'सेन्टर लेफ्ट' हो भनेर अन्तरवार्ता दिए। सेन्टर लेफ्टको अर्थ पनि प्रजातान्त्रिक समाजवादी नै हो। केही नेपाली साथीहरू उत्साही थिए। यस पार्टीलाई सघाउन फिनल्याण्डमा पनि समूह निर्माण गरेको थाहा पाएँ। समूहमा सामेल एक मित्रलाई " समाजवाद " बारे सोध्दा उनको उत्तर थियो - समाजवाद माओवाद भनेर हुँदैन। अरु पार्टीले विकास गरेन। तर यसले विकास गर्छ, त्यहि भएर सपोर्ट गरेको।
उनले समाजवाद भनेको बुझेर यो सिद्धान्त बोकेको पार्टीलाई समर्थन गरेको होईन भन्ने कुरा बुझ्न गाह्रो थिएन। समाजवाद नै काँधमा बोकेर हिंडेका अन्य पार्टीलाई समर्थन गर्ने हामी कैयौं युवाहरूलाई समाजवाद भनेको के हो थाहा छैन। जुन हामी युवाहरुको कमजोरी हो।
श्रद्धय गुरु डा निर्मलमणि अधिकारी भन्नुहुन्छ समाजवाद, कम्युनिज्म र पूँजीवाद (कपू)को घालमेलबाट बनेको व्यवस्था हो।
यसर्थ, यस व्यवस्थालाई बुझ्न कम्युनिज्म र पूँजीवाद बुझ्नुपर्ने हुन्छ। सरल भाषामा भन्दा ' समाजमा दुई वर्ग हुन्छन। सम्पति हुने र नहुने। हुने र नहुने बीचको द्वन्दले समाजलाई अगाडी लैजान्छ। नहुनेहरू बहुसंख्यक हुन्छन र संघर्षमा हुनेहरूलाई पराजित गरेर 'सर्वहारा वर्गको अधिनायकत्व' अर्थात नहुनेहरूको एकल राज सुरुहुन्छ। जर्मनीका कार्ल मार्क्सले गरेको समाज विकासको यो व्याख्या पछ्याउनेलाई कम्युनिस्ट भनिन्छ। यो व्याख्या अनुसार समाजवाद भनेको साम्यवाद भन्दा अगाडीको चरण हो। मार्क्सवाद अनुसार 'नहुनेहरू' को शासन आएपछि 'हुनेहरू' दमनमा पर्छन।
त्यस्तै पूँजीवाद पनि कार्ल मार्क्सले नै गरेको व्याख्या हो। कार्ल मार्क्स अघि देखि नै चलिआएता कार्ल मार्क्सले यसलाई चर्को आलोचना गरेपछि 'पूँजीवाद' शब्द व्यापक प्रचलनमा आयो। मानिसहरू नाफा कमाउने उद्देश्यले विभिन्न काम गर्छन। राज्यले हस्तक्षेप गर्दैन। यो हो पूँजीवादी व्यवस्था।
यी दुई कम्युनिस्ट र पुँजीवादको घालमेलबाट बनाईएको व्यवस्था हो - समाजवाद। साधारण वाक्यमा भन्दा - एउटा खेतमा सय किलो धान उब्जनी हुन्छ। गाउँका सबै मानिसहरू मिलेर त्यो खेतमा काम गर्ने। उत्पादन भएको धान बाँडेर लिने। यहि हो समाजवाद। राष्ट्रको हकमा भन्दा उत्पादनको स्वामित्व जनतामा हुने व्यवस्थाको नाम हो समाजवाद। उत्पादनको स्वामित्व जनतामा कसरी लैजाने भन्ने तौर तरिका पार्टी पिच्छे फरक छ।
सन् १९३४ मा आचार्य नरेन्द्रदेव र जयप्रकाश नारायणको नेतृत्वमा कांग्रेस सोसलिस्ट पार्टीको गठन भएको थियो। भारतीय स्वतन्त्रताको प्रभावमा विपी कोइरालाको अग्रसरतामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो। सुरुवाती चरणमा नेपाली राष्ट्रिय कांग्रेसले समाजवादलाई लक्ष्य बनाएको थिएन। भारतीय समाजवादी आन्दोलनका मुख्य सिद्धान्तका आचार्य नरेन्द्रदेवको प्रभाव बिपी कोइरालामा गहिरोसंग परेको थियो। फलस्वरूप बिपी पनि समाजवादी छविका बनिसकेका थिए जसको प्रभाव नेपाली राष्ट्रिय कांग्रेसमा पर्यो। चिन्तक प्रदिप गिरीको लेखमा उल्लेख छ। (हे. सेतोपाटी- फागुन १७, २०७२) त्यति मात्रै होइन आचार्य नरेन्द्रदेवको मार्क्सवादी झुकाव देखेर बिपी कोइरालाले कैयौं पटक आफूलाई पनि मार्क्सवादी दावी गर्नुभएको छ।
मार्क्सवादबाट प्रभावित आचार्य नरेन्द्रदेवले भारतीय समाजको निम्ति समाजवादको निर्माण गर्दा प्रभावित बनेका बिपी कोइरालाको प्रभावले नेपाली राष्ट्रिय कांग्रेस पनि समाजवादी बन्न पुग्यो जुन आजसम्म पनि यथावत छ। शब्दमै समाजवाद भएपनि यो व्यक्तिवादी समाजवाद र सामुहिक समाजवाद हुनसक्दो रहेछ। कांग्रेस महामन्त्री शशांक कोइरालाको भनाईले त्यस्तै देखाउँछ – ‘कम्युनिष्टको समाजवाद व्यक्तिवादी तर कांग्रेसको समाजवाद सामूहिक भएको महामन्त्री कोइरालाको तर्क थियो। ‘(हे रातोपाटी जेष्ठ १२, २०७५)
नेकपा एमाले र नेकपा माओवादी मिलेर अहिले नेपाल कम्युनिस्ट पार्टी बनेको छ। एमाले अर्थात एक्रिकृत मार्क्सवादी लेनिनवादीले समाजवादमा पुग्न कार्ल मार्क्सको सिद्धान्त रसियाका लेनिनले गरेको प्रयोग जस्तै नेपालमा पनि गरिनुपर्छ भन्ने मान्यता बोकेको थियो। भने माओवादीले कार्ल मार्क्सको सिद्धान्त चीनका माओत्सेतुंले जसरी नेपालमा पनि प्रयोग गरेर सत्ता प्राप्त गर्न खोजिएको थियो। त्यस्तै प्रयोगको उपज थियो नेपालको दश बर्षे माओवादी द्वन्द।
बाबुराम भट्टराईको नयाँ शक्तिको राजनीतिक कार्यदिशा पार्टीको आधिकारिक वेब साईटमा स्पष्ट लेखिएको छ –“प्रारम्भमा सामाजिक न्याय सहितको राष्ट्रिय औद्योगिक पूँजीवादको विकास गर्दै समुन्नत समाजवादको निर्माण गर्नु नयाँ शक्तिको मुख्य राजनीतिक कार्यदिशा हो।“यस पार्टी उप्रेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरमसंग एकता गरेर 'समाजवादी पार्टी नेपाल' को निर्माण भईसकेको छ। जसको उद्देश्य पार्टीको नाममै लेखिएको छ।
यी सबै पार्टीहरू मध्ये कसैले मार्क्सवादलाई आफ्नो सिद्धान्तको रुपमा मानेका छन् कसैले मानेका छैनन् कसैले पहिला मान्थे अहिले मान्दैनन। तर उद्देश्य भने समाजवाद नै रहेको छ। यस आधारमा यी सबै पार्टीहरू प्रजातान्त्रिक समाजवादी पार्टी भन्दा फरक पर्दैन।
कम्युनिस्ट र पुँजीवाद तत्कालिन युरोपेली परिवेशमा निर्मित यी दुई मताग्रहहरू र यिनको घालमेलबाट निर्मित समाजवादको सैद्धान्तिक, दार्शनिक र सांस्कृतिक आधार युरोप हो। यिनीहरूको जरो र किलो नेपालमा नभई युरोपमा छ।
कतिलाई लाग्न सक्ला जहाँको भए पनि नेपालको लागि विकास गरे भैगो नि। यसमा विकास गर्ने ग्यारेन्टी छैन। विकासको तर कुरै छोडौं कस्तो व्यवस्था हो भन्ने नै स्पष्ट छैन। सबैमा सम्पतिको समान वितरण हुनेछ भनेर चिनियाँ क्रान्ति भयो। आज अमेरिकापछि दोस्रो धेरै अर्वपति भएको देश चीन हो। खै त सम्पतिको समान वितरण ? भेनेजुएला पनि समाजवादी देश, उत्तर कोरिया पनि समाजवादी देश। भेनेजुएलामा पाउरोटी किन्न पाउरोटी भन्दा धेरै पैसा लानुपर्ने अवस्था आएको छ। उत्तर कोरियामा कपाल कस्तो काट्ने भन्ने समेत राज्यले निर्णय गर्छ।
देशै पिच्छे, पार्टी पिच्छे फरक फरक छ समाजवादको अर्थ। अन्धाहरूले हात्ती छाम्दा कसैले हात्ती भनेको भित्ता जस्तो त कसैले हात्ती भनेको खम्बा जस्तो भनेर बुझे जस्तै अवस्था छ हाम्रो देशको संबिधानमा लेखिएको समाजवादको पनि।
विकासको कुनै एउटै सुत्र हुँदैन भन्ने कुरा आज विकसित भनिएका देशहरू हेरे पुग्छ। देशको संस्कृति, सभ्यता र भूराजनीति अनुकुल राजनीतिक तथा आर्थिक व्यवस्था मात्र दिगो हुन्छ। विदेशबाट फोटोकपी बोकेर आएर प्रयोग गर्न खोज्दा देशनै नरहने अवस्था आउनसक्दो रहेछ भनेर नेपालकै उदाहरण हेरे पुग्छ।
चीनमा सन् १९६६ मा समाजवाद उन्मुख गराउन सांस्कृतिक क्रान्ति गरियो। दश बर्ष चलेको यो तथाकथित क्रान्तिले चार वटा कुरालाई ध्वस्त गर्न खोजेको थियो - पुराना रिवाज, पुराना संस्कृति, पुराना तौर तरिका र पुराना विचार। यस क्रममा ३० लाख मानिसहरू मारिए। तर अहिले आएर चीन आफैले 'एसियाली सभ्यता सम्वार्ता' को आयोजना गरेको छ। पुराना सभ्यता जोगाउने, आपसमा संवाद गरेर शान्ति स्थापना र भाईचाराको सम्बन्ध निर्माण गर्ने यसको उद्देश्य रहेछ। पुराना कुरा भत्काउन बेफ्वाकमा ३० लाखको ज्यान गयो।
रसिया, भियतनाम, उत्तर कोरिया, चीन, कम्बोडिया लगायतका देशहरूमा करोडको संख्यामा मानिसहरू मारिएका छन् समाजवादको निम्ति। तर स्पष्ट छैन समाजवाद भनेको के हो। नेपालको सन्दर्भमा हेर्ने हो भने दुई जना अध्यक्ष हुने पनि समाजवादी पार्टी हुनसक्छ। अन्तिम श्वास नफेरेसम्म कुर्सि नछोडे पनि समाजवादी हुनसक्छ। हतियार उठाउने पनि समाजवादी हुनसक्छ। हतियार उठायो भनेर बिरोध गर्ने पनि समाजवादी हुनसक्छ। चप्पल लगाएर समाजवादी राजनीति गरेको नेता करोडौको घरमा बस्न थालिसक्दा पनि समाजवादको अत्तोपत्तो छैन।
आफुले बोकेको सिद्धान्तमा इमानदारिता देखाउने हुँदा हुन् त नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल, साझा विवेकशील लगायतका सबै समाजवाद उद्देश्य राखेका पार्टी एकीकरण गर्थे होला।