लमजुङ । पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ। डुम्रे बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो।
पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता प्रदान गर्ने उद्देश्यले उक्त महोत्सवको आयोजना गर्न लागिएको आयोजक वातावरण सुधार अभियानका अध्यक्ष ऋषि बस्नेतले बताए। गत वर्ष क्यानोनिङ र अन्य कार्यक्रम हुँदै आइरहेको यस झरनालाई थप व्यवस्थित गरेर यसपालिबाट महोत्सवका रुपमा यसको प्रचार–प्रसार गर्नसमेत प्रथम क्योनोनिङ महोत्सवको आयोजना गर्न लागिएको उनको भनाइ छ।
महोत्सवका लागि अधिकांश काम सम्पन्न भइसकेका आयोजकले जनाएको छ। सोही महोत्सवमा स्थानीय कलाकार र डिजेका विभिन्न प्रस्तुतिसमेत गरिने भएका छन्। महोत्सव अवधिभर १० हजारदेखि १५ हजार दर्शक विभिन्न स्थानबाट आउने अपेक्षा आयोजकको छ। महोत्सव सञ्चालनका लागि करीब रु साढे चार लाख खर्च हुने बताइएको छ।
त्यस्तै सन् २०२० मा अन्तर्राष्ट्रिय क्यानोनिङसमेत यसै झरनामा हुने र सो क्यानोनिङमा २६० जनाले क्यानोनिङ गर्ने आयोजकको दाबी छ। गाईखुरे झरना करीब ७० मिटर अग्लो छ।