नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई लक्षित गर्दै फोटोनेपाल डट ट्राभल अनलाइन पोर्टल शुरु गरेको छ । देशभरका पर्यटकीय गन्तव्यस्थलको प्रभावकारी प्रवद्र्धन गर्ने उद्देश्यका साथ बोर्डले फोटोनेपाल पोर्टल शुरु गरेको हो ।
फोटोनेपाल पोर्टलको आज यहाँ उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल गन्तव्यको प्रचारप्रसारका निम्ति महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले प्रचुर पर्यटकीय सम्भावना रहेर पनि ओझेलमा परेका पर्यटकीय क्षेत्रको फोटोका माध्यमबाट बढीभन्दा बढी सामग्री प्रस्तुत गरेर आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गरिनुपर्ने धारणा राखे।
फोटो गन्तव्य प्रवद्र्धनको प्रभावकारी साधन भएकाले गन्तव्य प्रवद्र्धनको नयाँ अवधारणा शुभारम्भ गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए। उनका अनुसार धेरैभन्दा धेरै फोटोग्राफरले अवसर प्राप्त गरून् तथा फोटो खोज्ने र आफूले खिचेको फोटो राख्न चाहनेले पनि एउटै मञ्चबाट सहजरूपले उपयोग गर्न सकून् भन्ने लक्ष्यका साथ अनलाइन पोर्टल बनाइएको हो।
यो अनलाइनमा जसले पनि सान्दर्भिक फोटो राख्न पाउनेछन् । फोटोको गुणस्तर र औचित्य हेरेर प्रस्तुत गरिनेछ, अनावश्यक फोटो आएमा बोर्डले छनोट गरेर राख्नेछ ।
फोटोनेपालको शुभारम्भसँगै फोटोमार्फत देशको प्रवद्र्धन गर्ने बोर्डको अभियान अर्को चरणमा प्रवेश गरेको बोर्डले जिकिर गरेको छ । फोटोनेपाल पोर्टल फोटोग्राफरका लागि आफ्नो फोटो प्रदर्शन गर्ने राम्रो मञ्च ‘प्लेटफर्म’ हो । विज्ञ, वरिष्ठदेखि लिएर सिकिरहेका सम्मलाई फोटो देखाउन र प्रतिक्रिया लिन सहज हुने जनाइएको छ । नेपालका विविध फोटो खोज्न सहज हुने वेबसाइटमा भएको ‘सर्च फिचर’ प्रयोग गरेर आफूलाई चाहेको फोटो खोज्न सकिनेछ ।
फोटोहरुलाई सामाजिक सञ्जालमा ‘शेयर’ गर्न सकिनेछ । प्रयोगकर्ताको प्रतिलिपि अधिकार ‘कपिराइट’ सुरक्षित बनाइएको बोर्डले जनाएको छ ।
विषयवस्तुको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकिने मञ्च मात्र नभएर पर्यटन बोर्डले समयसमयमा आयोजना गर्ने प्रतिस्पर्धात्मक कार्यक्रममा भाग लिन मिल्नेछ । वेबको सम्बन्धले गर्दा कुनै पनि ‘कन्टेन्ट’ तुरुन्तै उपलब्ध हुने, प्रयोगकर्ता तथा फोटोको आवश्यकता भएका व्यक्तिबीचको सिधै सम्बन्ध स्थापित गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फोटोनेपालको दैनिक ‘भिजिट’ पाँच हजार साइट डाटा रहेको छ । दैनिक ‘साइनअफ’ ५० भन्दा बढी तथा कूल फोटो ‘अपलोड’ एक हजार बढी गर्न सकिने जनाइएको छ ।