सँधैभरि तस्विर कहाँ बोल्दो रहेछ र ?

बीएल

तस्विर बोल्छ ...!
आमसञ्चारमा आज चरम श्रव्य-दृश्य मात्र हैन, एनिमेसनको युग चलिरहेको छ, तैपनि दृश्य-युगको बोलवाला हुँदाको यो भनाइ आज पनि प्रचलित छ।यो भनाइ अर्को एक चिनिया भनाइमा आधारित छ।भनाइ यस्तो छ- हजार शव्दले पनि भन्न नसक्ने कुरा एउटा तस्विरले भन्छ।

तर, सधैभरि त्यस्तो हुदैन अर्थात् तस्विर बोल्दैन। कहिलेकाँही तस्विर पोलिसेमिक अर्थात् धेरै अर्थ दिने गरी बोल्छ त कहिलेकाँही यसलाई ब्याख्या गरेर बोलाउँनुपर्ने हुन्छ।त्यसको व्याख्याका लागि सोच र कोेण भएर मात्र पुग्दैन, सन्दर्भ पनि आवश्यक हुन्छ।सन्दर्भ भने समय र स्थानले बनाउँछ।

एक आमसञ्चारको विद्यार्थी हुनुको नाता मलाई विभिन्न समय र सन्दर्भका तस्विरले ध्यानाकृष्ट गरिरहन्छ। कँही त्यस्ता तस्वीर देखें भने डाउनलोड गरेर राख्छु।मेरो लोभ हुन्छ, कुनैबेला सन्दर्भ मिल्यो भने फोटो स्टोरी बनाउँला।

आमसञ्चारमा फोटो स्टोरी बनाउँने दुई तरिका हुन्छन्।आकारका हिसाबले पिरामिड र उल्टो पिरामिडमा बनाइन्छ भने शैलीका हिसाबले हार्ड सेल र सफ्ट सेल।हार्ड सेल भनेको त्यो शैली हो जसले मनलाई हैन, मस्तिष्कलाई छुन्छ, त्यसमा धेरै तथ्य हुन्छन् र त्यो सिधा भाषामा लेखिन्छ।जबकि सफ्ट सेल शैलीमा मष्तिष्कलाई हैन, मनलाई छुने प्रयत्न गरिन्छ। यो उल्टो पिरामिड आकारमा हुन्छ।

धेरै पहिले मैले यो तस्विर डाउनलोड गरेको थिएँ। म त्यतिबेला कुन सन्दर्भमा बाँचिरहेका थिएँ, अहिले मैले बिर्सिए।तर, तस्विरले मन छोएको हुनुपर्छ।अन्यथा मष्तिष्कमा छोएर चल्ने मान्छे हैन म। 

आँखाले हेर्दा तस्बिरमा माथि अर्नल्डको प्रतिमा छ भने तल स्वयं अर्नल्ड एउटा स्लिपिङ ब्यागमा सुतिरहेका छन्।अर्नल्ड स्वर्जनगर कुनैबेला संसारकै सबैभन्दा बलिया मान्छे मानिन्थे।अष्ट्रियन मुलका अमेरिकी उनी हलिउड स्टार हुन्। पछि राजनीतिमा प्रवेश गरेर सन् २००३ देखि २०११ सम्म क्यालिफोर्निया राज्यका गभर्नर पनि भए।उनै अर्नल्ड गभर्नर हुँदा एक होटलले बनाएको प्रतिमा हो यो जसको उद्घाटन पनि उनी स्वयंले गरेका थिए।त्यतिबेला होटलले घोषणा गरेको थियो- अर्नल्डले चाहेको बेला जीवनभर होटलमा नि:शुल्क खान र बस्न पाउँने छन्।

यो हार्डसेल फोटो स्टोरी हो। तर, यसको सफ्टसेल स्टोरी मन छुने छ। 

गर्भनरबाट अवकास लिएपछि एकदिन उनी त्यो होटलमा बस्नु पर्यो भनेर गए। तर, जब उनी त्यहाँ बस्न आएको बताए, होटलको कर्मचारीले भन्यो- त्यो तपाई गभर्नर हुँदाको कुरा हो, अहिले तपाई त्यहाँ हुनुहुन्न।त्यसैले त्यतिबेलाको कुरा म जान्दिन। बस्ने भए सबै शुल्क तिरेर बस्नुहोस्।

यो सुनेर अर्नल्ड अचम्भित भए र दु:ख पनि माने।त्यसपछि एउटा स्लिपिङ ब्याग लिएर उनी त्यो आफ्नै प्रतिमामुनि गएर सुते। उनलाई प्रश्न गरियो- अर्नल्ड तपाईले यो के गर्नु भएको हो ?

अर्नल्डले भने म यसो गरेर संसारलाई एउटा सन्देश दिन चाहन्छु- 
'धन-सम्पत्ति, पद, शक्ति, प्रतिष्ठा तपाईंको साथमा हुञ्जेल दुनियाँ तपाईंको साथमा हुन्छ, म्याउँम्याउँ गर्छ। तपाईंका गोडा मोल्छ, गोडा ढोग्छ।तर यी सबै कुरा अस्थायी हुन्, तपाईंसँग सधैंभरी रहदैनन्। सीमित समयका लागि मात्रै रहन्छन्।जब यी सबै केही समयपछि तपाईंबाट छुट्छन् अनि दुनियाँ पनि तपाईंबाट टाढा टाढा हुँदै जान्छ। त्यही भएर पद, पैसा र शक्ति छ भन्दैमा कहिल्यै घमण्ड गर्नु हुँदैन।यी सबै अस्थायी हुन्।तपाईं बर्तमानमा जे हुनुहुन्छ, सधैं त्यो रहनुहुन्न।त्यही भएर सबैलाई सम्मान गरेर मिलेर बाचौं, सकेको सहयोग गरौं।' 

अर्नल्डले जे भने त्यो सबैले सोचेदेखि कति राम्रो हुन्थ्यो होला संसार।तर, के गर्ने हामी सबै यो सत्यलाई बिर्सन्छौं र बर्तमानमा मात्र रमाउँछौं। 

अझै पनि हामी लेखिरहेकै छौं- तस्विर बोल्छ। कहाँ सबै कुरा तस्बीरले बोल्दो रहेछ र ? त्यसका लागि त हामी भित्रको मान्छे बोल्नुपर्ने रहेछ।

मेरी आमा प्रायश: भन्ने गर्नुहुन्छ - 'काइला, जन्मिदा लगाउने भोटो र मर्दा बाँध्ने कात्रो दुबैमा गोजी हुदैन।यो कुरा सँधै दिमाखमा राख्नु।'

आज पनि म मेरी आमासँग पूर्ण सहमत छु, गोजी हुँदैनको अर्थ हो हामी आउँदा पनि केही ल्याएका थिएनौ, जाँदा पनि केही लैजादैनौ। किनकि न भोटोमा गोजी हुन्छ न कात्रोमा। गोजी नै नभएको लुगा लाएपछि के नै पो लैजान सकिन्छ र ?

प्रकाशित मिति: : 2019-04-08 02:16:02

प्रतिकृया दिनुहोस्