पत्रकारिताको ११ वर्षको अन्तरालमा नेपालका थोरै जिल्लाहरू मात्र पुग्न बाँकि छन्। सुदूरपश्चिममै जन्मे हुर्केँ। सूपका धेरै परम्परा, रितिरिवाज राम्रा छन्। बाँकि कुप्रथा राम्रा छैनन्।
‘छोरी भएर जन्मेपछि मुख लाग्नु हुँदैन। जे भने पनि सहेर बस्नुपर्छ,’ सुदूर पश्चिममा मात्रै होइन, यो नियम नेपालको पूर्वदेखि पश्चिमसम्म अहिले पनि जिवीत छ।
म हुर्कँदै गरेका बेला पश्चिमका गाउँहरूमा छोरीले धेरै घुम्नु हुँदैन भन्ने मान्यता थियो। दूर्गम गाँउघरमा अझै पनि यो मान्यता कायम छ। मेरो काम भने घुम्ने र बोल्ने थियो। परिवर्तन आफैंबाट शुरू गर्नुपर्छ भन्ने भनाइलाई आफ्नै घरबाट शुरु गरेँ।
अहिले अन्तर्राष्ट्रिय रूपमा चर्चामा रहेको छाउपडी प्रथा म आफैंले भोगेँ। देउकी प्रथा देखेँ। वादी प्रथा देखेँ। जातीय छुवाछुत देखेँ। बम्बैया रोग (एचआईभी) बोकेर काला पहाड तर्नेको लर्को र हेलामा बाँचेका ती निर्दोष दिदिबहिनी देखेँ।
रिपोर्टिङ गर्न पश्चिम नेपालका दूर्गम जिल्लाहरूमा पुग्दा मलाइ एक्लै आएको देखेर जिव्रो टोक्नेहरू पनि भेटेँ। दश वर्षअघि दार्चूलाको धाप गाविस (नगरपालिका) मा जाँदा ‘ओ इजु तुई एकली आएकी है ली’ भनेको अहिले पनि सम्झना आउँछ।
केटी मान्छे एक्लै कसरी हिँड्न सक्छ। बसमा एक्लै हिड्न डर लाग्दैन भनेर साना केटाकेटीदेखि महिलाहरू सोध्थ्ये। पाइन्ट, टी–सर्ट लगाएको, तर केटीको आवाज सुन्दा केटा हो कि केटी भनेर नजिक आएर हेर्नेको भीड लाग्थ्यो र भन्थ्ये- ‘उ बा छोर्याट्टीले खिच्याको’ भनेर अचम्म मान्थ्ये।
त्यो बेला केटी मान्छे पाइन्ट टी–सर्ट लगाएर झोला बोकेर हिँडेको कि तत्कालिन माओवादीका केटीहरूलाई देखेका थिए कि त गाँउमा बिग्रेकी केटीले लगाउँछन् भन्ने सोचले प्रताडीत थिए।
यस्तै सम्झना अछाम जिल्लाको पनि छ। आठ वर्षअघि श्रीकोटको डाँडाबाट हेर्दा देखिने साँफेबगर अहिले पनि उस्तै सेलरोटी झै घुमेको देखिन्छ। त्यत्ती बेला सुदूरपश्चिमको अछाममा एचआइभी एड्सको आतंक फैलिएको भए पनि यसको सौन्दर्यले त्यसलाई थिचेको थियो। बुढीगंगा तर्दा त्यो बेला अछामलाई आधुनिक सञ्चारले छुँदै थियो।
कहिले काही सिडीएमए बोकेर गंगाको छेउमा उभिँदा सिग्नल हुन्थ्यो भने कहिले बैजनाथ गाविस तिर जाँदा पनि बाटोमा टावर रिसिभ गर्थ्यो। नमस्तेको टावर भने श्रीकोटको अग्लो डाँडामा पुगेपछि मात्र टिप्थ्यो। ६ महिनाअघि अछाम पुग्दा साँफेदेखि मंगलसेन सुन्दरताको काँचुली फेरेर परिवर्तनको ठूलो संघारमा उभिएको थियो।
त्यहीँ घुमाउरो नागबेली सडक। त्यही पाटापाटा परेका खेत। दूर्गम गाँउगाँउसम्म नामको मात्रै ज्यानमारा सडक पुगे पनि स्थानियमा सडक पुगेको खुशी छर्लङ देखिन्छ। लुकेर बाँचेका एचआभी संक्रमित खुलेर बाच्न थालेको देखेँ।
सदरमुकामदेखि हिँडेर नजिक पुग्न सक्ने औषधि सेवन गरिरहेका छन्। एचआभी संक्रमीत महिलाबाट सुरक्षीत बच्चा जन्मेका छन्। बम्बैया रोगबाट सचेत भएका छन्। काला पहाड अर्थात भारत गएका श्रीमानलाई ‘कही तमीले रोग त ल्याएका छैनौ’, भनेर श्रीमतीले प्रश्न गर्नसक्ने भएका छन्।
साँफेको कच्ची झुपडी बजार पक्की होटलमय भएको छ। खेतमा काम गरिरहेका महिलाहरू श्रीमान भारतमा भएपनि मोवाइलमा कुरा गर्नसक्ने भएका छन्। घरघरबाट पल्सर कुद्छन्।
‘पैया गुडन लाग्या बम्बै जान्या रेलगाडीका पैया गुडन लाग्या, अब छुट्न लाग्या पहाडका डाँडा काँडा अब छुटन लाग्या’, भनेर वियोगका गीत बज्ने बसमा आजभोलि प्रेमका गीत र सुन्दरताका बखानका गीत बज्छ थालेका छन्।
साँफेदेखि सदरमुकाम मंगलसेनहुँदै विनायकको बाटो कर्णाली राजमार्गसँग मोटरबाटो जोडिएपछि अछामका अनकण्टार गाउँहरुमा आशा पलाएको छ।
सडकले ल्याउने विकासको चेतना विस्तारै गढेको छ। त्यसैले त अन्तर्राष्ट्रिय रूपमा चर्चित भइरहेको छाउपडी प्रथा चेतनाको विस्तारसँगै विरोधको रूपमा आइरहेको छ।
महिलाहरू पहिला पनि यो प्रथावाट पीडित नै थिए। तर, समाचार बाहिर नआएको मात्र हो। छोरीले पढन थालेपछि छाउपडी प्रथाको विरोध उम्रिन थालेको हो। जबसम्म पुरूषले आफ्नै घरमा छाउ भएकी श्रीमती, छोरी बहिनीलाई छाउ भएको बेला छाउगोठ सुत्नुपर्दैन भन्दैन त्यो बेलासम्म जुनसुकै सरकार, नागरिक समाज आए पनि यो प्रथा हट्दैन।
परिवर्तन त आफ्नै घरबाट हुनुपर्दछ। अछाममै यस्ता चेली पनि छन्। जसले आफ्नै घरबाट छाउगोठको विरूद्ध बोलेका छन्। लडेका छन्। जसले यसको बिरूद्ध कलम चलाएका छन्। गाँउघरमा रहरले छाउगोठमा बस्दैन्न्। बाध्यताले बस्छन्।
एउटा सानो छुप्रोमा छाउ भएकी छोरीलाई सुत्न कहाँबाट ठाँउ हुन्छ। त्यसैले छाउघरमा बस्छन्। अछाम मात्र होइन कञ्चनपुर जिल्लामा पनि छाउघर छ तर सफा र पक्की छन्। मनको छाउ प्रथा नहटुञ्जेल सुदूरपश्चिमका जति पनि छाउघर भत्काए पनि प्रथा हट्नेछैन।
अछाममा अहिले पनि एचआइभी पोजेटिभ भएर बाँचिरहेकी सेतु विक होस् वा बैतडीमा देउकी प्रथाको चिनारी लिएर बसेकी पार्वती। जातीय छुवाछुतको पीडा लिएर बाँचिरहेकी मीन सार्कीकी आमाका पीडा फरक छन्। तर, एउटै छ। भोट दिन्छन् तर, कसले जित्यो सरोकार छैन।
संविधानमा आफ्ना लागि कसले के लेखेको छ उनलाई थाहा छैन। देशको राष्ट्रपति महिला छ कि पुरूष न पार्वतीलाई थाहा छ न त सेतुलाई।
मेरी आमा नाम लेख्न मात्र जान्छीन्। जब नौ वर्षकी थिइन्। उनको विवाह भयो। जब १६ वर्षकी भइन् म जन्मीएँ। उनी पढेलेखेकी नभए पनि उनको चेतनाको स्तर जहिले पनि माथिरह्यो।
आफूले नपढेकै धेरै दुःख पाएको पीडाले हामीलाई पढ्न उस्काउँथीन्। उनले पनि छाउ हुँदा कसैलाई नछोइक्न बसेकी थिइन्। त्यही हामीलाई पनि गर्न लगाइन्। तर, कहिले पनि स्कुल छुटाइनन्।
अहिले पनि त्यो दिन याद छ। म छाउ भएको बेला हरियो फलफूलको रूख र सागको लहरा नछुनु भनेको थियो। तर, मैले धेरै पटक छोएर आमालाई देखाएँ। गाली पनि खाएँ। तर, त्यो रूख र लहरा भने झै मैले छोएकै कारण सुकेन। मेरी आमाको सोच परिर्वतन भयो। यो परिवर्तन आमाले मलाई शिक्षा दिन सकेकै कारण भएको हो।