मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर घुम्ने सिजन सुरु भयो। नीलो आकाशमुनि नाँगा पहाड हेर्दै हिमाली बस्तीको यात्रामा अध्यात्म र प्रकृतिको संगम भेटिन्छ। हिन्दु र बौद्धमार्गीको साझा तीर्थ हो मुक्तिनाथ (३,८०० मिटर) मन्दिर। मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध भइने जनविश्वास छ।
मुल मन्दिरभित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–आफ्नै ढँगले व्याख्या गर्छन। हिन्दु मुल मूर्तिलाई बिष्णुका रुपमा पुज्छन्। बिष्णुका दायाँ बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती मान्छन्।
बौद्धमार्गी पूजारी झुमा मुल मूर्तिलाई लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पूज्छन्। अनि लुवाङको दायाँ बायाँका मूर्तिलाई नागदेवी भनेर धुप बाल्छन्।
हिन्दु मान्यता अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेका थिए। त्यसबाट उनले सृष्टि गर्न शक्ति पाए। यज्ञ गर्दा अग्निरुपमा शिव, जलरुपमा बिष्णु र होताको रुपमा ब्रम्हा बसेका थिए। पछि तिनै देवता त्यहीँ बसे।
त्यहाँका कुण्डहरुको जलबाट १०८ धारा बनाइएको मानिन्छ। बौद्धमार्गीको भनाई चाहिँ फरक छ। उहिल्यै भारतबाट ८० जना बौद्धमार्गि पण्डित कैलाश पर्वत दर्शन गर्न गएका थिए। फर्किँदा उनीहरुले कैलाशको जल लिएर आए। त्यो जल मुक्तिनाथमा सञ्चय गरेछन्। त्यसबाटै १०८ धारा बनाइयो।
मुक्तिनाथमा प्राचीन नरसिंह गुम्बा छ। गुम्बाभित्र गुरु पद्यसंभवको मूर्ति छ। उनी तिब्बत जाँदा केही समय मुक्तिनाथमा ध्यानमा बसेका थिए। त्यहाँ अरु गुम्बा र ज्वालामाई मन्दिर पनि छन्। मन्दिर हातामा ढुँगैढुँगाको शाक्यमुनि बुद्ध र रानीपौवा बजारमाथि गुरु पद्मसंभवको अजंगको मूर्ति बनाइएको छ।
तिर्थालुलाई मुक्तिनाथको वेस क्याम्प रानीपौवामा दुई दर्जन होटल र केही धर्मशाला छन्। मुक्तिनाथ दर्शन गर्नु अघि कागबेनीमा श्राद्ध गरेर पितृ तर्पण गर्ने चलन छ। बिशेषतः बडा दसैंको सोह् श्राद्धका बेला भिड लाग्छ। त्यसो त कागबेनीमा श्राद्ध गर्न कुनै तिथि कुर्नु पर्दैन। कागबेनीमा आरामदायी होटल छन्। यहीँबाट मुक्तिनाथ र लो–मन्थाङ (उपर मुस्ताङ) जाने बाटो छुट्टिन्छ।
मुक्तिनाथ यात्रामा थकाली समुदायको पहिलो होमस्टे ठिनी सामुदायिक होमस्टे भ्रमण गर्न सकिन्छ। जोमसोम बजार नजिकै दक्षिणमा तीन किलोमिटर दूरीमा पर्छ ठिनी। त्यहाँ बसेर घरपझोङ किल्ला, ढुम्बाताल, गुम्बा लगायत सम्पदा अवलोकन गर्न सजिलो हुन्छ। गाउँसम्मै मोटर बाइक र गाडी पुग्छन्।
कसरी पुग्नेः
काठमाडौं–पोखरा हवाई उडान २५ मिनेट। अथवा काठमाडौं–पोखरा सडक यात्रा २०० किमि, गाडीमा ६ घन्टा। पोखरा–जोमसोम हवाई उडान १६ मिनेट। अथवा पोखरा–बेनी ८२ किमि, बसमा ३ घन्टा। बेनी–जोमसोम ७५ किमि बसमा ५ घन्टा। जोमसोम–मुक्तिनाथ २२ किमि जीपमा २ घन्टा।