केही महिनाअघि एक नजिकका मित्रले भन्नुभयो- महिलाको विषयमा धेरै लेख्नुभयो भने फेमिनिस्ट भन्लान् नी!’, म छक्क परेँ। खासै धेरै लेख नलेख्ने मैले महिलाको विषयसँग सम्बन्धित एउटा स्तनपान तथा अर्को भड्किदै गएको तिजको बारेमा लेखेकी थिएँ।
स्तनपान महिलासँग मात्र सम्बन्धित नभएर नारी पुरूष बालबालिका अझ भनौं परिवार तथा समाजसँग सम्बन्धित थियो। तीज पनि महिला मात्र नभएर समाजसँग नजिकको सम्बन्ध भएको जस्तो लाग्छ।
हुनत मलाई महिलावादी शब्दसँग आपत्ती होइन, म महिला पुरूष मात्र नभएर सबैं मानिस महिला पुरूष, तेस्रो लिंगी, फरक क्षमता भएका सबै समान हुनुपर्छ, सबैले आत्मसम्मानको साथमा बाच्न पाउनुपर्छ भन्ने मान्यता राख्छु। तर, मलाई कुनै वादसँग मात्र सिमित हुनुपर्छ जस्तो लाग्दैन। त्यसभित्र खुम्चिएको अनुभव हुन्छ।
कुरा काठमाडौंको हो। करिब १२ वर्ष अगाडि तिर होला। ठ्याक्कै याद भएन। म कलेज पढ्दै थिएँ। काठमाडौंमा पढेलेखेका, नाम चलेका महिलाको एउटा चरित्रहिन् चेलीका नाममा म्यानिफ्यास्टो प्रकाशित भएको थियो।
कलेजको विद्यार्थी त्यति बेला। समूह खुब कुल लाग्यो। ड्यरिङ पनि। सोचेँ म पनि सदस्य हुनुपर्यो। तर, बुँदा पढ्दै जाँदा त्यहा लेखिएको थियो-वैवाहिक सम्बन्धमा नभएको तथा लङटर्म रिलेसनमा पनि भएको हुन नहुने।
अनि मलाई बोरिङ लाग्यो। महिला पुरूष समान हुनुपर्छ भन्ने विश्वास गर्दा गर्दै पनि एक्लो जीवन बिताएर नारीवादीको खोल ओड्नुछैन मलाई। विहे गरेर श्रीमानसँग साझेदारीमा सन्तान हुर्काउने महिला पनि फेमिनिष्ट नै हुनुपर्ने हो। ग्लामरस् दुनियाँबाट टाढा रहेका उनीहरू झन् ठूला फेमिनिष्ट हुन्।
जसले सन्तानलाई सानैदेखि समानताका पाठ सिकाइरहेका छन्। छोरीलाई आत्म सम्मानसँग बाच्न प्रेरित गरिरहेका छन्। सन्तानको सुन्दर भविश्यका लागि आफ्नो आज सर्मपण गरेका छन्। अनि मैले निर्णय गरेँ- भयो बा! फेमिनिष्ट बन्दिनँ।
अब लागौं महिलावाद वा नारीवाद शब्द प्रति मेरो गुनासो। अंग्रेजी साहित्यको विद्यार्थी भएदेखि मैले फेमिनिष्ट थ्यौरीलाई मज्जाले पढेँ।
यसका विभिन्न चरणको अध्ययन गरेँ। अध्ययन गरेको केही दिनमा त पुरै फेमिनिष्ट नै बनिसकेको थिएँ। तर, थप अध्ययन गर्दे गएँ, यसका आलोचनामा लेखिएका पुस्तक पनि पढेँ।
त्यसपछि महिला पुरूष समान हुन्, समान अवसर पाउनुपर्छ भन्ने कुरामा सय प्रतिशत विश्वास गरे पनि मलाई फेमिनिष्ट बन्न मन लागेन। त्यसको खोल ओड्न मन लागेन।
हो, हाम्रो समाजमा महिलाहरू पिछडिएका छन्। उनीहरूको जीवनस्तर उकासिउनुपर्छ। उनीहरुले हरेक मानिसले पाउनैपर्ने आत्म सम्मान अनुसार बाँच्न पाउनुपर्छ।
नेतृत्वमा आउन मन लाग्ने महिलाले त्यसको अवसर पाउनुपर्छ। बाहिर गएर काम गर्न मन लाग्ने महिलाले पनि हरेक मानिसले जस्तै त्यो अवसर पाउनुपर्छ। तर, घर बाहिर नगई घरमा सन्तान तथा परिवारको हेरचाह गरेर बसेका महिलाको पनि कामको मूल्याकंन हुनुपर्छ। यस विषयमा फेमिनिस्टले आवाज उठाउनुपर्छ।
गरिब, ग्रामिण एकल महिलाको बारेमा पनि फेमिनिज्मले खासै चासो दिएजस्तो लाग्दैन। गरिब, एकल महिला त घर बाहिर आएर परापूर्व कालदेखि नै काम गर्दै आएका थिए।
बाध्यात्मक रुपमा आत्मा मार्ने गरि महिलाले काम गरेकै थिए। हाम्रो देशमा अहिले पनि गरिबीको रेखा मुनी रहेका कयौं दिदी बहिनी जस्तो सुकै काम गर्न बाध्य हुनु भएको छ। तर, महिलावादले त शक्तिमा पुग्ने कामलाई मात्र प्राथमिकतामा राखेको छ। गरिब, ग्रामिण, फुलटाइम मदरलाई त फेमिनिष्ट मानेको नै छैन।
औद्योगिककरणका समयमा होस् या त्यसभन्दा अघि देखि नै गरिबीको रेखामुनी रहेका महिलाले आत्माहरण हुने गरि दैनिक लामो समय काममै बिताएका थिए।
महिलाले आत्मसम्मान, स्वतन्त्रताको लागि घरमाबाट बाहिर निस्किएर काम गर्नुपर्छ, पैसा कमाउने काम गर्नुपर्छ भनिन्छ।
विश्वभरका महिलावादीले पनि लामो समयदेखि यही विषय उठाइरहनुभएको छ। तर, घरको जिम्मा लिएर बसेका महिलाको काम चाही महिलावादी होइनन् त?
मैले कयौं पटक काम गर्ने, पैसा कमाउने फेमिनिस्ट भनेर कहलाउने महिलाभन्दा घरमा छोराछोरी हुर्काएर बसेकी मेरी साथी फेमिनिस्ट लाग्छ। हामीले बाँचेको समाजले माया, प्रेम, सद्भाव हेरचाह जस्ता महिलाको स्वभाव मानेको छ। त्यसैले घरमा ट्वान्टी फोर सेभन काम गरे पनि घरको काम काममा गनिदैन्।
फेमिनिज्मले त्यसलाई पैसा कमाउने काम बराबर महत्वपूर्ण मानेको खोई। केबल पावरमा रहने काम मात्रै समाज सञ्चालनका लागि महत्वपूर्ण हुन् त भन्ने प्रश्न हामी सबैले गर्नेपर्छ।
महिलाको मुक्ति खुशी, आत्मसन्तुष्टि केबल पैसा कमाउनु, उच्च ओहदामा जानुमा मात्र रहेको ब्याख्या गर्दा दिर्घकालीन रूपमा यसले महिलालाई राम्रो गर्दैन। पूँजिवादी अहिलेको समाजमा यसले महिलालाई अनावश्यक तनाव, अस्वस्थ्य प्रतिस्पर्धातिर घचेट्छ।
यो समाजिक संरचना महिलाका लागि मात्र नभएर पुरूषका लागि पनि आत्मीय छैन।
फेमिनिस्टले पनि पितृ सत्ताले बनाएकै संरचनामा टेकेर सफलता मानक बनाएको छ भने फेमिनिष्ट हुनु र नहुनुमा कुनै फरक छैन।
अहिलेको समाजले पैसा, पावर र पदलाई सफलताको मानक बनाएको छ। फेमिनिष्टले पनि त्यही पितृसत्ताले बनाएको सफलताको मानकलाई आफ्नो बनाएर महिला मुक्तिको बाटो त्यति मात्र भएको मन्त्र बाढ्दै आउनुभएको छ।
महिला उच्च ओहोदामा जाने बित्तिकै समाजमा आमुल परिवर्तन आउँछ भन्नु मिथ्या सावित भइसकेको छ। दक्षिण एसियाली देशसहित विश्वमा धेरै देशको राष्ट्र तथा सरकार प्रमुखमा महिला पुगिसके। तर, त्यो समाजमा महिला पुरूष समानतामा खासै फरक आएको देखिदैन।
जस्तै भारतमा ईन्दिरा गान्धी, पाकिस्तानमा बेनजिर भुट्टो, नेपालमा विद्या भण्डारी, बंगलादेशमा शेख हसिना जस्ता महिला राष्ट्र तथा सरकार प्रमुख हुँदा पनि आम महिलाको जीवनमा केही असर परेको छैन।
केबल पात्र परिवर्तन भए, पुरूषको ठाउँमा महिला आए तर, प्रवृत्ति त्यही पृतिसत्तात्मक नै भयो। आम महिलालाई महिला प्रमुख भए पनि पुरूष प्रमुख भए पनि केही फरक अनुभूति भएन।
अर्को कुरा सफल हुन पुरूषमा हुने गुण हुनुपर्छ। क्रुर, शक्तिवान हुनुपर्छ भन्ने मानक रहेर शक्तिमा हुने महिलाले त्यही शिरोपर गरिरहेको देखिन्छ। माया दया करूणाका आधारमा सफल भईँदैन भन्ने छ।
यसले गर्दा महिला सफल त होलान्, घरपरिवारमा छोरीले गरे भनेर शान होलान् तर, एउटाको ठाउँ अर्कोले लिने मात्र हो। प्रवृत्तिमा फरक आउँदैन। संस्कार फरक हुँदैन। नेपाली उखान ‘जुन जोगी आए पनि कानै चिरिएको’ जस्तै।
यो होइनकी महिला प्रमुख हुनु, शक्तिमा पुग्नु राम्रो होइन। विश्वको कुनै पनि देशमा महिला राष्ट्र तथा सरकार प्रमुख हुँदा सुरूका दुई चार दिन खुशी हुनु अलवा हामीले उनीहरुबाट थप अपेक्षा राख्ने की नराख्ने भन्ने प्रश्न बहस गरिनुपर्छ।
अर्को कुरा नेतृत्वमा सफल मानिएका महिलाको शक्तिमा आएपछि पुरूषको जस्तो स्वभाव देखिएको छ। शक्तिमा भएका पुरूष नेतृत्वको जस्तो। शक्तिमा आउन महिलाले आफ्नो प्राकृतिक गुण सबै लुकाए जस्तो। मायाप्रेम, दया, क्षमा, मातृत्वजस्ता प्राकृतिक गुणहरुलाई तिलाञ्जली दिनुपर्छ भने म फेमिनिष्ट बन्दिनँ।
अत्यमा, फेमिनिष्टले त्यही पृतृसत्तात्मक समाजका संरचनामा हिँडिरहेका छन्। संरचना एउटै हुने वित्तिकै त्यसमा महिला होस् या पुरुष केही फरक पर्दैन। सफलता मानक एउटै छन्।
यी मानक महिलाको लागि मात्र नभएर पुरूषका लागि पनि हानिकारक छन्। अमानवीय छन्। यसले महिलालाई मात्र होइन पुरूषलाई पनि वस्तु बनाएको छ। सफलताको मानक खुसी, आत्म शान्ति नभएर पैसा, पद, पावर बनेको छ। सन्तुष्टी मन लागेको काम गर्नुमा छैन। बढी पैसा हुने काममा छ भन्ने बनाएको छ।
त्यसैले यस्ता मानक सुधारौं। नारीवाद सहरका पढे लेखेका अंग्रेजी बोल्ने केही महिलालाई मात्र होइन सबै तह र तम्काका महिलामाँझ पुगोस्।
कुनै पनि महिलाले तन मन मर्ने गरी दैनिक १८ घन्टा काम गर्नु नपरोस्, यस्तो बाध्यात्मक परिस्थिति नआहोस्।
सम्पूर्ण मानव समुदायको हितका लागि समाजमा व्याप्त सफलताका गलत मानक सुधारिउँन्। मार्च ८ को सबैलाई शुभकामना।