आज मे २९ अर्थात् सगरमाथा दिवश। सन् १९५३ मे २९ तारिखका दिन सगरमाथाको शिरमा दुई जोर पाइला टेकिएका थिए।एक जोर पाइला थिए तेन्जिङ शेर्पाका, अर्का जोर थिए सर एडमण्ड हिलारीका। त्यसयता ६६ वर्ष बितिसकेका छन्। केही वर्षयता यस दिनलाई सगरमाथा दिवशका रूपमा मनाउने गरिएको छ।
यस वर्षको सगरमाथा दिवशको पूर्वसन्ध्यामा वर्ष २०७६ को वसन्त ऋतुको सगरमाथा आरोहण सिजन सकिएको छ। यो सिजनमा अनेकौ कीर्तिमानका पहाड त ठडिएकै छन्, केही विवादका थु्म्काहरू पनि बनेर सकिएको छ। यसपटक संख्यात्मक रूपमा धेरैलाई सगरमाथा चढ्ने अनुमति दिइयो।यो संख्यासँगै अनेकौ यस्ता कीर्तिमान पनि बने-
१. सरकारलाई धेरै रोयल्टी प्राप्त भयो
२. आरोहण व्यवस्थापक र पथप्रदर्शक तथा यससँग सम्बन्धित जनशक्तिले पर्याप्त काम पाए र त्यसअनुसारको कमाइ पनि भयो
३. धेरै नै आरोही सगरमाथाको शिखरमा पुगे
४. कामीरिता शेर्पाले एकै सिजनमा दुईपटक सगरमाथा चढेर २४औं आरोहण गरे
यी सबै राम्रा कीर्तिमान थिए तर यीसँगै केही यस्ता नकारात्मक कीर्तिमान पनि बने
१. सगरमाथामा आरोहीहरूको काराभान नै चल्यो- जसलाई सगरमाथामा ट्राफिक जामको संज्ञा दिइयो
२. धेरै पर्वतारोहीको निधन भयो
एकै सिजनमा सबैभन्दा धेरै ११ जनाको मृत्यु भएको पछिल्लो कीर्तिमानले अगाडिका सबै गतिला कीर्तिमान ओझेलमा परे। यही मृत्युले सगरमाथा आरोहण अनेक कोणबाट नकरात्मक समाचारको विषय बन्यो।
धेरैले अनुमति मागे, धेरैले पाए।आरोही नै धेरै भएपछि बाटोमा भीँड त हुने त भयो। धेरै बाटो लागेपछि चढ्ने पनि धेरै नै भए। आरोहीको संख्या नै धेरै भएपछि मर्नेको संख्या पनि धेरै नै हुने भयो। सामान्य अंकगणित जान्नेका लागि पनि सोझो हिसाब हो। तर, यो सामान्य अंकगणितको नियमलाई नजरअन्दाज गर्दै सीएनएनजस्तो सञ्चार माध्यमले समाचारको अब्जेक्टिभिटी नै बिर्सेर श्रृंखलावद्ध रूपमा एकपछि अर्को नकारात्मक समाचार सम्प्रेषण गर्यो।
सीएनएनजस्तो संसारभर पहुँच भएको मिडियाले जब दुबै आउटलेट अनलाइन र टेलिभिजन प्रयोग गरेर श्रृंखलावद्ध समाचार सम्प्रेषण गर्यो, त्यसले सगरमाथा र नेपालको छवि धुमिल बनायो नै। उसले लगभग नियोजित किसिमले सगरमाथा र नेपाल सरकारमाथि निशाना लगाइरह्यो।
सगरमाथामाथि आक्रमण गर्ने क्रममा सीएनएनले सगरमाथा संसारको अग्लो हिमाल नै हैन भनेर प्रहार गर्यो। उसले अग्लो नाप्ने अर्को विधि ल्याएर संसारका अरू दुई पहाडलाई सगरमाथाभन्दा अग्ला भन्यो। सगरमाथालाई संसारको अग्लो मान्ने विश्वले उसको कुरा पूरै नपत्याए पनि भ्रमित बनाउन भने यो समाचार काफी भयो।
अर्कोतिर नेपाल सरकारलाई सगरमाथाका नाममा फौबन्जारी गरेको आरोेप लगायो।उसले सगरमाथालाई मिस्ट्रीका रूपमा प्रस्तुत गरेर नेपालले ब्यापार गरिरहेको आरोप लगायो।११ हजार डलर रोयल्टी असुलेर धेरैलाई अनुमति दिने सरकारको निर्णयकै कारण सगरमाथामा ट्राफिक जाम भएको र धेरै पर्वतारोहीहरूको निधन भएको उसको दाबी थियो।
सीएनएनले सगरमाथामाथि गरेको आक्रमण सर्वथा अनुचित भए पनि नेपाल सरकारले धेरैलाई अनुमति दिएको दोस्रो पक्ष चाँहि सजिलै नजरअन्दाज गर्न नसकिने पक्ष हो। एकपटकमा कति जनासम्मले आरोहण गर्न सक्छन् ? यस प्रश्नसँग जोडिएको ब्यवस्थापनमा केही कमजोरी भएको हुन सक्छ।पहाडको उकालो चढेजसरी सगरमाथामा पर्वतारोहीको काराभान चलेको देखिनु स्वभाविक हो भन्न सकिन्न। यसतर्फ भने सरकारले गम्भीर गृहकार्य गर्न र त्यहीअनुसार कार्ययोजना बनाएर अगाडि बढ्न जरूरी देखिन्छ।
सगरमाथामा ट्राफिक जाम- यो वर्षको सम्भवत: सबैभन्दा क्याची शिर्षक बन्यो यो। यो शीर्षक हेर्दा सकारात्मक देखिए पनि सर्वथा नकारात्मक छ। यो शीर्षक सगरमाथा र नेपाल दुबैको छबि धमिल्याउन आफैंमा पर्याप्त छ। योसँगै एउटा पुरानो माग फेरि एकपटक विचारणीय हुन सक्छ। त्यो के भने सगरमाथालाई पनि विश्राम चाहिन्छ कि? कुनै सिजन सगरमाथा होलिडे पो बनाउने हो कि ? २०७२ सालमा गएको भूकम्पपछि सगरमाथाले होलिडे सिजन मनाएको थियो। यो सँगै थप प्रश्न उठ्छ के सगरमाथाले होलिड मनाउन महाभूकम्प नै आउनुपर्ने हो ?
जे होस् २०७६ को वशन्त ऋतु सगरमाथाका लागि फापसिद्ध भएन।सरकारले धेरैलाई अनुमति दिएर अनेकौं कीर्तिमान बनाउँदै धेरै रोयल्टी जम्मा गर्यो होला। तर, यसैको सहउत्पादकका रूपमा सगरमाथाको सर्वोच्चतामाथि नै प्रश्न पनि उठ्यो। यो सगरमाथाको प्रश्न नेपाल र नेपालीको स्वाभिमानको प्रश्न हो। यो वा त्यो कारणले यस्तो प्रश्न उठाउने अवसर फेरि कसैलाई दिइनु हुन्न।संसारका मिडिया टाइकुनहरूले जन्ति जर्नालिज्म गरे पनि नेपालजस्तो सानो मुलुकले थाम्न सक्दैन।अग्रज पत्रकार बिजयकुमारको भनाइमा यो वैश्य युग हो, यसमा पैसा नै सर्वशक्तिमान छ ।