अमेरिका विश्वभरका आप्रवासीहरुको लागि अवसरको भूमि हो। त्यसैले वार्षिक लाखौं मानिसहरु यो अवसरको भूमिमा आफूलाई स्थापित गर्न खोज्छन्।
कैंयन मानिसहरुको सपनाले यो विशाल भूमिमा साकार रूप ग्रहण गर्न सफल भएको हुन्छ भने कतिपयका जीवनका पलहरु समुद्रको छालसँगै ब्यतित भइरहेका हुन्छन्। विदेशी भूमिमा जन्मिएर अमेरिकामा स्थायी वसोवासको लागि चाहना राख्ने लाखौलाई स्थायी वसोवासको सुविधा अमेरिकी सरकारले दिने गरेको तथ्यांक छ।
यस्तो तथ्यांकमा वार्षिक १० लाख मानिस पर्छन्। यसरी १० लाखको संख्यामा वार्षिक रूपमा स्थायी वसोवास पाउने भएपनि विगत २५ वर्षको तथ्यांक हेर्ने हो भने ६० हजार नेपाली मूलका नेपालीले यहाँको स्थायी वसोवासको अवसर पाएका छन्।
यी सबैको सपना भनेको आफ्नो व्यक्तिगत आर्थिक स्थितिमा सुधार र पारिवारिक व्यवस्थापन नै हुन्छ। विश्वको जुनकुनै देशको मै हुँ भन्ने नागरिकको लागि पनि अमेरिकाको भूमिमा प्रारम्भका चार-पाँच वर्ष यहाँको परिवेशमा आफूलाई अभ्यस्त वनाउन वित्ने गरेको यससम्वन्धी अनुसन्धान गरेकाहरुको विश्लेषणले पुष्टि गरेको छ।
खासमा अमेरिकामा आफनो दैनिकी जीवनयापनको लागि जुनसुकै काम गर्न पनि उत्तिकै दवावको अवस्था हुन्छ, किनकि यहाँको प्रणालीले नै उनीहरुलाई दवावमा राख्न प्रेरित गरिरहेको हुन्छ। यसरी जीवन यापनमा वचेको समयमा यहाँको सामाजिक संस्थामा काम गर्न अनेकन चुनौति छन् भने यहीको राजनीतिमा समाहित हुनका लागि त अझ धेरै नै चुनौतिको सामना गर्नुपर्ने हुन्छ।
तर, नेपाली मूलका केही आप्रवासीले अमेरिकाको राजनीतिमा आफूलाई जर्वजस्त रुपमा भए पनि होमेकै छन्। यसैले यस आलेखमार्फत मैले अमेरिकाको राजनीतिमा नेपालीहरुको सहभागिताको अभ्यास,अहिलेको अवस्था र भविष्यमा कसरी अगाडि वढ्न सकिन्छ भन्ने विषयमा केही दृष्टिकोण पस्किने जमर्को गरेको छु।
सर्वप्रथम विगतका ऐतिहासिक सिंहावलोकनलाई छोटो विश्लेषण गर्न चाहन्छु। नेपाली मूलका अमेरिकीहरुले यहाँको चुनावमा होमिन प्रयत्न गरेका केही व्यक्तिको प्रयासलाई हेरौं, खासमा विगतमा दर्शन रौनियार र अमृता रेग्मीले यहाँको राजनीतिमा आफूलाई उभ्याउने प्रयास गरे।
तर, उनीहरुको सामु कडा चुनौतीको पर्खालले प्राइमरीको ढोकावाटै वाटो वन्द गराएको अवस्था रहयो। उनीहरुको हारको कारणका विविध पाटामध्ये एउटा पर्याप्त अनुसन्धान विना निर्वाचनमा होमिनु हुनसक्छ तर उनीहरुको साहसले नै नेपालीलाई अमेरिकाको राजनीतिमा पनि स्थान छ है भन्ने सन्देश दिएको हो,यसमा कसैको दुईमत नहुन सक्छ।
यसैगरी न्यूह्याम्पसायरवाट निर्वाचनमा दुईपटक होमिएकी मदलसा गुरुङ्गले पनि अत्यन्तै चुनौतिको साथ यसमा सामेल गराएकी छन्। किनकि उनको निर्वाचन क्षेत्र रिपव्लिकन पार्टीको दवदवा भएको क्षेत्र हो र उनी त्यहाँ डेमोक्रयाट पार्टीको तर्फवाट उमेदवार हुने गर्छिन्।
तर व्यक्तिगत एजेण्डाको आधारमा पनि मतदान गर्ने भूमि भएकाले अमेरिकाको निर्वाचनमा कसले कतिखेर वाजी मार्छ भनेर भन्न नसकिने अवस्था रहेको छ।
त्यति मात्र होइन, अहिले मेरिल्याण्ड राज्यको चार्ल्स काउन्टीअन्तर्गत इण्डियाना हेड नगरपालिकामा उपमेयरमा कार्यरत अर्का नेपाली मूलका किरण सिटौंला रहेका छन्। तर, उनले निर्वाचनमा विजयी भएर उक्त पद हासिल गरेका होइनन, उनीसँग प्रतिस्पर्धा गरेका मेयर निर्वाचित भएपछि त्यसमा निकतम प्रतिद्वन्दी रहेका सिटौलालाई उपमेयर पद दिइएको हो।
तर, उनको प्रयासले पनि जनताको सेवामा समर्पण हुन गरिएको देखिएको छ नै। उनले ४२५९ जनताको लागि आवश्यक पर्ने विभिन्न कार्यगत् सेवामा गरिने नीतिगत निर्णयमा सामेल हुन पाउँछन्।
त्यसबाहेक अहिले पछिल्लोपटक निर्वाचित भएका प्रदीप ढकालको प्रयास पनि निकै उत्साहप्रद रहेको छ। उनको पद राजनीतिक इकाई होइन,तर जनताको मतले निर्वाचित हुने र उनले गरेको केही महिनाको प्रयासले नै उनलाई यहाँको प्रक्रियाको वारेमा ज्ञान दिन सफल भएको छ।
यसलाई पनि उनको राम्रो प्रयासको रुपमा लिन सकिन्छ। उनले हरडन शहरको काउन्सिलमेनमा विजय हात पारेका हुन्। जे भएपनि यो प्रयासलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ। यी सवै प्रयाससँगै पछिल्लोपटक गत नोभेम्वर महिनाको ६ तारिखमा सम्पन्न मेरिल्याण्डको विधानसभामा विधायकको रुपमा निर्वाचित भएर हयारी भण्डारीले विजयको माला पहिराउन सफल भएका छन्।
अहिलेसम्म नेपालीहरुले जीत हात पारेको स्टेट तहको ठाउँमा र राजनीतिक प्रतिनिधित्वको रुपमा उनी पहिलो नेपाली अमेरिकी वनेर इतिहास रच्न सफल भएका छन्। उनको विजयसँगै अहिले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई नेपालका नेतादेखि सवैले भन्ने गरेका छन विदेशमा राजनीति गर्ने भए हयारीले जस्तो गर्नु।
उनले यसकारण पनि वढी चर्चा पाएका छन् कि उनी मात्र एक नेपाली अमेरिकन हुन जसले यहाँको मूलधारको राजनीतिमा आफूलाई उभ्याएर सफल सावित गराउन सफल भए। करिव ८० हजार जनसंख्या भएको निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धाका वीच रिपव्लिकन पार्टीका वहालवाला विधायकलाई हराएर उनी निर्वाचित भएका हुन्।
उनको निर्वाचन क्षेत्र डेमोक्रयाट पार्टीको उपस्थिति वाक्लो भएको स्थान हो, अर्थात सरसर्ति हेर्दा रजिष्टर्ड डेमोक्रयाट वहुल उनको क्षेत्रमा उनको जीत सहज जस्तो देखिएपनि स्थलगत अवलोकन र सूचनाहरु समेत विश्लेषण गर्ने हो भने उक्त स्थानमा उनले एउटा इतिहास नै निर्माण गरेका छन्। किनकि त्यही डिष्ट्रिक ८ वाट विगत १२ वर्षसम्म दुई रिपव्लिकनले जीत हात पारेका थिए भने तीन सिटको स्थानमा यो पटक हयारीले व्रेक गरेर डेमोक्रयाट पार्टीलाई दुई स्थानमा पुर्याउन सफल भए।
अहिले कतिपय स्थानमा आफूलाई सामाजिक अभियन्ताको पगरी गुथाउन खोज्नेहरुले दर्जनौ हयारी वनाउने भनेर सपना वेच्न त सफल भएका छन तर यसका चुनौतिहरुको वारेमा कत्तिको जानकार छन भन्ने विषय महत्वपूर्ण हो।
यस विषयमा केही कुरावारे विश्लेषण गरौं, खासमा भविष्यमा नेपालीहरु अमेरिकाको राजनीतिमा जान सक्छन् या चासो कत्तिको राख्लान् भन्ने प्रश्न अहम् रहेको छ। उमेदवार नै वनेर त्यसको उपादेयता कत्ति रहन्छ भन्ने कुरा महत्वपूर्ण पाटो हो किनकि नेपाली राजनीतिक भाषामा भन्नुपर्दा धरौटी जफत हुने स्थानमा केही थान उमेदवारले उमेदवारी दिन त सक्लान् तर सफलता हात पार्न भने केही वर्ष कुर्नैपर्छ।
किनकि अमेरिकाको राजनीति साह्रै खर्चिलो छ, त्यो खर्चको जोहो गर्न हाम्रो समुदायका व्यक्तिलाई निकै कठिन छ। खर्च केवल निर्वाचनमा गरिने कुराको मात्र आउँदैंन, राजनीतिमा समाहित हुन चाहनेले कसरी आफूलाई आर्थिक रुपमा चुस्त राख्न सक्छन् भन्ने पनि हो। अर्को महत्वपूर्ण कुरा समुदायमा भिजेको व्यक्ति नभई निर्वाचनमा होमिने प्रयास गर्नु भनेको स्रोत र साधन सक्नु मात्र हुनेछ।
त्यसैले निकै सुझवुझका साथ निर्वाचनमा होमिनु पर्छ, त्योभन्दा पनि असाध्यै पेचिलो वनेको विषय नेपाली समुदायमा व्याप्त अहमता र दम्भको छायाँ पनि रहेको छ। यदि कोही अगाडि वढन खोज्यो भने त्यसलाई सहयोग गर्नुको साटो अर्को प्रतिस्पर्धी च्यापेर हिड्ने खराव मनसायका व्यक्तिको कारणले पनि चुनौति थपिन सक्छ किनकि न्यूयोर्कको एउटा चुनावमा नेपाली समुदायले दुई खेमालाई सहयोग गरेर आफू हिरो वन्ने नाटक मञ्चन गरेको धेरै भएको छैंन।
तेस्रो पक्ष के रहेको छ भने सन् १९९८ मा पहिलो भारतीय अमेरिकी विधायक वनेका कुमार वार्वेपछि मेरिल्याण्डमा आर्थिक हैसियत राम्रो भएकाको समूह हुँदाहुँदै पनि भारतीयले त्यति धेरै निर्वाचनमा जाने आँट गर्न सकेनन्। केही व्यक्ति त होलान, तर उनीहरु अगाडि आउन सकेनन्। नेपाली अमेरिकनमा त योभन्दा पनि ठूलो समस्या रहेको छ।
तर यसको मतलव के भविष्यमा नेपालीहरु निर्वाचनमा उमेदवार नै नवन्ने हुन त ? यो प्रश्नको लागि पहिलो पुस्ता भनेकाहरुले आफूलाई निकै परिमार्जन गरेर आफना दोश्रो पुस्ताकालाई सामुदायिक कामहरुमा अग्रसर वनाउनु पर्छ। स्थानीय सामुदायिक क्रियाकलापहरुमा जति सहभागी भयो उति आफू परिचित हुने भएकाले त्यसलाई प्रेरित गर्नु पर्नेखाँचो रहेको छ।
साथै अहिले प्राप्त भएको अनुभवलाई साटासाट गर्दे यसलाई एउटा संस्थागत संरचनाको स्वरुपमा अगाडि वढाएको खण्डमा निर्वाचनमा के कस्तो रणनीतिले काम गर्ने रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ। त्यसको साथै आफनो नजिकका आफन्त र ईष्टमित्रलाई पर्याप्त सूचना पनि दिनुपर्ने हुन्छ।यदि आफू अमेरिकाको नागरिक वन्न योग्य छु भन्ने लाग्छ भने त्यो नागरिक वनेर आफूलाई मतदाताको सूचीमा समेत सूचीकृत गराउनु पर्छ, कतिपय अवस्थामा नागरिकको हैसियतले गर्न पाइने काम र उपलब्ध सूचनाहरुलाई समेत उपयोग गर्न सकिन्छ।
उदाहरणको लागि यदि तपाई मतदाताको सूचीमा सूचीकृत हुनुहुन्छ भने तपाईलाई निर्वाचनसम्वन्धी कतिपय अपडेटहरु मेलमा आउँछ, जुन स्थायी वसोवासको मात्र सुविधा भएकाको हकमा आउँदैंन। तसर्थ यदि अमेरिकामा हुनुहुन्छ भने नागरिकको कर्तव्य तपाईले पूरा गर्देगर्दा नेपाली मूलका अमेरिकीले क्यापिटन हिल (अमेरिकाको कंग्रेस भवन) या व्हाइट हाउसको यात्रा तय गर्न सक्छ। तर, यो दुई-चारवर्षको समयमा हुने होइन अहिलेको पिढीले प्रेरित गर्यो भने अर्को दुई चारदशकमा यो यात्रा तय हुन सक्छ।
हुन त ह्यारी भण्डारीले आफ्नो धारणा राख्ने क्रममा भने जस्तै उनी एक वयष्क उमेरमा अमेरिकामा यो सफलता हात पार्न सफल भएका छन् भने यही जन्मिएर यहीको परिवेशमा आफूलाई अभ्यस्त गराउने नेपाली मूलको अमेरिकी केही दशकपछि यो भूमिको सवैभन्दा महत्वपूर्ण व्यक्ति वन्न पनि सक्छ, त्यसको लागि अहिलेको पुस्ताको दायित्व भनेको मार्गप्रशस्त वनाईदिने हो।
अन्त्यमा, अमेरिका अवसरको भूमि हो तर त्यो अवसर खोज्नु पर्छ। कसैको पनि घरदैलोमा आउने मेल जसरी अवसर आउँदैंन।तसर्थ अमेरिकाको भूमिमा जीवन विताउँने हो भने यहाँको रहनसहन, स्थिति, वातावरण मात्र होइन, यहाँ हुने नीति निर्माणको कार्यान्वयन र त्यसको तर्जुमा गर्ने संरचनामा तपाई-हामी सवै अभ्यस्त हुने प्रयास गरौं र भावीपींढिको लागि मार्गप्रशस्त गरौं।
( यसमा व्यक्त विचार लेखकका निजी विचार हुन्। )